विश्वविद्यालयलाई समुदायस्तरमा विस्तार गर्नु आवश्यक छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २१औँ शताब्दीको आवश्यकता परिपूर्ति गर्न वैकल्पिक साधनस्रोतको खोजीका लागि विश्वविद्यालयलाई समुदायस्तरमा विस्तार गर्नु आवश्यक रहेको बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालय सभाको ३७औँ सभा बैठकलाई आज बाुलवाटारमा सम्बोधन गर्दै उनले समुदायस्तरमा पहुँच विस्तारका लागि विश्वविद्यालयले अघि सारेको नीति तथा कार्यक्रमको कार्यान्वयनमा देखापरेका बाधा–अड्चन, नीतिगत तथा कानुनी समस्याको समाधान र ऐनको समयाकूल परिमार्जन र संशोधनका लागि सरकारबाट यथोचित सहयोग रहने विश्वास दिलाए । विश्वविद्यालयले स्थापनाको झन्डै तीन दशकमा उल्लेख्य उपलब्धि हासिल गर्न सफल भएकामा प्रधानमन्त्रीले बधाई दिए । ‘विश्वविद्यालय स्थापनाका लागि योगदान पु¥याउने र यसको प्राज्ञिक उन्नयन र विकासमा सहयोग प्रदान गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दछु । आगामी दिनमा उच्च शिक्षाको गुणस्तर कायम गर्दै विश्वविद्यालयको संस्थागत सुधारका लागि समर्पित हुन सबैलाई प्रेरणा र उत्साह प्राप्त हुने विश्वाससमेत व्यक्त गर्दछु’, प्रधानमन्त्रीले भने । विश्वविद्यालयका उपकुलपतिले प्रस्तुत गर्नुभएको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं रजिष्ट्रारबाट प्रस्तुत बजेटले विश्वविद्यालयको समग्र शैक्षिक–भौतिक प्रगतिका साथै विकास र विस्तारमा समेत सघाउ पुग्ने प्रधानमन्त्रीको भनाइ छ । विश्वविद्यालयले राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने उच्चस्तरीय जनशक्तिको उत्पादनमा विशेष ध्यान दिनुपर्ने कूलपतिसमेत रहेका प्रधानमन्त्री दाहालको भनाइ छ । विश्वविद्यालयले विज्ञान तथा प्रविधि, इञ्जिनियरिङ, व्यवस्थापन, चिकित्साशास्त्र, शिक्षाशास्त्र र कानुनका क्षेत्रमा राष्ट्रको आवश्यकता एवं अन्तर्राष्ट्रियस्तरको दक्ष जनशक्तिको उत्पादनका लागि ध्यानकेन्द्रित गरेको जानकारी पाउँदा खुुसी लागेको उनले उल्लेख गरे । देशमा क्रियाशील सबै विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानले बदलिँदो परिवेशअनुरूप अध्ययन, अध्यापन र अनुसन्धानको दायरालाई व्यापक बनाई पृथ्वी र मानव जातिमाथि आइपर्नसक्ने तमाम चुनौती र समस्या समाधानका लागि सोच्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिए । ‘विश्वविद्यालयले आफ्ना पाठ्यक्रममा दीगो विकास, वातावरण संरक्षण, गहन अनुसन्धान र नवप्रवर्तनलाई उच्च प्राथमिकतामा राखेर व्यावहारिक, जीवनोपयोगी र गुणस्तरीय शिक्षामा जोड दिनु आवश्यक छ’, प्रधानमन्त्रीले भने, ‘प्रविधिको तीव्र विकास र विस्तारले दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सम्भव हुन्छ ।’ सैद्धान्तिक ज्ञान दिनेमात्र नभई विद्यार्थीलाई नवप्रवर्तन, जीवनोपयोगी र व्यावहारिक ज्ञान र सीप सिकाएर आत्मनिर्भर, व्यावसायिक र उद्यमशील बनाउने, नयाँनयाँ कुराको खोज, अनुसन्धान र आविष्कार गर्नसक्ने, मुलुकको विकास र समृद्धिका लागि नेतृत्वदायी भूमिका खेल्नसक्ने सिर्जनशील जनशक्ति उत्पादनमा विश्वविद्यालय केन्द्रित हुनुपर्ने प्रधानमन्त्रीको कथन छ । ‘उच्च शिक्षामा विकासको गतिलाई व्यापक बनाउँदै प्राकृतिक सम्पदा तथा परम्परागत ज्ञान सीपको संरक्षण र उपयोग, पर्यटन प्रवद्र्धन र कृषि क्षेत्रमा यान्त्रिकरणको प्रयोगमार्फत देशको अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउनसक्ने जनशक्ति उत्पादनमा विश्वविद्यालयले केन्द्रित हुनुपर्दछ’, प्रधानमन्त्रीले भने । उनले अलैँची, चिया, रुद्राक्ष, जडीबुटी, जुट, फलफूललगायत नेपालका मौलिक उत्पादनका बारेमा समेत सूक्ष्म शोध अनुसन्धान गरेर त्यस्ता उत्पादनको वृद्धि र प्रशोधनका साथै अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने कार्यमा यस विश्वविद्यालयले गुणात्मक योगदान दिने आफूले विश्वास लिएको प्रधानमन्त्रीको भनाइ छ । सो अवसरमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, विश्वविद्यालयका पदाधिकारीको उपस्थिति थियो ।
काठमाडौं विश्वविद्यालद्वारा राष्ट्रिय उपकुलपति सम्मेलन आयोजना, शैक्षिक वातावरणमा सकरात्मक प्रभाव
धुलिखेल । काठमाडौं विश्वविद्यालय (केयु)ले शुक्रबार नेपालभरका विश्वविद्यालयका उपकुलपतिहरुको सम्मेलन आयोजना गरेको छ । ‘उच्चशिक्षाका मापदण्डहरूमा एकरूपता र अन्तर्राष्ट्रियकरण’ विषयक सम्मेलनले उच्च शिक्षाको अवस्था सुधार गर्न नेपालका विश्वविद्यालयहरूका लागि साझा मार्गचित्र निर्माण गर्ने मार्ग प्रशस्त गरेको छ । सम्मेलनमा सहभागी उपकुलपतिहरुले नेपालका विश्वविद्यालयहरुले आज भोगिरहेको संकट र त्यसको समाधानका उपायबारे बृहत् छलफल गरे । उनीहरूले नेपालको उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्न र नेपाली विद्यार्थीहरूको निरन्तर पलायनको समस्यालाई सुल्झाउन कार्ययोजना विकास गर्न प्रतिबद्धता व्यक्त गरे । सहभागीहरुले काठमाडौं विश्वविद्यालयको आयोजनामा आगामी फेरुअरी १५–१६, २०२४ मा हुने उत्तर भारतका २ सय ५० भन्दा बढी विश्वविद्यालयका उपकुलपतिको बैठकघि नेपालका विश्वविद्यालयहरूको साझा आवाज निर्माण गर्ने प्रतिबद्धता जनाए । धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको मूल क्याम्पसमा भएको सम्मेलनमा प्रधानमन्त्री पुष्प कमल दाहाल, शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीलगायत विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार, रेक्टर, डीन लगायत १ सय ५० भन्दा बढी शीर्ष नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले ज्ञान उत्पादन र सहयोग प्रणालीमार्फत वर्तमान चुनौतीलाई अवसरमा परिणत गर्नमा सम्मेलनको महत्व औंल्याए । उच्च शिक्षा संस्थारुको स्वायत्तताको आवश्यकताबारे प्रकाश पार्दै दाहालले विश्वविद्यालयका लागि स्वशासनको खाका निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए । ‘विश्वविद्यालय अनुदान आयोग अन्तर्गत राष्ट्रिय शिक्षाको ढाँचा, समकक्षताको प्रावधान तथा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न बनाउन विश्वविद्यालयहरूले चालेका पहलहरू प्रसंशनीय छन्,’ दाहालले भने । राज्यमन्त्री प्रमिला कुमारीले विद्यार्थीको गतिशीलतालाई सम्बोधन गर्न सान्दर्भिक उपाय खोज्नुपर्नेमा जोड दिइन् । ‘सहकार्यमार्फत प्रभावकारी क्रेडिट ट्रान्सफर र क्रेडिट सञ्चयका प्रावधानहरू निर्माण गरेर मात्र यस्तो लक्ष्य प्राप्त गर्न सम्भव छ ।’ कुमारीले राष्ट्रिय र वैश्विक शैक्षिक मापदण्डको ठोस प्रावधानसहित उच्च शिक्षालाई सुदृढ गर्न आवश्यक रहेकोमा जोड दिइन् । काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापाले राष्ट्रिय तथा क्षेत्रीय तहमा शिक्षाको मापदण्डमा एकरूपता ल्याउने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए । थापाले उच्च शिक्षाको भविष्यका मार्गहरू पुनः परिभाषित गर्नुपर्ने आवश्यकता औंल्याए । थापाले विश्वभरका नीतिविद्, विश्वविद्यालयका अधिकारी र विद्वानहरुको भेला हुनु नेपालको उच्च शिक्षालाई सुदृढ बनाउने ऐतिहासिक अवसर भएको बताए । ‘साझा शैक्षिक हितको उद्धेश्यले ज्ञान आदान प्रदाद र सहकार्य गर्ने हाम्रो पहल हो ।’ काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माले शैक्षिक संस्थाले दिने शिक्षाको गुणस्तरका आधारमा राष्ट्रिय पहिचान निर्माण गर्नेतर्फ जोड दिए । शर्माले द्रुत रूपमा परिवर्तन भइरहेका स्थानीय र विश्वव्यापी परिदृश्यहरूसँग नेपालको शिक्षा पद्धतिलाई एकाकार बनाउन प्राविधिक रूपमा राम्रो बहु–विधागत सिकाइका स्थानहरूको महङ्खवका बारे प्रकाश पारे । काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार अच्युत प्रसाद वाग्लेले उच्च शिक्षाका पेशाकर्मीमाझ पेशागत इमान्दारी र नैतिक जिम्मेवारी हुनुपर्नेमा जोड दिए । उनले सम्मेलन शैक्षिक वातावरणमा सकरात्मक प्रभाव पार्ने विन्दुहरुलाई जोड्ने पहल रहेको समेत बताए । ‘अहिले हामी जहाँ छौं, त्यहीबाट उत्कृष्टता हासिल गर्नु बुद्धिमतापूर्ण हुन्छ । त्यसका लाथि हामीले उच्च शिक्षाका सवालमा केन्द्रित हुने खुकुलो बौद्धिक बहस र संवादको पहल गर्ने निकाय निर्माण गर्नु आवश्यक छ,’ वाग्लेले भने । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीले समापन सत्रमा बोल्दै काठमाडौं विश्वविद्यालयको पहलमा आयोजित सम्मेलने आयोगको पूरकको रुपमा काम गरेको बताए । सम्मेलनले नेपालमा उच्च शिक्षाको सुदृढीकरणका र अन्तर्राष्ट्रियकरणका लागि उल्लेखनीय योगदान दिने विश्वास व्यक्त गरे । नेपाल विश्वविद्यालय विकास बोर्डका अध्यक्ष अर्जुन कार्कीले नेपालको उच्च शिक्षालाई मानविकी तथा कला अध्ययनको माध्यमबाट थप सान्दर्भिक बनाउने बारे बताए । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्म राज जोशीले विद्यार्थी आदानप्रदान र गतिशीलता कार्यक्रम मार्फत उच्च शिक्षाको भविष्यको रूपान्तरण गर्न सकिनेमा जोड दिए । गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङले नेपाली उच्च शिक्षालाई विश्वसँग जोड्न नेपालमा भइरहेका प्रयासका सबल र दुर्बल पक्षका बारे प्रकाश पारे ।
नोभेम्बर २७ र २८ मा क्यानडाका २५ विश्वविद्यालय-कलेजको प्रदर्शनी होटल हायात प्यालेसमा हुने
काठमाडौं । नोभेम्बर २७ र २८ मा क्यानडाका २५ विश्वविद्यालय तथा कलेजका प्रतिनिधि नेपाल आउने भएका छन् । नेपाली विद्यार्थीहरुलाई क्यानडामा उच्च शिक्षाको अवसरको बारेमा जानकारी गराउने उद्देश्यले शैक्षिक प्रदर्शनी कार्यक्रममा सहभागी हुन ती प्रतिनिधिमण्डल नेपाल आउने भएका हुन् । प्रदर्शनी कार्यक्रममार्फत प्रतिनिधिहरुले नेपाली विद्यार्थीहरुलाई क्यानडामा उच्च शिक्षाको अवसर, पहुँच र करिअर लगायतका विषयमा जानकारी गराउने जनाइएको छ । साथै प्रतिनिधिहरुले नेपालका शैक्षिक परामर्शदाता, स्कुल तथा कलेजका प्रधानाध्यापकहरुसँग पनि छलफल गर्नेछन् । क्यानाडामा शिक्षा र बसाई, विद्यार्थी भिसा, क्यानाडाको व्यापार वातावरण र स्नातक तहको अध्ययन पछि विद्यार्थीहरूको लागि भविष्यको सम्भावनाको विषयमा प्रतिनिधिहरुको भ्रमणले नेपाली विद्यार्थी तथा अभिभावकहरुलाई जानकारीको अवसर प्रदान गर्ने जनाइएको छ । नेपालका लागि क्यानडाका राजदूत एच.ई. क्यामरन म्याककेले नेपालमा क्यानडाले दोस्रो एडुक्यानडा प्रस्तुत गर्न पाउँदा खुसी लागेको बताउँदै क्यानडामा विश्वव्यापी मान्यताप्राप्त शैक्षिक संस्था, अनुभवी र अनुसन्धान तथा विकाससँग जोडिएको शैक्षिक संस्था भएको जनाएका छन् । एडु क्यानडाको दोस्रो प्रदर्शनीको शुरुवात नोभेम्बर २७ मा दिउँसो १२ः३० बजे होटेल हायात प्यालेस ताहाचलमा हुनेछ । साथै सो अवसरमा प्रतिनिधिहरुले काठमाडौंका स्कुल तथा कलेजमा भेटघाट गर्ने, परामर्शदाता, सरकारी अधिकारी र शैक्षिक संस्थाका प्रतिनिधिहरुसँग अन्तरक्रिया गर्ने जनाइएको छ ।