बालेनकाे भनाइले शिक्षकमा खुसीयाली, तलब नदिने स्कुलको जानकारी बुझाउन पहल गर्दै युनियन

फाइल फोटो काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले निजी विद्यालयमा पढाउने शिक्षकहरुले पनि सरकारी वा सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरुले सरह तलब सुविधा पाउनुपर्छ भनेपछि निजी विद्यालयहरुमा कार्यरत शिक्षकहरुमा खुसीयाली छाएको छ । निजी विद्यालयमा अध्यापन गर्ने शिक्षकहरुको छाता संगठन ‘संस्थागत विद्यालय शिक्षक युनियन’ (इस्टु)ले आज प्रेस विज्ञप्ति जारी गर्दै बालेनको अभिव्यक्तिलाई स्वागतयोग्य भएको जनाएको छ । आफ्ना समस्याहरुलाई लामो समयदेखि विभिन्न निकायहरुमा राख्दै आएकोमा कुनै प्रतिकृया नआएकोमा बालेनले दिएको अभिव्यक्ति स्वागतयोग्य भएको इस्टुले आफ्नो विज्ञप्तिमा जनाएको छ । ‘शिक्षाका माथिल्ला निकाय देखि तल्ला निकायहरुसम्म बारम्बार हाम्रा समस्याहरु राख्दा कुनै कुनै प्रतिकृया नआईरहेको बेलामा काठमाडौ महानगरपालिकाका मेयर बालेन साहबाट जुन अभिव्यक्ति आको छ त्यो अत्यन्त स्वागतयोग्य छ’, इस्टुको विज्ञप्तिमा भनिएको छ । साथै इस्टुले सबै पालिकाहरुले सरकारले शिक्षकहरुको निम्ति तोकेको न्यूनतम ज्याला उपलब्ध गराउन अनुरोध गरेको छ । ‘ हाम्रो यसमा स्वागत , समर्थन र सहयोग पनि छ। देशभरका सम्पुर्ण पालिकाहरुलाई यसै बिज्ञप्ति मार्फत शिक्षकहरुको न्युनतम सरकारले तोकेको तलब प्राप्त गर्ने अधिकारका पक्षमा न्याय दिलाउन आव्हान गर्दछौं’, विज्ञप्तिमा भनिएको छ । शिक्षकहरुको संगठन इस्टुले शिक्षकहरुलाई सम्बोधन गर्दै काठमाडौं महानगरका प्रमुख बालेनले भनेजस्तै सरकारी विद्यालय सरह तलब नदिएको जानकारी संगठनका काठमाडौं जिल्ला अध्यक्ष भुपाल उप्रतीलाई दिन पनि विज्ञप्तिमार्फत अनुरोध गरेको छ । इस्टुले ०६३ देखि ०६८ सम्म सरकार, प्याब्सन र एनप्याब्सनका बीचमा अभिभावक संघको रोहबरमा गरेको सम्झौता लागू नभएको र शिक्षक कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा दर्ता नगरिएको विज्ञप्तिमा उल्लेख गरेको छ । अधिकांश विद्यालयहरुले बैंकबाट तलब नदिएको, नियुक्ति पत्र नदिइएको र सहकारीको चेक दिएर नसाटिने सम्मको समस्या भोगिरहेको भन्दै अधिकांश निजी विद्यालयहरुले शिक्षकहरुको चरम शोषण गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

एसईई नतिजा यसै साताभित्र आउने

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसईई परीक्षाको नतिजा असार २३ गते शनिबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा यसै साता अर्थात् असार २३ गते शनिबारसम्म सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले यही हप्ता नतिजा सार्वजनिक गर्ने लक्ष्यका साथ काम भइरहेको बताए । नतिजा रुजु र इन्ट्री गर्ने काम भइरहेको बोर्डले जनाएको छ । प्राविधिक समस्या नआए नतिजा प्रकाशन अर्को साता धकेलिन पनि सक्ने बोर्डका कर्मचारीले बताए । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए । लेटर ग्रेडिङ निर्देशिका– २०७२ वा २०७८ अनुसार कुनमा नतिजा सार्वजनिक गर्ने समेत टुंगो लागिसकेको छैन । बोर्डको बैठकले मात्र त्यस विषयमा निर्णय गर्ने व्यवस्था छ ।

ए लेभल पढ्न कति लाग्छ खर्च, कसले पाउँछन् पढ्न ?

काठमाडौं । ‘ए लेवल’ भनेको क्याम्ब्रिज विश्वविद्यालयको कक्षा ११/१२ सरहको अन्तर्राष्ट्रिय शैक्षिक कार्यक्रम हो । नेपाल लगायत विश्वका धेरै देशहरुमा ए लेभलको पढाइ हुन्छ । अन्तर्राष्ट्रिय रुपमा पढाइ हुने जस्तै युरोपमा पढाई हुने तरिकाले क्याम्ब्रिज युनिभर्सिटी युकेमा नै डिजाइन भएर त्यहीँ  नै अप्लाई हुने कोर्षहरु हामीले पनि नेपालमा पढाउने गरेका छौं । ए लेवल पढाइ गर्नको लागि क्याम्ब्रिज युनिभर्सिटीबाट नै प्रतिनिधिहरु आएर यो मोडेलबाट पढाउनुस् भनेर हामीलाई तालिम दिने गर्छन् । क्याम्ब्रिज युनिभर्सिटीले हरेक २/२ वर्षमा कोर्षको अद्यावधिक गर्ने गर्छ । त्यसरी अद्यावधिक भएको कोर्षलाई कसरी पढाउने भन्ने विषयमा पनि ब्रिटिस काउन्सिलले समन्वय गरेर तालिम दिने काम गर्छ । त्यही तालिम लिएका शिक्षकहरुले नै स्कुल तथा कलेजमा पढाउने गर्छन् । कुन विषयमा विद्यार्थीले के पढ्नुपर्छ, कसरी पढ्नुपर्छ र कतिसम्म पढ्नुपर्छ भन्ने विषय अन्तर्राष्ट्रिय अनुसन्धानबाट विकास गरेर कोर्षमा समावेश गरिएको हुन्छ । क्याम्ब्रिज विश्वविद्यालयले नै १६/१८ वर्ष उमेरका विद्यार्थीलाई यस्तो खालको विषय दिनुपर्छ भनेर बनाएपछि मात्रै त्यो प्रकाशन भएको हुन्छ । विश्वविद्यालयले प्रकाशन गरिसकेपछि त्यो यो मोडालिटीमा पढाउनु पर्छ भनेर भनेर कोर्ष नै त्यहीँबाट आउने गर्छ । विश्वविद्यालयले ए लेवलका लागि सयौं विषयहरुको विकास गरेको छ । तर, नेपालमा भने सामान्यतया १५ विषय भित्र रहेर सो लेवलकाे पढाइ गर्ने गरेको पाइन्छ । जसमध्ये तीनवटा विशेष क्षेत्र रहेका छन् । एउटा विज्ञान विषय र अर्को गैर विज्ञान विषय । गैर विज्ञान विषयमा फेरि दुईवटा क्षेत्र रहेका छन्, एउटा मानविकी र अर्को व्यवस्थापन । विषयहरुमध्ये विश्वविद्यालयले सम्बन्धित देशको परिचय अध्ययनसँग जोडिने छुट्टै विषयको विकास गरेको छ । जसमध्ये नेपालमा नेपाल स्टडी भन्ने विषय रहेको छ । नेपालमा ए लेभलको शुरुवात ब्रिटिसहरुकै सहयोगमा बुढानिलकण्ठ स्कुलबाट भएको हो । त्यसपछि विस्तारै अरु निजी क्षेत्रका स्कुल तथा कलेजहरुले पनि यो विषयलाई पढाउन शुरु गरेको देखिन्छ । नेपालको कक्षा ११/१२ को शिक्षा र ए लेभलको शिक्षामा विषयवस्तु भन्दापनि खासगरी प्रस्तुतीको तरिकामा केही फरक छ । नेपालको कक्षा ११/१२ को अध्ययनमा हामी अलि बढी विषयको आधारमा जाने गर्छौं, जसले गर्दा सम्झेर पढ्ने विषयमा बढी केन्द्रित हुने गर्छौं । हामीले विषय बुझेपनि नबुझेपनि त्यसको प्रयोग भएपनि नभएपनि यति कोर्ष पढ्नैपर्छ भन्ने हुन्छ । तर, ए लेभलमा  विद्यार्थीले अन्तक्रिया माध्यमबाट बुझेर फ्लो गर्दै किन र कसरी जस्ता प्रश्नहरुको माध्यमबाट अध्ययन गर्ने गर्छ । अध्ययनको प्रकृयामा विद्यार्थीलाई नै बढी सहभागी गराएको उनीहरुको बुझाइलाई बुझेर पढाउने खालको कोर्ष ए लेवलमा हुन्छ । विषयहरुको हिसाबले नेपाली ११/१२ को जस्तै भएपनि यसको अध्ययन गर्ने तरिकामा चाहिँ फरक हुन्छ । ए लेभलमा क्याम्ब्रिज विश्वविद्यालयले एक वर्ष पढीसकेपछि वार्षिक परीक्षाको व्यवस्था गरेको छ । सामान्यतया जुन महिनाबाट पढाई शुरु भएपछि अर्को वर्षको मे र जुन महिनामा परीक्षा हुन्छ र अगस्ट महिनामा नतिजा सार्वजनिक हुन्छ । ए लेभलको नतिजा ग्रेडिङ सिस्टममा आउँछ । स्टार ए, बी, सी, डी, ई र यु भन्ने हुन्छ । औसतमा ४० प्रतिशत भन्दा धेरै आएमा यु पाउँछ । ५० प्रतिशत भन्दा धेरै आएमा डी, ६० प्रतिशत भन्दा धेरै भएमा सी, ७० प्रतिशत भन्दा धेरै आएमा बी र ८० प्रतिशत भन्दा धेरै नम्बर आएमा ए हुन्छ । विद्यार्थीको पढाइ र उत्तिर्ण अवस्था अनुसार पनि उसले ग्रेडको प्रकृति हासिल गर्छ । यदि विद्यार्थीले कक्षा ११ मात्रै पढेर उत्तिर्ण गरेको छ भने उसले सानो अक्षर ‘ए’ भएको मार्कसिट प्राप्त गर्छ । यदि विद्यार्थीले कक्षा ११ र १२ दुबै पास गरेको छन् भने त्यसको मार्कसिट समायोजित भएर क्यापिटल लेटर ‘ए’ लेखेको मार्कसिट प्राप्त गर्छन् । विद्यार्थीहरुको परीक्षा ब्रिटिस काउन्सिलले समन्वय गरेर विश्वविद्यालयले लिने गर्छ । परीक्षा पश्चात विश्वविद्यालयले पहिला ग्रेडिङ नम्बर पठाउने काम गर्छ र पछि मार्कसिट पठाउँछ । त्यसपछि फेरि होलोग्राम टाँसिएको सर्टिफिकेट पठाउँछ, जुन सर्टिफिकेट विश्वभरी नै स्वीकार्य हुन्छ । ए लेभल र नेपालको कक्षा ११/१२ अध्ययन गर्दाको उपलब्धिमा के फरक हुन्छ भनेर कहिलेकाहिँ जिज्ञासा उठ्ने गर्छ । सामान्यतया सरकारी तथा सामुदायिक विद्यालय र निजी विद्यालयको पढाइको अन्तर हेर्ने हो भने सरकारी तथा सामुदायिक विद्यालयको तुलनामा निजी स्कुलमा अलिक बढी अभ्यास र अन्तक्रिया हुने गर्छ । अंग्रेजी र गणितलाई बढी प्राथमिकता दिने काम गरिन्छ । विज्ञानको अभ्यास बढी गराउने काम गरिन्छ र शिक्षकहरुको गुणस्तरमा पनि केही भिन्नता देख्न सकिन्छ । त्यस्तै, ए लेभलमा कोर्षको आवश्यकताअनुसार शिक्षकहरुले अलिक बढी तयारी गरेर पढाइमा विद्यार्थीलाई नै सहभागी गराएर पढ्न सिकाउने, अनुसन्धान गरेर कुनै कुराहरुमा कनेक्सन हुन सिकाउने, विभिन्न विषय तथा क्षेत्रहरुसँग जोडिन सिकाउने लगायतका विशेषता हुने हुनाले उनीहरु तुलनात्मक रुपमा अलिक बढी निडर हुने, कुनै समस्या पैदा भयो त्यसलाई अनुसन्धान गरेर हल गर्न तयार हुन्छन् । जसले गर्दा विद्यार्थीहरु आफ्नो अध्ययन पूरा गरेर थप अध्ययन वा कामको क्षेत्रमा अगाडि बढ्न खोज्दा उनीहरुमा आत्मविश्वास र व्यक्तित्व विकासको विषय जोडिएको हुन्छ । यसको नतिजा कहाँ देख्न सकिन्छ भने विदेशी विश्वविद्यालयमा अध्ययन गर्न जानको लागि राजदूतावासमा अन्र्तवार्ता दिन जाँदा वा अन्य कुनै क्षेत्र वा कार्यक्रममा सहभागी हुँदा उनीहरु आत्मविश्वासका साथ सहभागी हुन्छन् । ए लेभल अध्ययन गरिसकेपछि विद्यार्थीले कुन–कुन विषय पढ्न सक्छन् भन्ने जिज्ञासा पनि एसईई दिएका विद्यार्थी तथा उनका अभिभावकहरुमा हुने गरेको पाइन्छ । विद्यार्थीले ए लेवलमा अध्ययनका लागि धेरै संख्यामा विषय उपलब्ध हुने र विद्यार्थीले आफ्नो इच्छा र क्षमताअनुसार जुन विषय रोज्यो सोही विषयकै आधारमा उसले अघिल्लो तहको विषय पढ्न सक्छन् । यो तह अध्ययन गरेको विद्यार्थीले अन्तर्राष्ट्रिय जगतमा जोडिएर पनि आफ्नो अध्ययनलाई सहज रुपमा अगाडि बढाउन सक्छ । ए लेभल सामान्यतया एसईई उत्तिर्ण गरेको मैले पढ्न सक्छु भन्ने विद्यार्थीले पढ्न सक्छ । यो तहको अध्ययनमा अंग्रेजी भाषाको अनिवार्य भएको कारणले गर्दा अंग्रजी भाषामा राम्रो भएको विद्यार्थीलाई सजिलो पनि हुन्छ । सामान्यतया नेपालको कक्षा ११/१२ को तुलनामा ए लेभलको पढाइ खर्चिलो पनि छ । परीक्षा शुल्क अरुभन्दा अलिकति महँगो पर्छ । नेपालमा ३/४ हजारमा एउटा विषयको परीक्षा दिन सकिन्छ भने ए लेभलमा एउटै विषयको परीक्षा शुल्क १७/१८ हजार जति पर्न जान्छ । पढ्ने क्रममा पनि विद्यार्थीलाई बढी अभ्यासमा केन्द्रित गर्नु पर्ने हुनाले तुलनात्मक रुपमा अध्ययन गर्दा शुल्क पनि बढी लाग्ने गर्छ । नेपालका स्कुल तथा कलेजहरुमा ए लेभलको अध्ययन गर्दा न्यूनतम आठ लाख जति खर्च हुन्छ । विद्यार्थी भाईबहिनी तथा अभिभावकहरुमा ए लेभलमा कहिले भर्ना भएर पढ्न पाइन्छ भन्ने जिज्ञासा पनि हुन्छ । सामान्यतया ए लेभल पढ्नको लागि एसईई दिएको भोलिपल्टबाट क्याम्पेन शुरु हुने गर्छ । सामान्यतया मे/जुन महिनामा विद्यार्थी भर्ना गरिसक्नुपर्ने हुन्छ । तर, हामीकहाँ एसईईको जाँच ढिला आएको बेलामा अलिक ढिलासम्म पनि हुन्छ, एसईईको जाँच अलिक ढिला भएको बेलामा अलिक ढिला पनि हुन्छ । कतिपय विद्यार्थीहरुले भर्ना हुने विषयमा जानकारीको कारणले गर्दापनि ढिला भइराखेको हुनसक्छ । त्यसैले नेपालका कलेजहरुले एसईईको नतिजा भएको एकहप्तासम्म पनि भर्ना लिने गरेका छन् । तर, अहिले प्रि–लर्निङ, मेकअप लगायतका विषयहरुको पढाइ भइरहेको छ । (खनाल ग्लोबल कलेजका ए लेवल को–अर्डिनेटर हुन् । उनीसँग कुराकानीमा आधारित)