सानिमा बैंकको क्रेडिट कार्डमा ० प्रतिशत ब्याजदरमा १२ महिनासम्म ईएमआई सुविधा
काठमाडौं । सानिमा बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताका लागि ० प्रतिशत ब्याजदरमा ईएमआई सुविधा उपलब्ध गराउने उद्देश्यले फिनतारा सोलुसन्स प्रा.लि.सँग सहकार्य गरेको छ । बैंकका अनुसार यस सहकार्यअन्तर्गत ग्राहकहरूले फिनतारासँग आबद्ध मर्चेन्ट स्टोरहरूमा सानिमा बैंकको क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा अधिकतम १२ महिनासम्म ० प्रतिशत ब्याजमा ईएमआई सुविधा उपभोग गर्न सक्नेछन् । यो सुविधा इलेक्ट्रोनिक्स, मोबाइल सेट, ल्यापटप, फर्निचर, माउन्टेन बाइक, घरेलु उपकरणलगायतका सामग्री खरिदमा लागू हुने बैंकले जनाएको छ । बैंकका अनुसार यस पहलले उच्च मूल्यका सामग्रीहरूलाई थप सहज र पहुँचयोग्य बनाउँदै ग्राहकहरूलाई बिना ब्याज किस्ताबन्दीमार्फत भुक्तानी गर्ने सुविधा प्रदान गर्ने लक्ष्य राखेको छ । सानिमा बैंकले ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गर्दै डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको जनाएको छ । छुटसम्बन्धी विस्तृत विवरण बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको बैंकले उल्लेख गरेको छ । हाल सानिमा बैंकले देशका सातै प्रदेशमा १३४ शाखा कार्यालय तथा १२७ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।
अर्थतन्त्रमा ‘फिजियोथेरापी’ होइन, अब सर्जरी चाहिन्छ : युवराज खतिवडा
काठमाडौं । पूर्व गभर्नर डा. युवराज खतिवडाले नेपालको अर्थतन्त्र अहिले स्वस्थ रूपमा मोटाएको नभई सुन्निएको अवस्थामा रहेको भन्दै सामान्य सुधारभन्दा पनि संरचनात्मक ‘सर्जरी’ आवश्यक रहेको बताएका छन् । सोमबार नेपाल राष्ट्र बैंकको ७१ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले राष्ट्र बैंकले गरेका साना–साना ‘फिजियोथेरापी’ले मात्र समस्या समाधान नहुने उल्लेख गर्दै गम्भीर नीतिगत हस्तक्षेप आवश्यक रहेको बताए । उनले ऐतिहासिक रूपमा ब्याजदर न्यून बिन्दुमा झरे पनि कर्जाको माग नबढेको उल्लेख गर्दै अहिलेको समस्या केवल राष्ट्र बैंकभित्र सीमित नभई बाह्य आर्थिक संरचनासँग पनि जोडिएको बताए । '१८ प्रतिशत ब्याजदर हुँदा पनि कर्जा लगानी भएकै थियो, त्यसैले अहिलेको समस्या राष्ट्र बैंकमा मात्रै छैन, बाहिर पनि छ,' उनले भने । खतिवडाले कर्जाको गुणस्तरीयता कायम गर्न हालका व्यवस्थाको पुनरावलोकन गर्नुपर्नेमा जोड दिए । कृषिमा प्रवाह भएको कर्जाबारे राष्ट्र बैंक आफैंले राम्रो नभएको प्रतिवेदन बनाउनु गम्भीर विषय भएको उनको भनाइ थियो । वित्तीय समावेशीकरणका लागि लघुवित्तको लाइसेन्स खुला गरिए पनि विपन्न वर्गबाहेक अन्यले समेत ऋण लिँदा लघुवित्त क्षेत्रमा समस्या देखिएको उनले बताए । राष्ट्र बैंकलाई ‘थिंक ट्यांक इन्स्टिच्युट’ का रूपमा उल्लेख गर्दै खतिवडाले यस संस्थाबाट राष्ट्रिय योजना आयोगलगायत विभिन्न निकायमा नेतृत्व पुगेको स्मरण गरे । देशमा कुनै समस्या आउँदा राष्ट्र बैंकका कर्मचारीको खोजी हुने गरेको भन्दै उनले संस्थाको स्वायत्तता कायम राख्नुपर्ने बताए । उनले राष्ट्र बैंक ऐनमा अर्थसचिवलाई हटाउने बहसभन्दा पनि समन्वय र जवाफदेहितामा जोड दिनुपर्ने धारणा राखे । 'जवाफदेहीसहितको स्वायत्तता हुनुपर्छ, नीतिगत बहस हुन सक्छ तर व्यक्तिगत टकराव हुनु हुँदैन,' उनले भने । आफू गभर्नर हुँदा फरक–फरक दलका पाँच अर्थमन्त्रीसँग काम गरेको स्मरण गर्दै उनले कहिल्यै टसलको अवस्था नआएको बताए। अहिलेका गभर्नरले पनि राजनीतिक नेतृत्वलाई बुझाउन सक्नुपर्ने उनको सुझाव थियो । उनले भने, 'ब्याजदर धेरै हुँदा सेयर बजार घट्यो भन्ने साथीहरू आज कता हुनुहुन्छ ? आज ६ प्रतिशत ब्याजदर हुँदा पनि कर्जा बढ्न सकेको छैन ।'
बीमा कम्पनीहरूलाई ई-बिलिङ प्रणाली लागू गर्न प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई ई-बिलिङ प्रणाली लागू गर्न निर्देशन दिएको छ । प्राधिकरणले बीमा क्षेत्रको वित्तीय अनुशासन सुदृढीकरण, कारोबारको पारदर्शिता अभिवृद्धि, कर अनुपालन सुनिश्चितता तथा सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने उद्देश्यले कम्पनीहरुलाई ई- बिलिङ प्रणाली लागू गर्न निर्देशन दिएको हो । प्राधिकरणका उपनिर्देशक हृदेश्वर पण्डितद्वारा जारी गरेको पत्रमा भनिएको छ, ‘ बीमा क्षेत्रको वित्तीय अनुशासन सुदृढीकरण, कारोबारको पारदर्शिता अभिवृद्धि, कर अनुपालन सुनिश्चितता तथा सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने उद्देश्यले सबै प्रकारका बीमा शुल्क तथा अन्य भुक्तानीका लागि अनिवार्य ई-बिल/इनभ्वाइस जारी गर्ने व्यवस्था गर्नहुन निर्णयअनुसार लेखिएको छ ।’