बलेवा विमानस्थलको धावनमार्ग कालोपत्र गर्न चार करोड विनियोजन

गलकोट । बागलुङको बलेवा विमानस्थल बाह्रै महिना सञ्चालन गर्न विमानस्थलको धावनमार्ग (रनवे) कालोपत्रे गरिने भएको छ । धावनमार्गका लागि यो आर्थिक वर्षमा चार करोड रुपैयाँ विनियोजन गर्ने निर्णय भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको हाे । छब्बीस वर्षदेखि बन्द अवस्थामा रहेको विमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत्र ९ गतेबाट पुःन सञ्चालन भएर नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सले केही महिना उडान गरेपनि आवश्यक पूर्वाधारको अभावमा अहिले बन्द छ । नगरपालिकाले १४ वडामा रहेको विमानस्थल सञ्चालनका लागि पहल गरेपनि कच्ची धावनमार्ग, विमानस्थलसँग पुग्ने सडक कालोपत्रे नहुनुुलगायत समस्याका कारण २६ वर्ष पछि सञ्चालनमा आएको विमानस्थल पुनः बन्द भएपछि प्राधिकरणले धावनमार्ग बनाउन बजेट विनियोजन गरेको बागलुङ सांसद डा. सूर्य पाठकले जानकारी दिएका छन् । सरकारले हालै बलेवा विमानस्थल सञ्चालन गर्न आवश्यक पूर्वाधार निर्माण गर्न बहुवर्षीय योजनामा समावेश गरेर बजेट विनियोजन गरेको पाठकको भनाइ रहेको छ । “प्राधिकरणले पहिलो चरणमा विमानस्थलको धावनमार्ग कालोपत्रे गर्न ठेक्का प्रक्रिया अगाडि बढेको छ”, सांसद पाठकले भने, “नगरपालिकासहित सरोकारवाला निकायको पहलमा तीन वर्षमा सक्ने गरी पूर्वाधार निर्माण हुन्छ ।” धौलागिरीका बागलुङ, पर्वत र म्याग्दीका जनतालाई हवाई सेवा प्रदान गर्ने गरी पूर्वाधार निर्माणका लागि नगरपालिकाले साझेदारी गर्ने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए । “नगरले २६ वर्षपछि बन्द रहेको विमानस्थल सञ्चालनका लागि झण्डै रु ५० लाख लगानी गरिसक्यो, केही समय जहाज पनि चल्यो”, प्रमुख पौडेलले भने “आगामी तीन वर्षभित्रमा विमानस्थल पुग्ने सडक कालोपत्रे, धावनमार्ग निर्माण गर्ने गरी सरकारले योजनामा समावेश गरेको छ ।” कालिगण्डकी करिडोरसँग जोडिएको विमानस्थल पुग्न बागलुङ बजारदेखि जम्मा १२ किलोमिटर सडक कच्ची रहेको छ । मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोर कालोपत्रे हुने हो भने विमानस्थल सञ्चालनका लागि यात्रुको अभाव नहुने सरोकारवालाहरु बताउँछन् । एक वर्ष अगाडि यात्रु कम हुँदाको रकम बागलुङ नगरपालिकाले सुनिश्चितता गरी हप्तामा दुई दिन नेपाल एयरलाइन्स र तारा एयरको टुइनेटर विमानले उडान भरेपनि वर्षाको समय धावनमार्गमा हिलो र हिउँदमा धूलो उड्ने समस्या भएपछि विमानस्थल बन्द भएको थियो । रासस

मेलम्चीको पानी वितरणका लागि ‘क्रसिङ’ निर्माण गरिने

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत पानी वितरणका लागि विभिन्न चोकमा ‘क्रसिङ’ निर्माण गरिने भएको छ । सडकको एउटा दिशामा रहेको पाइपलाई अर्कोतर्फ लैजानका लागि क्रसिङ गर्ने गरी सडक विभाग र आयोजनाबीच सम्झौता भएको थियो । काठमाडौँका चोकमा एउटा दिशाबाट अर्को दिशामा पाइप लैजानका लागि क्रसिङ गर्नुपर्नेमा अधिकांश स्थानमा सकिएको मेलम्ची खानेपानी आयोजना, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । पुतलीसडक, कलङ्की, दरबारमार्गलगायत नौ चोकमा निर्माण गर्न बाँकी रहेकामा यी स्थानमा अब काम अघि बढाइने परियोजना निर्देशक भोजविक्रम थापाले बताए । उक्त स्थानमा सवारी आवागमनमा बाधा पुग्ने भनी क्रसिङ निर्माण नभए पनि अहिले निर्माणका लागि सहमति भइसकेको उनको भनाइ छ । उनले भने, “सडक विभागसँग सहमति लिइसकेकाले अब चाँडै काम शुरु हुनेछ ।” आयोजनाको सुरुङमार्ग निर्माण ९५ प्रतिशत सकिँदा वितरणका लागि आवश्यक पूर्वाधार निर्माण अघि बढिरहेको निर्देशनालयले जनाएको छ । मुख्य पाइप विस्तार ७७ किलोमिटरमध्ये झण्डै साढे ७४ किलोमिटर सकिएको छ भने बाँकी काम छिट्टै अघि बढ्नेछ । मेलम्चीको सहायक परियोजना–१ अन्तर्गत सुरुङ निर्माण हुँदै प्रशोधन केन्द्रसम्मको निर्माण भइरहेकामा दोस्रो चरणमा प्रशोधन केन्द्रबाट पानी उपभोक्ताका घरघरसम्म पुर्याउने काम रहेको छ । सन् २०११ देखि आयोजनाले मुख्य, सहायक र वितरण पाइप बिच्छ्याउने काम गरिरहेको छ । पानी सङ्कलनका लागि विभिन्न १० स्थानमा ट्याङ्की निर्माण भइरहेको छ । मेलम्चीको पानी दुई चरणमा गरी काठमाडौँ उपत्यका ल्याउन लागिएकामा अहिले पहिलो चरणमा भित्रने १७ करोड लिटर पानी सङ्कलन तथा वितरण हुँदै फोहरपानी प्रशोधनका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेको बताइएको छ । सो चरणमा चक्रपथभित्रका एक लाख १० हजार घरधुरीमा पानी वितरण हुनेछ । रासस

कलंकी-कोटेश्वर सडकमा जोखिम बढ्दै, यात्रुले भत्काउन थाले रेलिङ

काठमाडौँ । कलंकी–कोटेश्वर सडक हेर्दा जति सुन्दर, सुविधाजनक र अत्याधुनिक देखिन्छ, प्रयोगका हिसाबले उति नै जोखिमपूर्ण बन्दै गएको छ । चीन सरकारको सहयोगमा बनेको उक्त सडक १ वर्ष अघि नेपाल सरकालाई हस्तान्तरण गरेको हो । केही वर्ष अघिसम्म अस्तव्यस्त रहेको कलंकी कोटेश्वर सडक अहिले आठ लेनको बनेको छ । सडक हेर्दा सुन्दर देखिन्छ । तर, व्यवस्थापन राम्ररी हुन नसक्दा पैदलयात्रु र सवारी चालकहरुले सास्ती खेप्दै आएका छन् । सडकमा पैदलयात्रुहरुलाई सडक वारपार गर्दा दुर्घटना बढ्दै गएपछि यात्रुहरुले सडकको बीचमा भएको रेलिङ भत्काउन थालेका छन् । चीन सरकारले ५ वर्ष लगाएर निर्माण पूरा गरेको सडक २०७५ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । कोटेश्वरदेखि कलंकीसम्मको १०.३९ किलोमिटर सडक बिस्तार र निर्माणमा सहयोग गरेको थियो । २७ किलोमिटर लामो चक्रपथको सडक खण्ड मध्ये पहिलो चरणमा कलंकी–कोटेश्वर खण्ड सरकारलाई हस्तान्तरण गरिसकेको छ भने कलंकी, चाबहिल हुँदै कोटेश्वरसम्मको सडक निर्माण शुरु गरेको छ । ड्यूटीमा खटिएका एक ट्राफिक प्रहरीले भने–‘यात्रुहरुले भत्काएको रेलिङ केही समयमा नै निर्माण हुनेछ ।’ आठ लेनको कोटेश्वर–कलंकी सडक तीन भागमा बाँडिएको छ । बीचमा चार लेनको एक्सप्रेस वे छ । जहाँ ५० किमि प्रतिघन्टाको गतिमा सवारी चल्छन् । दायाँ–बायाँ दुई–दुई लेनका सहायक सडक छन्, जसमा २० किमि प्रतिघन्टाको गतिमा सवारी चल्छन् । त्यसपछि दुवैतर्फ सर्भिस लेन पनि रहेको छ । कलंकी–कोटेश्वर सडक निर्माण भए पछि सडक जाम त कम भएको छ । तर सो सडकमा आवश्यता अनुसार जेब्राक्रसिङ नहुँदा सर्वसाधारणहरुले सास्ती खेप्दै आएका छन् । सानेपामा बाटो कटेर वारी आएका चरिकोटका हरि केसीले भने–बाटोमा जेब्राक्रसिङ नहुँदा बाटो काट्दा मरिन्छ कि बाचिन्छ कुनै भर छैन् ।’ बाटो बनिसके पछि गाडीहरु स्पीडमा चल्ने गरेको छ । सडक प्रयोगकर्ताहरुले जेब्राक्रसिङ र आकाश पुल नहुँदा कठिनाई भोग्नु परिरहेको छ । कोटेश्वर, ग्वार्को, सातदोबाटो, एकान्तकुना, बल्खु र कलंकीमा मात्र जेब्रा क्रसिङ राखिएको छ । त्यस्तै, कोटेश्वर, बिएन्डबी अस्पताल अगाडि र बागडोलमा आकाशे पुल बनाइएको छ । १०.३९ किलोमिटर सडकमा यो पर्याप्त नभएको विज्ञहरु बताउँछन् । जेब्राक्रसिङ र आकाश पुल मात्रै हैन यो सडकमा पर्याप्त मात्रामा बस बिसौनी बनाइएको छैन । कोटेश्वर, ग्वार्को, बिएन्डबी अगाडि, चापागाउँ दोबाटो, महालक्ष्मी स्थान, एकान्तकुना, बल्खु र कलंकीमा मात्र बस बिसौनी बनाइएको छ ।