गणित विज्ञानमा महिलालाई आकर्षित गर्न सम्मेलन
काठमाडौं । गणित विषयका ज्ञान आदान–प्रदान गर्ने र सो विषयमा महिलाको आकर्षण बढाउने उद्देश्यले काठमाडौंमा आयोजित तीनदिने सम्मेलन आइतबार सम्पन्न भएको छ । गणित विज्ञानमा नेपाली महिला नामक संस्थाको आयोजनामा भएको सम्मेलनमा भारत, पाकिस्तान, अमेरिका, फ्रान्स र नेपालका गरी ५८ जना महिला गणित शिक्षक एवं विद्यार्थीको सहभागिता थियो । सम्मेलनमा गणितका विविध पक्षलाई समेटेर ३९ वटा कार्यपत्र प्रस्तुत भएको संस्थाका कार्यसमिति सदस्य सुस्मिता पाठकले जानकारी दिए । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा हीराबहादुर महर्जनले नेपालमा गणित विषयप्रति देखिएको निरासाले शैक्षिक उन्नयनमा क्षति पुर्याउने भएकाले समयमै राज्यको ध्यान जानुपर्ने बताए । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजाले पनि गणित शिक्षामा आकर्षण घटेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रियस्तरमा हुने यस्ता सम्मेलनले गणितप्रति आकर्षण बढाउने विश्वास व्यक्त गरे । सम्मेलन आयोजक संस्थाका अध्यक्ष सहप्राध्यापक धनकुमारी थापाले गणित विषयमा महिलालाई आकर्षित गर्न र गणित विषय सिक्ने–सिकाउने सिलसिलामा विश्वमा विकास भएका नवीन पद्धतिबारे जानकारी गराउन सम्मेलन आयोजना गरिएको बताइन् । गणित विषयका शिक्षकहरू संस्थागतरुपमा एकताबद्ध हुँदा अनुभव आदान–प्रदान हुने र विश्वमा भएका विकासबारे जानकारी हुने अध्यक्ष थापाले बताइन् । आगामी दिनमा गणित विषयमा महिलालाई आकर्षित गर्न विभिन्न कार्यक्रम गर्ने संस्थाको योजना रहेको उनले जानकारी दिइन् ।
पढ्दै कमाउँदै : विद्यार्थी फूलखेतीमा रमाउँदै
दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित मित्रता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सयपत्री फूलखेती गरेका छन् । ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत विद्यालयमा वनस्पति विज्ञान अध्ययनरत विद्यार्थीले सयपत्री फूलखेती गरेका हुन् । विद्यालयमा डिप्लोमा तेस्रो वर्षमा अध्ययनरत अनुप राना मगर, सामेल पौडेल, शरण विक र सुमन मगरले विद्यालयको आठ रोपनी जग्गामा सयपत्री फूलखेती गरेका हुन् । यहाँ दुई प्रजातिका फूल रोपिएको थियो । कर्मा पाँच सय ५५ र टिटी प्रजातिका फूल रोपिएकोमा सबै फूल बिक्रीका लागि तयार भएको विद्यार्थी पौडेलले जानकारी दिए। पौडेलले भने, “हाम्रो प्रयोगात्मक र ‘ओजिटी’ अन्तर्गत सयपत्री फूल उत्पादन गरेका हौँ, यसका लागि गाउँपालिकाले हामीलाई प्रोत्साहन ग¥यो ।” यहाँ दश हजार फूल उत्पादन भएका छन् । विद्यार्थी विकका अनुसार तीन महिना अगाडि फूल रोपिएको थियो । त्यसक्रममा उहाँहरुले छ पटक फूलको गोडमेल गरेका थिए । “जग्गा जोत्ने, बिरुवा जमाउने, मल हाल्ने सबै काम हामीले नै गरेका छौँ”, उनले भने । फूलखेतीका लागि आँबुखैरेनी गाउँपालिकाले रु तीन लाख सहयोग गरेको थियो । विद्यार्थी विकका अनुसार आफूहरुको प्रयोगात्मक शिक्षण अन्तर्गत फूलखेतीका लागि गाउँपालिकाले प्रोत्साहन गरेकामा खुसी लागेको बताए । उत्पादन भएका फूल बिक्री सुरु भइसकेको छ । पौडेलका अनुसार फूल खरिदका लागि फूलबारीसम्मै आउने गरेको जनाउँदै ठूलो सङ्ख्यामा बिक्रीका लागि पालिकासँग समन्वय गरिने बताए । उनका अनुसार तिहारका लागि रु पाँच लाखको फूल बिक्री गर्ने योजना रहेको छ । माला रु तीन सयमा र फूल प्रति किलो रु एक सयमा बिक्री भइरहेको उनले बताए । समय र मौसमका कारण कतिपय फूल छिटो फुलिदिँदा समस्या भएको जनाउँदै उनले समयको व्यवस्थापन गरेर मात्रै फूलखेती गर्नुपर्ने पाठ सिकेको बताए । उनले भने, “फूल छिटो फुलेर समस्या हुने रहेछ, त्यसका लागि चिस्यान केन्द्रमा फूल राख्ने व्यवस्था मिलाएका छौँ । गाउँपालिकालाई फूलमा आत्मनिर्भर बनाउने उद्देश्यसहित यसै वर्षदेखि सयपत्रीको व्यावसायिक उत्पादनमा सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । उनका अनुसार मित्रता माध्यमिक विद्यालय, सोही वडाको यान्चोक आमा समूह र आँधीमूल आमा समूहमार्फत् सयपत्री फूलखेती सुरु गरिएको थियो । अहिले ३० हजार सयपत्री फूल फुलेको जनाउँदै यसको बजार व्यवस्थापनका लागि पालिकाले समन्वय गरेको चुमानले बताए । “तिहारमा विदेशी प्लास्टिकका फूल तथा झिलिमिलीको सट्टा स्थानीयस्तरमा उत्पादित फूल प्रयोगमा जोड दिएका छौँ”, उनले भने, “यसका अतिरिक्त छिमेकी पालिकासँग पनि समन्वय गरी बिक्रीको व्यवस्था मिलाउँछौँ ।” गाउँपालिकाले स्थानीयस्तरमा हुने कार्यक्रममा पनि सयपत्री फूलको माला प्रयोगमा जोड दिएको चुमानको भनाइ छ । उनले भने, “पालिकाभित्र हुने हरेक कार्यक्रममा कृत्रिम फूललाई विस्थापित गर्छौँ, यहीँ उत्पादित फूललाई प्रयोगमा ल्याउँछौँ ।” चुमानका अनुसार सयपत्री फूल प्रत्येक वर्ष विदेशबाट आयात हुँदै आएको छ । यसको आयत प्रतिस्थापन गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ । गाउँपालिकाले विद्यालयमा पढ्दै कमाउँदै र आमा समूहमा अध्यक्षसँग कृषि कार्यक्रममार्फत् फूलखेतीमा सहयोग गरेको थियो । आमा समूहमार्फत् गरिएको फूल पनि उत्पादन भई बिक्री सुरु भइसकेको छ । गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार तिहारमा सयपत्री फूल प्रतिकिलो रु पाँच सयसम्म बिक्री हुन्छ । अहिलेलाई भने स्थानीयस्तरमा किलोको दुई सयसम्म बिक्री हुने गरेको छ । त्यस्तै एउटा माला रु ८० सम्म बिक्री हुन्छ । दुई समूहबाट गरी यस वर्ष रु दश लाख बराबरको फूल बिक्री हुने अनुमान गरिएको छ । गाउँपालिकाले सयपत्री फूलखेतीलाई प्राथमिकतामा राखेर गाउँपालिका अन्तर्गतका सबै कार्यक्रममा सयपत्रीको मालालाई प्राथमिकता दिने निर्णय गरिसकेको छ । उनले भने “फूलफुल्न थालेपछि पालिकाका हरेक कार्यक्रममा सयपत्रीको माला प्रयोग हुन्छ, आँधीमूलमा लाग्ने मेलामा पनि सयपत्री फूलले सहयोग पु¥याउँछ ।” रासस
उपत्यका बाहिरका ए लेभल बन्द हुँदै, ८१ वटा संस्थामा सीमित विदेशी शैक्षिक कार्यक्रम
काठमाडौं । कुनै बेला विद्यार्थीको अत्याधिक आकर्षण बनेको ए लेभल काठमाडौं उपत्यका बाहिरका शैक्षिक संस्थामा भने बन्द हुने अवस्था सिर्जना हुँदै गएको छ । काठमाडौं युनिभर्सिटीले शैक्षिक सत्र ०७५ मा अन्तिम भर्ना लिएर बन्द गरेको ए लेभल गण्डकी बोर्डिङ स्कुल पोखरामा पनि दुई वर्षदेखि विद्यार्थी अभावमा सञ्चालन हुन सकेको छैन । विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने कलेज तथा स्कुलहरुले प्रत्येक महिनाको माघ महिनाभित्र संघीय शिक्षा मन्त्रालयमा संस्था नवीकरण गर्नुपर्ने हुन्छ । तर, विगतमा ८७ वटा शैक्षिक संस्थाले विदेशी कार्यक्रम सञ्चालन गर्दै आएकोमा यसपटक भने ८२ वटामा मात्रै सिमित हुन पुगेको छ । मन्त्रालयका अनुसार ए लेभलको शैक्षिक कार्यक्रम नै बन्द गरेर काठमाडौं यु्निभर्सिटी स्कुल काभ्रेले कार्यक्रम नै बन्द गरेको छ । कस्मस इन्टरनेशनल कलेज पोखरा र कृतिका एजुकेसन एन्ड हेल्थ फाउन्डेसन प्रालि विराटनगरले नवीकरणका लागि निवेदन दिएपनि आवश्यक भौतिक पूर्वाधार तय गर्न नसकेको कारणले नवीकरण हुन सकेका छैनन् । द इन्स्टिच्युट सिभिल इन्जिनियर भारतबाट सम्बन्धन लिएर डिप्लोमा इन सिभिल इन्जिनियर कार्यक्रम सञ्चालन गरेको जनकपुरको कश्यप इन्स्टिच्युट अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी प्रमाणपत्रमा समकक्षता प्राप्त गर्न नसक्दा अदालतमा विचाराधिन रहेको अवस्था छ । पढ्ने विद्यार्थी नै नआएपछि बन्द भए ए लेभल कार्यक्रम गण्डकी स्कुलका पोखराका प्रिन्सिपल बिरेन्द्र खड्काका अनुसार सो स्कुलमा २ वर्षदेखि ए लेभल पढ्ने विद्यार्थी नै आवश्यक संख्यामा नआएपछि बन्द गर्नुपर्ने कार्यक्रम नै सञ्चालन हुन सकेन । ‘अघिल्लो वर्ष ६÷७ जना विद्यार्थी आएका थिए, यो वर्ष ३÷४ जना विद्यार्थी मात्रै आए’, उनले भने, ‘एक सेक्सनमा २८ जना विद्यार्थीको कोटा भएकोमा आवश्यक विद्यार्थी नै नआएपछि कार्यक्रम सञ्चालन हुन सकेन ।’ काठमाडौं युनिभर्सिटी स्कुल काभ्रेले ए लेभलको कार्यक्रममा ०७५ मा अन्तिम भर्ना लिएर कार्यक्रम नै बन्द गरेको छ । स्कुलका प्रिन्सिपल तेजेन्द्रप्रकाश राजभण्डारीले पहिले सो संकायमा विद्यार्थीको आकर्षण राम्रै भएपनि पछिल्लो समयमा नभएपछि कार्यक्रम बन्द गरिएको बताए । उनले उपत्यकाभित्र ए लेभल सञ्चालन गर्ने स्कुल कलेजहरुमा जनशक्तिको उपलब्धता जस्तो बाहिर नभएकोले पनि ए लेभल कार्यक्रम सञ्चालन गर्न कठिन भएको बताए । नेपाली विश्वविद्यालयले नै सञ्चालन गरेका अधिकांश कार्यक्रम विदेशी विश्वविद्यालयबाट नेपालमा ८१ वटा शैक्षिक संस्थाले सञ्चालन गरेको अधिकांश विदेशी शैक्षिक कार्यक्रम नेपाली विश्वविद्यालयले सञ्चालन गर्ने कार्यक्रम रहेको देखिन्छ । चिकित्सा शिक्षा, इन्जिनियरिङ, आदि लगायतका पूर्ण प्राविधिक शैक्षिक कार्यक्रमलाई भने विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालन गर्न भने सरकारले अनुमति दिने गरेको छैन । तर, अन्य आइटी, मानविकी र व्यवस्थापनसँग सम्बन्धित कार्यक्रम भने नेपाली विश्वविद्यालयहरुले नै सञ्चालन गर्दै आएका कार्यक्रम विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर नेपाली कलेजहरुले सञ्चालन गर्ने गरेका छन् । केही वर्षयता भने शिक्षा मन्त्रालयले विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने अनुमति नयाँ शैक्षिक संस्थालाई दिएको छैन । तर, स्वीकृतिको पहलका लागि मन्त्री फेरिएपिच्छे नीति परिवर्तनका लागि मन्त्रालयमा दबाब दिन आउने गरेको मन्त्रालयका अधिकारी बताउँछन् ।