दुई दिने स्टार्टअप तथा आईडिया फेस्ट सम्पन्न
काठमाडौं । काठमाडौंमा शुक्रबार र शनिबार आयोजना भएको स्टार्टअप एण्ड आईडिया फेस्ट तथा स्टिम क्याम्प सम्पन्न भएको छ । थापागाउँस्थित बानेश्वर बैंक्वटमा सञ्चालन भएको दुई दिने फेस्ट अवलोकनकर्ताको उत्साहजनक सहभागीता रहेको जनाइएको छ । लिभिङ विथ आईसीटीको मुख्य आयोजनामा भएको फेस्टमा सातै प्रदेशका स्टार्टअपसहित ८० बढी डिजिटल स्टार्टअप र इन्नोभेसनहरुको सहभागीता रहेको थियो । फेस्ट बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको थियो । प्रदर्शनीमा नेपाली युवाले तयार पारेका एआई, ब्लकचेन, मेसिन लर्निङ, ईभी, सफ्टवेयर तथा हार्डवेयर सोलुसन लगायतका स्टार्टअप इन्नोभेसन र आईडिया राखिएको थियो । कार्यक्रमको मुख्य आकर्षणको रूपमा नयाँ नयाँ आईडिया, इन्नोभेसन तथा प्रडक्टको प्रदर्शनी, आईडिया पिचिङ, एष्ट्रोनोमी क्याम्प, रकेट तथा रोबोटिक्स क्याम्प, लगानीको अवसर तथा गेम रहेका थिए । फेस्टमा सातै प्रदेशका ३० बढी स्टार्टअपका साथै आईसीटी अवार्ड २०२३ मा प्रतिस्पर्धाबाट छनौट भएका उत्कृष्ट १२ स्टार्टअप, १३ विद्यार्थी इन्नोभेसन र १४ प्रडक्टहरूले समेत फेस्टमा आफ्ना आईडिया र प्रडक्टहरु प्रदर्शनीमा रहेका थिए । कार्यक्रममा स्क्वाइड अफ चेन्जमेकरले रोबोट, रकेट, थ्रीडी प्रिन्टङसहित बालबालिकाले बनाएका नयाँ प्रोजेक्टहरुलाई पनि प्रर्दशनीमा राखेको थियो । कार्यक्रममा अवलोकनकर्ताले आईसिटी अवार्ड २०२३ का उत्कृष्ट १२ स्टार्टअप, १४ प्रडक्ट र १३ राइजिङ स्टार इन्नोभेसनलाई भोट गर्न सकिने व्यवस्था गरिएको थियो । कार्यक्रमको अन्तिम दिन सहभागी भएका सातै प्रदेशका स्टार्टअप, एक्जिबिटर, मेन्टर, आइसिटी अवार्डका उत्कृष्ट १२ स्टार्टअप, १३ राइजिङ स्टार र १४ प्रडक्टलाई सहभागीताको सम्मानपत्र समेत वितरण गरिएको थियो । नेपालको प्रतिष्ठित प्रविधि अवार्डको रूपमा परिचित आइसिटी अवार्डको आठौं संस्करणमा यस पटक विभिन्न १३ विधामा ५०० बढीको नोमिनेसन प्राप्त भएको थियो । हाल आईसीटी अवार्ड २०२३ को नोमिनेसन र छनौट प्रक्रिया सञ्चालनमा रहेको छ । यस पटक आईसिटी अवार्डको ग्रान्ड फिनालेमा सातै प्रदेशका उत्कृष्ट एक-एक स्टार्टअपलाई प्रोभिन्सियल रिकग्निसन आइसिटी अवार्ड समेत प्रदान गरिने छ । आईसीटी अवार्डको ग्राण्ड फिनाले आगामी पुस ६ गते द सोल्टी काठमाडौंमा आयोजना हुनेछ । स्टार्टअप एण्ड आइडिया फेस्ट र स्टिम क्याम्पसँगै अवार्डका लागि दर्जनौँ प्रि–इभेन्ट सञ्चालन हुनेछन् ।
अधिवक्ता तथा उप-प्राध्यापक डा. चौधरीको ‘वाणिज्य कानून’ सार्वजनिक
काठमाडौं । अधिवक्ता एवं उप-प्राध्यापक डा. नेवल चौधरीको वाणिज्य कानून पुस्तक सार्वजनिक भएको छ । डा. चौधरीको अग्रेजी भाषामा लेखिएको पाठयक्रममा आधारित बाणिज्य कानून अर्थात कमर्शियल ल नामक पुस्तक सार्वजनिक भएको हो । कानून व्यवसायी तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल ल क्याम्पसमा कार्यरत स्थायी उप-प्राध्यापक डा. चौधरीले अग्रेजी भाषामा लेखिएको स्नातकोत्तर तह (एलएलएम) वाणिज्य कानून (कमर्शियल ल) को पाठ्यक्रममा आधारित पुस्तक बजारमा ल्याएका हुन् । उक्त पुस्तकमा विदेशी लगानीमा देखिएका समस्या समाधानका लागि विदेशी अदालतहरुबाट भएका फैसलाहरु पनि उल्लेखित रहेका छन् । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मा कार्यान्वयनमा देखिएका कमी कमजोरी समेतलाई उर्जागर गर्ने कोशिश गर्दै उनले नेपालमा विदेशी लगानीको वर्तमान अवस्थाको बारेमा उल्लेख गरेका छन् । डा.नेवल चौधरी अधिवक्ता भै मुख्यतः नेपालको सर्वोच्च अदालत तथा काठमाडौंको विशेष अदालतमा कानूनी व्यवसाय गर्दै आएका अधिवक्ता एवं नेपाल ल क्याम्पसका स्थायी उप-प्राध्यापक हुन् । चौधरीले वाणिज्य कानूनअन्तर्गत नेपालमा प्रत्यक्ष विदेशीमा देखिएका समस्या तथा सम्भावना विषयमा पीएचडी गरेका छन् । डा. चौधरीले यसअघि पनि अंग्रेजी भाषामा साइबर कानून र साइबर अपराधसँग सम्बन्धित पुस्तक प्रकाशित गरिसकेका छन् । जसको नाम द आर्ट अफ साइबर ल र साइबर क्राइम रहेको छ ।
पुल्चोक क्याम्पसका निमित्त क्याम्पस प्रमुख र सबै विभागीय प्रमुखले दिए राजीनामा
काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसका निमित्त प्रमुखसहित प्राज्ञिक र प्रशासनिक सबै विभागका प्रमुखले सामूहिक राजीनामा दिएका छन् । निमित्त क्याम्पस प्रमुख लोकनाथ रेग्मीको अध्यक्षतामा बसेको बैठकले सामूहिक राजीनामा दिने निर्णय गरेको हो । स्रोतका अनुसार सहायक क्याम्पस प्रमुखहरु, विभागीय प्रमुख र उपप्रमुख, एमएस्सी कोर्डिनेटरहरु, निर्देशक र प्रशासन प्रमुखले सामूहिक राजीनामा दिने निर्णय गरेका हुन् । सो निर्णय अनुसार उनीहरु सबैले निमित्त क्याम्पस प्रमुख रेग्मीमार्फत इन्जिनियरिङ अध्ययन संस्थानको डिन कार्यालयमा राजीनामा बुझाएका स्रोतले बतायो ।