जीवन बीमा कम्पनीहरूकाे अलग्गै संस्था गठन, शिवनाथ पाण्डे अध्यक्ष
काठमाडौं । जीवन बीमा कम्पनीहरूकाे संगठन जीवन बीमक संघ नेपाल दर्ता भएकाे छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय, काठमाडाैंमा नयाँ संघ दर्ता भएकाे हाे । ९ सदस्यीय तदर्थ समितिको उपाध्यक्षमा मेट लाइफका सिइओ निर्मल काजी श्रेष्ठ, सचिवमा सिटिजन्स लाइफका सिइओ पोषकराज पौडेल र कोषाध्यक्षमा रिलायन्स लाइफका सिइओ प्रविण रमण पराजुली रहेका छन् । कार्य समिति सदस्यहरुमा राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि प्रसाद पाठक, रिलायबल लाइफ इन्स्योरेन्सका सिइओ नारायण बावु लोहनी, ज्योति लाइफका डेपुटी सिइओ प्रकाश विक्रम खत्री, सन नेपाल लाइफका सिइओ राजकुमार अर्याल र युनियन लाइफ इन्स्याेरेन्सका सिइओ मनोज कुमार कर्ण रहेका छन् । नेपाल बीमक संघमा निर्जीवन बीमा कम्पनीहरू हावी हुँदै गएपछि जीवन बीमा कम्पनीहरूकाे अलग्गै संस्था गठन भएकाे बीमकहरूकाे भनाइ छ । २ वर्षअघिसम्म १७ वटा निर्जीवन र ९ वटा जीवन बीमा कम्पनी थिए । त्यतिबेला नेपाल बीमक संघकाे नेतृत्व जहिले पनि निर्जीवन बीमा कम्पनीबाट चुनिदा जीवन बीमा कम्पनीहरू उक्त संस्थाबाट क्रमशः निस्क्रय बन्दै गएका थिए । पछिल्लाे २ कार्यकालमा नेपाल बीमक संघकाे कार्यसमितिमा जीवन बीमा कम्पनीकाे प्रतिनिधित्व शुन्य थियाे । पछिल्लाे समय एक पटक १० वटा जीवन बीमा कम्पनी खुलेपछि जीवन बीमा कम्पनीकाे संख्या १९ वटा भएका छन् । निर्जीवन बीमा कम्पनीकाे संख्या २० वटा छ । पुर्नबीमा कम्पनी एउटा छ । जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीकाे भूमिका धेरै फरक भएकाे र जीवन बीमा कम्पनीहरूकाे साझा सवालमा मिलेर काम गर्न अलगै संस्था खाेल्नु परेकाे जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डेले बताए । ‘जीवन र निर्जीवन बीमा कम्पनीकाे लागि कानुन एउटै भएपनि, नियामक एउटै भएपनि हामीले गर्ने काम, हामीले लिने दाहित्वमा धेरै फरक छ’ अध्यक्ष पाण्डेले भने ‘निर्जीवन बीमा कम्पनीका समस्या अलग्गै हाेलान्, हाम्रा समस्या अलग्गै हुन्छन् । जीवन बीमाकाे क्षेत्रमा हामीले खेल्नु पर्ने भूमिका पनि धेरै फरक हुन्छ ।’
सिद्धार्थ इन्स्योरेन्सले गण्डकी प्रदेशबाट शुरु गर्यो घुम्ती बीमा सेवा
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले गण्डकी प्रदेशको रुपाकोट गाउँपालिकाबाट घुम्ती बीमा सेवाको शुरु गरेको छ । इन्स्योरेन्सले सोमबार एक कार्यक्रमकाबीच उक्त स्थानबाट सो सेवाको शुरु गरेको हो । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले घुम्ती बीमाको माध्यमबाट सहज रुपमा बीमा सेवा प्राप्त हुने बताएका छन् । साथै, उनले स्थानिय निकायसँगको सहकार्यमा घुम्ती बीमा अझ प्रभावकारी हुने हुँदा यसतर्फ ध्यान दिन आग्रह गरेका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले घुम्ती बीमा सेवाको उद्धेश्य, महत्व र यसबाट हुने फाईदाहरुको सम्बन्धमा प्रकास पार्दै घुम्ती सेवा मार्फत घर दैलोबाटै बीमा सेवा लिन आग्रह गरेका छन् । समारोह स्थलबाटै केहि बीमालेख समेत जारी गरीएको कम्पनीले जनाएको छ ।
अभिकर्तालाई दक्ष र सीपयुक्त नबनाई कसरी विस्तार हुन्छ बीमा बजार ?
बीमा क्षेत्रको विकास र विस्तार तीब्र गतिमा भइरहेको छ । बीमा समितिले नयाँ कम्पनीलाई लाइसेन्स दिएपछि बीमाको दायरा र गतिविधि अझै बढेको आभास हुन्छ । बीमा व्यवसायको मेरुदण्ड भनेकै अभिकर्ता हुन् । अभिकर्ताले नै आम सर्वसाधारणसँग भेटेर बीमाको बारेमा जानकारी गराउने, बीमा गराउने, दाबी भुक्तानीका लागि भूमिका निर्वाह गर्ने जस्ता जिम्मेवारी बहन गर्ने भएकोले पनि अभिकर्ताको महत्व धेरै छ । अभिकर्ता पेशामा आवद्ध हुनेहरुको संख्या बढिरहेको छ । लाइसेन्स लिने अभिकर्ताहरु ५ लाखको हाराहारीमा छन् । यसमध्ये ५–७ हजारले पूर्णरुपमा काम गरिरहेका छन् । करिब १ लाख अभिकर्ता पार्टटाइमरको रुपमा कार्यरत छन् । लाइसेन्स लिएका केही अभिकर्ताको बारेमा खासै जानकारी नभएको अवस्था पनि छ । अभिकर्ताको लागि तालिमको राम्रो अवसर नै छैन । अझ भनौं, तालिम लिएर आफ्नो ज्ञान, सीप र क्षमता बढाउने अवस्था छैन । आफैलाई धेरै जानकारी नभएको अभिकर्ताले सर्वसाधारणलाई बीमाको बारेमा बुझाउन सक्दैन । यस्तो कारणले समग्र बीमाप्रति नै सर्वसाधारणको नकारात्मक धारणा बन्ने जोखिम रहन्छ । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले यसमा केही पहल गर्न आवश्यक छ । जस्तो कि लाइसेन्स लिएका अभिकर्तासँग पनि समितिले सीप परीक्षा लिनुपर्यो । यस्तो परीक्षामा उतिर्ण भएका अभिकर्तालाई लाइसेन्स दिने विधि अपनाउन सकियो भने दक्ष अभिकर्ता निर्माण हुन्छ । दक्ष अभिकर्ताले बीमाको राम्रोसँग प्रचार प्रसार र व्यवहारिक पक्षका बारेमा सर्वसाधारणलाई बुझाउन सक्छ । अन्तराष्ट्रिय बजारमा बीमाका विभिन्न योजना र कार्यक्रमहरु आएका हुन्छन् । विभिन्न प्रकारका जोखिम वहनमा बीमाले कसरी कभरेज गर्ने भन्ने अध्ययन, खोज र अनुसन्धानहरु भइरहेका हुन्छन् । यसको लागि नेपाली अभिकर्ताले अन्तराष्ट्रियस्तरको ज्ञान र सीप हासिल गर्नु आवश्यक हुन्छ । तर, नेपाली अभिकर्ताले अन्र्तराष्ट्रियस्तरको तालिम लिने अवसर खासै पाउँदैन् । यसका पछाडि विभिन्न कारण हुन सक्छन् । समस्या जे जस्ता भएपनि बीमा सम्बन्धि पर्याप्त ज्ञान भएको सीपयुक्त अभिकर्ता निर्माण गर्ने हो भने अन्तराष्ट्रिय ‘एक्सपोज’को लागि नियामक, कम्पनी वा सरकार कसले लगानी गर्ने हो त्यो गर्नुपर्यो । अभिकर्तालाई दक्ष बनाउनु पर्यो । २०६० साल अगाडिसम्म बीमा समितिले नै अभिकर्तालाई तालिम दिने गरेको थियो । समितिबाट तालिम प्राप्त अभिकर्ताले अहिले पनि राम्रोसँग काम गरिरहेका छन् । तर, त्यसपछि कम्पनीहरुले नै अभिकर्ता तालिम दिने व्यवस्था भयो । यस्तो व्यवस्थाले जस्ता पनि अभिकर्ता उत्पादन हुन थाले । कम्पनीहरुले घरघरमा गएर अभिकर्ता लाइसेन्स बाढ्न थाले । यसरी लाइसेन्स बाढ्न थालेपछि समस्या आएको हो । कुनै लहड वा भावनामा बगेर अभिकर्ता बन्न सकिँदैन । पूर्णकालिन अभिकर्ता बन्न दक्षता हाँसिल गरेको हुनुपर्यो । बीमाको ज्ञान हुनुपर्यो । यस्तै, सम्बन्धित नियम, कानुन र व्यवस्थाको बारेमा पनि जानकार हुनुपर्यो । अभिकर्ताको लाइसेन्स बोक्नेहरुसँग पनि आधारभूत तथा सैद्धान्तिक ज्ञानको कमि रहेको पाइन्छ । कुनै कम्पनीको कुनै पोलिसीको बारेमा जानकारी पाएकै भरमा अभिकर्ताको लाइसेन्स बोक्नेहरु पनि छन् । यस्ता अभिकर्ताले बीमा क्षेत्रको विकास र विश्वास बढाउन सक्दैनन् । यस्तै अभिकर्ताको कारण हामीहरुले पनि अभिकर्ता भनेको दलाल हो भन्ने आरोप खेप्न वाध्य हुनुपरेको छ । अभिकर्ता भनेको बीमा दुत हुन् । त्यसैले प्रचार गर्दा अभिकर्ताले करकाप नभइ राम्रोसँग बुझाएर गर्न आवश्यक छ । अभिकर्ताले अनावश्यक तनाव दिने भन्दै सर्वसाधारणले बीमाको बारेमा कुरै सुन्न नचाहेको भन्ने आरोप पनि लाग्छ । यो भने व्यवसायिक अभिकर्ता तयार पार्न गरिएको कन्जुस्याईको परिणति हो । व्यवसायिक र दक्ष अभिकर्ताको कमी भएको अवस्थामा ठगी वा बद्मासी बृद्धि हुन सक्छ । यस्तो बद्मासीले बिमित, विमक, नियामक वा समग्रतामा राज्यलाई नै नकारात्मक परिणाम दिन्छ । त्यसैले अभिकर्ताको क्षमताबृद्धिमा सबैको पहलकदमी आवश्यक छ । बीमा समितिले इन्ष्टिच्युट स्थापना गरेको छ । त्यो इन्ष्टिच्युटले अभिकर्तालाई पनि तामिल दिने व्यवस्था मिलाउनु पर्यो । ३ करोड नेपालीलाई बीमा गराउँन ५ लाख अभिकर्ता आवश्यक पर्दैन । १ लाख अभिकर्तालाई बीमाको राम्रो तालिम दिलाउँन सके मात्रै पनि पर्याप्त हुन्छ । तर, दुःखको कुरा, १ लाख दक्ष अभिकर्ता पनि उत्पादन गर्न सकिएको छैन । (पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष तिवारीसँग विकासन्यूजका लागि नविन पोखरेलले गरेको कुराकानीमा आधारित)