बीमा समितिले किन रोक्यो ‘स्पाउस कभर’ बीमा ?
काठमाडौं । बीमा समितिले एउटै बीमा लेखबाट श्रीमान् श्रीमतीको बीमा गराउन रोक लगाएको छ । समितिले नै बीमालेख स्वीकृत गरेपछि कम्पनीहरुले सर्वसाधारणलाई बीमा गराउँछन् । समिति आफैले स्वीकृति दिएको पति/पत्नी (स्पाउस कभर) सुरक्षण लाभ रोक्नुका पछाडि के कारण छ भन्ने प्रश्नले अहिले बीमा बजारमा कौतुहलता बढाएको छ । एउटा बीमा लेखबाट एक जनाको मात्रै जीबन बीमा गर्न सकिने विश्वव्यापी मान्यता अनुसार नै ‘स्पाउस कभर’ बन्द गरिएको समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईं बताउँछन् । ‘एउटा जीवन बीमालेखले एक जनाको मात्रै बीमा हुने हो, पहिला यो प्रडक्टले धेरै असर पार्ने देखिएको थिएन, तर पछिल्लो समय विकृति बढ्दै गयो, कम्पनीहरु प्रतिस्पर्धा गर्न थाले, यसले जोखिम बढाउने देखिएर नै रोकिएको हो,’ अध्यक्ष चापागाँईंले विकासन्युजसँग भने । बैंक तथा वित्तीय संस्था, लघुवित्त संस्था र बीमा कम्पनीहरुले स्पाउस कभरमा प्रतिस्पर्धा गर्न थालेका छन् । एउटै बीमालेखबाट पति/पत्नीको बीमा गराउने प्रतिस्पर्धा बढ्दै जादा परिवारको नै बीमा हुने पोलिसीको माग बढ्न सक्ने, एउटा परिवारको भएपछि आफूले चाहेको व्यक्तिहरुको सामुहिक बीमाको मागसमेत बढ्न सक्ने सम्भावना देखिएकोले स्पाउस कभर नै रोकिएको समितिको भनाइ छ । कति छ स्पाउस कभर पोलिसी ? एउटै बीमालेखबाट श्रीमान् श्रीमतीकै बीमा हुने प्रडक्ट कम्पनीहरुले धेरै बेचेका छैनन् । जीबन बीमा कम्पनीहरुले ७३ लाखभन्दा धेरै बीमालेख विक्री गरेका छन् । कूल बीमालेखमा स्पाउस कभर बीमालेखको संख्या बढीमा २ प्रतिशत जति रहेको समितिका अध्यक्ष चापागाँईंले जानकारी दिए । बिक्री भएका पोलिसी के हुन्छ ? बीमा समितिले ७ फागुन गते जारी गरेको परिपत्रमा पहिला स्वीकृत भएका स्पाउस कभर बीमालेख पनि रोक्नु भनिएको छ । यसको अर्थ पहिला नै समितिबाट स्वीकृति लिएर स्पाउस कभरको बीमालेख बिक्री गरिरहेका कम्पनीले पनि त्यस्तो बीमा गराउन नपाइने भन्ने हो । तर, कम्पनीहरुले विक्री गरिसकेका बीमालेखको सम्बन्धमा के हुन्छ भन्ने प्रश्न पनि उठेको छ । परिपत्र जारी गर्नुअघि विक्री भएका बीमालेख (गराइसकेको बीमा) भने बीमा गराउँदाको शर्त अनुसार नै अघि बढ्ने अध्यक्ष चापागाँईले जानकारी दिए । ‘स्पाउस कभर बीमालेख स्वीकृत गराएका कम्पनीहरुले पनि अबदेखि त्यस्तो बीमा नगराउने भन्ने यो पत्रिपत्रको आशय हो, कम्पनीहरुले आफ्ना प्रोडक्टबाट स्पाउस कभर बीमालेख हटाउनु पर्छ, यसअघि नै बीमा गराइसकेकाको हकमा भने अवधि पूरा नहुन्जेल सो बीमालेखको शर्त अनुसार अघि बढ्छ, यसमा समस्या छैन,’ अध्यक्ष चापागाँईले भने । बीमा कम्पनी भन्छन्ः खासै असर पर्दैन स्पाउस कभर बीमालेख रोक लगाएपनि आफ्नो व्यवसायमा धेरै असर नपर्ने बीमा कम्पनीहरुले बताएका छन् । हाल विभिन्न कम्पनीहरुले श्रीमान्न/श्रीमतीको बीमा गराउँदै आएका छन् । बीमा कम्पनीहरुले भिन्नभिन्न शीर्षकमा राखेपनि उक्त योजनाले श्रीमान् श्रीमती दुवैको जोखिमको रक्षावरण गर्छ । ‘स्पाउस कभर बीमालेखमा रोक लगाउँदा हामीलाई खासै असर पर्दैन, हाम्रो मुख्य व्यवसाय त्यो मात्रै होइन, अन्य प्रडक्टमा हाम्रो व्यवसाय केन्द्रित छ,’ नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) भरत बस्नेतले भने । नेशनल लाइफ इन्स्योरेन्सले दाम्पती अमृत सावर्धिक जीवन बीमा शीर्षकमा स्पाउस कभरको बीमालेख बिक्री गर्दै आएको छ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले दम्पती सुरक्षा प्लस योजना संचालन गरिरहेको छ । यस्तै, एलआइसी नेपालले जीवन साथी शीर्षकमा स्पाउस कभर बीमालेख विक्री गरिरहेको छ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले सानिमा दम्पती बीमा योजना संचालन गरिरहेको छ । सम्बन्धित सामग्री एउटै बीमालेखबाट श्रीमान् श्रीमतीको बीमा गर्न रोक्यो समितिले
एउटै बीमालेखबाट श्रीमान् श्रीमतीको बीमा गर्न रोक्यो समितिले
काठमाडौं । एउटै बीमालेखबाट श्रीमान् श्रीमतीको बीमा गराउन नपाइने भएको छ । बीमा कम्पनीहरुले दाम्पत्य जीवन बीमा योजना संचालन गर्ने क्रम बढेसँगै बीमा समितिले यस्तो बीमा लेखामा रोक लगाएको हो । श्रीमान् श्रीमती दुबैको एउटै बीमालेखबाट बीमा गराउँदा जोखिम धरै हुने बीमाको अवधारण विपरितको कार्य हुने भन्दै एक्चुरी भ्यालुएटरले बीमा समितिलाई सुझाव दिदै आएको थियो । तर, समितिले यस्तो बीमा लेखमा रोक लगाएको भने थिएन । समितिले यसअघि स्वीकृति दिएका दाम्पत्य जीवन बीमा पोलिसी पनि बन्द गर्न निर्देशन दिएको छ । यसअघि स्वीकृति लिएर संचालनमा आएका बीमा पोलिसीको हकमा भने के कस्तो व्यवस्था गर्ने भन्नेमा समितिले केही प्रष्ट पारेको छैन ।
महालक्ष्मी लाईफ इन्स्योरेन्स र टेस्ला डाइग्नोष्टिकबीच सेवासम्बन्धी सम्झौता, फार्मेसीमा १२ प्रतिशत छुट
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स र टेस्ला डाइग्नोष्टिक क्लिनिकबीच सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ। उक्त पत्रमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र टेस्ला डाइग्नोष्टिक क्लिनिकका प्रमुख कार्यकारी अधिकृत रिंकु श्रेष्ठले हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार ल्याब तथा डाइग्नोष्टिक सेवामा बीमितले १० प्रतिशत र कर्मचारीले १२ प्रतिशत तथा फार्मेसीमा ५ देखि १२ प्रतिशत सम्म छुट पाउने भएका छन्। यस सम्झौताबाट इन्स्योरेन्सका बीमित तथा कर्मचारीले सुलभ दरमा गुणस्तरिय ल्याब तथा डाइग्नोष्टिक सेवा प्राप्त गर्ने विश्वास लिइएको छ।