७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत केन्द्रको मर्मत शुरु
काठमाडौं । जलविद्युत आयोजनाको ‘हब’ जिल्ला भन्दै गरेको यस लमजुङस्थित बेसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रको मर्मत कार्य शुरु भएको छ । मध्यमस्र्याङ्दी नदीमा बर्खायामका बेला बालुवा, माटोलगायत थुपै्रले आयोजनामा असर पर्ने हुँदा केन्द्रको दोस्रो युनिटको मर्मत कार्य बिहानबाट थालिएको हो । प्रत्येक वर्ष एउटा युनिटको मर्मत गर्ने क्रममा यस वर्ष केन्द्रको दोस्रो युनिटको मर्मत कार्य शुरु गरिएको केन्द्र प्रमुख शिवकुमार शाहले बताए । ‘‘नेपाल विद्युत् प्राधिककरणबाट १८ दिनसम्म युनिट बन्द गर्ने अनुमति आएको छ तर सकेसम्म त्योभन्दा छिट्टै मर्मत कार्य गरिसक्नेछौं’’ केन्द्र प्रमुख शाहले भने । केन्द्रको दोस्रो युनिटको पानी बन्द गरी पहिलो युनिटमा पठाएको र सो युनिटबाट पूरै विद्युत उत्पादन भइरहेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार रनर फेर्ने, हेडकभर मर्मत, विद्युत् उपकरणहरुको जाँच तथा आवश्यक मर्मत, गाइडभेन फेर्ने, गाइटबुस फेर्नेलगायतका कार्य हुने भएको छ । तीन दिनसम्म टर्वाइन खोल्ने, टर्वाइनका पुर्जाहरु मात्रै खोल्न समय लाग्ने केन्द्र प्रमुख शाहको भनाइ छ । उनका अनुसार दैनिक २५/३० जनाले मर्मत कार्य गर्नेछन् । प्राधिकरणले हरेक वर्ष हिउँदमा मध्यमस्र्याङ्दीमा जडित उत्पादन युनिटको मर्मत गर्दै आएको छ । यस आयोजना ३५/३५ मेगावाटको गरी दुई वटा युनिटबाट ७० मेगावाट विद्युत् उत्पादन हुने गर्दछ । रासस
सरकार नयाँ सहर निर्माणमा लागेको छ: राज्यमन्त्री मानन्धर
काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकार नयाँ सहर निर्माणमा लागेको बताए । म्हैपी संरक्षण तथा व्यवस्थापन समितिले १७औँ वार्षिक साधारणसभाका अवसरमा आयोजना गरेको सम्मान तथा बधाई कार्यक्रममा उनले उपत्यका नजिकका क्षेत्रमा नयाँ सहर निर्माणमा सरकार लागेको बताएका हुन् । “उपत्यकाभित्र हैन, उपत्यकाबाहिर नयाँ सहर निर्माणका लागि डिपिआर बनाउने काम भइरहेको छ,” उनले भने । राज्यमन्त्री मानन्धरले उपत्यकाभित्रको वाग्मती, धोबीखोला करिडोरलाई व्यवस्थित बनाउन सरकार लागिरहेको उल्लेख गरे । वाग्मती व्यवस्थापन गर्न नसकिए काठमाडौं व्यवस्थित हुन नसक्ने उनको भनाइ थियो । सरकारले धेरै ऐन कानून निर्माण गर्नुपर्ने भएकाले विकास निर्माणका काम सोचेजस्तो अगाडि बढाउन नसकेको स्वीकार गरे । ऐतिहासिक र सांस्कृतिक महत्वको धनी उपत्यकामा नेपाल भ्रमण वर्षमा जतिसक्दो धेरै पर्यटक भित्र्याउन लाग्नुपर्ने उनको भनाइ थियो । पूर्वमन्त्री रामकुमार श्रेष्ठले म्हैपी क्षेत्रको विकासका लागि सबै एकजुट हुनुपर्ने बताए । “आफ्नो लागिभन्दा पनि समाजका लागि काम गरौँ,” उनले भने । समितिका अध्यक्ष कृष्णमान श्रेष्ठले म्हैपी मन्दिरसम्म जानका लागि घुम्ती बाटो निर्माण अहिलेको प्राथमिकता भएको जानकारी दिए । “घुम्ती बाटो निर्माणका लागि काठमाडौं महानगरपालिकाले गरेको ५० लाख सहयोगले मात्रै हुन सक्दैन,” अध्यक्ष श्रेष्ठले भने । विसं २०५८ मा म्हैपी मन्दिर र वन क्षेत्रको संरक्षणका लागि स्थापना भएको समितिले हाल म्हैपी मन्दिरलाई नमूना मन्दिरका रुपमा विकास गर्न विभिन्न किसिमका सामाजिक काम गर्दै आइरहेको छ । रासस
नाट्टाको अध्यक्षमा उत्रिए तीन प्रतिस्पर्धी, कसले मार्ला बाजी ?
काठमाडाैं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्डस् (नाट्टा)को आसन्न निर्वाचनले सम्बन्धित व्यवसायीबीच माहोल तताएकाे छ । २० लाख पर्यटक नेपाल भित्र्याउने महत्वाकांक्षी योजना सहित शुरू भएकाे नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन नाट्टाकाे भूमिका पनि महत्वपूर्ण हुन्छ । यसले पनि नाट्टाको नेतृत्व कसले पाउँछ भन्ने विषयले पर्यटन क्षेत्रमा महत्व पाएकाे छ । नाट्टाको अध्यक्ष पदमा तीन जनाबीच प्रतिस्प्रर्धा हुँदैछ भने उनीहरूले अलग अलग टिम बनाउने काम गरिरहेका छन् । वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष अच्युत गुरागाई र पूर्व महासचिव भिम प्रसाद पन्त नेतृत्वको समूहले उम्मेदवारी घोषणा गरिसकेका छन् भने पूर्व महासचिव तथा पर्यटन व्यवसायी मिहिका शाह धाख्वा नेतृत्वमा तेस्राे समूह बन्ने बताइएकाे छ । मिहिका शाहकाे टाेलीले आइतबार उम्मेदवारी घोषणा गर्ने तयारी गरेकाे छ । नाट्टामा वरिष्ठ उपाध्यक्ष, महासचिव, सचिव र सदस्य भएइसकेका अच्युत गुरागाँइ हाल अध्यक्षका उम्मेदवार बनेका छन् । गुरागाइँकाे समूहमा हेमराज बास्तोला वरिष्ठ उपाध्यक्ष, यज्ञमुर्ति आचार्य उपाध्यक्ष, महासचिवमा राकेश धमाला, सचिवमा गोविन्द दाहाल, कोषाध्यक्षमा कुमार मणि थपलिया र सह कोषाध्यक्षमा पासाङ दावा शेर्पा रहेका छन् । त्यस्तै, नाट्टाको पूर्व महासचिव शाहकाे समूहमा वरिष्ठ उपाध्यक्ष नारायण गुरुङ उपाध्यक्ष रमेश थापा, महासचिव कमला गुरुङ, सचिवमा अमृत ढकाल, कोषाध्यक्षमा देवकी गुरुङ,सहकोषाध्यक्षमा फुडोमा शेर्पा रहेका छन् । पन्तको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा बिनय बस्नेत, उपाध्यक्षमा वरुण मेहता र महासचिवमा सुधीरकुमार उपाध्याय पौडेल उम्मेदवार बनेका छन् । उनकाे समूहमा सचिवमा जिस्वान तुलाधर श्रेष्ठ, कोषध्यक्षमा हरिभक्त श्रेष्ठ र सहकोषाध्यक्षमा युविका भण्डारी उम्मेदवार दिएका छन् । पन्तले यसअघि नाटामा महासचिवको भूमिका निर्वाह गरिसकेका छन । माघ ३ गते हुने निर्वाचनमा सबै समूहहरू अहिले चुनावकाे प्रचार प्रसारमा जुटिसकेका छन् । अध्यक्षका प्रत्याशीत तीन उम्मेदवारसँग हामीले तपाईको अध्यक्षको उम्मेदवारी किन र अध्यक्ष हुने तपाईका एजेण्डाहरु के-के छन् भनेर सोधेका छौं । अच्युत गुरागाई, अध्यक्षका प्रत्यासी मेरो नेतृत्वको समूहले नाट्टाका सदस्यहरुको हकमा काम गर्छ । सदस्य कम्पनीहरुलाई प्रविधीमैत्री बनाउन सोसियल मिडिया, डिजिटल मार्केटिङ लगायतका समयानुकुल तालिमहरु संचालन गर्नेछ । सदस्य कम्पनीहरुको सहज पहुँचका लागि नाट्टा सचिवालयलाई थप व्यवस्थित, प्रभावकारी र प्रविधीमैत्री बनाउने हाम्राे प्रतिवद्धता हाे । होटल तथा एयरलाइन्सहरुले एजेन्टहरुलाई भन्दा कन्जुमरहरुलाई सस्तो रेट उपलब्ध गराइरहेको वर्तमान अवस्थामा एजेन्टहरुलाई प्रतिस्पर्धात्मक रेट उपलब्ध गराउने होटल तथा एयरलाइन्सहरुको नामलाई फेवरेट होटल र एयरलाइन्सको रुपमा नाटा वेबसाइट, नाटा न्यूज लेटरलगायत विभिन्न माध्यमबाट प्रवर्धन गरिनेछ । नाट्टा सदस्यहरुलाई कुनै आपतकालीन स्थिति आइपर्दा सहयोग पुर्याउने हेतुले राहत कोष खडा गराउने छु । गैरकानुनी टुर अपरेटरलाईलाई निरुत्साहित गर्दै नो टुर विद आउट गाइड एण्ड अपरेटरको अवधारणालाई कार्यान्यवन गराउन प्रयत्न गरिनेछ । काठमाडौं तथा अन्य मुख्य पर्यटकीय नगरीहरुमा टुरिष्ट बस टर्मिनल र पार्किङ व्यवस्थापनका लागि प्रभावकारी पहल गर्न कुनै कसर बाँकी राखिने छैन । पर्यटन व्यवसायको प्रवर्द्धनका लागि बैंक तथा वित्तिय संस्थाहरुबाट कृषि क्षेत्रलाई जस्तै गरी सहुलियतपुर्ण व्याजसहित ऋण उपलब्ध गराउने नीतिगत व्यवस्था हुनका लागि पहल गर्नेछु । नेपाल भ्रमण वर्ष २०२० को सफलताका लागि सदस्य व्यवसायीहरुको सक्रिय संलग्नतामा बर्षभरी देशभित्र र बाहिर प्रबर्द्धनात्मक कार्यक्रमहरु आयोजना गर्नेछु । नेपाललाई आकर्षक गन्तव्यको रुपमा प्रचारप्रसार गर्न अन्तर्राष्ट्रिय रुपमा विशेष प्रवर्द्दनात्मक कार्यक्रमहरु संचालन गरेर युरोप, अस्ट्रेलिया, अमेरिका र एसियाका ठुला टर अपरेटरहरुलाई नेपालमा फामट्रिप गराउने छु । पर्यटकीय सुविधाका लागि प्रमुख सम्पदा, गन्तव्यस्थल र राष्टिय राजमार्गहरूमा सार्वजनिक शौचालय निर्माण गर्न भूमिका खेल्नेछु । आगामी दुई वर्षभित्र प्रदेश नम्बर २ र ६ प्रादेशिक संघ विस्तार गर्न पहल गर्नेछु । मिहिका शाह धाख्वा, अध्यक्षका प्रत्यासी परिवर्तनका निम्ति एकता भन्ने नाराका साथ हामी चुनावमा आएका छौं । एक सक्षम र अनुभवी टिम बनाएर हामी चुनावमा उत्रिएका छौं । नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने हाम्रो प्रमुख ऐजेण्डा हो । हामी अन्तर्राष्ट्रिय बजारमा नेपाली पर्यटनको प्रचार प्रसार गरेपनि हामीले त्यसको नतिजा पाइरहेका छैनौं । यसलाई पनि हामी नतिजामुखि बनाउनो छौं । हाम्रो पर्यटकलाई दिने सुविधाहरु बढाउने छौं । राजमार्गहरुमा सुविधा सम्पन्न भौतिक पूर्वाधारहरु निर्माण गर्न विशेष पहल गर्नेछौं । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी जनशक्तिहरु परिचालन सहयोग गर्नेछौं । टुरिष्ट बसहरु सञ्चालन गर्न भूमिका खेल्नेछौं । भिमप्रसाद पन्त, अध्यक्षका प्रत्यासी म अन्तरर्राष्ट्रिय बजार प्रबर्द्धनमा क्षेत्रीय बजार भारत, चीन, दक्षिण कोरिया, भियतनाम, श्रीलंका, बंगलादेश र मलेसिया लगायतका विभिन्न देशहरूमा पर्यटकहरूको रूचि पहिचान गरि विशेष प्रबर्द्धनात्मक अभियानको संचालनका लागि नेपाल पर्यटन बोर्ड र नेपाल सरकारसँग सहकार्य गरी विभिन्न कार्यक्रमहरू संचालन गर्नेछु । साथै, विश्वका अन्य विभिन्न मुलुकहरूमा नेपालको पहिचान हुने गरी पर्यटन क्षेत्रको प्रबर्द्धन गर्नेछु । सीमा क्षेत्रमा पर्यटक आगमनमा रहेका समस्याहरू समाधान गर्नुका साथै पर्यटकहरूको सहज आवागमनको लागि सम्बन्धित निकायसँग समन्वय गरी कार्य गर्ने पहल गर्नेछु । विदेशी टूर अपरेटरहरूले नेपाल भ्रमण गराउँदा हुने गरेका भ्रामक तथा आपत्तिजनक क्रियाकलापलाई यथाशीघ्र रोक्न पहल गर्ने मेरो दायित्व रहने छ । होटल एशोसिएशनसँग समन्वय गरी स्वदेशी एजेन्सीहरूलाई प्राथमिकताका साथ प्रतिस्पर्धी दर रेट निश्चित गरी लागू गराउ प्रमुख भूमिकामा रहनेछु । यथाशीघ्र काठमाडौं र पोखरामा पर्यटक बसपार्क निमार्ण गर्न जोडदार पहल गरिने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेका सेवा, सुविधा र समस्याहरूको निराकरणका साथै विमानस्थलदेखि उपत्यकाको विभिन्न स्थानमा हवाई यात्रुका लागि मात्रै सार्वजनिक शटल बसका लागि पहल गर्नेछु । साथै, पर्यटन व्यवसायीहरुको षमता वृद्धिका लागि विशेष तालिमका कक्षाहरु सञ्चालन गरी प्रविधिमैन्त्री पर्यटन व्यवसायी बनाउन भूमिका खेल्नेछु ।