सिभिल बैंकले बचतकर्तालाई ७ लाखकाे दुर्घटना बीमा र १ लाखको औषधी दिने

काठमाडौं । सिभिल बैंक लिमिटेडले नयाँबचत खाता योजना “सम्मान बचत खाता” ल्याएको छ । बैंकले यस बचत खातामा ७ लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु/अपांग बीमा निःशुल्क गराउने भएको छ । यसका साथै, अस्पताल भर्ना भई लागेको १ लाख रुपैयाँसम्मको औषधोपचार खर्चको बीमा पनि निःशुल्क रुपमै उपलब्ध गराउने भएको छ । यस योजनामा ग्राहकहरुले बीमाका सुविधाहरु प्राप्त गर्न आफ्नो बचत खातामा राख्नुपर्ने रकमको कुनै बन्देज नरहेको कुरा पनि बैंकले जनाएको छ । न्यूनतम मौज्दात शुन्य रहेको यस बचत खातामा ग्राहकहरुका लागि निःशुल्क चेक बुक, एटीएम कार्ड, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ, रेमिटेन्स सुविधा, ओभरड्राफ्ट कार्ड तथा निःशुल्क एबीबीएस सुविधा रहेकोे कुरा बैंकले जनाएको छ ।   हाल सालै जारी गरीएको श्रम ऐन अनुसार प्रत्येक संघ-संस्थाले आफ्नो श्रमिक/कर्मचारीहरुलाई ७ लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु/अपांग बीमा तथा औषधोपचार खर्चको लागी १ लाख रुपैयाँसम्मको बीमा गराउनुपर्ने नियम रहेको छ । तर यस योजना अन्तर्गत बैंकले नै आफ्नै खर्चमा बीमा गराइदिने भएको तथा बीमाका सुविधाहरु प्राप्त गर्न आफ्नो बचत खातामा राख्नुपर्ने रकमको कुनै बन्देज नरहेकोले यस योजनाबाट संघ-संस्था लगायत ग्राहकवर्गहरु लाभान्वित हुने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।  

५६ लाखले गराए जीवन बीमा, महिलाको संख्या ३९ प्रतिशत मात्रै

काठमाडौं । देशभरमा जीवन बीमा गराउनेको संख्या ५६ लाख नाघेकाे छ । जीवन बीमा गराउने क्रम बढ्दो रहेकाे तर पुरुषको तुलनामा जीवन बीमा गराउने महिनाको संख्या निकै कम रहेको तथ्याङ्कले देखाएकाे छ । ६१ प्रतिशत पुरुषले जीवन बीमा गराउँदा महिलाको हिस्सा ३९ प्रतिशत मात्र रहेको पाइएको छ । पुरुषको तुलनामा महिला सहभागिता हरेक क्षेत्रमा कम छ अरु क्षेत्रमा जस्तै जीवन बीमा गराउनेमा पनि महिलाको सहभागिता कम पाइएको हो । चालु आर्थिक वर्षको असोज मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । जीवन बीमा गराउने महिलाको संख्या ३८.८१ प्रतिशत पुग्दा पुरुषको संख्या ६१.१९ प्रतिशत पुगेको हो । बीमा समितिका अनुसार जीवन बीमाको पोलिसी किन्नेको संख्या ५६ लाख ५७ हजार २ सय ९ रहेको छ । सो पोलिसी किन्ने महिलाको संख्या २१ लाख ९५ हजार ३ सय ७९ रहेको छ भने पुरुषको संख्या ३४ लाख ६१ हजार ८ सय ३० रहेको बीमा समितिले जनाएको छ । राष्ट्रिय बीमा संस्थानमार्फत जीवन बीमा गर्नेको संख्या १ लाख ४० हजार रहेको छन् । सो संख्यामा ३७ प्रतिशत महिला रहेका छन् भने ६३ प्रतिशत हिस्सा पुरुषको रहेको छ । त्यसैगरी नेशनल लाईफ ईन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराउनेको संख्या ३ लाख ५६ हजार ६ सय ८ रहेको छ । सो संख्यामा ३९.५८ प्रतिशत महिला रहेका छन्, पुरुषको संख्या ६०.४२ प्रतिशत रहेका छन् । नेपाल लाईफ ईन्स्योरेन्समा जीवन बीमा गराउनेको संख्या ९ लाख ८३ हजार ७ सय ४३ रहेको छ । सो संख्यामा ३६.४७ प्रतिशत महिला रहेका छन् भने ६३.५३ प्रतिशत पुरुष रहेका छन् । यसैगरी, अर्को बीमा कम्पनी लाईफ ईन्स्योरेन्स कर्पोरेशन नेपालमा जीवन बीमा गराउनेको संख्या ७ लाख १ हजार ९ सय ५४ रहेको छ । सो संख्यामा ३७.२० प्रतिशत महिला र ६२.८० प्रतिशत पुरुष रहेका छन् । यता, मेट लाईफ ईन्स्योरेन्समा जीवन बीमा गराउनेको संख्या १४ लाख ४८ हजार २ सय ६० रहेको छ । जसमध्ये ५६.२४ प्रतिशत महिला र ४३.७६ प्रतिशत पुरुष रहेका छन् । एशियन लाईफ ईन्स्योरेन्समा जीवन बीमा गराउनेको संख्या ४४ हजार ८ सय ७९ रहेको छ । सो संख्यामा ४४.११ प्रतिशत महिला र ५५.८९ प्रतिशत पुरुष रहेका छन् । यसैगरी सूर्या लाईफ ईन्स्योरेन्स कम्पनीका अनुसार जीवन बीमा गराउनेको संख्या १ लाख ७६ हजार ६ सय ९७ रहेको छ । सो संख्यामा ४०.२१ महिला र ५९.७९ प्रतिशत पुरुष रहेका छन् । बीमा समितिका निर्देशक राजुरमण पौडेलका अनुसार बीमा गर्नेको सङ्ख्या बढ्ने क्रममा नै रहेको छ तर सचेतना कार्यक्रम पर्याप्त नभएकाले महिलाको संख्या कम भएको हुनसक्छ । गुराँश लाईफ ईन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराउनेको संख्या ७४ हजार ७ सय ४७ रहेको छ । सो संख्यामा ४२.०९ प्रतिशत महिला र ५७.९१ प्रतिशत पुरुष रहेका छन् । त्यसैगरी प्राईम लाईफ ईन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराउनेको संख्या १४ लाख २६ हजार ९ सय ७७ रहेको छ । सो संख्यामा २० प्रतिशत महिला र ८० प्रतिशत पुरुष रहेका छन् । आईएमई लाईफ ईन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराउने संख्या ११ हजार २ सय ४५ रहेको छ । सो संख्यामा ४०.०२ प्रतिशत महिला र ५९.९८ प्रतिशत पुरुष रहेका छन् । यूनियन लाईफ ईन्स्योरेन्स कम्पनीका अनुसार जीवन बीमा गराउनेको संख्या १४ हजार ३८ रहेको छ । सो संख्यामा ३७.३७ प्रतिशत महिला र ६२.६३ प्रतिशत पुरुष रहेका छन् । ज्योति लाईफ ईन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराउनेको संख्या १३ हजार ३ सय ९० रहेकोे छ । जसमध्ये ४६.८८ प्रतिशत महिला र ५३.१२ प्रतिशत पुरुषको संख्या रहेको छ । सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराउनेको संख्या १३ हजार ९ सय २० रहेको छ । सो संख्यामा ३८.९७ प्रतिशत महिला र ६१.०३ प्रतिशत पुरुष रहेका छन् । रिलायन्स लाईफ ईन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराउनेको संख्या ५ हजार २ सय ५९ रहेको छ । सो संख्यामा ३९.९९ प्रतिशत महिला र ६०.०१ प्रतिशत पुरुष रहेका छन् । सिटिजन्स लाईफ ईन्स्योरेन्स कम्पनीमा जीवन बीमा गर्नेको संख्या ७१ हजार २ सय ७२ रहेको छ । सो संख्यामा १०.०९ प्रतिशत महिला र ८९.९१ प्रतिशत पुरुष रहेका छन् । सानीमा लाईफ ईन्स्योरेन्स कम्पनीमा जीवन बीमा गर्नेको संख्या ५ हजार २ सय ६६ रहेको छ । सो संख्यामा ३२.९५ प्रतिशत महिला र ६७.०५ प्रतिशत पुरुष रहेका छन् । प्रभु लाईफ ईन्स्योरेन्स कम्पनीमा जीवन बीमा गर्नेको संख्या ४ हजार ३६ रहेको छ । सो संख्यामा ३८.०१ प्रतिशत महिला र ६१.९९ प्रतिशत पुरुष रहेका छन् । रिलायवल नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीमा भने जीवन बीमा गर्ने महिलाको संख्या पुरुषको भन्दा धेरै रहेको छ । सो संस्थामा जीवन बीमा गर्नेको संख्या १ लाख ६४ हजार ९ सय १० रहेको छ । सो संख्यामा २३.४० प्रतिशत मात्र पुरुष रहेका छन् भने महिलाको संख्या ७६.६० प्रतिशत रहेको छ । बीमा समितिका निर्देशक राजुरमण पौडेलका अनुसार बीमा गर्नेको सङ्ख्या बढ्ने क्रममा नै रहेको छ, तर सचेतना कार्यक्रम पर्याप्त नभएकाले महिलाको संख्या कम भएको हुनसक्छ । साथै, आगामी दिनमा महिलाको सङ्ख्यामा समेत वृद्धी हुने निर्देशक पौडेलले बताए ।

बीमा समितिले एक्चुरीको सूची तयार पार्ने, ४५ दिन भित्र आवेदन दिन आग्रह

काठमाडौँ । बीमा समितिले बीमांकक (एक्चुरी) को सूची तयार पार्ने भएको छ । समितिले विश्वव्यापीरूपमा सूचना प्रकाशित गरी बीमांककको सूचीमा सहभागी हुन आग्रह गरेको हो । नेपालमा बीमा व्यवसाय शुरु भएको लामो इतिहास भएपनि नेपालभित्र बीमांकक नभएपछि स्वदेशमा नै दक्ष जनशक्ति उपलब्ध गराउने नभए मात्रै विदेशी कम्पनीलाई सहभागी गराउने लक्ष्यका साथ उक्त सूचना सार्वजनिक गरिएको हो । समितिले केही दिन पहिले सार्वजनिक सूचना प्रकाशित गरी ४५ दिन भित्र आवेदन दिन आग्रह गरेको छ । समितिले कम्पनी र नियमनकारी निकायबीच आवश्यक समन्वय, बीमा व्यवसायको विश्वसनीयताका लागि पनि उक्त प्रयास गरिएको जनाएको छ । नेपालमा जीवन बीमा र निर्जीवन बीमा गरी कूल ३९ कम्पनी कार्यरत छन् । एक बीमा कम्पनीको मूल्याङ्कनसहितको लेखापरीक्षणका लागि न्यूनतम रु चार लाख देखि चार लाख ५० हजारसम्म खर्च हुने गरेको छ । यस्तै बीमा समितिले केही समय पहिलेदेखि लागू गरेको ‘एनएफआरएस’का लागि समेत सोही परिमाणमा रकम खर्च हुने गरेको छ । समितिले बीमाकंकको उपाधि हासिल गरेकालाई सूचीमा सहभागी हुन आग्रह गरेको हो । नेपालका अधिकाशं बीमा कम्पनीको लेखापरीक्षण नेपालमा नभई छिमेकी देश भारतमा हुने गरेको छ । राष्ट्रिय पूँजी विदेश गइरहेको पाइएपछि समितिले स्वदेशमा नै काम गराउने लक्ष्यसहित सूची तयार पार्न लागेको हो । समितिले बीमाकंकको नाम, नम्बर र ठेगानासमेत सूचीमा समावेश गर्ने भएकाले बीमा कम्पनीले सहजै उनीहरूलाई सम्पर्क गर्न सक्नेछन् । जानकारहरूका अनुसार नेपालमा बीमाकंकको उपाधि हासिल गरेकाको सङ्ख्या असाध्यै न्यून छ । जसका कारण ठूलो धनराशि विदेशिइरहेको छ । बीमा समितिले बीमाकंकको सम्पूर्ण विवरणलाई अध्ययन गरेर सार्वजनिक गर्ने जनाएको छ । युनाइटेड इन्स्योरेन्स कम्पनीका कायममुकायम प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बीमा कम्पनीको लेखापरीक्षण गराउन स्वदेशमा नै जनशक्ति खोजी गर्ने प्रयासलाई स्वागत गरेका छन् । समयमा नै ‘एक्चुरियल’ लेखापरीक्षण हुन नसक्दा बीमा कम्पनीले तोकेको समयमा साधारणसभा गर्नसमेत पाएका छैनन् । पछिल्लो पटक ‘एनएफआरएस’ लागू भएका कारण पनि समस्या परेको छ । समितिले भारत, बेलायत, अष्टे«लियाका पाँच कम्पनीलाई बीमाकंकको काम गर्ने गरी सूचीमा राखेको छ । नेपाल स्टक एक्सचेञ्जमा विभिन्न सात जीवन बीमा कम्पनी र १५ निर्जीवन बीमा कम्पनी सूचीकृत छन् । केही कम्पनी भने सूचीकृत भएका छैनन् । रासस