सामाजिक सचेतना र जागरणको सेतु बन्दै पुस्तकालय
गण्डकी । पठन संस्कृति हराउँदै गइरहेका अवस्थामा पोखरा–२९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालयमा भने दिनानुदिन पाठक संख्या थपिने क्रम बढ्दै गएको छ। विद्यालय तथा क्याम्पसमा पढ्ने बालबालिकाका साथै समाजका निवृत्त एवं ज्येष्ठ नागरिकको पुग्ने र पढ्ने गन्तव्यका रूपमा स्थापित बनेको छ यो पुस्तकालय । समुदायको सक्रियतामा २०५८ सालमा वाचनालयका रूपमा स्थापित भई पछि यसलाई पुस्तकालयका रूपमा विकास गरिएको थियो। पाठकहरूलाई लक्षित गरी पुस्तकालयलाई समयसापेक्ष थप व्यवस्थित बनाइएको पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीले जानकारी दिए। उनका अनुसार पुस्तकालयमा विभिन्न कक्षहरू तयार गरिएको छ। ती कक्षहरूमा दिनानुदिन विद्यार्थी तथा पाठकहरू आउने गरेका छन्। पुस्तकालयमा प्रवेश गर्नासाथ भित्तामा झुन्ड्याइएका पोखरा र आसपासका तालतलैयाका तस्वीर, यस आसपासका क्षेत्रमा बसोबास गर्ने विभिन्न जातजातिका तस्वीर तथा वेशभूषा आदिले जो कोहीलाई यस क्षेत्रको मौलिकता बुझ्न सहयोग पुर्याउने गरेको छ। पुस्तकालयमा रहेको बालकक्षमा बालबालिकालाई बाल मनोवैज्ञानिक प्रविधिबाट सिक्न सक्ने तवरबाट खेलौनालगायतका सामान राखिएका छन्। यसका अतिरिक्त पुस्तकालयले कथा, चित्रकला, खेलकुद र हाजिरी जवाफ प्रतियोगितासमेत समय–समयमा गर्दै आएको भण्डारीले जानकारी दिए। पुस्तकालयमा आएर बालबालिकाले आफ्ना रुचिअनुसारका पुस्तक पढ्नुका साथै खेल्ने र विभिन्न मौलिक सिर्जनासमेत गर्ने गरेका छन्। पुस्तकालयको महिला कक्षमा महिलासम्बन्धी बैठक, तालिम, गोष्ठी गरिनुका साथै त्यहाँ महिला अधिकार, महिला स्वास्थ्य, शिशु स्वास्थ्यजस्ता पत्रपत्रिका, पाठ्यसामग्री आदि राखिएको छ। उक्त कक्षबाटै हरेक महिना महिला तथा शिशु स्वास्थ्य सेवा प्रदान गर्दै आइएको छ। पुस्तकालयकै सक्रियतामा दीपशिखा महिला कृषि सहकारीसमेत सञ्चालनमा आएको र सहकारीमा हाल ४५० जना महिला आबद्ध रहेको पुस्तकालयका कोषाध्यक्ष माधव भण्डारीले जानकारी दिए। सहकारीले कृषिसम्बन्धी तालिम साथै आलुको बीउ उत्पादन गर्दै बिक्री–वितरणसमेत गर्दै आएको छ। यस वर्ष मात्रै सहकारीले आफ्ना सदस्यलाई वितरण गरी ५० किलोग्राम तौलका ११४ बोरा आलुको बीउ बिक्री गरेको थियो। पुस्तकालयले ५५ जना किरोशीलाई प्रविधि, नेतृत्व विकास, सशक्तीकरण एवं जीवनोपयोगी तालिमसमेत सञ्चालन गर्दै आएको छ। उक्त तालिमले उनीहरूमा सशक्तीकरण एवं विभिन्न क्षमता अभिवृद्धि गराएको पुस्तकालयका कार्यालय प्रमुख धनु पहारीले बताए। पुस्तकालयमा रहेको श्रव्यदृश्य कक्षमा कृषि, वातावरणजस्ता उपयोगी श्रव्यदृश्य सामग्री देखाइने र निरक्षर व्यक्तिसमेत यसबाट लाभान्वित बन्ने गरेका छन्। पुस्तकालयमा श्रव्यदृश्यसमेत देखाउन मिल्ने सुविधा सम्पन्न ८० जना व्यक्ति बस्न सक्ने किसिमको तालिम कक्षको व्यवस्था गरिएको छ। तालिम कक्षमा विभिन्न संघसंस्थाले बैठक तथा सेमिनार गर्ने गरेका छन्। बैठक तथा सेमिनार कक्ष प्रयोग गरेबापत सेवा शुल्क दुई हजार ५०० रुपैयाँ लिने गरिएको र उक्त रकमले पुस्तकालयको सञ्चालनमा राहत पुग्ने गरेको छ। खेलकुद तथा संगीत कक्षमा युवाहरूलाई लक्षित गरी विभिन्न खेलकुद र वाद्यवादनका सामग्री राखिएका छन्। पुस्तकालय क्षेत्रका बाल क्लब तथा युवा क्लब यस कक्षबाट लाभान्वित भएका छन्। पुस्तकालयको कम्प्युटर कक्षबाट इमेल, इन्टरनेट, कम्प्युटर शिक्षा उपलब्ध गराइएको छ। यस कक्षमा महिला, शिक्षक, बालबालिका र युवाहरूलाई कम्प्युटर शिक्षा तथा निःशुल्क इन्टरनेट उपलब्ध गराइएको उनले बताए। पुस्तकालयमा आएर आधारभूत कम्प्युटर तालिमसमेत निःशुल्क उपलब्ध गराइने गरिएको र त्यसबाट धेरै व्यक्तिहरू स्वरोजगार बन्न सफल बनेका छन्। पुस्तकालयमा विभिन्न क्षेत्र र विषयका आठ हजार ५०० भन्दा बढी पुस्तक छन्। पुस्तकालयमा एकैपटक ४० जनाले शान्त वातावरणमा अध्ययन गर्न सक्ने व्यवस्था मिलाइएको छ। विद्यालय, क्याम्पस र विश्वविद्यालयका पाठ्यपुस्तक र राष्ट्रिय तथा स्थानीय दैनिक, साप्ताहिक, पाक्षिक, मासिक पत्रपत्रिका उपलब्ध रहेको कार्यालय प्रमुख पहारीले जानकारी दिए। पुस्तकालयमा समाजमा प्राचीनकालदेखि दैनिक जीवनमा प्रयोगमा आउने गरेका सामग्रीबारे नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यका साथ संकलन गरी राखिएको छ। ‘पुस्तकालयमा पाठक सदस्यता निःशुल्क व्यवस्था गरिएको छ, परिचयपत्र बापत १०० रुपैयाँ मात्र लिने गरेका छौँ,’ उनले भने, ‘विद्यार्थी तथा पाठकका लागि पुस्तक घरमा लान सकिने व्यवस्था मिलाइएको छ।’ पुस्तकालयले अघिल्लो वर्ष देशकै नमुना सामुदायिक पुस्तकालयको कदरपत्र नेपाल सरकार शिक्षा, विज्ञान प्रविधि मन्त्रालयबाट पाएको थियो। नगर विकास कोष, तत्कालीन लेखनाथ नगरपालिका र स्थानीय जनसहयोगबाट पुस्तकालयको सुविधासम्पन्न भवन निर्माण भएसँगै यसको दीर्घकालीन सञ्चालनमा सहयोग पुगेको हो। विभिन्न दाताबाट प्राप्त सहयोगसँगै भवनमा रहेका सटरलाई भाडामा लगाएर पुस्तकालयको सञ्चालनमा आर्थिक स्रोत जुटाउने गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए। ‘सानो–सानो सहयोगबाट बचत गर्दै पुस्तकालयको दीर्घकालीन व्यवस्थापनका लागि १८ लाखको अक्षयकोष स्थापना गरेका छौँ,’ उनले भने, ‘पुस्तकालयको व्यवस्थापनलाई चुस्तदुरुस्त राख्नका लागि करार सेवामा एक र स्थायी सेवामा दुई जना कर्मचारीको व्यवस्था छ।’ पुस्तकालयमा हालसम्म १५२ जना आजीवन सदस्य छन्। २५ वटा संस्था संस्थागत आजीवन सदस्य रहेका छन्। हाल साधारण सदस्यको संख्या २०० छ भने दैनिक पुस्तकालयमा आउने पाठकको संख्या ४० देखि ५० जना रहेको छ। पुस्तकालयले पाठकको रुचिअनुसारका नयाँ–नयाँ पाठ्पुस्तक नियमित किन्दै आएको छ। नवीनतम् प्रविधिको प्रयोग गरिएको पुस्तकालयले प्रत्येक वर्ष पठन संस्कृतिको विकास गर्ने उद्देश्यका साथ हाजिरी जवाफ, हिज्जे, निबन्ध, वक्तृत्वकला, वादविवाद प्रतियोगिताका साथै निरन्तर शिक्षा कक्षा सञ्चालन गर्दै आएको छ। पुस्तकायलकै सक्रियतामा युवाका लागि जीवनोपयोगी सीपमूलक तालिम, मोबाइल मर्मत, हाउसवायरिङ, ब्यूटीपार्लर, सिलाइकटाइ, गुडिया बनाउने मौरीपालनजस्ता थुप्रै तालिम प्रदान गरिसकिएको छ। आयोगको तयारी गर्ने पनि लाभान्वित पुस्तकालय सञ्चालनले आसपासका युवाहरू आफ्नो फुर्सदको समयलाई पढ्ने काममा उपयोग गर्ने गरेका छन्। विश्वविद्यालय तथा क्याम्पसको थप अध्ययन एवं छात्रवृत्तिका लागि तयारी एवं लोक सेवा आयोगको तयारी गर्ने विद्यार्थीले पुस्तकालयको उपयोग गर्ने गरेको भण्डारीले जानकारी दिए। ‘समाजमा जथाभाबी हिँड्ने, होहल्ला गर्ने प्रवृत्तिलाई पनि पुस्तकालयले न्यूनीकरण गर्न मद्दत पुर्याएको छ,’ उनले भने, ‘सामाजिक सचेतनासँगै पठन संस्कृतमा जागरण ल्याउन पुस्तकालय वरदान साबित बनेको छ।’ सामुदायिक स्तरबाट सञ्चालनमा आएको दीपशिखा पुस्तकालयले समाजमा सचेतनासँगै जागरणका लागि पुर्याएको योगदान देशका अन्य स्थान र समुदायका लागि पनि प्रेरणादायी रहेको पत्रकार विष्णुहरि पौडेल बताउँछन्। ‘दीपशिखा पुस्तकालय समाजमा सचेतना अभिवृद्धि र जागरणका लागि सेतु बनेको छ,’ पौडेलले भने, ‘सामुदायिक प्रयासबाट स्थापित बनेको यसको दीर्घकालीन सञ्चालन र प्रभावकारी व्यवस्थापनका लागि राज्यको सहयोग अपरिहार्य छ।’ संस्थागत रूपमा नै पुस्तकालय दिवस पछिल्ला समयमा पठन संस्कृति कम हुँदै गएको चासो र चिन्ता बढिरहेका अवस्थामा सरकारले संस्थागत रूपमा नै पुस्तकालय दिवस मनाउन थालेको १५ वर्ष पुगिसकेको छ। पुस्तकालय दिवस यस वर्ष पनि भव्यताका साथ मनाउने तयारी गरिएको छ। सरकारले देशैभरका स्थानीय तहलाई पठन संस्कृतिको विकासमा सहयोग गर्न विभिन्न कार्यक्रमका साथ पुस्तकालय दिवस मनाउन निर्देशन दिएको छ। नेपालमा १८६९ भदौ १५ गते तत्कालीन राजा गीवार्णयुद्ध विक्रम शाहले हनुमानढोकामा ‘पुस्तक चिताइ तहबिल’ स्थापना गरेका थिए। उक्त समयमा पुस्तकालयको रेखदेखका लागि पं केदारनाथ झालाई जिम्मेवारी दिइएको थियो। पुस्तक चिताइ तहबिलका रूपमा पुस्तकालयसम्बन्धी पहिलो कानुन बनेको उक्त त्यही दिनको स्मरण गर्दै नेपालमा २०६५ सालदेखि औपचारिक रूपमा पुस्तकालय दिवस मनाउँदै आइएको हो। पछिल्लो तथ्यांकले नेपालमा सामुदायिक पुस्तकालयको संख्या एक हजारभन्दा बढी रहेको छ। सामुदायिक जागरणका लागि पुस्तकालय अपरिहार्य भएको ठहर गर्दै तत्कालीन समयमा महाकवि लक्ष्मीप्रसाद देवकोटालगायत केही बौद्धिक व्यक्तित्वहरूले प्रधानमन्त्री भीम समसेरका पालामा पुस्तकालय स्थापना गर्दा १९८७ सालमा ‘लाइब्रेरी पर्व’ भएको थियो। त्यस समयमा पुस्तकालय स्थापना गरेबापत तत्कालीन सरकारबाट उनीहरूलाई जनही १०० रुपैयाँ जरिबाना तिराइएको थियो। १६औँ पुस्तकालय दिवसका अवसरमा दीपशिखा पुस्तकालयमा नाटक प्रदर्शनी, गायन तथा नृत्य, कविता वाचन, पुस्तकालयसम्बन्धी चित्र प्रदर्शनी आदि कार्यक्रम आयोजना गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए। रासस
पढ्न विदेश जानैपर्छ भन्ने मानसिकता फेर्न जरूरी छ : अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महत उच्च शिक्षाको लागि विदेशै जानुपर्छ भन्ने मानसिकता परिवर्तन गर्नुपर्ने बताएका छन् । कक्षा–१२ को अध्ययन सक्ने बित्तिकै विदेश जानुपर्छ भन्ने मानसिकता विद्यार्थीमा रहेको उनले बताएका हुन् । बिहीबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । अर्थमन्त्री महतले राष्ट्रिय रुपमा सबैको मानसिकता बाहिर जानैपर्छ भन्ने भएको भन्दै विद्यार्थी र युवाहरुको मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताए । ५० देखि १०० प्रतिशत छात्रवृत्ति बिनाको अध्ययनका लागि विदेश जान नहुने उनले बताए । अर्थमन्त्री महतले नेपालबाट जाने विद्यार्थीहरु राम्रो विश्वविद्यालयमा नगएको भन्दै उनीहरुले अध्ययन पूरा गर्न नसक्ने र राम्रो अवसर समेत पाउन नसक्ने बताए । नेपालमा इन्जिनियरिङ पढ्नेहरु अन्तर्राष्ट्रिय राम्रो क्याम्पसहरुमा छात्रवृत्ति पास गरेर जानसक्ने क्षमता भए पनि कक्षा १२ बाट नै ४० हजार विद्यार्थी बाहिर जाने गरेको अर्थमन्त्रीको भनाई छ । अर्थमन्त्री महतले नेपालमा प्रविधि क्षेत्रमा ठूलो अवसर रहेको र युवाहरुले त्यसको सदुपयोग गर्न सक्नुपर्ने बताए । पछिल्लो समय ठूलो संख्यामा युवाहरु आइटीमा लागे पनि करको दायरामा भने नआएको अर्थमन्त्री महतको भनाई छ । नेपालबाट बेलायतमा १०० मिलियन पाउण्ड बराबरको सट्वयेरहरु निर्यात हुने गरेको बेलायतले स्वीकार गरेको महतले बताए । उनले नेपालमा आइटी क्षेत्रमा ठूलो सम्भावना रहेकाले सरकारले प्रोत्साहन गरिरहेको दाबी गरे । आर्थिक वर्षको बजेटमा आइटी क्षेत्रमा लगाएको लगानीको ५० प्रतिशत आम्दानी कर कम गर्ने नीति लिएको उनले बताए । अर्थमन्त्री महतले आइटी र पर्यटनको ठूलो सम्भावनाको खानी नेपाल भएकाले पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताए ।
विद्यार्थी भिसामा अष्ट्रेलिया जान कडाइ, बैंक खातामा साढे २४ हजार डलर देखाउनु पर्ने
काठमाडौं । नेपाली विद्यार्थीका लागि उच्च शिक्षा पढ्ने शैक्षिक गन्तब्यमध्ये अग्रस्थानमा आउँछ अष्ट्रेलिया । नेपाली विद्यार्थीका लागि अष्ट्रेलिया जान यसअघि केही सहज भएपनि अब भने कडाइ हुने भएको छ । अब विद्यार्थीहरुलाई भिसा पाउन कठिनसँगै पैसा पनि बढी बचत गर्नु पर्ने देखिएको छ । पढाइसँगै अवसर र कमाइको पनि आकर्षणको गन्तब्यको रुपमा लिइएको अष्ट्रेलिया सरकारले विद्यार्थी भिसामा कडाइ गर्दा त्यसको प्रत्यक्ष प्रभावमा नेपाली विद्यार्थी पर्ने भएका छन् । अष्ट्रेलियन सरकारले नयाँ नियमहरु ल्याएर स्टुडेन्ड भिसामा कडाइ गरेको हो । यसअघि एक वर्षका लागि बचत राख्नुपर्ने रकमको सीमा बढाएको छ । विद्यार्थीहरुले विदेश जानुअघि बैंक खातामा एक वर्षसम्म खान बस्न र पढ्नका लागि बैंकमा पैसा देखाउनु पर्ने हुन्छ । अब विद्यार्थीहरुले एक वर्षका लागि २४ हजार ५०५ डलर बचत गर्नु पर्ने नियम बनाएकाे छ । जुन पहिलेको तुलनामा १७ प्रतिशत बढी हो । पहिले २१ हजार डलर मात्रै खातामा देखाउनु पर्ने व्यवस्था थियो । आजको विनिमयदर अनुसार अब विद्यार्थीले खातामा १३ लाख ६८ हजार बढी रकम खातामा देखाउनु पर्छ । अब विद्यार्थीले वित्तीय कागजात बनाउँदा यसलाई नै आधार बनाएर काम गर्नु पर्ने हुन्छ । यस्तै, विद्यार्थीलाई कागजातमा पनि कडाइ गरिएको छ । के कस्तो कागजात माग गर्ने भन्ने विषय भने खुलाएको छैन । ५० प्रतिशतभन्दा कम भिसा लाग्ने अष्ट्रेलियन कलेजहरुलाई त्यहाँको सरकारले सस्पेन्सन सर्टिफिकेट दिने नियम पनि ल्याएको छ । त्यो भनेको त्यस्ता कलेजहरुले नयाँ विद्यार्थीहरुको भर्ना लिन पाउने छैनन् । यो व्यवस्थाले पनि नेपाली विद्यार्थीलाई भिसा आवेदनमा गाह्रो पर्नेछ । यो नियम भने अक्टोबरबाट लागू हुनेछ । अहिले करिब ८० हजार नेपाली विद्यार्थी अस्ट्रेलियाका विभिन्न कलेजमा उच्च शिक्षा लिइरहेका छन् । पछिल्लो समय त्यो संख्या झन बढ्ने अवस्थामा छ । हरेक नेपाली विद्यार्थीको रोजाइ विदेश बनिरहेको छ । पर्यटन र खानीपछि अस्ट्रेलियाको तेस्रो ठूलो आयस्रोत शिक्षा हो । शिक्षाबाट त्यहाँको सरकारले धेरै राजश्व संकलन गर्छ । चीन र भारतपछि नेपालका विद्यार्थी बढी अष्ट्रेलियामा जान्छन् । कोरोनापछि केही सहज गरेको अष्ट्रेलियाको सरकारले अहिले भने कडाइको बाटो अँगालेको हो ।