इन्जिनियरिङको प्रवेश परीक्षा असोज २२ गते हुने, १९ गतेसम्म फर्म भर्न पाइने
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तहको बिई र बिआर्कका कार्यक्रमहरु अध्ययन गर्नको लागि प्रवेश परीक्षा असोज २२ गते हुने भएको छ । अध्ययन संस्थानका डिन प्राध्यापक डा. शंशीधरराम जोशीका अनुसार विद्यार्थीहरुले १९ गतेसम्म प्रवेश परीक्षाको लागि फर्म भर्न सक्ने र २२ गतेबाट प्रवेश परीक्षा हुने छ । विद्यार्थीहरुले विश्वविद्यालयको आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुमा पुरानै शुल्कका आधारमा अध्ययन गर्नको लागि प्रवेश परीक्षा कम्प्युटर विधिबाट सञ्चालन गरिने समेत डिन जोशीले सूचनामा उल्लेख गरेका छन् ।
ईक्यानले ५० जना विद्यार्थीलाई छात्रवृत्ति दिने
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)ले ५० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । छात्रवृत्तिका लागि इक्यानले सफ्टएड ग्रुप र सनवे कलेज काठमाडौंसँग मंगलबार एक समारोहबीच सम्झौता गरेको हो । क्यानको ‘स्टडी इन नेपाल’ अभियान अन्तर्गत सामाजिक उत्तरदायित्व विभागको संयोजनमा सफ्टएड ग्रुप अन्तर्गत सनवे कलेजसँग ५० जना नेपाली विद्यार्थीहरुका छात्रवृत्ति सम्झौता भएको हो । सम्झौतामा क्यानका अध्यक्ष शेषराज भट्टाई र सफ्टएड ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठले हस्ताक्षर गरेका थिए । छात्रवृत्ति सूचना प्रविधि विषयमा स्नातक तहको अध्ययनका लागि २०२३ नोभेम्बर सेसन र २०२४ को मार्च सेसनका लागि उपलब्ध हुने जनाइएको छ । सम्झौताअनुसार कलेजले स्नातक स्तरको विद्यार्थीहरुलाई बिएस्सी अनर्स कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्स कोर्सको लागि छात्रवृत्ति प्रदान गर्नेछ । जसमा डाटा साइन्स, आर्टिफिसियल इन्टेलिजेन्स, मेसिन लर्निङ, साइबर सेक्युरिटी, क्लाउड कम्प्युटिङ, प्रोग्रामिङ, सफ्टवेयर इन्जिनियरिङ, इनोभेसन र एकवर्षे डेडिकेट प्रोफेसनल प्लेसमेन्ट पनि रहेको जनाइएको छ । छात्रवृत्ति लिएर ती विषय अध्ययन गर्न चाहने विद्यार्थीमध्ये २ जनाले पूर्ण र ४८ जनालाई आंशिक छात्रवृत्ति प्राप्त गर्नसक्ने सम्झौतामा उल्लेख गरिएको छ । जसमा, आंशिक छात्रवृत्ति पाउने १० जनाले ५० प्रतिशत र ३८ जनाले ३० प्रतिशत छात्रवृत्ति पाउने छन् । पुर्ण छात्रवृत्ति पाउनका लागि कक्षा ११/१२ मा मा ३.६० जिपिए ल्याएको हुनुपर्ने छ भने ५० प्रतिशत छात्रवृत्ति पाउनका लागि ३.५० जिपिए ल्याएको हुनु पर्नेछ भने ३० प्रतिशत छात्रवृत्ति पाउन ३ जिपिए ल्याउनु पर्ने एवम आइएलटिएसमा कम्तिमा ५.५ स्कोर ल्याएको हुनुपर्ने छ । छात्रवृत्ति प्राप्त गर्न चाहने विद्यार्थीहरुले आफ्नो आवेदन [email protected] मा गई भर्न सक्नेछन् भने सो आवेदन भर्ने अन्तिम मिति नोभेम्बर सेसनका लागि नोभेम्बर ३, २०२३ र मार्च सेसनका निमित्त फेब्रुअरी १८ सम्म भर्न सक्ने इक्यानका अध्यक्ष शेषराज भट्टराइले बताए । सम्झौता समारोहमा बोल्दै इक्यानका अध्यक्ष भट्टराइले स्टडी इन जस्तो अभियान ढिलो वा चाँडो शुरु गर्ने अवस्था नजिकिएको बताएका थिए । उनले नेपालमा हाइड्रो र आइटीको राम्रो सम्भावना भएको बताउँदै आफूहरुले कर्पोरेट रेस्पोन्सबिलिटी अन्तर्गत सो काम गर्न चाहेको बताएका थिए । त्यस्तै, सम्झौता समारोहमा बोल्दै सफटएड ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठले इक्यानले शुरुवात गरेको स्टडी इन नेपाल कार्यक्रम राम्रो भएको भन्दै नेपाल वातावरणको हिसाबले पनि एजुकेसन हब बन्न सक्ने बताएका थिए । इक्यानले २७ वर्षदेखि उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । सोही अन्तर्गत इक्यानले यो वर्षबाट ‘स्टडी इन नेपाल’ अभियान शुरु गरेर विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न लागेको हो । इक्यानका अध्यक्ष शेषराज भट्टराइले छात्रवृत्तिमा उत्कृष्ट, महिला, पिछडिएको छेत्रका र सिमान्तकृत समुदायका विद्यार्थीलाई प्राथमिकता दिएर प्रदान गरिने समेत बताए ।
कक्षा १२ को परीक्षा आगामी वैशाख दोस्रो साताबाट हुने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षा २०८१ वैशाख पहिलो सातादेखि सञ्चालन हुने जनाएको छ । बोर्डले आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गर्दै १२ को वार्षिक परीक्षा २०८१ को वैशाख पहिलो हप्तादेखि सञ्चालन गर्ने जनाएको हो । बोर्डका अनुसार परीक्षाको नतिजा प्रकाशित भएको ४५ दिनभित्रमा पूरक परीक्षा गर्ने कार्यतालिका रहेको छ । नतिजा भने २०८१ को साउन तेस्रो साताभित्र सार्वजनिक गर्ने बोर्डले जनाएको छ । त्यस्तै कक्षा ११ को परीक्षा विद्यालयहरूले २०८१ को जेठ पहिलो हप्ता गर्नुपर्ने जनाएको छ । कक्षा ११ को रजिस्ट्रेसन फाराम पुस १५ गतेबाट खुला गरेर माघ १५ गतेसम्म भर्ने समयावधि तोकिएको छ । त्यस्तै कक्षा १२ को परीक्षा फाराम पुस १ गतेबाट खुला गरी माघ १५ गतेभित्र भरेर अनलाइनमार्फत बुझाइसक्नुपर्ने कार्यतालिका छ ।