प्रवधिमैत्री बन्दै ट्राफिक प्रहरी, ट्राफिक लाईट बढाउनेदेखि अनलाईन सेवा विस्तार गर्नेतर्फ जोड
काठमाडौं । पछिल्लो समय ट्राफिक प्रहरी प्रविधिमैत्री बन्दै गएको छ । सवारी आवागमनलाई सुरक्षित, मर्यादित एवं व्यबस्थित बनाउन र सवारी दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरीले प्रविधिमा बढी जोड दिएको हो । महानगरिय ट्राफिक महाशाखाले आइतबार पत्रकार सम्मेलन गर्दै ट्राफिकले प्रविधिमा जोड दिएको बताएको हो । चालु आर्थिक वर्षको ६ महिनाको उपलब्धि र काम कारबाही बारे जानकारी गराउँदै महाशाखाका प्रमुख भीमप्रसाद ढकालले ट्राफिक प्रहरीले प्रविधिमा बढी जोेड दिएकोे बताए । पछिल्लो समय सीसीटीभीको निगरानीबाट नै सवारी चालक बढी कारबाहीका पर्ने गरेको उनकाे भनाइ छ । उनले ट्राफिक प्रहरीलाई प्रविधिमा जोड दिनका लागि विभिन्न योजनाहरु लिएको उल्लेख गरे । महाशाखाले आगामी दिनमा प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा जोड (ट्राफिक लाईट, सीसीटीभी, अनलाईन सेवा र एफएमको क्षमता वृद्धि), सडक पूर्वाधार विकासमा जोड (सडक लेन मार्किङ्ग, संकेत बोर्डहरू),प्रविधिमार्फत जनचेतना अभिवृद्धि कार्यलाई व्यापकता दिने बताए । प्रमुख ढकालले पैदलयात्री दुर्घटना हुने बिषयलाई न्यूनिकरण गरिने, सवारी साधन बिक्रेताले खरिदकर्ताहरुलाई सवारी नियम पालना सम्बन्धि प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेर मात्र बिक्रि गर्ने व्यवस्था मिलाउने, तेस्रो चरणको युवा स्वंयमसेवक परिचालन कार्यक्रम गरिने बताए । स्कुलहरूमा ट्राफिक चिल्ड्रेन पार्कबनाउने, रुट पर्मिट बितरण प्रणालीमा सुधार र व्यबस्थापनको लागी समन्वय र अध्ययन गरिने, जेष्ठ नागरीकहरुलाई सार्बजनिक यातायातमा विशेष व्यवस्थाको लागि समन्वय एव पहल गरिने र ट्राफिकमैत्री सडकका लागि ३७ बुँदे अल्पकालीन सडक सुधार कार्ययोजना लाई कार्यान्वयन गरि पूरा गरिने उनकाे भनाइ छ । ६ महिनामा २० हजार कारबाहीमा ढकालले चालु आर्थिक वर्षको ६ महिना सम्म २० हजार ४ सय ३३ जनालाई कारबाही गरेको बताए । सडकमा जथाभावी पार्किङ, सवारी मोड्ने, ढाका खुल्ला राख्ने, एकतर्फी बाटोमा सवारी प्रवेश गराउने, हर्न बजाउने, लेन अनुशासन पालन नगर्ने लगायतका सवारी चालकलाई कारबाही गरिएको उनले बताए । यो सँगै साउनयता चोरी भएका २ सय ८५ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा दिएको र चोरीमा संलग्न ३० जनालाई कारबाही गरिएको उनले बताए । चालु आर्थिक वर्षको ६ महिनामा दुई चरणमा ९ सय जना स्वयंसेवक परिचालन पनि गरिएको उनको भनाइ छ । पुस १ गतेदेखि सञ्चालन गरिएको ट्राफिक उज्यालो कार्यक्रमअन्तर्गत ८१ हजार २ सय ८९ जनालाई ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना लगायतका विषयमा शिक्षा दिइएको छ उनले बताए । ‘याे कार्यक्रम अन्तर्गत ४५ हजार १ सय ४७ जना पैदलयात्री, १ हजार ६ सय ४८ जना मोटरसाइकल चालक, ६ सय १२ जाना निजी सवारी चालक, ११ हजार ८ सय ३ जना सार्वजनिक सवारी चालक र सहचालक, ९ सय जना विभिन्न संघ संस्थाका सवारीचालक, ७ हजार १ सय ४ जना विद्यार्थी र ५७ सरकारी सवारी चालकलाई सचेतना प्रदान गरिएको छ,’ उनले भने । उनले ट्राफिक प्रहरीको अनुपस्थितिमा ट्राफिक नियम उल्लंघन गर्नेलाई विभिन्न स्थानमा रहेका नसीसीटीभीको निगरानीमा व्यापकता दिएको बताए । जसअन्तर्गत दैनिक १ सयदेखि १ सय ५० सम्मलाई कारवाही गरिएको र यस आबमा ९ हजार ६ सय १८ जना सवारी चालकलाई कारबाहि गरिएको बताए ।
भूकम्पबाट क्षति भएका सांस्कृतिक सम्पदाको पुनःनिर्माण गर्न साढे ३ अर्ब आवश्यक
काठमाडौं । भूकम्पबाट क्षति भएका सांस्कृतिक सम्पदाको पुन: निर्माण तथा संरक्षण गर्न ३ अर्ब ६३ करोड ६० हजार रुपैयाँ आवश्यक रहेको बताइएको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्तर्गतको पुरातत्व विभागले भूकम्पबाट क्षति भएका सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा पुनः निर्माण गर्न सो रकम आवश्यक रहेको बताएको हो । वि.स २०७२ को विनाशकारी भूकम्पबाट उपत्यकाका विश्व सम्पदा स्थललगायत भूकम्पबाट प्रभावित ३१ जिल्लाका कुल ९ सय २० सम्पदाहरु पुन: निर्माण गर्न साे रकम आवश्यक रहेकाे हाे । क्षति भएका सम्पदाहरुमध्ये हालसम्म ४ सय सम्पन्न भइसका छन् भने अन्यको काम तीव्र गतिमा भइरहेको विभागले जनाएको छ । विभागले चालु आर्थिक वर्षभित्र १ सय ५० वटा सम्पदाहरु संरक्षण तथा पुनः निर्माण गर्ने लक्ष्य लिएकोे विभागका निमित्त महानिर्देशक दामोदर गौतमले बताए । चालु आर्थिक वर्षसम्ममा ६० प्रतिशत कार्य सम्पन्न गर्ने र बाँकी ३ सय ७० वटा सम्पदाहरु (४० प्रतिशत) आगामी दुई आर्थिक वर्षसम्ममा पुनः निर्माण सम्पन्न गरिने गौतमले बताए । पुरातत्व विभागबाट निर्माण गरिने करिब ७ सय ३७ सम्पदाहरुको पुनः निर्माणका लागि ९ अर्ब १८ करोड ८७ लाख ७१ हजार रुपैयाँ आवश्यक रहेको थियो । आर्थिक वर्ष २०७५/०७६ सम्म विभागले २ अर्ब ३९ करोड ८२ लाख ४६ हजार खर्च गरेको जनाएको छ । चालु आर्थिक वर्षको बजेटमा नेपाल सरकारबाट ९६ करोड ७९ लाख, भारतीय अनुदान १ अर्ब ८३ करोड ९५ लाख, भारतीय एक्जिम बैंक १ अर्ब ९१ करोड २३ लाख र जापान सरकारबाट १३ करोड रुपैयाँ सहयोग भएको विभागले जनाएको छ । चालु आर्थिक वर्षमा नेपाल सरकारको तर्फकाट सम्पदा पुनः निर्माणका लागि ९६ करोड ७९ लाख रुपैयाँ खर्च भएको बताएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा क्षति भएका सम्पदाहरुमा काठमाडौंमा क्षति भएका ३ सय १९ मध्ये ९९ सम्पदा सम्पन्न भइसकेका छन् भने १ सय ६८ चालु र ६० पुनः निर्माण गर्न बाँकी रहेका छन् । यस्तै , ललितपुरमा क्षति भएका १ सय २३ सम्पदाहरुमा ३० सम्पन्न भइसकेका छन् भने ५० चालु र ४३ पुनः निर्माण गर्न बाँकी रहेका छन् । भक्तपुरमा पनि ५ सय ४० सम्पदाहरु क्षति भएका थिए । तिनीहरुमा १ सय ६९ सम्पन्न भइसकेका छन् भने २ सय ५६ चालु र १ सय २३ पुनः निर्माण गर्न बाँकी रहेका छन् । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्राईले क्षति भएका ती सम्पदाहरुको मौलिक स्वरुपलाई यथावत कायम राखी पुनःनिर्माण तथा संरक्षण गर्ने बताए । उनले पुनः निर्माणमा पहिलेकै सामग्री प्रयोग गर्ने बताए । पहिलेका सामग्रीहरु प्रयोग गर्न नसकिने अवस्थामा नयाँ सामग्री प्रयोग गरी पुरानै शैली र स्वरुपमा सम्पदालाई कायम गर्न सकिने उनकाे भनाइ छ । विश्व सम्पदालाई जोड्न साईकल लेन निमार्ण गरिने मन्त्री भट्राईले विश्व सम्पदासूचिमा सूचिकृत भएका सम्पदाहरुलाई एक आपसमा जोड्न साईकल लेन निर्माण गर्ने बताएका छन् । उनले काठमाडौं उपत्यकाका सम्पदाहरुलाई एक आपसमा जोडी पर्यटकहरुका लागि सजिलो बनाउन साईकल लेन निर्माणको प्रक्रिया थालेको बताए । साईकल लेन निर्माणका लागि मन्त्रालयले योजना बनाइरहेको उनले बताए । विश्व सम्पदासूचिामा सूचिकृत भएका काठमाडौं उपत्यकाका सात सम्पदाहरुलाई एक आपसमा जोड्न यो काम गर्न थालिएको उनले बताए । हाल विश्व सम्पदा सूचिमा परेका काठमाडौं उपत्यकाका सम्पदाहरुमा हनुमान ढोका, पाटन दरवार स्क्वायर, स्वयम्भु, पशुपति, भक्तपुर, चाँगुनारायण, बौद्ध रहेका छन् । काठमाडौंमा ‘भ्याली बाई नाईट’को सुभारम्भ मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी काठमाडौंमा भ्याली बाई नाईट’को सुभारम्भ गरेको बताए । उनले नेपाल भ्रमणमा आएका विदेशी पर्यटकहरूलाई लक्षित गरी काठमाडौंका सम्पदा स्थलहरुमा राति पनि बत्तीको सुविधा सुरु गरेको बताए । उनले काठमाडौंका विभिन्न दरवार तथा सम्पदाहरुमा राति पनि भ्रमण गर्न सकिने गरी व्यवस्थापन भइरहेको बताए । ‘भक्तपुर, पाटन, वसन्पुर लगायतका सम्पदाहरुमा राति पनि भ्रमण गर्न सकिने छ, हाल लाइटिङको प्रक्रिया भइरहेको छ त्यसपछि पर्यटकले राति पनि घुम्न सक्छन्,’ उनले भने ।
क्रिकेट रङ्गशाला बनाउन इच्छाकामना गाउँपालिकाले दियाे ११ लाख
मुग्लिन । गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न इच्छाकामना गाउँपालिकाले रु ११ लाख ११ हजार १११ सहयोग गरेको छ । धुर्मुस–सुन्तली फाउण्डेशनद्वारा चितवनको रामपुरमा सो रङ्गशाला निर्माण भइरहेको छ । रङ्गशाला निर्माणमा सहयोग सङ्कलन गर्न आयोजना भइरहेको महायज्ञमा सो गाउँपालिकाको अध्यक्ष गीताकुमारी गुरुङ ,उपाध्यक्ष कृतिकुमार श्रेष्ठ र प्रमुख प्रशसकीय अधिकृत सुकदेव लम्सालले शनिबार सो रकम हस्तान्तरण गरेका हुन् । रङ्गशाला निर्माणमा सहयोग गर्नु सबैको सामूहिक जिम्मेवारी भएकाले आर्थिक सहयोग गरिएको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिएकी छन् । गाउँपालिकाले रङ्गशाला निर्माणमा सहयोग जुटाउन ५१ सदस्यीय समिति गठन गरेको जनाइएको छ । धुर्मुस–सुन्तली फाउण्डेशनद्वारा चितवनको रामपुरमा सो रङ्गशाला निर्माण भइरहेको छ ।रासस