उमेरले छेकेन प्रेमकुमारीको पढ्ने रहरलाई
बाँके । कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा हजुरआमा उमेरकी ६१ वर्षीया प्रेमकुमारी गिरीले ध्यान दिएर पढ्छिन् । बाँकेको कोहलपुर नगरपालिका–११ बगियामा रहेको ज्ञानज्योति माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत गिरी कक्षा कोठाको अघिल्लो लाइनमा बस्छिन् । कक्षामा नियमित उपस्थित हुने उनको अरू विद्यार्थीसरह पढाइमै ध्यान केन्द्रित हुन्छ । ज्ञानज्योति माविको कक्षा ६ मा दिनहुँ देखिने यो दृश्यले हिजोआज धेरैलाई आश्चर्यचकित बनाएको छ । यसले सबैलाई खुसी पनि तुल्याएको छ । कोहलपुर–५ एनसिसिएन टोल निवासी गिरी इच्छाशक्ति भए पढाइलाई उमेरले छेक्न नसक्ने गतिलो उदाहरण बनेकी छन् । ‘हरेक व्यक्तिले शिक्षा अनिवार्य लिनुपर्छ पढाइभन्दा ठूलो चीज जीवनमा अरू केही छैन्’, उनी भन्छन्, ‘नातिनातिनासँग पढ्न पाउँदा र छोराहरुले मलाई सिकाउँदा निकै खुसी लागिरहेको छ ।’ प्रेमकुमारीले आफ्ना छ सन्तान हुर्काइसकेकी छन् । उनका छोराछोरी आ–आफ्नो व्यापार व्यवसायमा सक्रिय छन् । कान्छी छोरी उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलियामा छन् । पढ्ने इच्छा हुँदाहुँदै पनि विगतमा घरपरिवार र छोराछोरी हुर्काउँदा विद्यालय जान नपाएको उनको भनाइ छ । अहिले घरपरिवारमा फुर्सद मिलेपछि विद्यालय भर्ना भएर पढाइ सुरु गरेको प्रेमकुमारीले बताइन्। ‘मैले सानोमा पढ्न पाइनँ, घरकै काममा व्यस्त हुनुपर्यो, उनले भनिन्, ‘बाल्यकालमा पढ्न नपाए पनि विद्यालय जाने ठूलो धोको थियो, त्यही धोको पूरा गर्न अहिले पढ्न थालेकी छु ।’ नातिनातिना उमेरका सहपाठीसँग पढ्दा रमाइलो हुने गरेको उल्लेख गर्दै उनले भनिन्, ‘बिहान खाना खाएर विद्यालय आएपछि कक्षामा पढ्दा समय बितेको थाहा हुँदैन, बालबच्चासँग रमाइलो गरी पढ्ने गरेकी छु ।’ आफ्नो वडाको विद्यालय घरबाट टाढा पर्ने भएका कारण ११ नं वडामा रहेको विद्यालयमा भर्ना भएको उनको भनाइ छ । ज्ञानज्योति माविको कक्षा ६ मा ७७ विद्यार्थी छन् । विद्यालयमा नियमित रुपमा उपस्थित हुने प्रेमकुमारीको कक्षा कोठा सिकाइस्तर सामान्य रहेको विद्यालयका प्रधानाध्यापक गोविन्द ढकालले बताए। ‘कहिलेकाहीँ बिरामी हुँदा आउनुहुन्न, अरू बेला कक्षामा उहाँ नियमित रुपमा उपस्थित हुनुहुन्छ’, प्रधानाध्यापक ढकालले भने, ‘लामो समयसम्मको पढाइ छुटेकाले सिकाइस्तर भने सामान्य रहेको छ ।’ मलाई पढ्ने रहर लाग्यो, विद्यालयमा भर्ना गरिदिनूस् भनेपछि कक्षा ६ मा प्रेमकुमारीलाई भर्ना गरिदिएको प्रधानाध्यापक ढकालले जानकारी दिए । पाँच सय ६८ विद्यार्थी रहेको सो विद्यालयमा कक्षा ६ मा अन्य दुई विद्यार्थी पनि ३० वर्ष माथिको उमेर समूहका रहेको प्रधानाध्यापक ढकालले बताए। विद्यालयले आयोजना गरेको विद्यार्थीसँग मेयर कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले बिहीवार ६१ वर्षीय विद्यार्थी प्रेमकुमारी गिरीलाई सम्मान गरेका थिए । उनले इच्छा शक्ति भए जुनसुकै उमेरमा पनि पढाइ गर्न सकिने कुरालाई प्रेमकुमारीले पुष्टि गरेको भन्दै खुसी व्यक्त गरे। प्रेमकुमारीले पढ्ने गरेको सकारात्मक कार्यको अन्य दिदीबहिनी तथा आमाहरुले पनि देखासिकी गरी अध्ययन कार्य गर्न लाज नमान्न नगरप्रमुख आचार्यले आग्रह गरे ।
तनहुँ ब्यास शिव माविका विद्यार्थीलाई पढाइसँगै नौमती बाजा बजाउन सिकाइँदै
तनहुँ । व्यास नगरपालिका–१० स्थित शिव माध्यमिक विद्यालयका केही शिक्षक र विद्यार्थी हिजोआज नियमित कक्षा लिनाका अलावा विद्यालयमा बाजा बजाउँदै नाचगान गरिरहेका भेटिन्छन् । विद्यार्थीलाई जीवनोपयोगी शिक्षा दिन विद्यालयले नौमती बाजा बजाउने तालिम दिएपछि अहिले विद्यालयका छ विद्यार्थी, सोही सङ्ख्यामा शिक्षक र तीन अभिभावक गरी १६ जना नियमित नौमती बाजा बजाउने अभ्यासमा व्यस्त हुने गरेका छन् । गत साउन १८ गतेदेखि बागलुङका नौमती बाजा प्रशिक्षक प्रकाश थापाले दमाहा, सहनाई, नरसिंहा, ढोलक, झ्याली, ट्याम्को बजाउने तालिम दिएपछि सहभागी बजाउन सक्ने भएका हुन् । तालिम पहिलो चरणमा एक महिनासम्म सिकाइने विद्यालयले जनाएको छ । ‘यति छिट्टै बजाउन सकिएला भन्ने लागेको थिएन’, तालिमको दौरान ट्याम्को बजाउँदै गरेका कक्षा १० का विद्यार्थी आश्रुत लामिछानेले भने, ‘सुन्दा आनन्द लाग्ने धुन निकाल्न बढी नै मेहनत चाहिने रहेछ ।’ नौमती बाजा बजाउने तालिममा लामिछानेसहित कक्षा ७ का साहिल नेपाली, सफल विक, कक्षा ८ का पुरन थापा, सुमन नेपाली र निम दोर्जे शेर्पा, शिक्षकहरु नेत्रबहादुर दरै, सञ्जीता दरै, शान्तिकुमारी दरै, रमा दरै, अस्मिता आले, भरतबहादुर श्रेष्ठ र गोपाल थापा, अभिभावकहरुमा नेत्रप्रसाद पौडेल, दुर्गा सापकोटा र विद्यालय व्यवस्थापन समिति अध्यक्ष विकास रिजाल रहेका छन् । आफूले तालिममा सहभागी विद्यार्थी, शिक्षक र अभिभावकलाई नौमती बाजाको ताल र चरणका बारेमा जानकारी गराएको प्रशिक्षक थापाले बताए। सहभागीले सबै बाजा बजाउन १० दिनमै सिके पनि सहनाइ र नरसिंहा बजाउन भने करिब तीन महिनाको समय लाग्ने प्रशिक्षक थापाको भनाइ छ । ‘तालिममा सहभागीहरुले निकै अभिरुचिका साथ बाजा बजाउन सिक्नुभएको छ’, प्रशिक्षक थापाले भने, ‘सहनाई र नरसिंहा बाजा बजाउन भने अझै समय लाग्छ ।’ यसअघि आफूले विभिन्न समुदायलाई नौमती बाजा बजाउने तालिम दिए पनि विद्यालय स्तरका बालबालिका, शिक्षक र अभिभावकलाई तालिम दिएको यो दोस्रो भएको प्रशिक्षक थापाले बताए। विद्यालयस्तरकै बालबालिकालाई यसरी नौमती बाजा बजाउन सिकाउनुले संस्कृतिको संरक्षणमा टेवा पुग्ने आफूले ठानेको उनले बताए । नियमित कक्षालाई असर नपर्ने गरी अतिरिक्त कक्षाका रुपमा आफूहरुले विद्यार्थी, शिक्षक र केही अभिभावकलाई नौमती बाजा बजाउने तालिम प्रदान गरेको विद्यालयका प्रधानाध्यापक चन्द्रमणि कोइरालाले जानकारी दिए । लोप हुँदै गएको बाजालाई विद्यालय तहबाटै संरक्षण गर्नुपर्ने ठानेर आफूहरुले एक महिने तालिम दिएको उनको भनाइ छ । तालिममा सहभागीले बाजा बजाउन सिकेर नौमती बजाउन इच्छुक अन्य विद्यार्थीलाई समेत सिकाउँदै लैजाने योजना विद्यालयको रहेको प्रधानाध्यापक कोइरालाले बताए। नौमती बाजाका अलावा विद्यालयले नृत्य शिक्षकसमेत राखेर विद्यार्थीलाई नृत्य प्रशिक्षण दिँदै आएको जनाएको छ । नौमती बजाउने तालिमका लागि करिब रु एक लाख खर्च हुने विद्यालयले जनाएको छ । ‘नौमती बाजा लोप हुँदै गएको छ, अब विद्यालय तहबाटै संरक्षण गर्नुपर्छ भनेर नै हामीले तालिम प्रदान गरेका हौँ’, उनले भने, ‘यो तालिम दिएपछि सबैतिरबाट अहिले सकारात्मक प्रतिक्रियाले झनै हौसला मिलेको छ ।’ तालिममा सिकेका सीपलाई व्यवहारमा लागू गर्न आफूहरुले तिहारमा खेलिने देउसीभैलो, विभिन्न सांस्कृतिक पर्व र विद्यालयका अतिरिक्त क्रियाकलापमा विद्यार्थीबाट नौमती बजाइने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रिजालले बताए । ‘सिकेको सीपलाई त्यसै खेर जान दिइने छैन’, उनले भने, ‘नौमती बाजाको संरक्षणका लागि हाम्रा विद्यार्थी अग्रसर भएका छन् भन्ने सन्देश दिन आवश्यक छ ।’ विद्यार्थी, शिक्षक र अभिभावकको संयुक्त बैठक बसी नौमती संरक्षण गर्न अग्रसर रहने प्रतिबद्धता गरी तालिम दिने निर्णय गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रिजालले जानकारी दिए । उक्त विद्यालयमा हाल दुई सय १२ विद्यार्थी र २१ शिक्षक कार्यरत छन् ।
उच्च शिक्षामा आइटी : पढ्दै कमाउँदै, स्वदेश र विदेश जहाँसुकै अवसर
काठमाडौंको मोर्गन इन्टरनेसनल कलेजमा सूचना प्रविधि अध्ययनरत विद्यार्थीहरु काठमाडौं । कक्षा–१२ को नतिजा प्रकाशन भएपछि विश्वविद्यालय तहमा अध्ययन गर्ने विषयको सम्बन्धमा विद्यार्थीहरु द्विविधामा छन् । उच्च माध्यामिक शिक्षा परिषदको परीक्षा उत्तिर्ण गरेपछि विद्यार्थीहरुलाई विश्वविद्यालय प्रवेश गर्ने ढोका खुलेको छ । स्नातक तहमा रोजिने विषयले विद्यार्थीको करिअर निर्धारण गर्छ । तसर्थ, आफ्नो रोजाइको क्षेत्रमा अब्बल बन्नका लागि अध्ययनको विषय पनि सोहीअनुसार रोज्नुपर्छ । पछिल्लो समय धेरैजसो विद्यार्थी र अभिभावकले सूचना प्रविधिलाई पहिलो रोजाइको विषय बनाउने गरेका छन् । विश्वभरी नै ठूलो मात्रामा रोजगारी तथा उद्यमको सम्भावना बोकेको विषय हुनाले पनि धेरैले विश्वविद्यालय तहमा सूचना प्रविधि अध्ययन गर्न सुझाव दिने गरेका छन् । सूचना प्रविधि विषय अध्ययन गरेर आफूलाई अब्बल सावित गर्नेहरू बेरोजगार बस्नु पर्ने अवस्था छैन । सूचना प्रविधि क्षेत्रका विभिन्न विषय अध्ययन गरेका नेपाली विद्यार्थीहरुले नेपालमै बसेर ६७ अर्ब रुपैयाँ भन्दा धेरै विदेशी मुद्रा आम्दानी गरेको तथ्यांक सरकारले नै सार्वजनिक गरेको छ । सूचना प्रविधि अन्तर्गत हार्डवेयर र सफ्टवेयर दुवै क्षेत्रमा दिनानुदिन अकल्पनीय प्रगति हुँदै गएको छ । सूचना प्रविधिको विकास यस्तो भएको छ कि यसको अभावका मानिसको दैनिकी नै प्रभावित हुन थालेको छ । उत्पादन तथा सेवा क्षेत्रका सबैजसो व्यवसाय सूचना प्रविधिमै निर्भर छन् । सुरक्षित करिअर, प्रशस्त आम्दानी टेक्सास कलेजका विएससीसिएसआइटी विभागका प्रमुख ओमकार बस्नेतले सूचना प्रविधि अहिले ‘ग्लोबल ल्याङ्वेज’ भएकाले विश्वव्यापी माग बढेको उनले बताए । विश्वव्यापी रूपमा आइटीमा दक्ष व्यक्तिहरूको अभाव रहेकाले नयाँ विद्यार्थीहरुका लागि प्रशस्त सम्भावना रहेको उनले बताए । सूचना प्रविधिका विषय अध्ययन गरेकाहरूलाई आंशिक वा पूर्णकालिन रूपमा कामको समस्या नभएको उनले बताए । यो विषय अध्ययन गरेका विद्यार्थीले पढ्दै कमाउँदै गर्न सक्ने भएका अध्ययन खर्च समेत विद्यार्थी आफैले जुटाउन सक्ने उनले बताए । नेपालमा डिजिटल प्लेटफर्मका विभिन्न प्रडक्टमार्फत बलियो उपस्थिति देखाएको कम्पनी एफवानसफ्टका निर्देशक सुवास शर्माले आइटी पढेका विद्यार्थीका लागि स्वदेश र विदेशमा राम्रो रोजगारीको सम्भावना रहेको बताए । देशभित्रै सूचना प्रविधि सम्बन्धी प्रशस्त उद्योगहरु खुलेका कारण आइटी पढेकालाई राम्रो अवसर रहेको उनले बताए । त्यसबाहेक, नेपालमै बसेर पनि विदेशका विभिन्न स्थापित कम्पनीमा काम गर्ने अवसर रहेको शर्मा बताउँछन् । ‘अहिले विश्व नै डिजिटलाइज भैरहेको छ, विदेशमा पनि सूचना प्रविधिको प्रचुर सम्भावना छ, नेपालमा पनि प्रशस्त अवसर सिर्जना भइरहेका छन्’, शर्मा भन्छन्, ‘आउटसोर्स कम्पनीहरु नेपालमा छन्, फ्रिल्यान्सरको रुपमा काम गर्नेहरुले पनि राम्रो आम्दानी गरिरहेका छन् ।’ विदेश जान चाहनेहरुका लागि पनि नेपालमै आइटी अध्ययन गरेर जाँदा राम्रो हुने उनले बताए । नेपालका उद्योग तथा व्यवसाय क्षेत्र डिजिटल उन्मुख भएकाले थप अवसरको सम्भावना रहेको शर्माले बताए । ‘आइटी आफैँमा व्यवसाय भन्दा पनि यसले अन्य उद्योग तथा व्यवसायलाई सपोर्ट गर्ने हो, व्यवसायहरुलाई अटोमेटेड बनाउन सहयोग गर्छ । सफट्वेयरको प्रयोगले कामलाई पेपरलेस बनाउन सकिन्छ । यो सबैले चाहेका हुन्छन् । आफ्नो बिजनेसलाई अनलाईन, अटोमेटेड र पेपरलेस बनाउँदा आइटी नै सहयोग हुन्छ । यसमा ठूलो जनशक्ति चाहिन्छ । त्यसैले, प्रशस्त सम्भावना छ’, शर्माले भने । इच्छाशक्ति भएको र मेहनती विद्यार्थीले आफ्नो शैक्षिक खर्च मात्रै नभएर पढ्ने समयमा नै प्रशस्त पैसा कमाउन सक्ने यस क्षेत्रका विज्ञहरु बताउँछन् । पढाइकै समयमा आफ्नो प्रोजेक्ट वर्कको काम गर्दा नै प्रशस्त आम्दानी गर्न सकिने अध्यापकहरुको भनाई छ । त्यसबाहेक, आंशिक, प्रोजेक्टमा आधारित र पूर्णकालिन जागिरमा आवद्ध भएर पनि कमाउन सकिन्छ । यो क्षेत्रका काम गर्ने नेपालीहरुले दैनिक ८ घण्टा काम गर्दा न्यूनतम ३०/३५ हजारदेखि लाखौं रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । के–के छन विषय ? नेपालका शिक्षण संस्थामा नेपाली तथा विदेशी विश्वविद्यालयको सम्बन्धनमा सूचना प्रविधिका विषयहरू पढाई हुन्छन् । विएससी–सिएसआइटी, बिआइटी, बिसिए, बिआईएम लगायतका विषय स्नातक तहका अध्यापन हुन्छ । सूचना प्रविधि अन्तर्गतका सबै शैक्षिक कार्यक्रमहरु सेमेस्टर प्रणालीमा सञ्चालित छन् । कक्षा–१२ मा विज्ञान संकाय अध्ययन गरेका विद्यार्थीले मात्रै विएससी–सिएसआइटी अध्ययन गर्न पाउँछन् । त्यसका लागि त्रिभुवन विश्वविद्यालयले तोकेको प्रवेश परीक्षा उत्तिर्ण गरेको हुनुपर्छ । त्यसबाहेकका शैक्षिक कार्यक्रम अध्ययन गरेका विद्यार्थीले, बिसिए, बिआईएम लगायतका सूचना प्रविधिसँग सम्बन्धीत विषयहरु अध्ययन गर्न पाउँछन् । चार वर्षको आठ समेस्टरका कोर्ष विश्वविद्यालयहरुले बनाएका छन् । यी विषयहरु अध्ययन गर्दा विश्वविद्यालय र कलेजअनुसार शुल्क फरक छ । नेपालमा सञ्चालनमा रहेका विश्वविद्यालयहरुमध्ये ८ वटा विश्वविद्यालयहरुले स्नातक तहमा आइटी सम्बन्धी कोर्ष सञ्चालन गरेका छन् । जसमध्ये त्रिभुुवन विश्वविद्यालयले बीएससी–सीएसआईटी, इलेक्ट्रोनिक्स, कम्प्युनिकेशन एण्ड इन्फरमेसन इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, बीआईसीटीई, बीसीए, बीआईएम, बीआईटी र बीएससी एमएलटी कार्यक्रम सञ्चालन गर्ने गरेको छ । काठमाडौं विश्वविद्यालयले बीएससी इन कम्प्युटेस्नल म्याथेम्याटिक्स, बीबीआईएस, बीएससी इन बायोइन्फर्मेटिक्स, बीटेक बायोटेक्नोलोजी, बी–टेक इन एआई, कम्प्युटर साइन्स र बीएससी एमआईटी कार्यक्रम सञ्चालन गरेको छ । पोखरा विश्वविद्यालयले इलेक्ट्रोनिक्स एन्ड कम्प्युनिकेसन इन्जिनियरिङ, बीसीए, कम्प्युटर इन्जिनियरिङ, सफ्टवेयर इन्जिनियरिङ, बीएससी एमएलटी, बीई–आईटी र बीसीआईएस कार्यक्रम सञ्चालन गरेको छ । त्यस्तै, पूर्वाञ्चल विश्वविद्यालयले बीसीए, बीआईटी, बायोटेक्नोलोजी, बायोटेक, कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रोनिक्स, कम्प्युनिकेसन एन्ड अटोमेसन इन्जिनियरिङ कार्यक्रम सञ्चालन गरेको छ । मध्यपश्चिम विश्विद्यालय र सुदुर पश्चिमाञ्चल विश्वविद्यालयले कम्प्युटर इन्जिनियरिङ र बीएससी–सीएसआईटी कार्यक्रम सञ्चालन गरेको छ । गण्डकी विश्वविद्यालयमा बिआइटी र राजर्षी जनक विश्वविद्यालयमा बिएससी सिएसआटी कार्यक्रम सञ्चालन भइरहेका छन् । सामान्यतया आइटीका धेरै विषयहरु कक्षा ११/१२ मा विभिन्न विषय लिएर पढेका विद्यार्थीले स्नातक तहमा आइटी अध्ययन गर्न सक्छन् । विश्वविद्यालयहरुले स्नातक तहमा आइटी अध्ययन गर्नको लागि कक्षा ११/१२ मा निश्चित अंक ल्याएको हुनुपर्ने मापदण्ड तोकेको छ ।