पुरानो संसद भवन भत्काएर नयाँ भवन बनाउन विकास समितिकाे निर्देशन 

काठमाडाैं । व्यवस्थापिका संसदको विकास तथा प्रविधि समितिले पुरानो संसद् भवन भत्काउन निर्देशन दिएको छ । समितिकी सभापति कल्याणी खड्काले पुरानाे भवन भत्काएर नयाँ भवन बनाउन निर्देशन दिएकी हुन् । मंगलबार शहरी विकास मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायतका प्रतिनिधिसँगको छलफलपछि उनले पुरानो संसद् भवन भत्काएर नयाँ भवन बनाउन निर्देशन दिइएको हो । खड्काले पुरानाे भवनकाे माैलिकता कायम राखेर नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएकी हुन् । तर,  पूरातत्त्व विभाग भने भवन नभत्काई अहिलेकै स्वरुपमा प्रवलीकरण गर्नुपर्ने राय राखेकाे थियाे । भूकम्पका कारण क्षतिग्रस्त सो भवन भत्काउने कि नभत्काउने भन्ने विषयमा हालसम्म प्राधिकरण, मन्त्रालय र पूरातत्त्व विभागबीच विवाद हुँदा अहिलेसम्म प्लास्टिकले छोपेर जीर्ण अवस्थामा नै राखिएको छ ।  

नेपाल बिल्डटेक एक्स्पो २०२० हुँदै, १ सय ६० प्रदर्शनी स्टल रहने

काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघले नेपाल बिल्डटेक एक्स्पो २०२० आयोजना गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, निर्माण व्यवसाय विकास परिषद् र इन्नो रेग इण्डियाको संयुक्त आयोजनामा माघ ३ गतेदेखि ५ गतेसम्म नेपाल बिल्डटेक एक्स्पो २०२० आयोजना हुने भएको हो । महासंघले मंगलबार पत्रकार सम्मलेनको आयोजना गर्दै माघ ३,४ र ५ गते एक्स्पो हुने बताएको हो । महासंघकोृ २१औँ वार्षिक साधारण सभालाई लक्षित गरी एक्स्पो आयोजना हुने भएको छ । माघ ३ र ४ गते हुने महासंघको साधारण सभा रहेको छ । भक्तपुरको सल्लाघारी मैदानमा हुने साधारण सभामा देशभरका १५ सय भन्दा बढी व्यवसायीहरुको सहभागिता रहने पत्रकार सम्मलेनमार्फत बताइएको छ । महासंघका महासचिव रोशन दाहालले विश्व बजारमा आएका नयाँ नयाँ निर्माण यन्त्र उपकरणबारे अवगत बनाउन उपयुक्त मञ्च बन्ने विश्वास लिइएको बताए । उनले निर्माण उपकरण, इन्टेरियर डिजाइनका सामाग्री, फर्निचरसहित समग्र निर्माण उद्योग र प्रविधिसँग सम्बन्धित १ सय ६० भन्दा बढी प्रदर्शनी कक्षहरु ७० हजार स्क्वायर फिट क्षेत्रफलमा एक्स्पो सञ्चालन गरिने बताए । ३ दिनसम्म चल्ने उक्त एक्स्पोमा ५ हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन हुनेछ ।

तराई–मधेश द्रुतमार्ग प्रभावित क्षेत्रमा तेस्रो चरणको वृक्षारोपणको प्रक्रिया शुरु

काठमाडाैं । काठमाडौँ–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाको प्रभाव क्षेत्रभित्र परेर काटिएका रुख तथा बिरुवाको सट्टामा नेपाली सेनाले व्यापक रुपमा वृक्षरोपणको कामलाई अगाडि बढाइरहेको छ । सेनाले सोही प्रयोजनाका लागि बाराका तीन स्थानमा बिरुवा रोप्ने तथा हुर्काउने कामका लागि प्रक्रिया थालेको हो । सेनाले बोलपत्रमार्फत बिरुवा रोप्न तथा हुर्काउनका लागि सार्वजनिक रुपमा नै सूचना प्रकाशित गरी सम्बन्धित व्यवसायीलाई आग्रह गरेको छ । करिब रु तीन करोड लागत रहेको सो योजनाका लागि सेनाले बोलपत्रदातालाई विद्युतीय खरिद प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ । बाराका तीन स्थानमा रोपिने बिरुवाका लागि कूल रु दुई करोड ९७ लाख ८४ हजार ८५७ बराबरको लागत रहने अनुमान गरिएको छ । देशकै पहिलो र महत्वाकाङ्क्षी परियोजनाका रुपमा रहेको द्रुतमार्गमा हालसम्म १७ हजार ९४९ र भविष्यमा पुल तथा सुरुङ निर्माणका क्रममासमेत हटाउनुपर्ने रुख सङ्ख्या दुई हजार ७० रहेका छन् । ती बिरुवा काटिएपछि एक रुख बराबर २५ बिरुवा रोप्नुपर्ने वन तथा भूसंरक्षण विभागबीच समझदारी भएको छ । सोही समझदारीलाई कार्यान्वयन गर्ने लक्ष्यकासाथ सेनाले ७ नं बेसक्याम्प अर्थात् राजदमार बेसक्याम्प र निजगढ बेसक्याम्पभित्र दुई नर्सरीमा बिरुवा हुर्काइरहेको छ । सेनाले पहिलो चरणअन्तर्गत गत असोजमा बाराको कोल्हवी नगरपालिका–८ मा रहेको सहजनाथ साझेदारी वन क्षेत्रमा रहेको ५.६१ हेक्टर खाली क्षेत्रमा पाँच हजार सिमल, शिरीष तथा जामुनका बिरुवा रोपी रेखदेख गरिरहेको छ । सरकारले सञ्चालन गरेको वृक्षारोपण अभियानकै क्रममा ती बिरुवा रोपिएको थियो । यस्तै दोस्रो चरणमा केही दिनभित्रै बाराकै निजगढ नगरपालिको नागमणि र कछडिया सामुदायिक वन क्षेत्रको ७० हजार खाली जग्गामा एक लाख १२ हजार बिरुवा रोप्नका लागि अन्तिम तयारी भइरहेको छ । सेनाले सरकारको आग्रहमा फलफूलका बिरुवासमेत रोप्ने योजना अगाडि सारेको छ । सेनाले तेस्रो चरणमा निजगढ नगरपालिका–१०, कोल्हवी नगरपालिका–८ नयाँबस्ती र कोल्हवी नगरपालिका–५ बारामा बिरुवा रोप्नका लागि बोलपत्र आह्वान गरेको छ । निजगढ–१० मा बिरुवा रोप्नका लागि अनुमानित लागत रु एक करोड ३६ लाख २१ हजार ३८१ रहेको छ । कोल्हवी–८ का लागि रु ९१ लाख ७३ हजार ४०३ र कोल्हवी–५ का लागि रु ६९ लाख ९० हजार ७३ बराबरको लागत रहने अनुमान गरिएको छ । द्रुतमार्ग आयोजना कार्यान्वयन तथा अप्रेशन महाशाखाका प्रमुख सेनानी विश्वबन्धु पहाडीका अनुसार द्रुतमार्ग आयोजनामा बिरुवा काट्ने मात्रै नभई संरक्षणमा समेत सेना लागेको तथा वृक्षरोपणलाई तीव्र पारिएको हो । “हामीले सरकारले तय गरेको नीतिअनुसार नै एक रुख काट्दा २५ बिरुवा रोप्ने लक्ष्यका साथ काम गरिरहेका छौँ’, सोही लक्ष्य पूरा गर्न नर्सरी नै तयार पारेर बिरुवा हुर्काइएको छ”, पहाडीले भने । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौँ–तराई–मधेश द्रुतमार्गको सडक क्षेत्रमा पर्ने रुख तथा बिरुवा काटिएका छन् । त्यही काटिएका रुखको सट्टामा रोप्नुपर्ने बिरुवा हुर्काउने काममा नेपाली सेनाका प्रमुख सेनानी सुशीलकुमार कार्कीको नेतृत्वमा एउटा टोली नै परिचालित छ । सेनाको ८ नं बेसक्याम्प राजदमार र १० नं निजगढमा नर्सरी नै तयार गरिएको छ । नर्सरीमा केही भर्खर उम्रिएका बिरुवा छन् भने केही अन्यत्र सार्न लैजान ठिक्क भएका छन् । राजदमारमा मात्रै खयर ४० हजार ५९५, इपिलइपिल १५ हजार ३५५, सिमल सात हजार ८९५, सिसौ चार हजार ५२०, अमला ५५, अन्य एक हजार ५०० गरी कूल ७० हजार ४२० बिरुवा तयार पारिएको छ । सो बेसक्याम्पमा मात्रै कूल ७० हजार ४२० बिरुवा हुकर्ने चरणमा छन् । यस्तै निजगढ बेसक्याम्पको नर्सरीमा मात्रै टिक ४९ हजार ४००, खयर ३६ हजार, सिमल चार हजार ५००, सिसौ दुई हजार २००, अमला एक हजार ५००, निम ६००, बेल ५०० र अन्य एक हजार गरी कूल एक लाख १० हजार ७०० वटा बिरुवा नर्सरीमा हुर्कने क्रममा छन् । नेपाली सेनाको नेतृत्वमा निर्माण भइरहेको काठमाडौँ–तराई मधेश द्रुतमार्गमा सडकखण्डको काम द्रुतगतिमा भइरहेको छ । तराईलाई काठमाडौँ जोड्ने सबैभन्दा छोटो मार्गका रुपमा निर्माण भइरहेको आयोजनाको सुरुङ र पुलबाहेकको भौतिक प्रगति ८० प्रतिशतको हाराहारीमा पुगेको छ । सेनाले दुई बेसक्याम्पमा गरी कूल एक लाख ८१ हजार १२० बिरुवा अन्यत्र सार्न तयार हुने क्रममा छन् । सेनाले इपिल, मलेसियन साल, बेल अमला, खयर, सिमल र छिटो बढ्ने बिरुवा हुर्काइरहेको छ । आवश्यकताअनुसार थप बिरुवा पनि उत्पादन गर्ने लक्ष्य राखिएको प्रमुख सेनानी कार्कीले जानकारी दिए । सेनाले डिभिजन वन कार्यालयबाट उपलब्ध हुने ३१५ हेक्टर सरकारी खाली जग्गाका प्लटलाई आवश्यक फेन्सिङ, सिँचाइ तथा संरक्षणको व्यवस्था गरी आगामी पाँच वर्षभित्र बिरुवा हुर्काइ सम्बन्धित वन डिभिजनलाई हस्तान्तरण गर्ने योजना बनाएको छ । सेनाले विभिन्न १० स्थानमा वेसक्याम्प खडा गरेर निर्माणलाई गति मात्रै दिएको छैन, मुलुकको पहिलो द्रुतमार्ग निर्माणलाई प्रत्यक्ष रुपमा नेतृत्वसमेत गरेको छ । निर्माणको गति र भइरहेको कामको प्रगतिका आधारमा चालू आवको अन्त्यसम्म सेनाले सडकतर्फको सबै काम सम्पन्न गर्नेछ । कालोपत्र गर्नेसम्मको सडक आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ विभिन्न ३० प्याकेजमा काम भइरहेको छ । सडक निर्माणको काम अन्तिम चरणमा पुग्ने क्रममा रहेसँगै सेनाले सुरुङ र पुल निर्माणका लागिसमेत प्रक्रिया शुरु गरिसकेको छ । मार्गमा तीन सुरुङ निर्माण हुनेछन् । आयोजनाको स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)अनुसार महादेवडाँडामा ३.३ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ । यस्तै धेद्रेमा १.६ र लेनडाँडामा १.४ किलोमिटर लामो सुरुङ निर्माण गर्ने तयारी छ । कूल ७२.५ किलोमिटर लामो द्रुतमार्गमा पहिले ९६ पुल निर्माण हुने भनिए पनि स्वीकृत डिपिआरमा ८६ पुल निर्माण हुने उल्लेख छ । चार लेनको सडकमा समथर भू–भागमा २७ मिटर चौडाइ र अरू ठाउँमा २५ मिटर चौडाइ हुनेछ । आयोजनामा तीनवटा सुरुङको लम्बाइ छ किलोमिटर र पुलको लम्बाइ १० किलोमिटर हुनेछ । आयोजनामा पुल र सुरुङबाहेकको खण्ड ५५.५ किलोमिटर हुनेछ । त्यसमध्ये कूल ३१ किलोमिटरको काम करीब सम्पन्न भएको छ । द्रुतमार्ग आयोजना कार्यान्वयन तथा अप्रेशन महाशाखा प्रमुख पहाडीका अनुसार बाँकी सडकको ‘ट्र्याक’ खोल्ने काम पनि ८० प्रतिशत सकिएको छ । आयोजनाको कूल खण्डमध्ये ललितपुरमा ७.९ किलोमिटर, काठमाडौँमा चार किलोमिटर, मकवानपुरमा ५३ किलोमिटर र बारामा ७.६ किलोमिटर पर्दछ । तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले विसं २०७४ वैशाख १२ गते आयोजना निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा सोही वर्षको जेठ १४ गते निजगढमा आयोजनाको शिलान्यास तत्कालीन प्रधानमन्त्री प्रचण्डले गर्नुभएको थिए । रासस