इसेवाबाट बीमाको प्रिमियम भुक्तानी गर्दा नगद पाइने, साथै मोबाइल पनि

काठमाडौं । जीवन बीमाको प्रिमियम अनलाइनबाट भुक्तानी गर्नलाई प्रोत्साहन गर्ने उदेश्यका साथ इसेवाले आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । यस उपहार योजनामा कुनैपनि जीवन बीमाको प्रिमियम इसेवाबाट भुक्तानी गर्दा प्रतिकारोबार सय रुपैयाँसम्म कमाउनुको साथै २५ हजार रूपैयाँ बराबरको मोबाईल जित्न सकिनेछ । यस योजना अन्तर्गत एक महिनामा २० देखि ४९ वटा बीमाका प्रिमियम भुक्तानी गर्नेले प्रतिकारोबार ५० रुपैयाँ, ५० देखि ९९ वटासम्म प्रिमियम भुक्तान गर्ने व्यक्तिले प्रतिकारोबार ७५ रुपैयाँ तथा सय वटा भन्दा माथि कारोबार गर्नेले प्रतिकारोबार सय रूपैयाँ रुपैयाँ इन्सेन्टिभ पाउनेछन् । यो योजना एजेन्ट नेटवर्क तथा व्यक्तिगत एकाउन्ट दुबैमा लागु हुनेछ । यो योजना १, मार्च २०२० देखि जुलाई ३१ सम्म लागु हुनेछ । यस योजनाको इन्सेन्टिभ रकम हरेक महिना गणना हुने र आगामी महिनाको २ हप्ताभित्र ग्राहकको इसेवा खातामा उपलब्ध गराइनेछ । पाँच महिनाको अवधिमा कोही पनि ग्राहकले ५ सयवटा लाइफ इन्स्योरेन्स्को भुक्तानी गर्न सफल भएमा प्रतिकारोबार सय इन्सेन्टिभका साथै २५ हजार रूपैयाँ बराबरको मोबाईल समेत प्राप्त गर्न सक्नेछन् । पछिल्ला दिनमा अनलाइनबाट बीमाको प्रिमियम भुक्तानी गर्नेको संख्या बढ्दै गएकोमा यसलाई अझ प्रोत्साहन गर्न यो योजना सञ्चालन गरिएको हो । इसेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक हो । इसेवामार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

बढ्दैछ बीमा क्षेत्रमा महिला सहभागिता

काठमाडौं । बीमा क्षेत्रमा महिला सहभागिता बढ्ने क्रममा रहेको छ । महिलालाई रोजगारी गर्न सहज र पेशागत सुरक्षा हुने भएकोले बीमा क्षेत्रमा नारी सहभागिता बढेको हो । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल बीमा क्षेत्रमा महिना उपस्थिति बढ्दै गएको बताउँछन् । सरकारले ल्याएको नीति र बीमा क्षेत्रको विशेषताको कारण यो क्षेत्रमा महिला सहभागिता बढेको पौडेलको भनाइ छ । ‘पछिल्लो समय नेपाल सरकाले महिलामैत्री नीति ल्याएको छ भने बीमा समिति तथा कम्पनीहरुले यसको प्रभावकारी कार्यान्वयनमा कदम चालेका छन्, बीमा कम्पनीहरुले महिलालाई रोजगारी दिनेदेखि महत्वपूर्ण जिम्मेवारी दिने गरको कारण यो क्षेत्रमा महिला सहभागिता बढेको हो,’ कार्यकारी निर्देशक पौडेलले विकासन्युजसँग भने । तर, बीमा क्षेत्रमा कति महिला कार्यरत छन् भन्ने यकिन तथ्यांक भने छैन । बीमा समिति तथा विभिन्न कम्पनीहरुमा महिलाको उल्लेख्य सहभागिता भएपनि एकीकृत तथ्यांक नभएको कारण यति नै संख्या छ भनेर किटान गर्न नसकिने सरोकारवाला बताउँछन् । छैनन् महिला सिइओ बीमा क्षेत्रमा महिना सहभागिता उल्लेख्य भएपनि व्यवस्थापनको नेतृत्व तहमा महिला छैनन् । अहिले संचालनमा ४० वटा बीमा कम्पनी भएपनि कुनै पनि कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) महिला नभएको समितिको भनाइ छ । तर, बीमा कम्पनीका शाखा प्रमुखको रुपमा भने महिलाको उपस्थिति उल्लेख्य छ । निजी कम्पनीमा उल्लेख्य महिला सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शिवनाथ पाण्डेले बीमा क्षेत्रमा महिला सहभागिता राम्रो रहेको जानकारी दिए । सो कम्पनीमा कुल कर्मचारीको ३८ प्रशित महिला रहेको प्रमुख कार्यकारी अधिकृत पाण्डेको भनाइ छ । बीमा क्षेत्रमा बीमा समिति, बीमा कम्पनी, सर्भेयर, अभिकर्ताको रुपमा रोजगारी गर्ने अवसर हुन्छ । हाल उक्त रोजगारीहरुमा आकर्षण बढ्ने क्रममा छ । बीमा कम्पनीहरुले महिलामैत्री वातावरणमा काम गर्दै आएकाले यस क्षेत्रमा काम गर्ने महिला बढेको जानकारहरु बताउँछन् । पछिल्लो समय बीमाको पहुँच बढ्दो क्रममा छ । बीमा समितिका अनुसार उक्त वृद्धी सम्भव भएसँगै बीमा क्षेत्रमा काम गर्ने कर्मचारीहरुमा समेत वृद्धी हुँदैछ । यस्तो कर्मचारी वृद्धीसँग महिला कर्मचारीहरु जोडिने बीमा समितिले जानकारी दिएको छ ।

प्रोफिट बुकिङको कस्तो प्रभाव रहला नेपाल लाइफको सेयरमा ? (समग्र विश्लेषण)

काठमाडौं । बीमा कम्पनीहरु सेयर लगानीकर्ताहरुको लागि खास हुने गर्दै आएका भएपनि यी क्षेत्रका कम्पनीहरुमा पहिलेको तुलनामा कम आकर्षण छ । यद्यपि कम आपुर्तिले यी कम्पनीका सेयरमा भने मूल्य उच्च नै रहने गरेको छ । गत साताअघिको बुलिश बजारमा समेत यी कम्पनीको सेयरमा उछाल आयो । अहिले प्रोफिट बुकिङ दर पनि यिनै कम्पनीमा उच्च छ । गत साताको सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रह्यो । कम्पनीको १ अर्ब ४५ करोड रुपैयाँको सेयर कारोबार भयो । यो कम्पनीको कारोबार बढ्दा अझै किन्ने कि बेच्ने ? यो कम्पनीको अहिले वित्तीय अवस्था के छ ? प्राविधिक विश्लेषणले लगानीसम्बन्धमा के भन्छ ? यिनै पाटोलाई यो विश्लेषणमा हेरिने छ । परिचय २०५८ साल बैशाखदेखि सञ्चालनमा रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी हाल यो क्षेत्रको अग्रणी कम्पनीको रुपमा रहेको छ । जर्मनीको ह्यानओभर री–लाइफ री–इन्स्योरेन्स कम्पनीबाट नेपाल लाइफ कम्पनी कै समेत बीमा गरिएको छ । कम्पनीमा ४ सय ३० कर्मचारी कार्यरत छन् भने १ लाख १० हजार ६ सय १२ अभिकर्ताले कम्पनीको लागि बीमा पोलिसी बिक्री गरिदिने काम गर्दै आएका छन् । कम्पनीले नौलो धन वर्ष, जीवन उन्नति योजना, जीवन साहारा, नौलो जीवन सम्वृद्धि, सदाबाहर जीवन बीमा, स्मार्ट जीवन बीमालगायतका योजना सञ्चालन गरिरहेको छ । उपाधी कम्पनीले सन् २०१८ मा नेपाली राष्ट्रिय आर्थिक पत्रिका कारोबार दैनिकबाट सो वर्षको लागि बेस्ट इन्स्योरेन्स कम्पनी अफ दी इयर अवार्ड प्राप्त गरेको छ । सेयर लगानीकर्ता कम्पनीमा संघइ, अग्रवाल र गोल्यान समूहको पकड छ । यी सूमहको कम्पनीमा ४६ प्रतिशतभन्दा बढी सेयर लगानी छ । कम्पनीमा संस्थापक समूहको ७० र सर्वसाधारण समूहको ३० प्रतिशत लगानी छ । गोविन्दलाल संघइ कम्पनीका अध्यक्ष छन् भने प्रमुख कार्यकारी अधिकृतमा विवेक झा छन् । अन्य लगानी कम्पनीले ५५ कम्पनीको सेयरमा लगानी गरेको छ । हालको बजार मूल्यको आधारमा यो लगानी रकम २ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । कम्पनीले ६६ अर्ब रुपैयाँ बराबर दीर्घकालिन तथा अल्पकालिन लगानी र कर्जा लगानी गरेको छ । लाभांश दर कम्पनीले २०७४/७५ को बार्षिक वित्तीय विवरण हालै मात्र पारित गरेको छ । सो अवधिसम्म ५ वर्षमा कम्पनीले बार्षिक औसत ४७.९२ प्रतिशत लाभांश वितरण गरेको छ । बोनश दर बीमा योजना खरीद कर्ताहरुलाई कम्पनीले प्रतिहजार रुपैयाँ बराबर ६५ देखि ८२ रुपैयाँसम्म बोनस दिदै आएको छ । बीमा योजना अनुसार भने बोनस दर फरक फरक हुने गर्छ । हाल नयाँ कम्पनीहरुबाट समेत उच्च बोनस दर दिइन थालेकोले कम्पनीले दिने बोनस दर दोस्रो स्थानमा छ । जीवन बीमा कोषहरुले सञ्चालन गरेको बिभिन्न योजनाहरुबाट भएको आम्दानीहरु पूँजीगत जगेडा कोष, बिशेष जगेडा, अन्य जगेडालगायतका शिर्षकहरुमा राखिएको हुन्छ । यी आम्दानीहरु (बीमा शुल्क, लगानी वा कर्जाबाट भएको आय) बाट दाबी भुक्तानी, आयकर लगायतका खर्च कटाएपछि बाँकी हुने रकमलाई बीमा कम्पनीहरुमा बचत भनिने चलन छ । यही बचत रकम बार्षिक रुपमा जीवन बीमा कोषमा सारिने गरिन्छ । बर्ष अन्त्यमा यस्तो कोषको मूल्यांकन गरेर वास्तविक दायित्व निकालिन्छ र सोभन्दा बढि भएको रकम (दायित्वमुक्त रकम) को १० प्रतिशत नाफामा र बाँकी बीमा योजना खरिद गरेका ग्राहकहरुलाई बोनस दर दिन प्रयोग हुन्छ । वित्तीय अवस्था चालु आवको दोस्रो त्रैमाशको वित्तीय विवरण अनुसार समग्र बीमा कम्पनीहरुमा खुद बीमा शुल्क आर्जनको आधारमा नेपाल लाइफ पहिलो स्थानमा छ । खुद नाफाको आधारमा पनि कम्पनी पहिलो स्थानमा छ । कम्पनीको दोस्रो त्रैमाशमा भने नाफा २५ प्रतिशतले वृद्धि भएर ३५ करोड रुपैयाँ पुगेको छ । हरेक वर्षमा बीमांकीय मूल्यांकन हुने भएकोले यस्तो मूल्यांकनपछि बार्षिक नाफा थप वृद्धि हुन सक्छ । कम्पनीको बचत शतप्रतिशतले वृद्धि भएर ११ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । यसमध्ये ११ अर्ब ६९ करोड जीवन कोषमा सारिएको छ भने १७ करोड ८४ लाख नाफा नोक्सान हिसाबमा सारिएको छ । योसँगै जीवन बीमा कोष ३७ प्रतिशतले वृद्धि भएर ७७ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । कम्पनीको महाविपत्ती कोषमा समेत २८ प्रतिशतले रकम बढेर ४७ करोड पुगेको छ । यो कोष जति वृद्धि हुँदै गयो, कम्पनीबाट पुनरबीमाको नाममा बाहिरीने रकममा कटौती गर्न थप सहयोग पुग्दै जानेछ । कम्पनीसँग आफैले दायित्व लिन सक्ने (बीमा शुल्क रिटेन गर्ने) क्षमता बढ्दै जान्छ । –एक वर्षयताकै उच्च मूल्य १४९४ रुपैयाँबाट घट्दै –समग्र क्षेत्रगत उतारचढावभन्दा कम, नेप्सेमाभन्दा अधिक वित्तीय विवरणमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । अझै १२ कम्पनीले बीमा समितिले तोकेको २ अर्ब रुपैयाँ चुक्ता पूँजी पु¥याउन सकेका छैनन् । पूँजी आधामा कम्पनी पहिलो स्थानमा छ । यस बर्ष जारी भएका बीमा लेखहरुबाट कम्पनीले १४ अर्ब ७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । हालसम्मको कुल यस्तो आर्जन भने १ खर्ब ५ अर्ब छ । कम्पनीले हालसम्म २१ हजार ३ सय ४७ बीमा लेखको दाबी भुक्तानी गरेको छ । यसमार्फत कम्पनीबाट ३ अर्ब १९ करोड ग्राहकले लगिसकेका छन् । कम्पनीमा परेका दाबीमध्ये भुक्तानी हुन बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको छ । दाबीको अन्तिम मूल्यांकनपछि कति भुक्तानी दिनुपर्ने वा दिनपर्ने वा नपर्ने निर्णय हुने गर्छ । गत आवको बार्षिक वित्तीय विवरण अनुसार कम्पनीको पर्सिसटेन्सी रेसियो उच्च (९२.१२ प्रतिशत) छ । यसले ग्राहकहरुले कम्पनीको बीमा लेख ( बीमा योजना) लाई कत्तिको निरन्तरता दिएका छन् भन्ने देखाउँछ । यो दर उच्च हुनु राम्रो संकेत हो । हाल कम्पनीमा १२ लाख ५८ हजार बीमालेख कायम छ । कायम बीमा लेख संख्याको आधारमा कम्पनी दोस्रो स्थानमा छ । रिलायबल लाइफ नयाँ कम्पनी भएपनि पहिलो स्थानमा छ । कम्पनीको प्रतिसेयर आम्दानी १२.७७ छ । प्रतिसेयर आम्दानी निकै कम भएपनि मूल्य उच्च भएकै कारण मूल्य आम्दानी अनुपात ७८ प्रतिशतसम्म छ । यसले कम्पनीले कमाएको एक रुपैयाँलाई लगानीकर्ताहरुले ७८ रुपैयाँसम्म तिरेको देखाउँछ । यो जोखिम भने हो । यद्यपि बीमा कम्पनीमा केही वर्षदेखि नै यो प्रवृत्ति देखिएको छ र यसलाई नेपाली सेयर लगानीकर्ताहरुले पचाइरहेका छन् । उच्च उतारचढाव कम्पनीको सेयर मूल्य परिवर्तनको आधारमा गणना गरिएको स्ट्याण्डर्ड डेभिएसन (एसडी) ले मूल्यमा उच्च उतारचढाव नै रहेको देखिन्छ । समग्र नेप्से परिसचकमा १ सय २१ दिनमा भएको परिवर्तन अंकको आधारमा एसडी १७.७१ छ । जबकि कम्पनीको परिवर्तित अंकको आधारमा एसडी २४.२१ छ । तर, यही समूहको सूचकको परिवर्तित अंकको आधारमा भने यो कम उतारचढाव सहितको रहेको छ । जीवन बीमा कम्पनी समूह सूचकको एसडी १ सय ५४.१८ छ । बुलिश प्रवृत्ति कायमै कम्पनीको सेयर मूल्य एक वर्षयताकै उच्च मूल्य १४९४ रुपैयाँ पुगेर घट्ने क्रममा छ । यद्यपि मूल्य बुलिश प्रवृत्ति मै रहेको बिभिन्न प्राविधिक विश्लेषणका सूचकले देखाउँछ । कम्पनीको १४ दिने आरएसआई सुचक हाल सन्तुलित क्षेत्रमा छ । हाल यो स्केलको ५५.७९ मा आएको छ । ७ दिने सिम्पल मुभिङ एभरेज रेखा २१ दिनेभन्दा माथि नै छ । यसले मूल्य बुलिश प्रवृत्तिमा नै रहेको संकेत गर्छ । यी रेखालाई विशेष याद गरिराख्नु पर्ने देखिन्छ । यदी ७ दिने रेखालाई काटेर २१ दिने रेखामाथि लागेमा मूल्य घट्न सक्छ । मूल्य अन्तिम दिन बढेकोले पीभट विश्लेषणले भने अब आगामी एक महिनामा कम्पनीको मूल्य १ हजार ४ सय ५९ को पहिलो लिएर अगाडी बढ्ने र घट्न थालेमा १ हजार ७९ मा समेत टेवा परिक्षण गर्नेछ । कम्पनीको सेयर मूल्यले अन्तिम दिन डोजी आकृति बनाएको छ । मूल्य घट्दो क्रममा बनेको यो आकृतिले मूल्यमा सुधार आउने संकेत गर्छ । यो दरिलो संकेत भने होइन । लगानीकर्ताहरुले किनबेचको निर्णय गर्नुअघि केही समय कुर्नु सही हुन्छ ।