त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण नगर्ने भएको छ । प्रत्येक वर्ष त्रिवि दीक्षान्त समारोहमा प्रदान गर्दै आइरहेको उक्त पदक यसवर्षदेखि वितरण नगर्ने भएको हो । त्रिविका परीक्षा नियन्त्रक कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले सेमेष्टर प्रणाली अनुसार सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थी छुट्याउन नसकिएकाले कुलपति पदक वितरण नगर्ने जानकारी दिए । ‘स्नातकोत्तर तहको नौ सङ्कायमा सबैभन्दा बढी अङ्क ल्याउने एक जना विद्यार्थीलाई कुलपति पदक प्रदान गरिँदै आइरहेका थियौँ’, उनले भने, ‘सेमेष्टर प्रणालीमा ग्रेडिङका आधारमा नतिजा प्रकाशन गर्ने भएपछि को सर्वोकृष्ट भन्ने छुट्याउन समस्या भएको हो ।’ ‘पदकका लागि विद्यार्थी छनोट गर्दा प्राप्ताङ्कको प्रतिशतका आधारमा सर्वोकृष्ट अङ्क प्राप्त गर्ने एक जना विद्यार्थी छनोट गरिन्थ्यो’, जोशीले भने, ‘हाल सेमेष्टरअन्तर्गत ग्रेडिङ प्रणाली अनुसार मूल्याङ्न गरिने हुँदा सर्वोकृष्ट विद्यार्थी छुट्याउन नसकिने भएपछि पदक नदिने निर्णय भएको हो ।’ कुलपति पदक नौ वटै सङ्कायमा सबैभन्दा बढी अङ्क ल्याउने एक जना विद्यार्थीलाई प्रदान गरिँदै आइएको थियो । पदकमा तीन तोला सुनसहित र प्रमाणपत्र हुने गरेको उनको भनाइ थियो । दीक्षान्त समारोहमा उपकुलपति पदक भने प्रदान गरिने जोशीले जानकारी दिए । उनका अनुसार उपकुलपति पदक स्नातक तहमा सर्वोकृष्ट अङ्क ल्याउने एक जना विद्यार्थीलाई प्रदान गरिने छ । उपकुलपति पदकमा एक तोला सुन र प्रमाणपत्र हुन्छ । त्रिविको ४९औ दीक्षान्त समारोह यही पुस २ गते दशरथ रङ्गशालामा हुने भएको छ । त्रिविका रजिष्ट्रार प्रा डा पेशल दाहालले स्नातकोत्तर तहमा सबै विषयमा ग्रेडिङ पद्दति लागू भइसकेकाले सर्वोकृष्ट विद्यार्थी छुट्याउन नसकिने भएपछि कुलपति पदकका लागि सिफारिस गर्न नसकिएको बताए । ‘पहिला वार्षिक परीक्षामा विद्यार्थीले प्राप्ताङ्कको आधारमा सर्वोकृष्ट विद्यार्थीको हो भनेर सजिलै छुट्याउन सकिन्थ्यो’, उनले भने, ‘स्नातकोत्तर तहमा सबै ग्रडिङ पद्दति लागू भइसकेकाले सर्वोकृष्ट विद्यार्थी छुट्याउन सकिँदैन । ९० देखि ९९ अङ्क पाउने एउटै ग्रेडमा रहन्छन् ।’ दाहालले विश्वमा नै ग्रेडिङ पद्धति लागू भइसकेको अवस्थामा नेपालमा पनि लागू गरिएको बताए । उनले विस्तारै स्नातक तहमा पनि ग्रेडिङ पद्दति लागू हुने बताए ।
७५ वर्षदेखि विद्यार्थीको रोजाइ बन्दै पोखराको विद्यालय, अंग्रेजी माध्यमबाट निःशुल्क पठनपाठन
गण्डकी । अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी खोज्दै हिँड्नुपर्ने बाध्यता छ । पोखरा महानगरपालिका-१ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यमिकमा भने बर्सेनी विद्यार्थी आफैँ विद्यालय रोज्दै भर्ना गरिरहेका छन् । विसं २००६ मङ्सिर २० गते स्थापित उक्त विद्यालय पछिल्लो समय गण्डकी प्रदेशकै ऐतिहासिक विद्यालयमध्येको एक मानिन्छ । पछिल्ला केही वर्षयता यस विद्यालयप्रति विद्यार्थी तथा अभिभावकको आकर्षणका बढिरहेको छ । कक्षा १ देखि १० सम्मका लागि बर्सेनि झण्डै तीन सयको सङ्ख्यामा नयाँ विद्यार्थीले आवेदन दिने गरेका विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार सिमित स्रोत, विद्यालयको क्षमता, पूर्वाधारलगायत कारणले एक सय विद्यार्थी भर्नाबाट वञ्चित हुने गरेका छन् । विद्यालयले बिहानका कक्षा सञ्चालन गर्दा २०६४/६५ सालतिर दुई हजार आठ सयसम्म विद्यार्थी भर्ना गर्ने गरिएको सुनाउँदै प्रअ सापकोटाले हाल एक हजार चार सय ३२ विद्यार्थी अध्ययन गरिरहेका जानकारी दिए । अंग्रेजी माध्यमबाट निःशुल्क पठनपाठन विद्यालयमा हाल प्रारम्भिक वालविकास कक्षा सहयोगी (ईसिडी)देखि कक्षा १२ सम्म ४९ जिल्लाबाट पोखरामा आएर बसोबास गर्ने विद्यार्थी अध्ययनरत रहेका प्रअ सापकोटाले जानकारी दिए । उनका अनुसार विद्यालयमा सञ्चालित ईसिडीदेखि कक्षा तीनसम्म ‘सेमी मन्टेश्वरी’ विधिमार्फत पठनपाठन भइरहेको छ । कक्षा ४ देखि १० सम्म अङ्ग्रेजी माध्यमबाट पूर्ण निःशुल्क रुपमा सञ्चालनमा रहेका बताउँदै प्रधानाध्यापक सापकोटाले विद्यालयमा अध्ययनरत विद्यार्थीको अनुशासन, नियमितता र प्रभावकारी शिक्षण सिकाइ तथा अतिरिक्त क्रियाकलाप अन्य सामुदायिक विद्यालयका लागि अनुकरणीय रहेको बताए । ‘हरेक वर्ष यहाँ पढ्न चाहने विद्यार्थीको सङ्ख्या आवश्यकता भन्दा बढी हुँदै गएका छन् । प्रवेशका लागि लिइने प्रवेश परीषामा आउने सङ्ख्या यसको उदाहरण हो’, उनले भने । महानगरभित्रको ईसिडीदेखि कक्षा १० सम्म कुनै शुल्क नलिएर (परीक्षा शुल्क समेत) अङ्ग्रेजी माध्यममा शिक्षण गराउने एकमात्र विद्यालय भएको दाबी गर्दै प्रअ सापकोटाले कक्षा ११ र १२ मा पनि अत्यन्तै सुलभ शुल्कमा प्रायः सबै विषय समूहमा अध्ययन अध्यापन भइरहेको जानकारी दिए । उनका अनुसार विसं २०५४ देखि प्रातः सत्रमा कक्षा ११ र १२ तथा दिवा सत्रमा ईसिडीदेखि कक्षा १० सम्म पढाइ भइरहेकामा विद्यालयको व्यवस्थापन समितिको निर्णयअनुसार विसं २०७८ देखि सबै कक्षा दिवा सत्रमा सञ्चालन भइरहेका छन् । दिवा सत्रमा मात्रै पठपाठन भएकाले विद्यालयका भवन तथा कक्षा कोठाको अभाव हुने गरेको प्रअको भनाइ थियो । उनले बिहान प्रार्थना गराउने स्थल, पिउने पानी, हातधुने पानीका धारा, शौचालय, खेलकुद मैदान, चमेना गृह, पुस्तकालय, विज्ञान तथा कम्प्युटर प्रयोगशालालगायत पूर्वाधार थप गर्नुपर्ने अवस्था आएको बताए । पोखराका ऐतिहासिक शैक्षिक संस्थामा भएका विभिन्न अभिलेखका आधारमा यस विद्यालयको स्थापना विसं २००६ मङ्सिर २० गते पब्लिक मिडिल स्कुलको नाममा भएको थियो । विद्यालयको तत्कालीन सञ्चालक समितिको अध्यक्षमा वडा हाकिम धनशमसेर जबरा, सचिवमा ऋषिकेशव पराजुली, कोषाध्यक्षमा प्रेमराज मुल्मी, सहसचिवमा सुन्दरप्रसाद मर्सानी र सदस्यमा दयाशङ्कर पालिखे र श्यामप्रसाद कर्माचार्य थिए । विसं २००७ मा विद्यालयले स्थायी स्वीकृति प्राप्त गरेको थियो । विद्यालय सञ्चालन गरिएको नारायणस्थानमा भवन निर्माणका लागि जग खन्दा जमिन भासिएपछि पोखरा१ मा भवन निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामविक्रम राणाले जानकारी दिए । उनका अनुसार तत्कालीन समयमा विद्यालयले चर्चेको जग्गा स्व रत्नाखर पराजुली र उहाँको परिवारको नाममा थियो । विद्यालयलाई करिब ७२ रोपनी अमूल्य जग्गा प्रदान गरेर पराजुली परिवारबाट ठूलो योगदान भएको उनले बताए । विद्यालयको विसं २०१३ मङ्सिर २१ गते तत्कालीन सञ्चालक समिति, श्री ५ को सरकार र अमेरिकी सहायता नियोगबीच भवन निर्माणका लागि सम्झौता भएपछि यस भवन शिलान्यास भएको इतिहास सुरक्षित रहेको राणाले जानकारी दिए । प्रशासनिकबाहेक अन्य भवनका ढलान प्राविधिक रुपमा जीर्ण भई असुरक्षित देखिएकाले विसं २०६७ टिनका छानाले प्रतिस्थापन गरिएको उनले बताए । शैक्षिक उपलब्धिमा उत्कृष्ट विद्यालयबाट विसं २०११ मा प्रथम पटक एसएलसी परीक्षामा पाँच विद्यार्थी सहभागी भएकामा चार जना उत्तीर्ण भएको अभिलेख रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राणाले जानकारी दिए । ‘विसं २०१५ देखि राष्ट्रिय बहुउद्देश्यीय उच्च माविका रुपमा सञ्चालन गरिएको थियो । विसं २०२८ देखि पुनःसाधारण माविको रुपमा आफ्ना शैक्षिक क्रियाकलाप अगाडि बढाएको थियो’, उनले भने । विसं २०३१ को एसएलसी बोर्डमा विद्यालयका दानकुमार प्रधान र शङ्करराज श्रेष्ठले क्रमश : प्रथम र द्वितीय स्थान प्राप्त गरेका थिए । विसं २०१८ र २०२५ को नतिजामा नेपालकै उत्कृष्ट १० भित्र परेको गौरवमय इतिहास विद्यालयमा सुरक्षित रहेको अध्यक्ष राणाको भनाइ थियो । विसं २०४५ मा पोखराको पहिलो पब्लिक क्याम्पसका रुपमा पोखरा बहुमुखी क्याम्पसको स्थापना यसै विद्यालयमा भएको थियो । स्थापनाको ४८औँ वर्षसम्म कक्षा १० सम्म मात्र पढाइ भइरहेकामा विसं २०५४ देखि कक्षा ११ र १२ को पढाइ सञ्चालनमा ल्याएको उनले बताए । पृथ्वीनारायण क्याम्पस, पोखराले प्रवीणतापत्र तहको अध्यापन खारेज गरेपछि प्रवीणता तह पढ्ने विद्यार्थी झन बढेका उनको भनाइ थियो । विद्यालयबाट उत्पादित प्रतिभा देशको राजनीतिक, प्रशासनिक, व्यापारिक, साहित्यिक, साङ्गीतिक, औद्योगिक, स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा पुगेका पूर्वविद्यार्थी एवम् पत्रकार रोहितराज पराजुलीले बताए । स्थापनाको ७५औँ वर्ष पुगेको उपलक्ष्यमा यही मंसिर २० गतेबाट विद्यालयले विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरेको व्यवस्थापन समितिका अध्यक्ष राणाले जानकारी दिए । प्रभातफेरीबाट कार्यक्रमको शुभारम्भ गरी प्रत्येक महिनाका लागि कम्तीमा एक/एक कार्यक्रम गर्ने नीति लिइने उनले बताए । रासस
सफ्टवेरिका कलेजको नयाँ आईटी कार्यक्रम : बीएससी कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्स
काठमाडौं । सफ्टवेरिका कलेज अफ आईटी एन्ड ई–कमर्सले स्नातक तहमा नयाँ शैक्षिक कार्यालय अध्यापन गराउने भएको छ । कोभेन्ट्री विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले सोही विश्वविद्यालयको सम्बन्धनमा ‘बीएससी (अनर्स) कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्स’ विषय पठनपाठन गर्ने भएको हो । तीन वर्षे तथा ३६० क्रेडिट आवरको यो शैक्षिक कार्यक्रम यसै शैक्षिक सत्रबाट अध्यापन सुरु हुने छ । कार्यक्रमको पाठ्यक्रममा आधारभूत कम्प्युटर विज्ञान र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विशेषज्ञतालाई एकीकृत गरिएको छ । जसले गर्दा कार्यक्रममा भर्ना हुने विद्यार्थीले अहिले चर्चामा रहेको एआईको क्षेत्रमा विज्ञता हासिल गर्न सक्ने कलेजले जनाएको छ । ‘अहिले द्रुत गतिमा विकास भइरहेको एआई क्षेत्रको विशेषज्ञ हुन आवश्यक पर्ने व्यावहारिक सीप र सैद्धान्तिक ज्ञान यसमा कार्यक्रममा समावेश छ,’ शैक्षिक कार्यक्रमबारे कलेज प्रमुख प्रमोद पौडेलले भन्छन्, ‘विद्यार्थीले एआई, मसिन लर्निङ, प्यारारल प्रोग्रामिङ र डेटा विज्ञान कसरी जोडिएका छन् र तिनीहरूले कम्प्युटर विज्ञानलाई कसरी परिवर्तन गर्दैछन् भन्ने विषय पढ्ने छन् । समग्रमा कम्प्युटर विज्ञानसँगै एआईमा विज्ञता हासिल गराउने शैक्षिक कार्यक्रम हो यो ।’ यसका लागि कार्यक्रममा प्रोग्रामिङ एन्ड एल्गोरिदम, सफ्टवेयर डिजाइन, कम्प्युटर आर्किटेक्चर एन्ड नेटवर्क, क्रियटिभ थिङ्किङ फोर बिजिनेस, इन्ड्रोडक्सन टू आर्टिफिसियल इन्टेलिजेन्स, सफ्टवेयर इन्जिनियरिङ, एड्भान्स एल्गोरिदम, अपरेटिङ सिस्टम एन्ड सेक्युरिटी, मसिन लर्निङ एन्ड रिलेटेड एप्लिकेशन, डिजाइन थिङ्किङ एन्ड इनोभेसन लगायतका विषय राखिएका छन् । कलेजका अनुसार यी विषयहरू लेक्चर, सेमिनार, प्रयोगशाला, कार्यशाला, अनलाइन, समूह जस्ता विभिन्न विधि तथा माध्यमबाट पठनपाठन हुने छ । यस कार्यक्रममा भर्ना हुन कक्षा ११/१२ मा न्यूनतम २.० जीपीए अथवा ए लेभलमा भए ३.५ क्रेडिट ल्याएको हुन पर्ने छ । वर्षमा स्प्रिङ र अटम गरी दुई इन्टेकमा भर्ना खुला हुने यो कार्यक्रममा विज्ञान, व्यवस्थापन वा मानविकी समूहका विद्यार्थी भर्ना हुन सक्ने छन् । कार्यक्रम अध्ययन पछि विद्यार्थीहरूले एआई सफ्टवेयर डेभलपर, डेटा साइन्टिस्ट, सफ्टवेयर इन्जिनियर, सिस्टम आर्किटेक्ट, एआई रिसर्चर, प्रोजेक्ट म्यानेजर, डेटा इन्जिनियर आदि बन्न सक्ने छन् । कलेजले यो कार्यक्रमको शुल्क १२ लाख ३१ हजार रुपैयाँ तोकेको छ ।