कैलालीमा निर्माणाधीन बसपार्कको काम ९० प्रतिशत सम्पन्न

काठमाडाैं । कैलालीको टीकापुरमा निर्माणाधीन बसपार्कको काम ९० प्रतिशत सकिएको छ । नेपाल सरकारको सघन शहरी विकास कार्यक्रमअन्तर्गत निर्माण भइरहेको बसपार्कको अहिलेसम्म ९० प्रतिशत काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जानकारी दिएको छ । बसपार्क निर्माणका लागि १८ महिनाभित्र काम सक्ने गरी विसं २०७५ माघ २ गते राजेन्द्र रोयल जेभी धनगढीले ठेक्का लिई निर्माण शुरु गरेको हो । विसं २०७७ साउन ४ गतेभित्र काम सक्ने गरी ठेक्का सम्झौता भए पनि त्यसअगाडि नै काम सम्पन्न गर्ने लक्ष्य लिएर काम भइरहेको निर्माण कम्पनीका इञ्जिनीयर झङ्कर थापाले बताए । बसपार्कमा एकतलाको टर्मिनल भवन निर्माण भएको छ । त्यसमा टिकट काउन्टर, रेष्टुरेन्ट, महिला पुरुषका लागि छुट्टाछुट्टै शौचालय निर्माण भएको छ । “बसपार्क क्षेत्र पूरै आरसिसीसहितको ढलान गरिएको छ, त्यहाँ बसपार्कमा लामो दूरी र छोटो दूरीका लागि छुट्टाछुट्टै पार्किङ स्थान बनाइएको छ”, इञ्जिनीयर थापाले भने, “बसपार्कभित्र मोटरसाइकल, अटोरिक्साका लागि पनि पार्किङको व्यवस्था छ ।” इञ्जिनीयर थापाले अबको केही दिनमा बसपार्क टीकापुर नगरपालिकालाई हस्तान्तरण गर्ने बताए । लामो समयपछि टीकापुरको बसपार्क व्यवस्थित बन्न थालेपछि यहाँका नागरिक पनि खुशी भएका छन् । स्थानीय केशरी सोडारी व्यवस्थित बसपार्क निर्माण हुँदा यहाको विकासमा सहयोग पुग्ने बताउँछन् । “बसपार्क बनेपछि लामो दूरीका बस पनि यहाँ आउनेछन्, जसले व्यापार वृद्धिमा सघाउँछ”, सोडारी भन्छन्, “बसपार्क बन्दै गर्दा आसपासका घर अहिले नै भाडामा गइसकेका छन् ।” टीकापुरमा अहिले व्यवस्थित बसपार्कसहित छ लेनको सडक कालोपत्र, ब्लक ‘ए’ का सबै सडक कालोपत्र र दृश्यावलोकन स्तम्भसहितको घण्टाघर निर्माण भइरहेका छन् । “भौतिक संरचना बनाउँदा ती संरचनाको दिगोपनामा ध्यान दिनुपर्दछ, त्यसमा हामी सचेत भएका छौँ”, नगरप्रमुख तपेन्द्र रावलले भने, “हामीले संरचना निर्माण गर्दा प्रयोेग गरिने सामग्रीको गुणस्तर र प्राविधिक पक्षमा निगरानी गरिरहेका छौँ, टीकापुरमा ठूला पूर्वाधार बन्न थालेका छन्, यसले विकासमा सहयोग पुगेको छ ।” बसपार्क निर्माणको लागि राजेन्द्र रोयल जेभी धनगढीले रु आठ करोड ३३ लाखमा ठेक्का लिएको हो । रासस

कर्णाली प्रदेशमा अर्थ समितिले गर्याे विकासे आयोजना निरीक्षण, बदमासी गरेकाे भेटियाे

जाजरकोट । प्रदेश मातहतमा रहेका कार्यालयले अघिल्लो वर्ष जिल्लामा गरेका कामको अनुगमन गरिएको छ । कर्णाली प्रदेशसभाको अर्थ तथा प्राकृतिक स्रोत समितिले सोमबार र आज (मंगलबार) अनुगमन गरेको हो । समितिका सभापति अमरबहादुर थापा, सदस्य वीरबहादुर शाहीलगायतको टोलीद्वारा जिल्लाका पूर्वी क्षेत्रमा रहेका विकासका आयोजनाको निरीक्षण गरिएको हो । प्रदेश मातहत कार्यालयबाट अघिल्लो आर्थिक वर्षमा भए, गरेका कामको निरीक्षण तथा अनुगमन गरिएको छ । सम्पन्न भनि बजेट भुक्तानी दिइसकेका विकास निर्माणका काममा अनियमितता भएको गुनासो बढेपछि समितिको टोलीले अनुगमन गरेको सभापति थापाले बताए । उनले भने “प्रदेशबाट वितरण गरिएका सबै कार्यक्रम वितरणमुखी भएको र हुने खानेले मात्र पाएको बुझियो ।” समितिले खानेपानी, सिँचाइ, सडक, कृषिबाली अन्य व्यवसायको अनुगमन गरेको थियो । पूर्वी क्षेत्रमा मात्र दुई दर्जन अयोजना सम्पन्न भएका भनि प्रदेशका कार्यालयले भुक्तानी गरेका थिए । त्यस्तै समितिका सदस्य शाहीले भने, “सबै काम खराब भन्न त मिल्दैन, केही कुरामा बदमासी भएको रहेछ, हामी तुरुन्तै सच्याउनका लागि ताकेता गछौँ, यदि समाधान भएन भने त्यसको परिणाम महँगो हुने छ ।” जिल्ला सदरमुकाममा तत्कालीन घरेलु कार्यालयबाट वितरण गरिएका भनिएको अधिकांश सामग्री पुराना भएको तर बिल मात्र नयाँ प्रयोग भएको पाइएको समितिका सभापति थापाले जानकारी दिनुभयो । त्यस्तै सिँचाइ कार्यालयबाट गएको अनुदानबाट नलगाड नगरपालिका–८ कोरिञ्चेमा निर्माण भएको सिँचाइ आयोजनाका सेवाग्राहीले काम सम्पन्न गरे पनि रकम नपाएको खुलासा भएको छ । कार्यालयले उपलब्ध गराएको रकमबाट सिँचाइका पाइप, सिमेन्ट मात्र खरीद गरिएको बाँकी रकम निकासा नहुँदा स्थानीयवासी ऋणमा डबेर योजना सम्पन्न गरेको खुलासा भएको हो । योजनाको झण्डै रु १० लाख भन्दा बढी रकम भुक्तानी नगर्दा कृषकले ऋणमा डुबेको बताएका छन् । रासस

द्रुतमार्ग निर्माणमा काेराेनाले पारेन असर, काम तीव्र गतिमा हुँदै

राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेश द्रुतमार्ग ‘फास्ट ट्र्याक’ निर्माणमा चीनको उहानबाट फैलिएको कोभिड–१९ को हालसम्म कुनै असर परेको छैन । नेपाली सेनाको व्यवस्थापनमा चार वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको उक्त आयोजना कार्ययोजनानुरूप सम्पूर्ण काम अघि बढिरहेको छ । मुलुकको आर्थिक विकासको मेरुदण्डका रूपमा लिइएकोे द्रुतमार्ग निर्माण सेनाले इतिहास रच्ने अवसरका रूपमा लिएर कामलाई तीव्रता दिएको छ । उक्त आयोजनामा हालसम्म कुनै पनि चिनियाँ ठेकेदार र कामदार संलग्न नभएका कारण कोभिड–१९ को असर नपरेको हो । खरिद ऐनको प्रक्रिया र केही नीतिगत निर्णयका कारण हुने ढिलाइबाहेक आयोजना अघि बढाउने सन्दर्भमा हालसम्म कुनै बाधाअड्चन नभएको हुँदा कार्ययोजनानुसार नै काम भइरहेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले स्पष्ट पारे । आयोजना अहिले परामर्शदाता कम्पनी छनोटका क्रममा छ । राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक चासो दिएर हेरिएको ७२.६ किलोमिटर लम्बाइको उक्त राजमार्गको निर्माणले नेपालको आर्थिक विकासमा कायापलट ल्याउने विश्वास गरिएको छ । द्रुतमार्गमा रहने ठूला–साना ८७ पुलमध्ये विशेष प्रकारका १६, ठूला ४९ र साना २५ पुल छन् । उक्त राजमार्गले ललितपुरमा ७.७, काठमाडौँमा चार, मकवानपुरमा ५३.२ र बारामा ७.६ किलोमिटर क्षेत्र समेट्नेछ । सेनाले जटिल मानिएका ठूला १६ पुलको निर्माण आगामी २०७७ सालको पुसमा शुरु गर्नेछ भने तीबाहेकका अरू पुलको निर्माण आगामी भदौदेखि शुरु गर्ने बताइएको छ । उक्त मार्गमा ९९ कल्भर्ट निर्माण हुनेछन् । महादेव डाँडामा ३.३५५, धेद्रेमा १.६३ र लेनडाँडा १.४३ किमी लम्बाइका बोग्लाबेग्लै आते/जाते गर्न मिल्ने सुरुङ निर्माण गरिनेछ । मख्खुबेँसी, महादेवडाँडा, लेनडाँडा, राजदमार र निजगढमा माटो परीक्षणका लागि प्रयोगशाला बनाइएको छ । उक्त मार्ग निर्माणका क्रममा कटान गर्नुपर्ने ९७ प्रतिशत रूख काटिइसकिएको छ । आयोजनालाई अघि बढाउने क्रममा २८ लाख घनमिटर माटो कटान गरिएको छ भने सडक छेउको पर्खाल निर्माण र माटो भर्ने काम पनि द्रूतगतिमै अघि बढेको छ । नेपाली सेनाले मक्खुबेँसी, सिस्नेरी, लेडडाँडा, बुदुने, महादेव डाँडा, धेद्रे, राजदमार, बागदेव र निजगढ क्याम्प खडा गरी कटिङ तथा फिलिङको काम गरिहेको छ । बाराको निजगढ इलाकाको १० किलोमिटर क्षेत्रमा दु्रतमार्गले २७ मिटर फराकिलो आकार लिइसकेको छ । दर्जनौँको सङ्ख्यामा स्काभेटर, डोजर, लोडर, टिपरसहितको जनशक्ति अहिले अहोरात्र खटिरहेको छ । आगामी आर्थिक वर्षको प्रारम्भमै सुरुङ र पुललाई ११ वटा क्लस्टरमा विभाजन गरी तोकिएकै समयावधिभित्र पूरा गर्ने हिसाबले एकैसाथ काम अघि बढाउने प्रवक्ता पाण्डेले जानकारी दिए । हाल आयोजनाको सडक खण्डमा पर्ने क्षेत्रमा कटान तथा माटो भर्ने काम भइरहेको छ । यो काम आगामी असार मसान्तभित्रै सम्पन्न हुँदैछ । आयोजनामा पुल र सुरुङबाहेकको खण्ड ५५.५ किलोमिटर हुनेछ । सोमध्ये कूल ३१ किलोमिटरको काम करिब सम्पन्न भएको छ । काठमाडौँ उपत्यकालाई तराईसँग सडक सञ्जालमा जोड्ने सबैभन्दा छोटो दूरीको उक्त द्रुतमार्गको लागत अनुमान रु एक खर्ब ७५ अर्ब रहने अनुमान गरिएको छ । आयोजनाको समष्टिगत प्रगति नौ प्रतिशत र वित्तीय प्रगति पनि सोही हाराहारीमा छ । ललितपुरको खोकनाबाट शुरु भई बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जेडिने उक्त दु्रतमार्गको ट्र्याक पनि नेपाली सेनाले नै खनेको थियो । निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलले यो सडकको महत्वलाई अझ उजागर गर्नेछ । नेपाली सेनाले आवश्यकतानुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका परामर्शदाता र ठेकेदारको सहयोग लिएर सडक निर्माण गर्नेछ । राष्ट्रिय गौरवको त्यसमाथि हालसम्मकै ठूलो आयोजना निर्माण प्रक्रिया द्रुतरूपमा नै अगाडि बढेको छ । निर्माण कार्यलाई तीव्रता दिने क्रममा सडकलाई २४ क्षेत्रमा विभाजन गरेर विदेशी तथा स्वदेशी निर्माण व्यवसायीबाट काम गराउने प्रयास भइरहेको छ । द्रुतमार्गका लागि सुरुङ र विशेष प्रकारका पुल निर्माणलाई भने सेनाले चुनौतीका रूपमा लिएको छ । सडक निर्माणका लागि मात्रै पनि ३०० टन विस्फोटक पदार्थ आवश्यक पर्ने अनुमान गरिएको छ । दायाँबायाँ ५० मिटर जग्गा अधिग्रहण गरिएको २७ मिटर चौडाइको उक्त राजमार्ग चार लेनको हुनेछ । रासस