बीमामा ९ वर्ष काम गरेका सुभाष भन्छन्ः मिहेनत गर्नेले छाेटाे अवधिमा नै गज्जव गर्न सक्छ
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका मुख्य व्यवस्थापक सुभाष कोइराला २०६७ साल पुष १४ गते राष्ट्रिय बीमा संस्थानमार्फत बीमा क्षेत्रमा प्रवेश गरे । संस्थानले एउटै कम्पनी मार्फत जीवन र निर्जीवन बीमा गराउँदै आएको थियो । तर, नियामक निकाय बीमा समितिले जीवन र निर्जीवन बीमा व्यवसाय एउटै कम्पनीले गर्न मिल्दैन भन्ने नीतिगत व्यवस्था गरेपछि कोइरालाको यात्रा निर्जीवन बीमा व्यवसायतिर मोडियो । जीवन र निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनी बेग्लै भएपछि संस्थानले जीवन बीमा व्यवसाय संहाल्यो भने निर्जीवन बीमा व्यवसाय गर्नको लागि राष्ट्रिय बीमा कम्पनी स्थापना गरियो । अनि कोइरालाको यात्रा पनि राष्ट्रिय बीमा कम्पनीसँग नै जोडियो । २०७५ साल असार १ गतेदेखि कोइराला कम्पनीको मुख्य व्यवस्थापकको जिम्मेवारीमा छन् । बीमा अवसर होइन, ऐच्छिक बीमा क्षेत्रमा प्रवेश गर्दा उनलाई यो क्षेत्रमा त्यस्तो धेरै केही होला भन्ने लागेको थिएन । फुर्सदमा बसिरहेको समयमा केही गरौं भन्ने प्रयास गर्दा गर्दै बीमा क्षेत्रमा प्रवेश गरेका थिए । तर, अहिले बीमा क्षेत्रको महत्व धेरै बढेकोले ठीक ठाउँमा लागेको उनलाई महसुस भइरहेको छ । ‘बीमामा प्रवेश गर्नुअघि यो क्षेत्रको महत्व बारे खासै जानकार थिइनँ, बीमा क्षेत्र त्यति राम्रो होला जस्तो पनि लागेको थिएन, तर यो क्षेत्रमा प्रवेश गरेपछि बीमाको राष्ट्रिय अन्तराष्ट्रिय महत्व धेरै रहेको पाएँ,’ कोइरालाले भने । कोइराला संस्थानमा छैटौं तह अधिकृतबाट प्रवेश गरेका हुन् । संस्थानमा २ पटक प्रमोसन भयो । प्रमोसन पश्चात उनले आठौ तहको सहव्यवस्थापकदेखि राष्ट्रिय बीमा कम्पनीको मुख्य व्यवस्थापकको जिम्मेवारी वहन गर्ने अवसर पाएका छन् । बीमा क्षेत्रमा लाग्नेले व्यापार व्यवसायदेखि सेवासम्मको अनुभव प्राप्त गर्न सक्ने उनको अनुभव छ । बीमा संस्थानमा आउनुपूर्व कोइराला बैंकिङ क्षेत्रमा थिए । बीमा क्षेत्रमा आवद्ध भएकोमा उनी खुशी छन् । बीमा गर्न सजिलो दाबी भुक्तानी लिन गाह्रो भन्ने नेपाली मान्यता नै छ । तर, कम्पनीले बिमितलाई सन्तुष्ट पार्न सकेको उनको दाबी छ । समग्र बीमा क्षेत्रकै बारेमा पनि गुनासो आउने गर्छ । त्यसमा पनि निर्जीवन बीमाको दाबी भुक्तानीप्रति बिमितको गुनासोको मात्रा अधिक हुन्छ । निर्जीवन बीमा क्षेत्रमा बिमितका कागजात नमिल्दा गुनासा बढ्ने उनको अनुभव छ । तर, राष्ट्रिय बीमा कम्पनीमा त्यस्तो समस्या नभएको उनले बताए । बीमा क्षेत्रमा भएका सामान्य समस्याहरु हल गर्न सकिने कोइरालाको विश्वास छ । तर समस्याहरुको समाधान गर्न सिस्टम चाहिने उनले बताए । ‘पहिले बिमित नै जागरुक हुन आवश्यक छ, कागजहरु मिलाएर ल्याएमा दाबी भुक्तानी सहज हुन्छ, अरु समस्या समाधानको लागि सरोकारवाला सबै एकजुट हुन आवश्यक देख्छु,’ कोइराला भन्छन् । बीमा क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ । त्यसैले योग्य र प्रतिभाशाली व्यक्ति बीमा क्षेत्रमा आउने हो भने उसले केही वर्षमा नै आफ्नो पहिचान बनाउन सक्ने कोइराला बताउँछन् । कम्पनीको चुनौति र सम्भावना राष्ट्रिय बीमा कम्पनी सरकारी स्वामित्वको कम्पनी हुनु आफैमा राम्रो पक्ष हो । सरकारी स्वामित्वको कम्पनी भएकोले सो कम्पनीमा आउने जनशक्ति लोक सेवामार्फत आउँने भएकाले नयाँ कर्मचारी राख्न लामो समय लाग्ने तर, प्रतिभाशाली जनशक्ति आउने कोइरालाको भनाई छ । सरकारी कम्पनी भएकाले प्रक्रिया पूरा गरेर मात्रै काम गर्नुपर्ने र कतिपय अवस्थामा प्रक्रियागत काममा नै धेरै समय लाग्ने हुँदा कुनै सन्दर्भमा काममा केही ढिलाई हुन सक्ने उनले बताए । समय लागेपनि पर्याप्त छलफल, अन्तरक्रिया र गृहकार्य भएर आउने भएकोले नतिजा राम्रो र प्रभावकारी हुने गरेको उनको अनुभव छ । नेपालमा बीमा फोर्स सेलको अवस्थामा छ । बिस्तारै यसलाई सुधार गर्न आवश्यक रहेको छ । राम्रो बानी मुख्य व्यवस्थापक कोइरालाले आफू सजिलै कन्भिन्स हुने स्वभावको भएको बताए । चाढै कन्भिन्स हुने स्वभावका कारण कहिले काँही समस्या हुने गरेको उनको अनुभव छ । तर, उनका समकक्षीहरु भने नयाँ विषयमा पनि उनलाई बुझाउन सहज हुने हुँदा काम गर्न सजिलो हुने गरेको बताउँछन् । नराम्रो बानी उनको नराम्रो बाँनी उनी आफैले पहिचान गरेका छन् । कोइरालाले पहिचान गरेको उनको नराम्रो बानी भनेको अध्ययन नगर्ने हो । यस्तै उनी बाहिरी घटना तथा जानकारी पनि खासै हुँदैन । उनी आफ्नो यो बानी सुधार्न चाहन्छन् । सोसल ड्रङ्कार्ड मदिराजन्य बस्तुप्रति उनको धेरै लगाव छैन । तर, साथीभाइसँको भेटघाट तथा जमघटहरुमा भने अलिकति मात्रै भएपनि लिनै पर्छ । त्यसैले उनी आफूलाई सोसल ड्रङ्कार्ड भन्न रुचाउँछन् । बीमा सन्देश बीमा सुख, दु:खको साथी हो । दु:खको साथी निर्जीवन बीमा तथा सुखको साथी जीवन बीमा हो । भएका कमजोरीलाई सुधार्दै बीमाबाट लाभ लिन सबै तयार हुनुपर्ने उनको भनाइ छ । ‘बीमामा भुक्तानी मुख्य कुरा हो । हामीले सो कुरामा सुधार गर्न सकेमा बीमितहरुको बीमामा विश्वास ह्वात्तै बढ्न लाग्छ । बीमा शुल्क बुझाउँन कुनै समस्या छैन, दाबी भुक्तानीमा सुधार गर्ने हो भने बीमा क्षेत्रका लागि राम्रो हुन्छ,’ उनले भने । (राष्ट्रिय बीमा कम्पनीका मुख्य व्यवस्थापक कोइरालासँग विकासन्युजका लागि नबिन पोखरेलले गरेको कुराकानीमा आधारित)
७ महिनामा निर्जीवन बीमा कम्पनीले आर्जन गरे १६ अर्ब बीमा शुल्क
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघ महिनासम्म १५ अर्ब ८९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । सोही अवधिमा बीमा दायरामा आएको जनसंख्या १४ लाख ५७ हजार ४६ छ । निर्जीवन बीमा तर्फ सबैभन्दा बढी शिखर इन्स्योरेन्स कम्पनीले २ अर्ब १ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस्तै,सगरमाथा इन्स्योरेन्स कम्पनीले १ अर्ब ४३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले पनि १ अर्ब ३३ करोड बीमा शुल्क आर्जन गरेको तथ्याकंले देखाउँछ । सगरमाथा इन्स्योेरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बीमा कम्पनीको काम सेवा दिने भएकोले बिमितलाई दिने सेवा सुविधामा कमि नहुने हिसाबले काम गरिरहेका बताए । ‘बजारमा स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना भइरहेको छ, बीमामा आकर्षण पनि बढ्दो छ, आगामी दिनमा पनि निर्जीवन बीमाको पहुँच बिस्तारमा आफुहरु लागि पर्ने उनको भनाइ छ ।
जीवन बीमा कम्पनीले आर्जन गरे ५४ अर्ब रुपैयाँ बीमा शुल्क, कसले कति कमाए ?
काठमाडौं । जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको माघ महिना सम्ममा ५४ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । १९ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघसम्म सो रकम आर्जन गरेका हुन् । उक्त बीमाशुल्क मध्ये जीवन बीमा कम्पनीले प्रथम बीमा शुल्कतर्फ १७ अर्ब ९० करोड रुपैयाँ र नविकरण बीमा शुल्कतर्फ ३५ अर्ब ६१ करोड रुपैयाँ आर्जन गरेका छन् । बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमा शुल्कतर्फ १ अर्ब ४४ करोड रुपैयाँ आर्जन गरेका छन् । कम्पनीहरुले माघ महिनासम्ममा ७४ लाख ७८ हजार ८ सय ८४ बीमालेख जारी गरेका छन् । सो मध्ये वैदेशिक रोजगारमार्फत जारी भएको बीमालेखको संख्या ८ लाख ५३ हजार ३७ रहेको छ । जीवन बीमा कम्पनीतर्फ सबैभन्दा बढी बीमा शुल्क नेपाल लाइफ इन्स्याेरेन्सले १६ अर्ब १२ करोड रुपैयाँ आर्जन गरेको छ । यस्तै, एलआइसी नेपालले ८ अर्ब ८४ करोड रुपैयाँ र बीमा संस्थानले ६ अर्ब रुपैयाँ आर्जन गरेको देखिएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पछिल्लो समय बीमाबाट पाइने रिटर्नमा धेरै जना आकर्षित भएको बताए । बीमाका फाईदा बारे बुझ्नेको संख्या बढ्दो क्रममा रहेको उनको भनाइ छ । जीवन बीमातर्फ अभिकर्ताहरुले बीमा चेतना बढाउन मद्धत गर्दे आएका कारण बीमाशुल्क संकलनमा हुने गरेका पुराना केही समस्याहरु घट्दै गएका छन् । बीमा कम्पनीहरु एक अर्काको प्रतिस्पर्धी बन्दै गएको अवस्था छ, हामीले नियामक निकाय (बीमा समिति) का तर्फबाट बीमा चेतना बढाउन काम गर्दै आएका छौँ’,त्यसले पनि पछिल्लो समय कम्पनीहरुले राम्रै रकम आर्जन गर्दै आएका छन्,’ उनले भने ।