आइआइएमएस कलेजमा दीक्षान्त समारोह सम्पन्न, पाँच सय जना विद्यार्थी दीक्षित

काठमाडौं । आइआइएमएस कलेजमा दीक्षान्त समारोह सम्पन्न भएको छ । शनिबार काठमाडौंको होटल मेरियटमा एक भव्य समारोहका बीच सो समारोह सम्पन्न भएको हो । दीक्षान्त समारोहमा टेलर्स विश्वविद्यालयका उच्च स्तरीय प्रतिनिधि, विद्यार्थी, अभिभावक, कलेज परिवार र विभिन्न क्षेत्रका सयौं व्यक्तिहरुको सहभागीता रहेको थियो । समारोहमार्फत् बिआइटी र बिएचएम अध्ययन पूरा गरेका पाँच सय जना विद्यार्थीहरु दीक्षित भएको कलेजका ग्रोथ एन्ड डेभलपमेन्ट सर्भिस डाइरेक्टर बृहत बोस्वाले विकासन्युजलाई बताए । आइआइएमएस कलेजले मलेसियाको प्रतिष्ठित टेलर्स विश्वविद्यालमा सम्बन्धन लिएर बिसिएस, बिएचएम र विविए कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

जहाँ किताबी ज्ञान मात्रै होइन, व्यावहारिक सीप पनि सिकाइन्छ

तनहुँ । व्यास नगरपालिका–१० दुम्सीस्थित शिव माध्यमिक विद्यालयमा पछिल्ला समय विद्यार्थीको आकर्षण बढ्दै गएको छ । विद्यालयले किताबी ज्ञानसँगै विद्यार्थीको रुचि अनुरुप व्यावहारिक सीप दिन थालेपछि विद्यार्थीको आकर्षण बढेको हो । सोही वडा निवासी आश्रुत लामिछाने कक्षा १० मा अध्ययनरत छन् । पढाइसँगै उनले सीपमूलक तालिम पनि लिएका छन् । पञ्चेबाजाअन्तर्गत उनले अहिले मज्जाले ढलाकी बजाउन सिकेका हुन् । विद्यालयले सिक्दै, पढ्दै कार्यक्रमअन्र्तगत एक महिने पञ्चेबाजासम्बन्धी प्रशिक्षण दिएपछि उनी ढलाकी बजाउन निपूण बनेका हुन् । ‘सुरुमा कसरी बजाउने होला भन्ने सोचेको थिएँ’, उनले भने, ‘प्रशिक्षकले दिएको ज्ञानलाई व्यवहारमा लागू गर्दै निरन्तरको प्रयासपछि अहिले ढलाकी बजाउन सक्षम बनेको छु ।’ लामिछाने जस्तै कक्षा १० मा अध्ययनरत शिशिर सापकोटा टेम्पो बजाउन सफल बनेका छन् । इच्छाशक्ति भए नसकिने भन्ने हुँदो रहेनछ विद्यार्थी सापकोटाले भने, ‘सुरुमा डर लागे जस्तो भएपनि अहिले मज्जाले बजाउन सकिन्छ ।’ विद्यालयले चितवनबाट प्रशिक्षक ल्याएर इच्छुक विद्यार्थीहरुका लागि पञ्चेबाजासम्बन्धी एकमहिने प्रशिक्षण दिएको शिक्षक धु्रव भण्डारीले जानकारी दिए । पञ्चेबाजामध्ये नरसिंहा बजाउने प्रशिक्षण दिने तयारी गरेका छौँ । उनले भने, ‘वाद्यबाजन र पञ्चे बाजा बजाउनसके पनि धेरैले नरसिंहा बजाउन सक्दैनन् ।’ विद्यालयमा पठनपाठन बन्द भएको समय र बिदाका दिनमा समाजमा हुने बिवाह, ब्रतवन्ध, पूजाआजालगायतका कार्यक्रममा पठाइने सोच बनाइएको सो विद्यालयले जनाएको छ । विद्यालयमा बाद्यबाजनका साथै नृत्य, टपरी बुन्ने, तरकारी खेती, आलुखेती, बत्ती कात्ने, कपाल काट्नेलगायतका सीप विद्यार्थीलाई दिएर संस्कारी बनाउन लागिएको प्रधानाध्यापक चन्द्रमणि कोइरालाले जानकारी दिए । समाजमा चलिआएका पुर्ख्यौली सीपहरु समेत लोप हुने अवस्थामा पुगेकाले विद्यार्थी सिकाएर व्यावहारिक बनाइएको छ । परियार समुदायले बजाउने पुख्यौली पञ्चेबाजा पछिल्लो समय लोपोन्मुख बन्ने खतरा बढेको छ भने आधुनिक बाजाले विस्थापित हुदै गएको छ । पुख्र्यौली सम्पत्तिको संरक्षण एवं सम्बद्र्धन गर्न पनि विद्यालयले यसलाई प्राथामिकता दिएको हो । कक्षा ८,९ र १० कक्षाका विद्यार्थीलाई शिक्षाको साथै व्यावहारिक शिक्षा प्रदानमा जोड दिइएको उनको भनाइ छ । विद्यार्थीलाई पठनपाठनमा मात्रै केन्द्रित गर्दा पट्यार लाग्ने, दिक्क अनुभव गर्ने र पढाईमा ध्यान नदिने भएकाले यस्ता सीपमूलक शिक्षामा जोड दिइएको प्रधानाध्यापक कोइरालाले बताए । ‘नाचगानलगायत सीपमूलक शिक्षा प्रदान गर्न थालेसँगै विद्यार्थीहरु उत्साहित भएर सीप सिक्ने र पढ्ने कार्यमा रुचि लगाउने गरेका छन्’, उनले भने । ‘सीप सिकेका विद्यार्थीले आफूभन्दा तल्लो कक्षामा अध्ययनरत इच्छुक विद्यार्थीलाई पनि सिकाएर सीप हस्तान्तरण गर्न लगाइएको छ’, उनले भने, ‘विद्यार्थीबाट विद्यार्थीमा सीप हस्तान्तरण गरी पञ्चेबाजालाई सदाबहार जीवन्तता दिन लागिएको छ ।’ कक्षा १० मा अध्ययनरत विद्यार्थी एसइईपश्चात् अर्को विद्यालयमा जानुअघि सिकेको सीप आफूभन्दा पछिका पुस्तालाई सिकाउने व्यवस्था मिलाइएको सो विद्यालयले जनाएको छ । विद्यालयको भावि योजनामा प्लाम्बिङ र वाइरिङलगायतका सीपमूलक र आयआर्जनमूलकसम्बन्धी तालिम प्रदान गर्ने लक्ष्य रहेको छ । विद्यार्थीले मात्रै नभई शिक्षक शिक्षिक पनि वाद्यवादन बजाउन, गाउन र नाच्न उत्तिकै सक्षम बन्दै गएका छन् । कक्षा १ देखि ५ सम्म स्मार्ट टिभी र कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई स्मार्ट बोर्ड राखेर पठनपाठन गराउन थालिएको छ । समयको मागसँगै विद्यालयले प्राविधिक शिक्षालाई प्राथामिकता दिँदै आएको सो विद्यालयले जनाएको छ । दलित, जनजाति र सिमान्तकृत बालबालिकाको बाहुल्य रहेको यस विद्यालयमा हाल तीन सय विद्यार्थी अध्ययनरत छन् । रासस

किंग्स् कलेजले कम्प्युटर साइन्समा शैक्षिक अध्यापन सुरु गर्ने

काठमाडौं । किंग्स् कलेजले कम्प्युटर साइन्स्मा शैक्षिक अध्यापन सुरु गर्ने भएकाे छ । उद्यमशिलता शिक्षा प्रदान गर्दै आइरहेको किंग्स् कलेजले स्वदेशमा प्रविधीको विकासमा योगदान पुर्याउने उदेश्यका साथ ब्याचलर्स् अफ साइन्स् इन कम्युटर साइन्स् शैक्षिक कार्यक्रम संचालनमा ल्याउने बताएको छ । अमेरिकास्थित वेष्टक्लिफ विश्वविद्यालयको सम्बन्धमा संचालन हुने यस चार वर्षे शैक्षिक पाठ्यक्रमले विश्वस्तरमा प्रविधीको क्षेत्रमा भइरहेको दु्रत विकासलाई आत्मसाथ गरी सोबाट लाभ लिन पछिल्लो पिढीलाई सबल बनाउने उदेश्य राखेको छ । यस विषयमा हासिल गरिने डिग्री केबल औपचारिक शिक्षामात्र नभइ नवप्रबर्तनमा आधारित आर्टिफिसियल इन्टिलिजेन्स, मसिन लर्निङ्ग, इन्टरनेट अफ थिङ्स, इन्टिलिजेन्ट एप विकास लगायतका क्षेत्रमा सफलता हालिस गर्ने औजार समेत भएको कलेजले जनाएको छ । उसोत यस कार्यक्रममार्फत कम्प्युटरसम्बन्धी सैद्धान्तिक ज्ञानमात्र नदिएर बास्तविक विश्वपरिस्थितीमा सूचना प्रविधीको क्षेत्रमा देखापरेका समस्या समाधान गर्न समक्ष बनाउने कलेजले विश्वास लिएको छ । शिक्षाले मानिसलाई वर्तमान समस्याको समाधान गर्न र समयअनुसार विभिन्न परिस्थितीको सामना गर्न सक्षम गराउनुका साथसाथै समयसान्दर्भिक शिप तथा सामथ्र्यको विकासमा सघाउर्ने सोच राख्दै कलेजले पछिल्लो समय सूचना प्रविधीको अध्ययन–अध्यापनलाई प्राथमिकता दिएको ब्याचलर्स् अफ साइन्स् इन कम्युटर साइन्स्को कार्यक्रम प्रमुख मनोज पाण्डेले जानकारी दिए । उनका अनुसार ब्यक्ति तथा संस्थाहरुको विशिष्टकृत आवश्यकता परिपूर्ती गर्नको लागि ब्याचलर्स् अफ साइन्स् इन कम्युटर साइन्स् कार्यक्रमको डिजाइन गरिएको र सम्बन्धित क्षेत्रमा काम तथा अध्ययनअनुसन्धान गरिरहेका ब्यक्तित्वहरुले यस विषयको अध्यापन गराउने बताइएको छ । ‘कम्युटर प्रविधीको क्षेत्रमा ज्ञान र शिपको नविन लहरको श्रृजना गर्न अगाडी बढिरहँदा हामी निकै उत्साहित छाैं,’  पाण्डेले बताए । आउँदो शैक्षिक शत्रदेखि ब्याचलर्स् अफ साइन्स् इन कम्युटर साइन्स्मा कक्षा संचालन गरिने र सोको लागि आवश्यक सम्पूर्ण तयारी पूरा भैसकेको कलेजले बताएको छ । प्रविधीको क्षेत्रमा रुचि राख्ने विद्यार्थी, ब्यवासयी एवं कप्युटर वैज्ञानिकहरुले यस कार्यक्रममा सहभागी हुन पाउनेछन् । कलेजले भविष्यमा कम्युटर साइन्स्को स्नातकोत्तर कक्षा पनि संचालन गर्ने बताएको छ ।