हिमालयन बैंक अब फोनेपेमा, लाखौं ग्राहकलाई क्यूआर भुक्तानी सुविधा

काठमाडौं । फोनेपे पेमेन्ट सर्भिस लिमिटेड (फोनेपे) ले हिमालयन बैंक लिमिटेडलाई औपचारिक रूपमा  नेटवर्कमा आबद्ध गरिएको घोषणा गरेको छ । यो साझेदारीलाई नेपालको डिजिटल भुक्तानी प्रणालीका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ, जसले देशको सबैभन्दा विस्तृत भुक्तानी पूर्वाधारलाई निजी वाणिज्य बैंकिङ क्षेत्रको एक अग्रणी संस्थासँग जोडेको छ । सन् १९९३ मा स्थापना भएको हिमालयन बैंक नेपालको प्रतिष्ठित निजी क्षेत्रीय बैंकका रूपमा परिचित छ । विश्वास, नवप्रवर्तन र वित्तीय नेतृत्वको पर्याय बनेको हिमालयन बैंक आधुनिक बैंकिङ सेवा नेपालमा भित्र्याउने अग्रणी संस्थामध्ये एक मानिन्छ । देशभर फैलिएको शाखा सञ्जाल र तीन दशकभन्दा बढी समयदेखि निर्माण भएको बलियो ग्राहक आधारका कारण हिमालयन बैंकको फोनेपे नेटवर्कमा एकीकरणले डिजिटल भुक्तानीको प्रयोगलाई अझ तीव्र बनाउने अपेक्षा गरिएको छ । यसबाट देशभरका लाखौं हिमालयन बैंकका ग्राहकहरूले सहज रूपमा क्यूआर-आधारित कारोबारको सुविधा प्राप्त गर्नेछन् । फोनेपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले हिमालयन बैंकलाई नेटवर्कमा स्वागत गर्दै नेपालको डिजिटल भुक्तानी यात्रामा यो परिभाषित क्षण भएको बताए । उनले हिमालयन बैंकले नेपाली ग्राहकहरूसँग निर्माण गरेको गहिरो विश्वास र फोनेपेका २० लाखभन्दा बढी व्यापारी टचपोइन्टहरूको पहुँचले नगदरहित नेपालको लक्ष्यतर्फ अझ तीव्र गतिमा अघि बढ्न मद्दत गर्ने उल्लेख गरे । उनले देशको अग्रणी निजी बैंकका रूपमा हिमालयन बैंकले अनुपम विश्वसनीयता र पहुँच ल्याएको भन्दै अब डिजिटल भुक्तानीलाई देशको हरेक कुनामा र हरेक नेपालीसम्म पहुँचयोग्य बनाउने विश्वास व्यक्त गरे । हिमालयन बैंकले पनि फोनेपे नेटवर्कमा आबद्ध हुनु आफ्नो दीर्घकालीन वित्तीय नेतृत्वको स्वाभाविक विस्तार भएको जनाएको छ । बैंकका अनुसार अब ग्राहकहरूले अन्तरसञ्चालनयोग्य डिजिटल भुक्तानीका सम्पूर्ण फाइदा छिटो, सुरक्षित र सहज रूपमा अनुभव गर्न सक्नेछन् । 

एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

काठमाडौं । एनएमबि बैंकले व्यावसायिक भुक्तानी तथा वित्तीय संस्था स्थानान्तरणमा उत्कृष्ट गुणस्तर र दक्षता प्रदर्शन गरेबापत कमर्ज बैंक एजी, जर्मनीबाट प्रतिष्ठित ‘एसटीपी अवार्ड २०२५’ प्राप्त गरेको छ । यो अवार्ड अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा उच्च मान्यता प्राप्त सम्मान हो । पूर्ण रूपमा स्वचालित तथा सरल ढंगले अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदान गर्ने सीमित बैंकहरूलाई मात्र यो अवार्ड प्रदान गरिन्छ । यसले एनएमबि बैंकको प्राविधिक दक्षता, कार्यगत अनुशासन तथा द्रुत र भरपर्दो सेवा प्रदान गर्ने प्रतिबद्धता झल्काउँछ । यस अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले भने, 'हाम्रा ग्राहकहरूका लागि अन्तर्राष्ट्रिय बैंकिङलाई सरल र सहज बनाउने हाम्रो निरन्तर प्रयासको यो उपलब्धि हो । उच्च मापदण्ड कायम राख्दै हामी छिटो, सुरक्षित र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध छौँ ।' यस उपलब्धिले एनएमबि बैंकलाई व्यापार, लगानी तथा विश्वव्यापी वित्तीय पहुँचका लागि एक विश्वसनीय साझेदारका रूपमा थप सुदृढ बनाएको छ । एनएमबि बैंकले हाल देशभर १९८ शाखा, १८४ एटीएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।  

मेटलाइफको जुम्लामा सेवा विस्तार, स्मार्ट बोर्ड हस्तान्तरणसहित बीमा पहुँच बढाउने

काठमाडौं । मेटलाइफ नेपालले जुम्लामा सेवा औपचारिक रूपमा सुरु गरेको छ । यससँगै नेपालको दुर्गम तथा सेवा अभाव भएका क्षेत्रमध्ये एक मानिने जुम्लामा वित्तीय सुरक्षा र बीमा सेवाको पहुँच विस्तार भएको छ । कम्पनीका अनुसार यो विस्तार देशभर, विशेषगरी दुर्गम समुदायसम्म बीमा सेवा सहज रूपमा पुर्याउने प्रतिबद्धताको एक हिस्सा हो । जुम्लाका बासिन्दाले भोग्दै आएका सीमित पूर्वाधार, वित्तीय सेवासम्मको दूरी तथा सेवा अभावलाई मध्यनजर गर्दै स्थापना गरिएको स्थानीय एजेन्सी कार्यालयले व्यक्तिगत ग्राहक सेवा प्रदान गर्ने, वित्तीय साक्षरता अभिवृद्धि गर्ने तथा स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ । यस पहलमार्फत स्थानीय परिवारलाई व्यवहारिक उपकरण र मार्गदर्शन उपलब्ध गराई आर्थिक रूपमा सुरक्षित भविष्य निर्माणमा सहयोग पुर्याउने उद्देश्य राखिएको कम्पनीले जनाएको छ । जुम्ला समुदायलाई थप सहयोग पुर्याउने उद्देश्यले मेटलाइफ नेपालले सूर्य सामाजिक सेवा समाजसँग सहकार्य गर्दै चन्दननाथ उच्च माध्यमिक विद्यालय र जनता माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ । यस सहयोगले विद्यार्थीहरूलाई थप आकर्षक र अन्तरक्रियात्मक सिकाइ वातावरण प्रदान गर्नुका साथै शिक्षकहरूलाई आधुनिक कक्षाकोठा प्रविधिसँग सुसज्जित बनाउन महत्वपूर्ण योगदान पुर्याएको बताइएको छ। साथै, मेटलाइफ नेपालले स्थानीय युवालाई लक्षित गरी बीमा सम्बन्धी सचेतना कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ, जसले जिम्मेवार वित्तीय व्यवहार विकास गर्न र दीर्घकालीन वित्तीय योजना बनाउन प्रेरित गर्ने अपेक्षा गरिएको छ । जुम्ला कार्यालय उद्घाटन कार्यक्रममा मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले देशका सबैभन्दा दुर्गम समुदायसम्म पनि वित्तीय सुरक्षा पुर्याउने प्रतिबद्धता दोहोर्याए । उनले भने, 'जुम्ला एजेन्सी कार्यालयको उद्घाटनले देशका सबैभन्दा दुर्गम समुदायसम्म पनि वित्तीय सुरक्षा पुर्याउने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । बीमा सेवाको पहुँच विस्तारसँगै, हामी शिक्षामा सहयोग र युवामाझ बीमा सचेतना अभिवृद्धिमार्फत दीर्घकालीन प्रभाव सिर्जना गर्न पनि उत्तिकै प्रतिबद्ध छौं, जसले उनीहरूलाई आर्थिक रूपमा सुरक्षित भविष्य निर्माण गर्न सहयोग पुयाउँछ ।'