प्रभु महालक्ष्मीको साढे ३७ लाख कित्ता सेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको साढे ३७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थापक समूहका केही सेयरधनीहरूले आफ्नो नाममा रहेको ३७ लाख ४८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । कम्पनीका अनुसार विद्यमान संस्थापक सेयरधनीहरूले क्रमशः १३ लाख ५६ हजार ६०० कित्ता, १८ लाख ९९ हजार २४१ कित्ता र ४ लाख ६९ हजार ३०२ कित्ता र २३ हजार ७६० कित्ता गरी ३७ लाख ४८ हजार ९०३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ को निर्देशन नं. ११ बमोजिम सेयर बिक्रीमा राखिएको हो । कम्पनीको सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । निर्धारित अवधिभित्र संस्थापक समूहबाट आवेदन नआएमा प्रचलित कानुन बमोजिम उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।
यूनाइटेड अजोडको हकप्रदमा आवेदन दिने समय लम्बियो, अब कहिलेसम्म पाइन्छ ?
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने समय लम्बिएको छ । चैत २६ गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा अब लगानीकर्ताहरूले वैशाख ३१ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हाल कायम चुक्ता पुँजी २ अर्ब ३१ करोड रुपैयाँको १० प्रतिशत अर्थात् १०० कित्ता सेयर बराबर नयाँ १० कित्ता सेयर अनुपातमा हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले २३ करोड १० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २३ लाख १० हजार कित्ता हकप्रद सेयर बिक्री गरेको हो । हकप्रद सेयर बिक्री गरी बाँडफाँडपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत फागुन १७ गते बुकक्लोज गरेको थियो । त्यसैले फागुन १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको सेयरमा आवेदन दिन पाउने छन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धकसँगै लक्ष्मी सनराइज बैंकको नारायणगढ चितवन, धनगढी कैलाली, जनकपुर धनुषा, इटहरी सुनसरी, दमक झापा, धरान सुनसरी, घोराही दाङ, बनेपा काभ्रेपलान्चोक र हेटौंडा मकवानपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै सीआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।
फाइनान्स कम्पनीहरूको नाफा २७३ प्रतिशतले वृद्धि, ३ कम्पनी घाटामा
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ तेस्रो त्रैमाससम्ममा फाइनान्स कम्पनीहरूको वित्तीय अवस्थामा उल्लेख्य सुधार देखिएको छ । चैत्र मसान्तसम्ममा १५ फाइनान्स कम्पनीहरूले ७० करोड ४० लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा २७३.१८ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म फाइनान्स कम्पनीहरूले १८ करोड ८६ लाख ५९ हजार रुपैयाँ बराबरको नाफा आर्जन गरेका थिए । ९ महिनाको अवधिमा १५ फाइनान्स कम्पनीमध्ये १२ कम्पनीले नाफा आर्जन गरेका छन् भने बाँकी तीन कम्पनीले घाटा बेहोरेका छन् । प्रोगेसिभ फाइनान्स, जानकी फाइनान्स र नेपाल फाइनान्सले घाटा बेहोरेका हुन् । प्रोग्रेसिभ फाइनान्सले ९ महिनाको अवधिमा २ करोड ४७ लाख ४३ हजार रुपैयाँको घाटा बेहोरेको छ । गत आवको यही अवधिमा कम्पनीले ९ करोड ४ लाख ४१ हजार रुपैयाँ नाफा कमाएको थियो । जानकी फाइनान्सले तेस्रो त्रैमाससम्ममा २ करोड ९० लाख ८९ हजार रुपैयाँ घाटा बेहोरेको छ । उक्त कम्पनीले गत आवको सोही अवधिमा पनि घाटा नै बेहोरेको थियो । गत आवको चैत्र मसान्तसम्ममा कम्पनीले १२ करोड ८३ लाख २५ हजार रुपैयाँ घाटा बेहोरेको थियो । त्यस्तै, नेपाल फाइनान्सले ७ करोड ८६ लाख २५ हजार रुपैयाँ घाटा बेहोरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । ९ महिनाको अवधिसम्म सबैभन्दा बढी मन्जुश्री फाइनान्सले नाफा कमाएको छ । उक्त कम्पनीले चैत्र मसान्तसम्ममा २१ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको तुलनामा २७.९३ प्रतिशत बढी हो । गत आवमा कम्पनीले १७ करोड ११ लाख १९ हजार रुपैयाँ नाफा कमाएको थियो । गत आवको तुलनामा सबैभन्दा बढी नाफा ग्रोथ गर्नेमा गुडविल फाइनान्स रहेको छ । कम्पनीले गत आवको तुलनामा ५६५.७२ प्रतिशतले नाफा कमाएको छ । कम्पनीले गत आवमा १ करोड ५२ लाख २२ हजार रुपैयाँ नाफा कमाएकोमा चालु आवको ९ महिनामा १० करोड १३ लाख रुपैयाँ नाफा कमाएको हो । दोस्रो धेरै नाफा आर्जन गर्नेमा गुर्खाज फाइनान्सले १२ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त कम्पनी गत आवमा ६ करोड २१ लाख रुपैयाँले घाटामा थियो। त्यस्तै, चैत्र मसान्तसम्ममा पोखरा फाइनान्सले ७ करोड ३० लाख रुपैयाँ, वेस्ट फाइनान्सले ५ करोड ८७ लाख रुपैयाँ, गुहेश्वरी मर्चेन्ट बैंकले ४ करोड ५५ लाख रुपैयाँ, रिलायन्स फाइनान्सले ५ करोड ८७ लाख रुपैयाँ नाफा कमाएका छन् । त्यसैगरी, सेन्ट्रल फाइनान्सले ३ करोड ६९ लाख रुपैयाँ, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले २ करोड ५३ लाख रुपैयाँ, मल्टीपर्पोज फाइनान्सले ५३ लाख रुपैयाँ र समृद्धि फाइनान्सले ७ लाख रुपैयाँ बरारबको नाफा कमाएका छन् ।