रसायनशास्त्र तर्फको नोबेल पुरस्कार ‘क्वान्टम डट’को खोजी गर्ने तीन वैज्ञानिकलाई
काठमाडौं । रसायनशास्त्र तर्फको यो वर्षको नोबेल पुरस्कार क्वान्टम डट खोजी र संश्लेषण गर्ने मुङ्गी बावेन्डी, लुई ब्रुस अलेस्की एकमोभलाई संयुक्त रुपमा प्रदान गरिने भएको हो । क्वान्टम डटु भनिने सूक्ष्म कणका विशिष्ट गुणहरू हुन्छन् र तिनले अहिले टेलिभिजनको स्क्रीन र एलईडी बत्तीबाट आफ्नो प्रकाश फैलाउँछन् । जसले रासायनिक प्रतिक्रियामा उत्प्रेरकको काम गर्छन् । जसलाई सौर्य प्यानलमा पनि प्रयोग गरिन्छ । ट्युमरको अप्रेसन प्रकृयामा कोषलाई देखिनेगरी उज्यालो बनाउन पनि क्वान्टम डट जडित प्रविधिको प्रयोग गर्ने गरिन्छ । पुरस्का प्राप्त गर्ने तीनैजना अमेरिकामाकार्यरत वैज्ञानिक हुन् ।
इन्जिनियरिङकाे प्रवेश परीक्षा अनिश्चित
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको विभिन्न कार्यक्रमका लागि विद्यार्थी भर्ना गर्न तय गरेको प्रवेश परीक्षा अनिश्चित भएको छ । अध्ययन संस्थानअन्तर्गत परीक्षा बोर्डका अध्यक्ष सहितका सदस्य र सल्लाहकारहरुले परीक्षा गराउन नसकिने भन्दै राजीनामा दिएपछि २२ गतेको लागि तोकिएको प्रवेश परीक्षा अनिश्चित भएको हो । प्रवेश परीक्षाको लागि १९ गतेसम्म फाराम भर्ने र २२ गतेदेखि परीक्षा सञ्चालन गर्न नसकिने भन्दै बोर्डका पदाधिकारीहरुले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरिएको छ । पदाधिकारीहरुले राजीनामा दिएपछि इन्जिनियरिङ अध्ययन संस्थान डिनको कार्यालयले सूचना निकालेर अर्को सूचना प्रकाशन नभए सम्मका लागि प्रवेश परीक्षा स्थगित भएको उल्लेख गरेको छ ।
सामुदायिक विद्यालयमा महिनावारी आराम कक्ष निर्माण
जुम्ला । जुम्लाका सामुदायिक विद्यालयहरूमा नमूनाको रुपमा महिनावारी आराम कक्ष निर्माण गरिएको छ । स्थानीय सरकारसँगको समन्वयमा पेस नेपालले हिमा गाउँपालिका, कनकासुन्दरी र सिंजा गाउँपालिकाका विद्यालयमा महिनावारी कक्ष स्थापना गरेको त्यहाँका परियोजना संयोजक हेमराज भट्टले जानकारी दिए । विद्यालयमा बालिका महिनावारी हुँदा पेट दुखेमा वा असजिलो भएमा सो कक्षमा आराम गर्न मिल्ने बताइएको छ । बालिकालाई महिनावारी भएको समयमा सजिलो होस् भन्ने उद्देश्यले उक्त कक्ष निर्माण गरिएको उनको भनाइ थियो । कनकासुन्दरी गाउँपालिकाको लुड्कुस्थित कनकासुन्दरी माध्यामिक विद्यालय, सिंजा गाउँपालिकाको मावि चुलेल गाउँस्थित महादेव मावि गुठी, हिमा गाउँपालिकाको मष्ठामाडूस्थित अन्नपूर्ण माध्यामिक विद्यालय, महावैपाथलखोलास्थित भानु माध्यामिक विद्यालयमा उक्त आराम कक्ष निर्माण गरिएका हुन् । यसैगरी कालिकोट जिल्लाको नरहरी नाथ गाउँपालिका–३ स्थित नन्दादेवी माध्यामिक विद्यालय र रुपादेवी आधारभुत विद्यालयसमेतमा महिनावारी आराम कक्ष निर्माण गरिएको छ । उक्त कक्ष निमार्ण भएपछि छात्राहरूलाई महिनावारी कक्षमा सेनीटरप्याड बदल्नेदेखी आराम गर्न सहज भएको सिंजा गाउँपालिका–२ का वडाध्यक्ष तीर्थ वडुले बताए । यो कार्यक्रम प्रभावकारी भएपछि ती विद्यालयको आराम कक्षका लागि आवश्यक सामग्री खरिदका लागि उक्त संस्थाले रकम उपलब्ध गराएको छ । रासस