विद्यार्थीले आफ्नो शैक्षिक प्रमाणपत्रमा पाँच वर्षसम्म नाम, थर र जात सच्याउन मिल्ने

काठमाडौं । विद्यार्थीले आफ्नो शैक्षिक प्रमाणपत्रमा पाँच वर्षसम्म नाम, थर र जात सच्याउन पाउने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद बैठकले विद्यार्थीले आफ्नो शैक्षिक प्रमाणपत्रमा भएको त्रुटि पाँच वर्षसम्ममा सच्याउन पाउने निर्णय गरेको हो । यसअघि शैक्षिक प्रमाणपत्रमा त्रुटि भए प्रमाणपत्र पाएको ६ महिनाभित्र सच्याउन मिल्ने व्यवस्था थियो । मन्त्रिपरिषद् बैठकले ‘उमेर, नाम र जात सच्याउने (तेस्रो संशोधन) नियमावली २०८०’ पारित गरेसँगै विद्यार्थीले आफ्नो शैक्षिक प्रमाणपत्रमा भएको त्रुटि पाँच वर्ष भित्रमा सच्याउन पाउने भएका हुन् । विद्यार्थीले आफ्ना बाबुआमाको नागरिकताको प्रमाणपत्रमा जात, नाम र थर सच्याएमा सो बमोजिम विद्यार्थीले आफ्नो शैक्षिक पमाणपत्रमा जात, नाम तथा थर सच्याउन सक्नेछ ।

तपाईंलाई थाहा छ ? स्नातक तह पढ्न बैंकबाट बिनाधितो ५ प्रतिशत ब्याजमा ऋण पाइन्छ

काठमाडौं । कक्षा १२ को नतिजा प्रकाशनसँगै नेपालमा सञ्चालित विश्वविद्यालयहरुले स्नातक तहको भर्ना प्रकृया अगाडि बढाएका छन् । सामान्यतया कक्षा १२ पछि विश्वविद्यालय तहमा के पढ्ने र कहाँ पढ्ने भन्ने विषयमा विद्यार्थीहरुले धारणा तयार गरिसकेका हुन्छन् । आर्थिक अवस्थाको कारणले कक्षा १२ उत्तिर्ण गरेपछि कतिपय विद्यार्थीले पढाइ नै छाडेर अन्य पेसा रोज्ने गर्छन् भने कतिपयले आर्थिक कारणले रोजेको विषय पढ्न पाउँदैनन् । तर, सरकारले उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययनको लागि लक्षित समूहका विद्यार्थीलाई सहुलियत कर्जा दिने व्यवस्था गरेको छ । आर्थिक अवस्था कमजोर भएकै कारण अध्ययनलाई निरन्तरता दिन नसकेका विद्यार्थीले सो सहुलियत ऋणको सहयोग लिन सक्छन् । कति ऋण पाउन सकिन्छ ? नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ मा ‘उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा’ सम्बन्धी व्यवस्था गरेको छ । सो कार्यविधि अनुसार विद्यार्थीहरुले बैंकबाट उच्च शिक्षा अध्ययनको लागि पाँच लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्छन् । विशेषगरी काठमाडौंमा रहेका कतिपय प्राविधिक निजी कलेजहरुले केही बैंकहरुसँग सम्झौता गरेर आफ्ना विद्यार्थीहरुलाई सो सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सहजिकरण पनि गरेका छन् । कार्यविधिअनुसार सो ऋण देशभित्रको उच्च शिक्षामा अध्ययन गर्ने लक्षित क्षेत्रको विद्यार्थी सबैले प्राप्त गर्न सक्छन् । कति लाग्छ ब्याज ? कार्यविधिमा विद्यार्थीले बैंकबाट लिने ‘उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा’मा कति ब्याज लाग्ने भन्ने विषयमा स्पष्ट व्यवस्था गरिएको छ । कार्यविधिको परिच्छेद २, (५) मा सरकारले ब्याज अनुदान उपलब्ध गराउने कर्जामा बैंकले आफ्नो आधार दरमा दुई प्रतिशत बिन्दु भन्दा बढी नहुनेगरी ब्याजदर कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । साथै, सो ऋण उपलब्ध गराउँदा बैंकले बीमा प्रिमियम बापत र कर्जा सुरक्षण शुल्क बापत केही शुल्क लिन सक्छन् । नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोख्रेलका अनुसार बैंकबाट ‘उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा’ मा बैंकको आधारदरमा दुई प्रतिशत बैंकले ब्याजदर थप्दा हुन आउने अंकमा नेपाल सरकारले उपलब्ध गराउने पाँच प्रतिशत घटाएर हुन आउने ब्याजदर लागु हुन्छ । उदाहरणका लागि साउन महिनामा राष्ट्रिय वाणिज्य बैंकको आधार दर सबैभन्दा कम ८.०२ रहेको थियो । सो बैंकले प्रदान गर्ने सहुलियतपूर्ण शैक्षिक कर्जामा आधार दर ८.०२ प्रतिशतमा २ प्रतिशत थप गर्दा १०.०२ प्रतिशत हुन जान्छ । सो ब्याजमा नेपाल सरकारले उपलब्ध गराउने ५ प्रतिशत ब्याज अनुदान घटाउँदा जम्मा ब्याजदर ५.०२ प्रतिशत हुन आउँछ । कुन विद्यार्थीले कसरी पाउन सक्छ सहुलियतपूर्ण ऋण ? कार्यविधिअनुसार ‘उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा’ प्राप्त गर्न विद्यार्थीले कक्षा १२ उत्तिर्ण गरेको तर, २५ वर्ष ननाघेको हुनुपर्छ । आर्थिक रुपमा विपन्न, सीमान्तकृत समुदाय वा लक्षित वर्गको विद्यार्थीले स्वदेशकै कुनै कलेज वा विश्वविद्यालयमा अध्ययन गरिरहेको वा गर्ने हुनुपर्छ । यो सहुलियत ऋण प्राप्त गर्न विद्यार्थीले आर्थिक रुपमा विपन्न भएको, सीमान्तकृत समुदाय वा लक्षित वर्गको विद्यार्थी भएको सिफारिस र अध्ययन गरेको शैक्षिक संस्थामा भर्ना भएको वा हुन योग्य रहेको कागजातको प्रतिलिपि बैंकमा पेश गर्नुपर्ने हुन्छ । प्रकृया पुरा गरेर बैंकबाट लिइने सहुलियतपूर्ण शिक्षा कर्जामा ब्याज अनुदानको व्यवस्था पाँच वर्षसम्मको लागि हुने र कर्जाको प्रकृतिअनुसार बैंकले अवधि निर्धारण गर्नसक्ने कार्यविधिमा उल्लेख गरिएको छ । आवश्यक कागजात पेश गरिसकेपछि पनि बैंकहरुले ऋण प्रवाह नगरेमा विद्यार्थीले आफ्नो गुनासो नेपाल राष्ट्र बैंकको केन्द्रीय समन्वय तथा अनुगमन समितिको सचिवालयमा सम्पर्क गर्न सकिने कार्यविधिमा उल्लेख छ । कार्यविधिअनुसार विद्यार्थीले उच्च शिक्षा अध्ययनको लागि बैंकबाट ऋण लिन कुनैपनि प्रकारको धितो राख्नुपर्दैन । त्यसको लागि एकाघरका सदस्य जमानीमा बसे हुने व्यवस्था कार्यविधिमा रहेको छ । नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ताले कार्यविधिमा ‘उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा’ सम्बन्धी व्यवस्था भएपनि घनिभूत हिसाबले कार्यान्वयनमा नआएको बताएका छन् । उनले सरकारले चालु आर्थिक वर्षको बजेटमा सरकारले सहुलियतपूर्ण कर्जाको व्यवस्थासम्बन्धी पुनरावलोकन गर्ने विषय समावेश गरेकाले आगामी दिनमा परिमार्जन हुनसक्ने समेत बताए । विद्यार्थीले सहुलियपूर्ण कर्जा लिएर ४ वर्षसम्म भुक्तान नगरेमा उसको राहदानी रोक्का गर्ने, कालोसूचीमा राख्ने र चलअचल सम्पत्ति रोक्का राख्ने लगायतका व्यवस्था कार्यविधिमा गरिएको छ । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ [pdf id=432006]

ओशो वर्ल्ड कन्सल्टेन्सीको ठगी धन्दा : लाखौँ कुम्ल्याएर सञ्चालक फरार

झापा । साइबेरिया, रोमानिया, पोल्याण्ड, कोरियालगायतका देशमा रोजगारी दिलाउने भन्दै ओशो वर्ल्ड कन्सल्टेन्सीले ७० जनाभन्दा धेरै व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेको खुलेको छ । बिर्तामोडमा रहेको सो कन्सल्टेन्सीले प्रतिव्यक्ति रु ५० हजारदेखि पाँच लाखसम्म ठगी गरेको र कन्सल्टेन्सी सञ्चालक फरार रहेको पीडितले बताएका छन् । शिवसताक्षी नगरपाालिकास्थित माइधार घर भएका पदम योङ्हाङसहित लक्ष्मीप्रसाद बराल (अञ्जान), धर्म तिम्सिना र अर्जुनधाराका लक्ष्मण घिमिरेले ७० जनाभन्दा बढी व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेको अर्जुनधारा-६ निवासी चन्दा अधिकारीले बताइन् । श्रीमान् दीपक अधिकारीलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै लक्ष्मण घिमिरे र लक्ष्मीप्रसाद बराल (अञ्जान) ले आफूहरूसँग तीन लाख रुपैयाँ ठगी गरेको अधिकारीले बताइन् । गत वर्ष भदौ ३० गते आफ्ना श्रीमान्लाई माल्टा पठाउने भन्दै घिमिरेले आफूहरूसँग राहदानीसहित रु एक लाख, चार महिनापछि पुसमा पुनः रु एक लाख त्यस्तै मेडिकल तथा प्रहरी रिपोर्टका लागि रु नौ हजार छ सय र चैत ३ गते वर्क पर्मिटका लागि भन्दै पुनः रु एक लाख लिएर सम्पर्कविहीन भएको अधिकारीले बताइन् । रकम लिएको तीन महिनामा माल्टा उडाउँछु भन्ने घिमिरेले पछि आफूले माल्टा पठाउन नसकेको र काठमाडौँमा रहनुभएका सरसँग कुरा गर्नु भन्दै अञ्जानसँग सम्पर्क गराएको पीडित अधिकारीले बताइन् । उनले भनिन्- ‘काठमाडौँबाट सर आउनुभएको छ भन्दै घिमिरेले पुस ४ गते अञ्जानसँग भेट गराएको र पुसमा पुनः दोस्रो पटक मेडिकल गराएर फागुनको अन्तिमतिर ‘एग्रिमेन्ट पेपर’ दिँदै विश्वास दिलाएर पुनः रु एक लाख चैत ३ गते दिएका हौँ । योसहित उनीहरूले हामीलाई ठगेको रु तीन लाख नौ हजार छ सय पुगेको हो ।’ वर्क पर्मिटका लागि तत्काल पैसा चाहिने भन्दै अञ्जानले आफूहरूसँग रकम मागेबमोजिमको रु एक लाख रकम प्रदान गरेको र राहदानीको मितिसमेत सकिन लागेकाले नयाँ राहदानी बनाएको अधिकारीको भनाइ छ । ‘सन् २०२४ मा श्रीमानको राहदानीको मिति सकिँदै थियो,’ अधिकारीले भनिन्- ‘हतारहतार गर्दै नयाँ राहदानी बनाएर अञ्जानलाई जिम्मा लगायौँ । राहदानी लगेसँगै अञ्जान बेपत्ता बने । हामी अहिले ऋणले घरको न घाटको भएका छौँ । सयकडा तीन रुपैयाँ ब्याजले पैसा खोजेको थियो । अहिले दिनहुँ साहु घरमै आएर पैसा माग्छन् । न साँवा तिर्न सकियो न ब्याज तिर्न सकियो । हाम्रो त उठिबास नै लाग्यो ।’ ‘घिमिरे र बरालले आफूहरूलाई ठगी गर्दै उठिबास लगाएसँगै न्यायको खोजीमा पटकरपटक जिल्ला प्रशासन कार्यालय झापा, जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनी धायौँ,’ अधिकारीले भनिन्- ‘हाम्रो आवाज कसैले सुनेन, अनि मिडिया गुहारेका हौँ हामीलाई अन्याय भएको लेखिदिनुपर्यो ।’ ‘श्रीमान्लाई विदेश पठाएसँगै जीविकोपार्जनमा सहज हुने कत्रो सपना थियो,’ अधिकारीले गहभरि आँसु पार्दै भनिन्, ‘अहिले ठगले हामीलाई न घरको बनाए न घाटको ।’ अधिकारीसँगै ठगिनेमध्येका शिवसताक्षी-१० का दीपककुमार कोइरालाको पनि व्यथा उस्तै छ । रोमानिया जाने सुन्दर सपना बोकेर रु ७० हजारसहित कोइरालाले पनि राहदानी धर्म तिम्सिनालाई थमाए । तिम्सिनाले पनि कोइरालालाई ‘हेड अफिस’को सर भन्दै उनै अञ्जान बरालसँग जोडाएका थिए । युरोपको काम हेर्न अञ्जान भएको र आफूले खाडी र मलेसियाको मात्रै काम हेर्ने भए पनि ‘हामी दुवैले सहकार्य गरेर अफिस चलाएकाले तपाईंको रकम फस्दैन’ भन्दै सुरुमा राहदानीसहित रु ५० हजार लिएको र पछि वर्क पर्मिटका लागि दुई सय यूरो पठाउनुपर्छ भन्दै रु २० हजार लिएको कोइरालाको भनाइ छ । ‘हाम्रो एउटै गाउँ हो डराउनुपर्दैन, पहिला मेरो खगोल मेनपावर थियो अहिले युरोपको पनि काम हेर्न गरी यो मेनपावर चलाएका हौँ’ तिम्सिनाको भनाइ उदृत गर्दै कोइरालाले भने, ‘तपाईंको वर्क पर्मिट साउन १५ गते आइसक्छ । भदौको पहिलो हप्ता दिल्ली जानुपर्छ तयारी अवस्थामा बस्नू ।’ कोइरालाका अनुसार उनी अहिले एकाएक बेपत्ता बने । उनले भनेको वर्क पर्मिट पनि नक्कली हरेछ । घरमा जाँदा उनी भेटिँदैनन् । अफिस पनि महिनौँदेखि बन्द गरेर उनी फरार भएका छन् । यता कनकाई नगरपालिका-३ का अमित काफ्लेको पनि रोमानिया जाने योजना सपनामा परिणत भएको छ । उनलाई पनि सोही गिरोहले ठगी गरेको बताइएको छ । आफूले पनि अञ्जान बराललाई राहदानीसहित रु ५० हजार बुझाएको तर अहिले उनी एक वर्षदेखि सम्पर्कविहीन भएको काफ्लेको भनाइ छ । आफ्नै गाउँका भाइ सुसान भट्टराईमार्फत बरालसँग सम्पर्क भएको र बराललाई आफूले एनआइसी एसिया बैंकमार्फत रकम प्रदान गरेको काफ्लेको भनाइ छ । “रोमानियाको हम्बोर्ड भन्ने कम्पनीबाट अफर लेटर आएको भन्दै सुरुमा मलाई त्यो लेटर देखााएर अल्मल्याइयो । पछि बुझ्दा त्यो नाम गरेको कम्पनी नै रोमानियामा रहेनछ”, उनले भने । रोमानियामा रहेका आफ्ना साथीभाइलाई आफर लेटर पठाएर त्यो कम्पनीको विषयमा बुझ्न लगाउँदा अफर लेटरको लोकेशनमा कम्पनी नै नरहेको काफ्लेको दाबी छ । ‘उनीहरूले दिएको मसँग वर्क पर्मिट पनि छ तर, त्यो वर्क पर्मिट पनि नक्कली छ,’ काफ्लेले भने- ‘हम्बोर्ड कम्पनी देखाएर मलाई जीएमडी इन्डस्ट्रीको वर्क पर्मिट दिइएको छ । वर्क पर्मिटमा भएको त्यसको दर्ता नम्बर कोड गुगलले अर्कै कम्पनीको नाम अस्तर भन्ने देखाउँछ । त्यस आधारमा पनि म ठगिएँछु भन्ने लागेर एजेन्ट र मेनपावर कम्पनी पुग्दा उनीहरू मेनपावर बन्द गरेर फरार भइसकेछन् ।’ वैदेशिक रोजगारीमा जाने सुन्दर सपना सजाएर रकम बुझाएकामध्ये अधिकारी, कोइराला र काफ्ले प्रतिनिधि मात्रै हुन् । उनीहरूजस्ता धेरैलाई माल्टा, साइबेरिया, रोमानिया, पोल्याण्ड, कोरियालगायतका देशमा रोजगारी दिलाउने भन्दै ओशो वर्ल्ड कन्सल्टेन्सीका सञ्चालकले ठगी गरेको पीडितले आरोप लगाएका छन् । ओशो वर्ल्ड कन्सल्टेन्सीका नाममा लक्ष्मीप्रसाद बराल (अञ्जान) पदम योङ्हाङ, धर्म तिम्सिना र लक्ष्मण घिमिरेको गिरोहले आफूहरूबाट लाखौँ रूपैयाँ ठगेको पीडितहरूले बताएका छन् । उनीहरूबाट ठगिनेमा कनकाई नगरपालिका-३ निवासी सविना कोइराला भट्टराई (रोमानिया- रु एक लाख), कनकाई-३ कै सुभद्रा न्यौपाने कोइराला (रोमानिया- रु ५० हजार), कनकाई नगरपाालिका- ३ कै चिरञ्जीवी महत्तो (माल्टा- रु एक लाख), बिर्तामोड नगरपालिका-४ का विनोद उप्रेती (माल्टा- रु एक लाख), बुद्धशान्ति गाउँपालिका- ५ का गोविन्द ढुङ्गाना (माल्टा- रु एक लाख), मेची नगरपालिका-९ का ओम प्रकाश भण्डारी (माल्टा- रु एक लाख), बुद्धशान्ति गाउँपालिका निवाासी योगेश कोइराला (माल्टा- रु एक लाख), बिर्तामोड नगरपालिका-४ का विकास उप्रेती (रोमानिया- रु ७० हजार), शिवसताक्षी नगरपालिका- १० का दीपककुमार कोइराला (रोमानिया- रु ७० हजार) सहित राहदानी लगेको बताइएको छ । त्यस्तै ठगीमा पर्नेमध्ये अर्जुनधाराका रोमन सापकोटा (रोमानिया- रु ५० हजार), शिवसताक्षी-१० का गङ्गाप्रसाद पराजुली (रोमनिया- रु ७० हजार) कनकाई-४ का दुर्गाप्रसाद कोइराला (रोमानिया- रु ७० हजार), बुद्धशान्ति-२ का लक्ष्मीप्रसाद नेपाल (रोमानिया- रु दुई लाख), कनकाई नगरपालिका-३ का किरण कुमाल (रोमानिया- रु ५० हजार), कनकाई-३ का अशोक थापा (रोमानिया- रु ३० हजार), कनकाई-३ का डिकबहादुर भुजेल (रोमानिया- रु ५० हजार) सहित ७० जनाभन्दा धेरैको राहदानीसहित लाखौँ रुपैयाँ लिएर बेपत्ता बनेको पत्रकार भेटघाटमा जानकारी दिइयो । ठगी आरोप लागेका चारै जना अहिले सम्पर्कमा नरहेको पीडितको भनाइ छ । यो समाचार तयार गर्ने क्रममा उनीहरूले प्रयोग गर्दै आएको मोबाइल नम्बरमा सम्पर्क गर्दा उनीहरूको मोबाइल स्वीच अफ रहेको पाइएको छ । रासस