बैंकास्योरेन्सकाे नाममा भएका सबै सम्झौता खारेज, नयाँ सम्झाैता गर्न पनि बन्देज

काठमाडौं । बीमा कम्पनी र बैंक तथा वित्तीय संस्थाहरुबीच भएका सबै प्रकारका बैंकास्योरेन्स सम्झौताहरु खारेज भएका छन् । बीमा समितिले बुधबार एक पत्र जारी गर्दै अब कुनै पनि कम्पनीले त्यस्ता सम्झौताहरु गर्न नपाउने भन्दै बीमा कम्पनीहरुलाई निर्देशन दिएको हाे । समितिले गत मंसिर २२ गतेदेखि लागू गरेको “बीमकले सहकार्यमा बीमा व्यवसाय संचालन गर्दा अपनाउनु पर्ने नीतिगत मार्गदर्शन, २०७६” सँगै यस अघि बैंकास्योरेन्सको नाममा भएका सबै प्रकारका सम्झौता खारेज गरेको हो । समितिले कुनै संस्थासँग सहकार्यमा बीमा व्यवसाय गर्ने सम्झौता भएको भए आजकै दिनबाट उक्त सम्झौता भंग गर्न बीमा कम्पनीलाई निर्देशन दिएको हो । साथै, उक्त सम्झौता भंग गरी समितिले जारी गरेको उक्त मार्गदर्शन लागु हुने गरी सम्झौता गराउन समितिका कार्यकारी निर्देशक राजुरमण पौडेले बीमा कम्पनीलाई निर्देशन दिएका छन् ।

सगरमाथा इन्स्योरेन्सको चरिकोट शाखामा उद्योग वाणिज्य संघको तालाबन्दी

काठमाडौं । चरिकोट उद्योग वाणिज्य संघले सगरमाथा इन्स्योरेन्स कम्पनीको शाखामा ताला लगाएको छ । संघले इन्स्योरेन्सको दाबी भुक्तानी सम्बन्धि विवाद सुल्झाउन नसकेपछि तालाबन्दी गरेको हो । चरिकोट उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठले इन्स्योरेन्स कम्पनीले समयमा पैसा बुझाउनु पर्ने बताए । कम्पनीले बीमितहरूलाई मर्का पर्दै आएकाले ताला लगाउँन बाध्य भएको जानकारी दिए । ‘१ करोड २५ लाखको दाबी बीमा नपाएका कारण ताला लगाएका हौं,’ उनले भने ‘तामाकोशी–भिरकोटको करिब ७ किमी सडकको ९० लाख दाबी पर्दा कम्पनीले ३० लाख रुपैयाँ मात्र भुक्तान गर्ने तयारी गरेको संघले बतायो । सो रकम इन्योरेन्स कम्पनीले २ वर्ष देखि भुक्तानी गरेको छैन । बीमा गराएको अवस्थामा समेत (नोक्लेम) दाबी नै नपरेको भन्दै बीमा कम्पनीलेधम्की दिने गरेको चरिकोट उद्योग वाणिज्य संघले दाबी गरेको छ । २ दिनदेखि ताला लागेको १ करोड २५ लाख करीब दाबी छ । इन्स्योरेन्स कम्पनीले समयमै दाबी भुक्तानी गर्नु पर्ने कुरा सही हो । तर, कम्पनीमा आएको गडबढीको कारण बीमा कम्पनीमा ताला लगाउनु कतिको जायज हो यो विषय अर्को पक्ष हो । कानुनी रुपमा अघि बढ्दा बीमित बीमक दुबैलाई फाइदा हुने पाइन्छ । इस्योरेन्स कम्पनीले छलफल मार्फत विवाद टुङ्ग्याउन सकिने बताएको छ । ‘यस विषयलाई लिएर बीमा समितिका अध्यक्ष चिरञ्जीबि चापागाँईले कानुनी बाटो अपनाएर हिडन् आग्रह गरेका छन् । बीमा समितिले अर्ध न्यायीक निकायको रुपमा आफ्नो भुमिका निभाउँदै आएको छ,’ उनले भने । ‘भूकम्पपछि मात्रै हामी कहाँ १६ अर्बको दाबी परेको र १४ अर्ब रुपैयाँको भने भुक्तान गरिसकेका छौं,’  उनले भने । तालाबन्दीको बाटो भन्दा कानुनी रुपमा बीमा समितिमा आफ्नो निवेदन दिएर तथा अदालत समक्ष पुगेर आफ्ना मुद्दा राख्दा राम्रो हुने उनले बताए । सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीले कानुनी प्रकिया अनुसार काम गर्दा दुबै पक्षको राम्रो हुने बताए । उनले पोलिसी अनुसार नै बीमाले काम गर्ने भएकाले कानुनी उपचार खोज्नुपर्ने प्रष्टाए । कम्पनीले गर्नु पर्ने दाबी भुक्तानी गर्नमा आफूहरू तयार रहेको बताए ।

 बीमा समितिले ‘हस् हजुर’ भन्दा ४० वटा बीमा कम्पनीलाई अनावश्यक आर्थिक भार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनमा बीमा समितिले ‘हस् हजुर’ जनाउदा बीमा कम्पनीहरुलाई अनावश्यक आर्थिक भार थपिनुको साथै टाउको दुखाउने तनाव थपिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सबै नियामक निकायलाई निर्देशन दिदै नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउन प्रचारात्मक कार्यमा सहयोग गर्ने भनेको छ । मन्त्रालयले भ्रमण वर्ष २०२० सँग सम्बन्धित र असम्बन्धित सबै निकायलाई यस्तो निर्देशन दिएको पाइएको छ । मन्त्रालयको असम्बन्धित निर्देशनमा बीमा समितिले ‘हस् हजुर’ जनाउदै ४० वटा बीमा कम्पनीलाई अनावश्यक आर्थिक भार पर्नेगरी ४ बुँदे निर्देशन दिएको छ । समितिले सबै बीमा कम्पनीलाई अबदेखि गरिने पत्राचारमा अनिवार्य रुपमा नेपाल भ्रमण वर्षको लोगो राख्न निर्देशन दिएको छ । यो निर्देशन पालना गर्न सबै बीमा कम्पनीले नयाँ लेटरप्याड प्रिन्ट गर्नु पर्ने र त्यसले अनावश्यक रुपमा लाखौ रुपैयाँ आर्थिक भार थप्ने एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए । ‘बीमा कम्पनीहरुको पत्रमा नेपाल भ्रमण वर्षको लोगो छापेर थप एक जना पनि विदेशी पर्यटक नेपाल आउनेवाला छैन । सरकारी अधिकारीहरुले कमन सेन्स पनि प्रयोग नगरी जारी गरेको निर्देशनले ४० वटा बीमा कम्पनीलाई आर्थिक भारको साथै अनावश्यक झन्झट थप्ने काम गरेको छ’ उनले भने । बीमा समितिले बीमा कम्पनीहरुको वेवसाइटमा पनि नेपाल भ्रमण वर्षको लागो राख्न, नेपाल भ्रमण वर्षको सचिवालयमा लिङ्क दिन पनि निर्देशन दिएको छ । त्यस्तै, बीमा कम्पनीहरुले प्रकाशन गर्ने बुलेटिन वा स्मारिकामा नेपाल भ्रमण वर्षको प्रचार प्रसारमा सहयोग पुग्ने लेख, रचना र प्रचार समाग्री प्रकाशित गर्न निर्देशन दिएको छ । ‘प्रचार प्रसारको काम सञ्चार माध्यमको हो । बीमा कम्पनीको काम बीमा गर्ने हो’ बीमा कम्पनीलाई नेपाल भ्रमण वर्षको काम लगाउनु भनेको अत्यन्तै अनप्रोफेशनल कार्य हो’ अर्को बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतले भने । ‘हामीले विदेशी पर्यटकको बीमा गर्न कानुनले दिँदैन । पर्यटकले विदेशमा नै बीमा गरेर नेपाल आउनुपर्छ’ उनले भने ‘विदेशी पर्यटन नेपाल आएपछि उनीहरुलाई बीमा कम्पनीले दिने सेवा केही पनि हुँदैन ।’ बीमा समितिले संस्थागत सुशासन निर्देशिकामा बीमा कम्पनीहरुलाई कुनै पनि नाममा उपहार दिन रोक लगाएकोमा नेपाल भ्रमण वर्षको प्रवद्र्धन गर्ने नाममा भने उपहार दिन निर्देशन दिएकोमा बीमा कम्पनीहरु चकित भएका छन् । बीमा समितिले विदेश भ्रमण गर्दा अनिवार्य रुपमा नेपाल भ्रमण वर्षको बारेमा जानकारी दिन, विदेशी मञ्जमा बक्तव्य दिनुपर्दा भ्रमण वर्षको जानकारी दिन, नेपालमा हुने अन्तराष्ट्रिय स्तरका कार्यक्रममा भ्रमण वर्षको प्रवद्र्धन डेस्क राखी प्रचार सामाग्री दिएको निर्देशन भने व्यवहारिक भएको बीमा कम्पनीहरुको बुझाइ छ ।