राहत शिक्षकहरुले सडकमै बिरोध जनाए
काठमाडौं । राहत शिक्षकहरुले काठमाडौंमा बिरोध प्रदर्शन गरेका छन् । सोमबार मध्यान्ह माईतीघर मण्डलामा भेला भइ बानेश्वरसम्म बिरोध प्रदर्शनी गर्दै उनीहरु सडकमै सुतेर बिरोध जनाएका हुन् । सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको बिरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् । आन्दोलित हुने शिक्षकहरुमा राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक छन् । गत असोज ७ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो । उक्त सम्झौतामा आफूहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै राहत शिक्षक लगायतले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका थिए । उनीहरूले शत प्रतिशत स्थायीको माग राख्दै आएका छन् ।
कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आजदेखि सुरु
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आजदेखि कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सुरु गरेको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले गत साउन ३० गते भएको कक्षा १२ को नतिजा सार्वजनिकमा ‘नन ग्रेडेड’ (एनजी) ल्याएका विद्यार्थीहरूका लागि आजदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिएको जानकारी दिए । कक्षा १२ को परीक्षाफलमा ननग्रेड अर्थात् एनजी ल्याउने विद्यार्थीका लागिमात्र ग्रेडवृद्धि परीक्षा सञ्चालन गरिएको हो । बोर्डका परीक्षा नियन्त्रण कृष्णप्रसाद शर्माले आज र बुधबार दुई दिन परीक्षा सञ्चालन हुने जानकारी दिए । उनले बिहान ११ बजेदेखि सुरु भएको परीक्षा अपराह्न २ बजेसम्म सञ्चालन हुने जानकारी दिए । आज पहिलो दिन एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूको सबै विषयको परीक्षा, दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि आफुले परीक्षा दिने विषयमध्येको सानो कोड नम्बर भएको विषय तर अनिवार्य अङ्ग्रेजी तथा अनिवार्य नेपाली दुवै विषयमा ग्रेडवृद्धि परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी र दोस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ । त्यस्तै दोस्रो दिन दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आपूmले परीक्षा दिने विषयमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा हुने उनले जानकारी दिए । देशभरका कूल चार सय १९ परीक्षा केन्द्रमा एकै साथ सुुरु भएको परीक्षामा एक लाख २३ हजार तीन सय ९६ परीक्षार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका छन् । त्यसमध्ये एक विषयमा मात्र नन ग्रेडेड अर्थात् एनजी आउने ७९ हजार पाँच सय ८४ विद्यार्थी परीक्षामा सहभागी छन् । लेटर ग्रेडिङ निर्देशिकाअनुसार कुनै विषयमा ३५ प्रतिशत अङ्क पनि नल्याएमा ननग्रेडेड (एनजी) हुन्छन् । परीक्षा देशभरका परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा सुरु भएको परीक्षा नियन्त्रक शर्माले जानकारी दिए ।
पुल्चोक क्याम्पसका लेक्चर बिदा लिएर ९ वर्षदेखि सम्पर्कबिहिन, कारबाही गर्नै गाह्रो
काठमाडौं । ललितपुर पुल्चोक क्याम्पसमा प्राध्यापकहरु बिदा लिने लामो समयसम्म सम्पर्कमा नआउने समस्या बढेको छ । तर, स्थायी रुपमा नियुक्ति भएका र लामो समयदेखि क्याम्पसको सम्पर्कमा नआएका ती प्राध्यापकहरुलाई समयमा नै कारबाही गर्न भने क्याम्पसले सकिरहेको छैन । क्याम्पसका उपप्राध्यापक दिपेस लम्सालले अध्ययनको लाग भनेर ०७१ जेठ ५ गतेदेखि अध्ययनको लागि विदा लिएका थिए । क्याम्पसका अनुसार त्यसपछि उनले पटक–पटक बिदा थप गरी ०७५ जेठ ७ गते अन्तिमपटक एक वर्षको विदा थप गरेका थिए । सो विदा सकिएको ९० दिनसम्म पनि उनी क्याम्पसमा उपस्थित भएका छैनन् । उपप्राध्यापक लम्साल उपस्थित नभएपछि उपस्थित हुन १५ दिने स्पष्टीकरणको सूचना प्रकाशन गरेको र सो सूचना अनुसार पनि उनको स्पष्टीकरण नआएपछि फेरि क्याम्पसले मंगलबार उनलाई स्पष्टीकरण पेस गर्न ३५ दिने सूचना प्रकाशन गरेको छ । त्यस्तै, क्याम्पसका सह प्राध्यापक डा. निर्मल पौडेलले ०७२ जेठ २५ गते ३६ दिनको आधा तलबी बिदा भनी माग गरेर बिदामा बसेका थिए । क्याम्पसका अनुसार उनी हालसम्म क्याम्पसमा हाजिर भएका छैनन् । छोटो समय बिदा लिएका उनलाई क्याम्पसमा समयमा उपस्थित नभएपछि १५ दिनभित्र स्पष्टीकरण सोधिएकोमा उनले सो स्पष्टीकरण नबुझाएकाले क्याम्पसले उनलाई पुनः स्पष्टीकरणको लागि ३५ दिने सूचना प्रकाशन गरेको छ ।