सन नेपाल लाइफद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूको क्षमता अभिवृद्धि, उत्प्रेरणा तथा सम्मानका उद्देश्यले 'प्रयत्न निरन्तर, सम्मान र सबलीकरणको अवसर' शीर्षकमा एकदिने विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । लुम्बिनी प्रदेशअन्तर्गत राप्ती–भेरी क्षेत्र तथा कर्णाली प्रदेशका अभिकर्ताहरूलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा १७० भन्दा बढी बीमा सल्लाहकारहरूको सहभागिता रहेको थियो । कार्यक्रमको शुभारम्भ प्रमुख अतिथिहरूद्वारा दियो प्रज्वलन तथा गमलामा पानी हालेर गरिएको थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय मोटिभेसनल स्पिकर दिजय झाको प्रशिक्षण सत्र मुख्य आकर्षणका रूपमा रहेको थियो । उनले बिक्री कला, लक्ष्य निर्धारण, आत्मविश्वास विकास तथा बदलिँदो बीमा बजारमा सफल हुन अपनाउनुपर्ने रणनीतिबारे प्रभावकारी प्रशिक्षण दिएका थिए । सहभागीहरूले उक्त प्रशिक्षणलाई प्रेरणादायी र व्यवहारिक भएको प्रतिक्रिया दिएका थिए । कार्यक्रममा निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, प्रमुख बजार अधिकृत गणेश चौलागाईंलगायत विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो । अतिथिका रूपमा कर्णाली प्रदेश प्रमुख गोविन्द ढकालले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कर्णाली प्रदेश उपप्रमुख धिरेन्द्र शाही, नेपालगञ्ज क्लष्टर हेड कमल शाही, राप्ती–भेरी क्षेत्रीय प्रमुख तथा कार्यक्रम सञ्चालक दिपेन्द्र रावत, साथै विभिन्न शाखा प्रमुखहरूको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयालले अभिकर्ताहरू कम्पनीको मेरुदण्ड भएको उल्लेख गर्दै उनीहरूको सशक्तिकरण नै कम्पनीको दीर्घकालीन सफलताको आधार भएको बताए। त्यसैगरी प्रमुख बजार अधिकृत गणेश चौलागाईंले अभिकर्ताहरूलाई निरन्तर सिकाइ, अनुशासन तथा ग्राहकप्रति जिम्मेवार दृष्टिकोणसहित अघि बढ्न आग्रह गर्दै यस्ता कार्यक्रमहरूले बजार प्रतिस्पर्धामा अग्रता दिलाउने विश्वास व्यक्त गरे । कार्यक्रमका क्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान गरिएको थियो। विशेषगरी आफ्ना शाखाअन्तर्गत उत्कृष्ट व्यापार गर्न सफल सात जना अभिकर्तालाई उत्कृष्ट अभिकर्ताका रूपमा सम्मान गरिएको थियो । साथै सहभागीहरूबीच अनुभव आदानप्रदान तथा नेटवर्किङको अवसर समेत सिर्जना गरिएको थियो । कम्पनीले यस्ता कार्यक्रममार्फत अभिकर्ताहरूको दक्षता अभिवृद्धि गर्दै देशभर बीमा सेवाको पहुँच विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ । हाल सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका देशभर १४८ शाखा तथा उपशाखाहरू सञ्चालनमा रहेका छन् ।

नर्भिक हस्पिटलको बुक–बिल्डिङ ‘रोड शो’ सम्पन्न, संस्थागत लगानीकर्ता आकर्षित

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले बुक–बिल्डिङ प्रक्रिया मार्फत सेयर निष्कासन गर्ने तयारीस्वरूप आयोजना गरेको ‘रोड शो’ कार्यक्रम  सम्पन्न भएको छ । निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको आयोजनामा भएको उक्त कार्यक्रममा  संस्थागत लगानीकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजयकुमार मिश्रले नर्भिकको वर्तमान सञ्चालन अवस्था, वित्तीय सबलपक्ष र आगामी रणनीतिक विस्तारका योजनाहरू प्रस्तुत गर्दै लगानीकर्ताहरूलाई अस्पतालको दिगो विकासबारे प्रस्ट पारेका थिए । सो अवसरमा लगानीकर्ताहरूले मूल्य निर्धारण र मूल्याङ्कन पद्धतिका बारेमा आफ्ना धारणा राख्दै नर्भिकले अवलम्बन गरेको मूल्य खोजी प्रक्रिया पारदर्शी र व्यावसायिक रहेको भन्दै खुसी व्यक्त गरे । लक्ष्मी सनराइज क्यापिटलले सहभागीहरूलाई बुक-बिल्डिङको संरचना, नियामक प्रावधान र मूल्य निर्धारणका आधारहरूका बारेमा विस्तृत जानकारी गराएको थियो। यस रोड शोको सफल समापनले नेपालको पुँजी बजारमा पारदर्शी र बजार(आधारित मूल्य निर्धारण प्रक्रियालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।  इच्छुक योग्य संस्थागत लगानीकर्ताहरूले आफूले खरिद गर्न चाहेको सेयर संख्या र प्रस्तावित मूल्य खुलाई ५ कार्य दिनभित्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आफ्नो सिलबन्दी आशय पत्र बुझाउनुपर्ने व्यवस्था रहेको छ ।   

अर्थमन्त्रालयले भन्यो- सरकारी लगानीका बीमा कम्पनीहरू कमजोर देखिए

काठमाडौं । अर्थमन्त्रालयले  मुलुकको पछिल्लो आर्थिक अवस्थालाई समेटेर जारी गरिएको ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३’ (श्वेतपत्र) मा सरकारको लगानीमा स्थापित बीमा कम्पनीहरूको संस्थागत क्षमता कमजोर रहेको औंल्याइएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जारी गरेको उक्त श्वेतपत्रमा सरकारको लगानीमा रहेका बीमा कम्पनीहरूको संस्थागत क्षमता कमजोर रहेको उल्लेख गरिएको हो । सरकारकाे लगानीमा स्थापित बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी र नेपाल नेपाल पुनर्बीमा कम्पनी हुन् । अर्थमन्त्री वाग्लेले बीमा व्यवसायको नियमनमा व्यापक सुधार गरी एकातर्फ कृत्रिम बीमा दाबी र भुक्तानीको परिपाटी रोक्नुपर्ने औंल्याएका छन् । ‘बीमा व्यवसायको नियमनमा व्यापक सुधार गरी एकातर्फ कृत्रिम बीमा दाबी र भुक्तानीको परिपाटी रोक्नुपर्छ भने भने अर्कोतर्फ बीमा सेवाको दायरा विस्तार गरी जोखिम व्यवस्थापन र दीर्घकालीन पुँजी परिचालन गर्नुपर्नेछ,’ श्वेतपत्रमा भनिएको छ । पछिल्लो समय बीमा सेवा दायरा फराकिलो हुँदै गएको छ । नेपालको बीमा क्षेत्रमा हालसम्म १४ जीवन बीमा, १४ निर्जीवन बीमा, ७ लघुबीमा तथा २ पुनर्बीमा गरी कुल ३७ बीमा कम्पनी सञ्चालनमा रहेका छन् । सरकारले सार्वजनिक गरेको श्वेतपत्रनुसार बीमाको पहुँच २०८२ फागुनसम्म ४९.९२ प्रतिशत पुगेको छ ।