ज्योति लाईफको बीमा शुल्कमा १३६ प्रतिशतले वृद्धि, नाफा ७ कराेड नजिक

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले चालु आ.व.को प्रथम ६ महिनामा खुद नाफा ७ प्रतिशतले सुधार गर्दै रु. ६ करोड ८९ लाख आर्जन गरेको छ । यो नाफाको रकम बीमाङ्कीय मुल्याङ्कन पश्चात परिवर्तन हुन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा कुल बीमा शुल्कमा १३६ प्रतिशतले वृद्धि भइ रु. ७५ करोड १४ लाख आर्जन गरेको छ । चालु आर्थिक वर्षमा आर्थिक गतिविधि सुस्ताएको र बीमा कम्पनीहरुलाई व्यवसाय विस्तार गर्न निकै कठिन भएको बेलामा यस कम्पनीको बीमा शुल्क वृद्धिदर उच्च देखिएको छ । त्यस्तै, कम्पनीले दीर्घकालिन तथा अल्पकालिन लगानीमा क्रमशः २७ प्रतिशत र २७९ ले वृद्धि गरेको छ । कम्पनीको व्यवस्थापन खर्चमा ४७ प्रतिशतको वृद्धि भएको छ । आम्दानी वृद्धि दर उच्च भएपनि व्यवस्थापन खर्च बढी भएकोले खुद नाफा सिंगल डिजिटमा रोकिएको छ । व्यवसाय तथा लगानी वृद्धी, संचालन खर्चमा सन्तुलन लगायतको कारणले कम्पनीले दोश्रो त्रयमासमा जगेडा कोषमा समेत ९५ प्रतिशतले वृद्धि भइ रु.३३ करोड ४६ लाख कायम गरेको छ । त्यस्तै, जीवन बीमा कोषमा २६७ प्रतिशतले वृद्धि भइ रु. १.२१ अर्ब भएको छ । जीवन बीमा क्षेत्रमा बलियो उपस्थिति जनाउँदै ज्योति लाईफ इन्स्योरेन्स नेपालको जीवन बीमा बजारमा २०७४ सालमा बीमा समितिबाट इजाजत पाइ संचालनमा आएको हो । करिब ३ वर्ष पुरा नहुँदै यो कम्पनी जीवन बीमा क्षेत्रमा बलियो धरातल बनाउन सफल भएको छ । ज्योति लाईफले हालसम्मकै सर्वाधिक ३५ वटा घातक रोगहरु विरुद्ध रु. ५० लाख सम्मको उपचार सुविधा सहितका नयाँ नयाँ बीमा योजनाहरु जारी, ग्राहक सेवामा प्राथमिकता, अनलाइन तथा मोबाइलबाट नै बीमा नवीकरण शुल्क तिर्ने व्यवस्था लगायत प्रविधिहरु संचालनमा ल्याएको छ ।

जीवन बीमक संघ नेपाल स्थापना, अध्यक्षमा पाण्डे

काठमाडाैं । जीवन बीमा व्यवसाय सञ्चालन गर्दे आएका कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको नयाँ छाता संगठन जीवन बीमक संघ नेपालकाे स्थापना गरिएको छ । संघको अध्यक्षमा सूर्या लाइफ लाइन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे छनोट भएका छन् । संघको उपाध्यक्षमा उपाध्यक्षमा मेट लाइफ एलिकोका सीइओ निर्मल काजी श्रेष्ठ, सचिवमा सिटिजन्स लाइफ इन्स्योरेन्सका सीइओ पोषक पौडेल, कोषाध्यक्षमा रिलाइन्य लाइफका सीइओ प्रविणरमण पराजुली रहेका छन् । त्यसैगरी, तदर्थ समितिको कार्यसमितिमा युनियन लाइफका सीइओ मनोजकुमार कर्ण, रिलायवलका सीइओ नारायणबाबु लोहोनी, सन नेपालका सीइओ राजकुमार अर्याल, बीमा संस्थानका प्रशासक कबिप्रसाद पाठक र ज्योति लाइफका डेपुटी सीइओ प्रकाश खत्री छन् । उक्त संघले जीवन बीमासँग सम्बन्धीत कठिनाइहरु साझा प्लेटफर्ममा छलफल गरेर नियमनकारी निकाय र सरकारसँग लबिङ गर्ने संघका अध्यक्ष पाण्डेले जानकारी दिए । नेपालमा जीवन बीमाको बजारलाई व्यवस्थित तरिकाले संचालन गर्नका लागि जीवन बीमा व्यवसाय गर्ने बीमकहरुका बीचमाआपसी छलफल तथा सहजीकरण मार्फत जीवन बीमा सम्बन्धी समस्या समाधान गर्न तथा नियमनकारी निकायलाई नीति निर्माण गर्न सहयोग पु¥याउने हेतुले मुनाफा रहित संस्थाको आवश्यकतामहशुस गरी संस्थादर्ता ऐन, २०३४ बमोजिम“जीवनबीमक संघ नेपाल”नामक संस्थाको स्थापना भएको संघले जनाएकाे छ ।   ।

युनाईटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ, कम्पनीलाई पूर्ण व्यवसायिक रुपमा अगाडि बढाउने प्रतिवद्धता

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल)को अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उनी यस कम्पनीको संस्थापक सेयरधनी एनई गु्रप प्रालिका अध्यक्ष समेत रहेका छन् । नवनियुक्त अध्यक्ष श्रेष्ठले माघ ९ गते बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईबाट सपथ लिर्ई पदभार ग्रहण गरेका छन् । अध्यक्ष श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सहायक मन्त्री र नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष समेतको जिम्मेवारी वहन गरिसकेका छन् । देशको अर्थतन्त्रप्रति गहिरो रुची राख्ने अध्यक्ष श्रेष्ठ नेपालको निजी क्षेत्रको प्रतिविम्ब मानिन्छन् । अध्यक्ष श्रेष्ठले कम्पनीलाई पूर्ण व्यवसायिक रुपमा अगाडि बढाउन आफु प्रतिवद्ध रहेको बताएका छन् । कुशल व्यवस्थापकीय क्षमताका कारण समाजमा ख्याती कमाएका श्रेष्ठले संचालक समिति र सम्पूर्ण सेयरधनीहरुबीचकाे सम्बन्ध विस्तार गरि युनाईटेड ईन्स्योरेन्सलाई देशकै उत्कृष्ट बीमा कम्पनीका रूपमा स्थापित गर्ने कम्पनीको विश्वास रहेको छ ।