शिक्षा नीतिलाई युवाउपयोगी बनाएर नेपाली विद्यार्थीलाई देशमै राख्नेछौँ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देशको शिक्षा प्रणालीलाई सरल, सहज, जीवनउपयोगी र आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन् । मंगलबार काठमाडौंमा एशिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीस्को उद्घाटन गर्दै यस्तो बताएका हुन् । उनले उच्च शिक्षाका निम्ति वर्षेनी लाखौँ विद्यार्थीहरु विदेशिने परिस्थितिले देशको शिक्षा प्रणाली, संरचना, पाठ्यक्रम र कार्यशैलीमा गुणात्मक परिवर्तन आवश्यक देखिएको बताए । शिक्षा क्षेत्रमा अहिले देखिएको सबैभन्दा ठूलो समस्या युवा विद्यार्थीहरुको विदेश पलायन रहेको बताए । विद्यार्थी देश बाहिर पढ्न जाने र नेपालका विद्यालय तथा विश्व विद्यालय खालि हुँदै जाने गम्भीर स्थितिलाई छिटै सम्बोधन गरी विदेश पलायनलाई रोक्नु आजको सबैभन्दा ठूलो चुनौति बनेको जानकारी दिए । ‘देशको समग्र शिक्षा प्रणालीलाई कसरी सरल, सहज, जीवनउपयोगी र आत्मनिर्भर बनाउन सकिन्छ ? भन्ने सवाल आजको हाम्रो देशको महत्वपूर्ण सवाल रहेको छ । यसै अवस्थालाई मध्यनजर गर्दै सरकारले विद्यालय शिक्षा विधेयक संसदमा प्रश्तुत गरिसकेको छ । शिक्षा क्षेत्रमा अहिले देखिएको सबैभन्दा ठूलो समस्या भनेको युवा विद्यार्थीहरुको विदेश पलायन हो भन्ने बुझेका छौँ । विद्यार्थी पलायनबाट देशको युवा जनशक्तिमात्रै बाहिरएको छैन, देशको ढुकुटी पनि बाहिरिँदै गएको छ । साथै विदेशी विद्यार्थीलाई नेपालका विद्यालयमा अध्ययन गर्न आकर्षित गर्ने खालको शिक्षा प्रणाली लागू गर्न सकियो भने मात्र अहिलेको स्थिति बदल्न सकिन्छ’,उनले भने प्रधानमन्त्री दाहालले शिक्षा नीतिलाई युवाउपयोगी बनाएर नेपाली विद्यार्थीलाई देशकै विद्यालय, विश्वविद्यालयमा अध्ययन गर्न प्रोत्साहन गर्नुपर्ने आवश्यकता रहेको जानकारी दिए । उनले विदेशी विद्यार्थीलाई नेपालका विद्यालयमा अध्ययन गर्न आकर्षित गर्ने खालको शिक्षा प्रणाली लागू गर्नुपर्नेमा जोड दिए ।
भूकम्पबाट भत्किएका विद्यालयमा अस्थायी संरचना निर्माण गरी पठनपाठन थाल्ने तयारी
जाजरकोट । गत कात्तिक १७ गते गएको भूकम्पबाट भत्किएका विद्यालयमा अस्थायी संरचना निर्माण गरेर विद्यालय खोल्ने तयारीमा स्थानीय रहेका छन् । भूकम्पले क्षति बनाएको विद्यालयमा चाडपर्व सकिएसँगै सामुदायिक र निजी विद्यालयमा पठनपाठन सुरु हुन लागेको हो । रुकुम (पश्चिम) र जाजरकोटको पठनपाठनमा भने भूकम्पले असर पुर्याए पनि अस्थायी संरचना निर्माण कार्य जारी रहेकाले पढाइ सुरु गर्न लागिएको छ । ती जिल्लाका केही स्थानीय तहका विद्यालयमा मङ्गलबारदेखि नै पठनपाठन सुरु हुने भएको छ भने केही स्थानीय तहका विद्यालयमा टहरा बनाएर पठनपाठन थाल्ने तयारी भइरहेको छ । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार जाजरकोटको नलगाड नगरपालिकामा पनि मङ्गलबारदेखि नै पठनपाठन सुरु हुने भएको छ । जाजरकोटको उक्त नगरपालिका भूकम्पबाट अधिक प्रभावित क्षेत्र हो । नलगाड नगरपालिका शिक्षा शाखाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलवीर विकका अनुसार भूकम्पबाट ५४ विद्यालयमा क्षति पुगेको छ । जसमा १२८ कक्षाकोठा पूर्णरूपमा क्षति पुगेको छ । नलगाड नगरपालिका शिक्षा शाखाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विकले आंशिकरूपमा क्षति भएका विद्यालयमा भोलिदेखि नै पठनपाठन थालिने जानकारी दिए । विद्यालयका प्रधानाध्यापकले समेत विद्यालय सञ्चालन हुने भएकाले सबै शिक्षक विद्यालयमा आउन आग्रह गर्दै सूचनासमेत प्रकाशित गरेका छन् । अस्थायी टेन्ट निर्माण भइसकेकाले निरन्तर पढाइ हुने भन्दै पञ्च भयार माविका प्रधानाध्यापक नरेन्द्र केसीले विद्यालयमा आउन आग्रह गरे । ‘क्षति नभएका विद्यालयमा भोलिदेखि नै पठनपाठन हुन्छ, पूर्णरूपमा क्षति भएको विद्यालयमा पनि अस्थायी सिकाइ केन्द्र निर्माण गर्ने तयारी भइरहेको छ, केही दिन चाहिँ समय लाग्ला । बनिसकेपछि पढाइ हुन्छ’, उनले भने । सामाजिक विकास कार्यालय जाजरकोटका प्रमुख यज्ञबहादुर खत्रीले भूकम्पबाट प्रभावित सबै विद्यालयमा पठनपाठन थाल्न पहल गरिरहेको बताए । उनले भने, ‘क्षति नभएका विद्यालयमा भोलिदेखि नै पढाइ हुन्छ, क्षति भएकोमा पनि अस्थायी टहरा बनाएर भए पनि पढाइ थाल्न भनेका छौँ ।’ प्रदेश सरकारबाट सबै मिल्ने पहल र सहयोग हुने उनको भनाइ छ । अहिले जाजरकोटको छेडागाड, कुशेमा पाँचतारा युवा संरक्षण मञ्चले विद्यालयमा अस्थायी संरचना निर्माण गर्ने जिम्मेवारी लिएको छ भने नलगाड, भेरी र बारेकोटमा युनिसेफले अस्थायी संरचना निर्माणको जिम्मेवारी लिएको छ । जिम्मेवारी पाएसँगै निर्माणका कामसमेत सुरु गरिएको छ । रुकुम (पश्चिम)को आठविसकोट नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत इन्द्रबहादुर विष्टले नगरपालिकाभित्रको भूकम्प प्रभावित विद्यालयमा भोलिदेखि नै पठनपाठन थाल्ने जानकारी दिए । उनले भने, ‘जहाँ आंशिक क्षति पुगेको छ, त्यहाँको सबै अवस्था बुझी पठनपाठन मङ्गलबारदेखि नै हुन्छ, पूर्णरूपमा क्षति पुगेको ठाउँमा भने हामीले अस्थायी सिकाइ केन्द्र बनाएर तयारी अवस्थामा राखेका छौँ । त्यसैले पठनपाठन रोकिँदैन ।’ उनका अनुसार भूकम्पबाट नगरपालिकाभित्रका ६४ विद्यालयमा क्षति पु¥याएको थियो । जसमा ५२ विद्यालयमा पूर्णरुपमा क्षति पुगेको छ । पठनपाठन थाल्न एक सय ३९ अस्थायी सिकाइ केन्द्र निर्माण गरिएको छ । ‘अझै पनि प्रदेश सरकार, विभिन्न सङ्घसंस्थाले सहयोग गर्दै आएका छन्, अझै थप अस्थायी सिकाइ केन्द्र बनाएर सहजरूपमै पठनपाठन थाल्नेछौँ, किताबको व्यवस्था पनि गर्दै छौँ’, उनले भने । त्रासमा विद्यार्थी विद्यालय खोल्नका लागि पहल सुरु गरिए पनि विद्यार्थी भने त्रासमा रहेका छन् । भूकम्पबाट मनोबल कमजोर भएका विद्यार्थी घरदेखि विद्यालयसम्म भत्किएकाले विद्यालयमा गएर पढ्न मानसिकरुपमा तयार भएको पाइँदैन । भूकम्पको त्रासले गर्दा बालबालिका राति सुतेको समयमा कराउने, भूकम्प आयो भन्नेसम्मका गतिविधि देखाउन थालेको नलगाड नगरपालिका–१ कल्पतकी भावना विकले बताइन् । त्रिपालको बसाईका कारण बालबालिका बिरामी भइरहेको उनको भनाइ छ । केही विद्यार्थीको किताबसमेत घरभित्र पुरिएको अवस्थामा रहेको छ । ‘किताबविहीन अवस्था कसरी विद्यालय जानु ?’ जुनी कम्युन माध्यमिक विद्यालय नलगाड–५ का भावना सिंहले भनिन् । सबै विद्यार्थी त्रिपालमा बसेर पढ्नका लागि चुनौती हुने देखिएको छ । भूकम्प प्रभावित विद्यालयमा मनोपरामर्श सेवा सञ्चालन गर्नुपर्ने देखिएको छ । भूकम्पको परकम्पन आउन नछाडेकाले पनि अर्को समस्या भएको हो । भूकम्प प्रभावित क्षेत्रमा अत्यधिक चिसो हुने भएकाले पनि सक्रिया शैक्षिक क्रियाकलाप सञ्चालन गर्न गाह्रो हुने देखिएको छ । कात्तिकदेखि चैतसम्म भारी मात्रामा हावाहुरी चल्ने मौसम भएकाले निर्माण गरिएका त्रिपाल कसरी सुरक्षित गर्ने भन्ने चुनौतीसमेत छ । रासस
शिक्षाको नाममा बाहिरिने रकममा दोब्बरले वृद्धि
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा शिक्षाको नाममा विदेशीने रकमको मात्रामा दोब्बरले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा शिक्षाको नाममा विदेशीने रकम ३२ अर्ब ९२ करोड पुगेको हो । प्रतिवेदनअनुसार अघिल्लो वर्षमा सोही अवधिमा शिक्षाको नाममा १७ अर्ब ८९ करोड रुपैयाँ मात्रै बाहिरिएको थियो । चालु आर्थिक वर्षको तीन महिनामा शिक्षा, भ्रमण लगायतका क्षेत्रमा खर्च बढ्न पुगेको छ । प्रतिवेदनअनुसार समीक्षा अवधिमा खुद सेवा आय २९ अर्ब ५६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २३ अर्ब ७४ करोडले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ५१.३ प्रतिशतले वृद्धि भई १७ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ११ अर्ब २४ करोड रहेको थियो । समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ७६.१ प्रतिशतले वृद्धि भई रु.५१ अर्ब ८० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय २९ अर्ब ४१ करोड रहेकोमा शिक्षातर्फको व्यय १७ अर्ब ८९ करोड रहेको थियो ।