प्रिमियर इन्स्योरेन्सका सीईओ विश्व तिमिलाले गरे पदवहाली
काठमाडौं । प्रिमियर इन्स्योरेन्सका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) विश्व तिमिलाले पदवहाली गरेका छन् । बीमा क्षेत्रमा करिब ४ दशकदेखि कार्यरत रहेका सीईओ तिमिलाले पुस २२ गते सीईओ पदको पदवहाली गरेका हुन् । कम्पनी संचालक समितिले सिफारिस गरेको तिमिलाको नियुक्तीलाई बीमा समितिले पुस १७ गते स्वीकृत गरेको थियो । नेको इन्स्योरेन्स कम्पनीमा सीईओको रुपमा नेतृत्व गरेका सीईओ तिमिलाले त्यसपछि केही समय सोही कम्पनीको संचालकको जिम्मेवारी सम्हालेका थिए । वि.स २०३७ साल देखि ओरियन्टल इन्स्योरेन्स कम्पनीमा बजार अधिकृतका रुपमा करियर शुरु गरेका तिमिलाले वि.स २०५३ मा नेको इन्सुरेन्समा वरिष्ठ प्रबन्धकको रुपमा प्रवेश गरेका थिए भने २०७२ साल देखि २०७३ सालसम्म सीईओ पदको कार्यभार सम्हालेका थिए ।
प्राइम लाइफद्वारा बीमा रकम भुक्तानी
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले बीमाबापत ११ लाख रुपैयाँ भुक्तानी गरेको छ । बागलुङ्ग जिल्ला निवासी ओम प्रसाद बि.क. ले २ वर्ष पहिले प्राइमलाइफ इन्स्योरेन्स क.लि मा बीमा गरी बैदेशिक रोजगारका लागि कतार गएका थिए । वैदेशिक रोजगारबाट छुट्टीमा घरमा आएका बिकको आफ्नै काममा बागलुङ्गको लाम्मीलाबाट घर फर्कदा जिप दुर्घटना भइ कात्तिक ८ गते मृत्यु भएको थियो । कम्पनीको नियमानुसार भुक्तान गर्नुपर्ने बिमाङ्क १० लाख र दाहसंस्कार खर्च रु. १ लाख गरी जम्मा रकम रु ११ लाखको चेक कम्पनीको बागलुङ्ग शाखा कार्यालयबाट शाखा प्रमुख ज्ञान प्रसाद ढुङगानाले स्व. बिकको श्रीमती भावनालाई हस्तान्तरण गरेका हुन् ।
बजार विस्तारमा आक्रामक बन्यो एलआईसी नेपाल, चाहेको पैसा व्याजसहित किस्ताबन्दीमा, ७५ लाखको दुर्घटना बीमा
काठमाडौं । एलआईसी नेपालले ‘जीवन बचत’ नामक एकल बीमाशुल्क जीवन बीमा योजना बजारमा ल्याएको छ । उक्त योजना बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले मंगलबार एक समारोहकाबीच सार्वजनिक गरेका छन् । १६ देखी ६५ वर्षसम्म उमेरका व्यक्तिहरुले यो जीवन बीमा योजना लिन सक्नेछन् । न्यूनतम बीमाङ्क रकम १ लाख रुपैयाँ कायम गरिएको छ भने अधिकतम बीमाङ्कको सीमा बीमा अन्डरराइटिङ्ग नियमानुसार जति पनि लिन सकिन्छ । यस योजनामा बीमा अवधि न्युनतम ५ वर्ष र अधिकतम २५ वर्ष रहेको छ । बीमा परिपक्वतामा आर्जित बोनससहित बीमाड्ढ रकम एकमुष्ठ प्रदान गरिनेछ । साथै, यस योजनामा बीमा परिपक्वतापछि बीमितले इच्छा अनुसार ५ देखि १० वर्षभित्र सो रकम तोकिएको व्याजसहित किस्ताबन्दीमा समेत लिन सक्ने विशेषता पनि समावेश गरिएको छ । न्युन बीमाशुल्क भएको यस ‘जीवन बचत’ योजनामा अधिकतम ७५ लाख रुपैयाँसम्मको दुर्घटना लाभसमेत उपलब्ध छ । बीमाशुल्क भुक्तानीको १ वर्ष पश्चात् बीमितले कम्पनीबाट कर्जा तथा बीमा समर्पण सुविधा समेत लिन सक्नेछन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत एल.पी. दासले यस बीमा योजनामार्फत विविध क्षेत्रका पेशाकर्मी तथा व्यवसायीहरु जसले एकल बीमाशुल्क (मुद्दती निक्षेप जस्तै) भुक्तानी गरी जीवन बीमा समेत प्राप्त गर्न चाहन्छन्, उनीहरुको लागि ‘जीवन बचत’ योजना उपयोगी हुने बताए ।