डेढ अर्ब लागतमा निर्माणाधीन बन्दीपुर केबुलकारको काम तीव्र
दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबुलकारको काम तीव्र गतिमा भइरहेको छ । रु एक अर्ब ५६ करोडको लागतमा निर्माणाधीन सो परियोजनाको ३५ प्रतिशत काम सम्पन्न भएको बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडले जनाएको छ । कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले भन्नुभयो,“परियोजना छिटो सम्पन्न गर्न दिनरात नभनी काम भइरहेको छ । कुनै बाधा नआएको खण्डमा आगामी दशैँदेखि माघ मसान्तभित्र केबुलकार सञ्चालनमा आउनेछ ।” उनका अनुसार केबुलकारको टावरको खाल्डा खन्ने , पिल्लरको काम तथा बटम स्टेशनमा केबुलकारको खण्ड निर्माण सम्पन्न भएको र एक महीनाभित्र केबुलकारको टावर निर्माणस्थलमा आइपुग्ने जनाइएको छ । “केबुलकारको सामान तयार भइसक्यो, अब सामान ल्याएर जोड्ने तयारी गरिएको छ,” उनले भने । केबुलकारको माथिल्लो स्टेशनमा बन्ने चारतारे होटलको कामलाई पनि अगाडि बढाउन लागिएको छ । “केबुलकार बाहेक अन्य संरचना निर्माणका लागि केही समय लागे पनि पहिलो चरणमा केबुलकार सञ्चालनमा ल्याउने योजनाबमोजिम कामलाई तीव्रता दिइएको छ,” लिमिटेडका सञ्चालक तारानाथ उपाध्यायले भने । माथिल्लो स्टेशनमा रु ८० करोडको लागतमा होटल निर्माण गर्नका लागि काठमाडाैंस्थित चन्द्र निर्माण सेवासँग सम्झौता भइसकेको छ । उनका अनुसार २५ महिनाभित्र होटल निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ । कलात्मक शैलीमा निर्माण गरिने होटलका लागि नेपाल एसबीआई बैंकसँग ऋण सम्झौता भइसकेको छ । केबुलकार परियोजनाका लागि बैंकले रु ९७ करोड ऋण दिने सहमति भएको छ । केबुलकार परियोजनाको परामर्शदाताको रुपमा काठमाडौँस्थित केज कन्सलट्यान्ट प्रालि, मेकानिकाल परामर्शदाताका रुपमा भारतस्थित सीआरएस र ब्रिको इङ्ग्ल्याण्ड रहेको छ । आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन प्रालि, पन्चासे केबुलकार एण्ड टुर्स प्रालि, टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केबुलकार परियोजना निर्माणको कामलाई अगाडि बढाइएको छ । लगानीदाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीहरुको कम्पनी हो, जहाँ एक हजार १०० भन्दा बढी लगानीकर्ता रहेका छन् । प्रारम्भमा रु ५६ करोडको लागतमा केबुलकार सम्पन्न गर्ने योजना रहेकोमा कम्पनीले केबुलकार प्रविधिलाई आधुनिक ‘मोनोकेबुल डिटाचेबल प्यासेन्जर सिस्टम’ जडान गर्ने र सुरक्षाको पक्षलाई महत्व दिएर सुरक्षा उपकरणहरु जडान गर्ने योजना थप गरेको थियो । साहसिक पर्यटनको मज्जा दिन बन्दीपुरदेखि छिम्केश्वरी फेदीसम्म माउन्टेन जङ्गल सफारीको सेवा शुरु गर्ने गरी कम्पनीले लगानी गर्ने जनाएको छ । कम्पनीले केबुलकारको पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने जग्गा प्रयोग गरेबापत जग्गाधनीलाई रु ४५ लाख बराबरको शेयर प्रदान गरिसकेको छ । ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केबुलकारबाट घण्टामा दुई सय जना वारपार गर्न सक्नेछन् । एशियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्ने विश्वास लिइएको छ । ठूल्ढुङ्गास्वाँराबाट शुरु हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केबुलकारले एक किलोमिटर ६०० मिटर यात्रा गर्नेछ । तनहुँको डुम्रे बजारदेखि बन्दीपुर पुग्न सात किलोमिटरको उकालो दूरी बसमा करिब २० मिनेट लाग्छ । केबुलकार निर्माण भएपछि केबुलकारमा नौ मिनेटमा बन्दीपुर पुग्न सकिन्छ । केबुलकारमा दुई वटा सामान बोक्नेसहित १७ वटा बाक्सा रहनेछ । केबुलकार परियोजनालाई उद्यमशील साझेदारीको उपयुक्त गन्तव्य बनाउने उद्देश्यसहित लिमिटेडमा रुपान्तरण गरिएको छ । परियोजनामा रणनीति योजनाअनुरुप शेयरधनीको सहभागिता सुनिश्चित गर्ने साथै कम्पनीको दीर्घकालीन रणनीतिलाई सार्थक बनाउने अभिप्रायका साथ कम्पनीको प्राइभेट लिमिटेडको स्वरुपलाई बदलेर पब्लिक कम्पनीको स्वरुपमा लगिएको छ । लिमिटेडले पन्ध्र वर्षीय रणनीति योजनासमेत बनाएको छ । पहिलो पाँच वर्षलाई अल्पकालीन लक्ष्य, दोस्रो पाँच वर्षलाई मध्यकालीन लक्ष्य र तेस्रो पाँच वर्षलाई दीर्घकालीन लक्ष्यको रुपमा वर्गीकरण गरिएको छ । राजमार्गका होटल अनुगमन जिल्ला प्रशासन कार्यालय तनहुँले पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका र म्याग्दे गाउँपालिकामा सञ्चालित होटल तथा रेष्टुरेन्टको बिहीबार अनुगमन गरेको छ । उपभोक्ताहरुसँग चर्को मूल्य लिने गरेको गुनासो आएपछि कार्यालयले सात वटा होटलमा अनुगमन गरेको सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले जानकारी दिए । अनुगमनका क्रममा होटलहरुको मूल्यसूची सङ्कलन गरिएको र मूल्यसूचीका सम्बन्धमा सरोकारवालासँग छलफल गरी मूल्यसूचीलाई सरल बनाउन पहल गरिने उनले बताए । अनुगमनका क्रममा व्यास नगरपालिका–५ स्थित गोर्खाली होटलले बिनादर्ता होटल सञ्चालन गरेको पाइएकोले सात दिनभित्र दर्ता गरी प्रशासन कार्यालयमा उपस्थिति हुन निर्देशन दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख शिवजी बरालले जानकारी दिए । त्यस्तै, सोही वडाको स्पीड ब्रेकर कटेजलाई सरसफाइमा सुधार गर्न, दुना टपरी रेष्टुरेन्ट एण्ड लजलाई डिफ्रिजमा छुट्टाछुट्टै खाद्य सामग्री राख्न निर्देशन दिइएको छ । त्यस्तै ए फोर खाजा घरले मूल्यसूची नराखेकोले सात दिनभित्र मूल्यसूची राखेर प्रशासनमा जानकारी गराउन र भान्साको सरसफाइमा ध्यान दिन निर्देशन गरिएको छ । व्यास नगरपालिका–५ स्थित ग्रीनहिल रेष्टुरेन्ट, होटल माउण्टेन रिभरभ्यू र म्याग्दे गाउँपालिका–१ स्थित ओरिजिनल हाइवेमा भने सरसफाइको अवस्था सन्तोषजनक पाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अर्यालको नेतृत्वमा भएको अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख बराल, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछाने, उपभोक्ता मञ्च तनहुँका अध्यक्ष खेमराज अधिकारी, होटल सङ्घका केन्द्रीय सदस्य प्रेमकुमार श्रेष्ठ, क्षेत्रीय होटल सङ्घका लालप्रसाद तिमिल्सिनालगायत सञ्चारकर्मी सहभागी थिए । रासस
अवरुद्ध बनेको बेनी–जोमसोम सडक तीन दिनपछि खुल्यो
म्याग्दी । सुुक्खा पहिराका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडक तीन दिनपछि आजदेखि सञ्चालनमा आएको छ । मुस्ताङको थासाङ गाउपालिका वडा नं ३ र ४ को सिमानामा पर्ने धैकु खोला नजिकै सोमबार दिउँसो सुक्खा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा अवरुद्ध भएको थियो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले पहिरो खसेको ठाउँमा सडक मर्मत गरेर खुलाइएको जानकारी दिए । सडक आयोजनाको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीको एक्साभेटर र मजदूर परिचालन गरेर पहिरो पन्छाइएको हो । उपकरण परिचालन गर्नुअघि अप्ठ्यारो र जोखिम भएकाले सुरक्षा निकायको सहयोगमा विस्फोटक पदार्थ प्रयोग गरेर चिरा परेको भाग हटाइएको थियो । सुक्खा पहिराले सडक भासिएपछि एक्साभेटरसहित कालीगण्डकी नदीमा खसेर चालक सिन्धुपाल्चोकका अर्जुन दाहालको मृत्यु भएको थियो । सडक खुलेपछि बेनीदेखि जोमसोम र जोमसोमदेखि बेनीतर्फ हिँडेका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । पहिराले १५ मिटर सडक भासिएको थियो । सडक अवरुद्ध हुँदा यात्रुले गन्तव्यमा पुग्न सवारीसाधन परिवर्तन गर्न बाध्य भएका थिए । पहिरा पार गर्न जङ्गलको उकालोमा ४५ मिनेट घुमाउरो पैदलयात्रा गर्नुपर्ने समस्या थियो । रासस
फलामे छडको कच्चापदार्थ आयात घट्याे, राजश्व सङ्कलन प्रभावित
भैरहवा । भैरहवास्थित भन्सार कार्यालयबाट फलामे छड बनाउन आवश्यक कच्चापदार्थ ‘एमएस बिलेट’ आयातमा कमी आउँदा राजश्व सङ्कलन समेत प्रभावित भएको छ । दोस्रो ठूलो सो भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्ष ०७६/७७ को पुस महिनासम्म नौ हजार ८४१ मेट्रिक टन मात्र सो कच्चा पदार्थ आयात भएको छ । गत आवको सो अवधिमा २९ हजार ९०३ मेट्रिक टन आयात भएको थियो । २० हजार ६१ मेट्रिक टन कच्चापदार्थको आयातमा कमी आएको प्रमुख भन्सार अधिकृत कमलकुमार भट्टराईले जानकारी दिए । कच्चा पदार्थ आयातमा कमी आउँदा राजश्वमा समेत कमी आएको छ । गत वर्षको पुससम्म दुई अर्ब २० करोड ४८ लाख ९२ हजार राजश्व असुली भएकोमा चालुआवको पुस सम्ममा ९५ करोड ९७ लाख २२ हजार मात्र असुली भएको छ । सो अवधिमा उठेको राजश्वमा एक अर्ब २४ करोड ५१ लाख ७० हजार कमी भएको भन्सार अधिकृत गोपाल शर्माले जानकारी दिए । पञ्चकन्या, लक्ष्मी, काठमाडौँ, एसआर, एभरेष्ट रोलिङ जस्ता ठूला छड उद्योगले यो भन्सार हुँदै भारतबाट कच्चापदार्थ ल्याउने गर्दछ । यसरी कच्चापदार्थको आयातमा कमी हुनु पूर्वाधार विकासका काम कमी हुनु बुद्धिजीवीहरु बताउँछन् । रासस