बजार विस्तारमा आक्रामक बन्यो प्राइमलाइफ इन्स्योरेन्स

काठमाडौं । प्राइमलाइफ इन्स्योरेन्स कम्पनीले प्रदेश ५ अन्तर्गत वुटवलमा एकैदिन ३ कार्यालय शुभारम्भ गरेको छ । कम्पनीले दाङ जिल्लाको भालुबाङ, रुपन्देहीको रामापुर र नवलपरासीको बर्दघाटमा तीन वटै कार्यालय सञ्चालनमा ल्याएको हाे । उक्त तीनै कार्यालयको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले गरेका हुन् । सम्पुर्ण नेपाली नागरिकलाई जीवन बीमाको दायरामा ल्याउने उद्देश्यका साथ कम्पनीले कार्यालय विस्तार गरेको उनले बताए । कम्पनीले बजारमा ल्यायका विभिन्न बीमा योजनाहरुको बारेमा जानकारी गराउदै गत वर्षबाट बीमा बजारमा आएको बीमा क्षेत्रकै अत्यन्तै नौलो र फरक बीमा योजना प्राइम जीवन उपहार बीमा योजनाको बारेमा थप जानकारी गराउदै यो बीमा योजना नेपाली बीमा बजारमा पृथक र ग्राहक मैत्री भएको भट्टराईले प्रस्ट्याएका छन् । कम्पनीका ५ नं. प्रदेश कार्यालय बुटवलका प्रमुख शिव प्रसाद पौड्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कम्पनीका सम्बन्धित शाखाका शाखा प्रमुखको सञ्चालनमा भएको थियो ।

प्रभु लाइफ इन्स्योरेन्सका तीन नयाँ शाखा विस्तार

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना नयाँ तीन शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।उक्त  इन्स्योरेन्सले सुर्खेत शाखा, टिकापुर उप–शाखा र अत्तरिया उप–शाखाहरुको शुभारम्भ गरी कारोबार शुरु गरेको हो । पुस ७ र ८ गते तीनवटै कार्यालयहरुको उद्घाटन कम्पनीका अध्यक्ष डा. आत्मा राम घिमिरेले गरेका हुन् । अध्यक्ष डा. आत्मा राम घिमिरेले यस कम्पनी शाखाहरु विस्तारको क्रममा रहेको र पश्चिम नेपालका विभिन्न स्थानहरुमा भएका शाखा विस्तारबाट यस क्षेत्रका बासिन्दाहरुलाई समेत प्रभु लाइफ इन्स्योरेन्सको बीमा सेवाबाट लाभ लिन आग्रह समेत गरेका छन् । कार्यक्रममा कम्पनीका प्रमुख दकार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले जीवन बीमालाई गाउँसम्म पुर्याउने उद्घेश्य सहित प्रभु लाइफ इन्स्योरेन्सको स्थापना भएको बताउँदै कम्पनीले जीवन बीमा बजारमा महत्वपूर्ण स्थान बनाउने दाबी गरेका छन् ।

नौ अर्ब रुपैयाँको आईपीओ ल्याउन जुटे नयाँ बीमा कम्पनी, यस्तो हुँदैछ तयारी

काठमाडौं । नयाँ बीमा कम्पनीहरु साधारण सेयर (आईपीओ) जारी गर्ने गृहकार्यमा लागेका छन् । कारोबार सुरु गरेको १ आर्थिक वर्ष पूरा भएपछि आईपीओ जारी गर्न पाउने व्यवस्थाको कारण कम्पनीहरु यसको तयारीमा जुटेका हुन् । आईपीओ जारी गर्न आवश्यक गृहकार्य सुरु गरिएको कम्पनीहरुले जानकारी दिएका छन् । आईपीओ जारी गर्नको लागि लेखापरीक्षण, वार्षिक साधारणसभा, एक्चुरी भ्यालुएसन, सेयर निष्कासन तथा विक्री प्रबन्धक (इस्यू म्यानेजर) नियुक्त जस्ता कार्यमा कम्पनीहरु लागेका हुन् । निर्जीवन बीमा तर्फ ३ र जीवन बीमातर्फ १० नयाँ कम्पनीले लाइसेन्स पाएर बीमा व्यवसाय गरिरहेको भएपनि ती कम्पनीले आईपीओ निष्कासन गरिसकेका छैनन् । कम्पनीहरुलाई आईपीओ जारी गर्न बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले पनि ताकेता गर्न थालेको छ । नयाँ कम्पनीहरुलाई आईपीओ जारी गर्न तोकेता गरिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । समितिले कम्पनीहरुलाई वित्तीय विवरण पेश गरेर आईपीओ जारी गर्ने प्रक्रियामा जान ताकेता गरेको हो । ‘नयाँ कम्पनीहरुले आईपीओ जारी गर्ने बेला भइसकेको छ, कम्पनीहरुलाई वित्तीय विवरण चाँढै पेश गरेर आईपीओ निष्कासनको प्रक्रियामा गइहाल्नु भनेका छौं,’ कार्यकारी निर्देशक पौडेलले विकासन्यूजसँग भने । निर्जीवन बीमा व्यवसाय गरिरहेको अजोड, जनरल र सानीमा इन्स्योरेन्स कम्पनीले आईपीओ जारी गरेका छैनन् । यस्तै, जीबन बीमा व्यवसाय गरिरहेका सिटिजन्स, ज्योति, युनियन, रिलायन्स, सानिमा, प्रभु, आईएमई, रिलायवल, सन नेपाल र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले पनि आईपीओ जारी गरेका छैनन् । जीबन र निर्जीबन बीमा कम्पनी गरी १३ वटा कम्पनी ८ अर्ब ७८ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने अन्तिम तयारीमा छन् । यस्तो भन्छन् कम्पनीहरु: अजोड इन्स्योरेन्स कम्पनी अजोड इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशनको तयारी गरिरहेको छ । अजोडले सेयर निष्कासन तथा विक्री प्रबन्धक नियुक्त नै गरिसकेको छ । ‘हामीले हाम्रो इस्यू म्यानेजरको रुपमा एनआईबीएलएस क्यापिटललाई छनोट गरिसकेका छाँै, बाँकी रहेका काम पनि हामीले गर्दैछाँै, अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले भने । जनरल इन्स्योरेन्स कम्पनी जनरल इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनको लागि तयारी गरेपनि केही समय लाग्ने बताएको छ । ‘हामीले आईपीओ निष्कासनको काम गर्दै छौं, बीमा समिति र धितोपत्र बोर्डका प्रकृयाहरुसमेत पूरा गर्नुपर्ने भएकोले केही सयम लाग्छ कि जस्तो छ, तर सकेसम्म छिटै सक्ने गरी गृहकार्य गरिरहेका छौं,’ जनरल इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक एसके टमोटले भने । सन नेपाल लाइफ सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनको प्रक्रिया निकै अगाडि पुर्याइसकेको छ । कम्पनीले आईपीओ निष्कासनको लागि धितोपत्र बोर्डमा निवेदन दिइसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले जानकारी दिए । ‘हामी आईपीओ निष्कासनको प्रक्रियामा निकै अगाडि बढिसकेका छौं, आवश्यक कागजातहरु धितोपत्र बोर्डमा पठाएका छौं,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले भने । युनियन लाइफ युनियन लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनको लागि गृहकार्य गरिरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले जानकारी दिए । महालक्ष्मी लाइफ महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको भने यस वर्ष आईपीओ आउँदैन । आईपीओ आउँन कम्पनीहरुले कम्तिमा एक आर्थिक बर्ष कारोबार गरेको हुनुपर्छ । महालक्ष्मी लाइफले कारोबार सुरु गरेको एक आर्थिक वर्ष पूरा भएको छैन । ‘हामीले कारोबार सुरु गरेको एक आर्थिक वर्ष पूरा भएको छैन, तोकिएको समय पुगेपछि आईपीओ जारी गर्ने प्रक्रियामा जान्छौं,’ कम्पनीमा डेपुटी सिइओ रामेश्वर श्रेष्ठले भने । सानिमा लाइफ सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनको प्रक्रिया निकै अगाडि बढाइसकेको छ । ‘जतिसक्दो चाढै आईपीओ निष्कासनको लागि गृहकार्य गरिरहेका छौं, प्रक्रिया पनि निकै अगाडि बढिसकेको छ,’ कम्पनीका महाप्रबन्धक शिवराम तिमल्सिनाले भने । प्रभु लाइफ प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशनका लागि केही समय लाग्ने जानकारी दिएको छ । ‘आईपीओ निष्काशन गर्न केही समय लाग्ला, प्रकृया अघि बढाइरहेका छौँ, इस्यु म्यानेजर छनोट भइसकेको छ,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण पौडेलले भने । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले इस्यू म्यानेजरको रुपमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरिसकेको छ । सिटिजन्स लाइफ सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनको लागि रेटिङ्ग गरिसकेको छ । क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले रेटिङ गरेको हो । ‘इस्यू म्यानेजरको लागि एनआईबिएलएस क्यापिटललाई नियुक्त गरिसकेका छौं, अन्य गृहकार्य पनि करिब अन्तिम चरणमा पुगेको छ,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोशकराज पौडेलले भने । ज्योति लाइफ, रिलायन्स लाइफ, आइएमइ लाइफ, रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीले पनि आईपीओ जारी गर्ने प्रकृया सुरु गरिसकेका छन् ।