एनआईसी एशिया बैंकद्वारा १५ लाख बीमा रकम भुक्तानी
काठमाडाैं । एनआईसी एशिया बैंकले झापाको विर्तामोडस्थित भद्रपुर रोड निवासी महेश अग्रवाललाई औषधी उपचार बीमाअन्तर्गत रू १५ लाख प्रदान गरेको छ । उनलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले मंगलबार उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । महेश अग्रवालले यस बैंकको चन्द्रगढी शाखामा सुपर चमत्कारिक निक्षेप योजनाअन्तर्गत ‘डायमण्ड’ श्रेणीको खाता खोले वापत उक्त रकम प्राप्त गरेका हुन् । आफ्नो ओपन हर्ट सर्जरी भए पश्चात सो खाताभित्र घातक रोगहरूको बीमा सुविधाअन्तर्गत खातावालाले बीमा रकम दावी गरेका थिए । यसैगरी, बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका १ सय २७ भन्दा बढी ग्राहकले बीमा बापतको ८७ लाख रूपैयाँभन्दा बढी रकम प्राप्त गरिसकेका छन् । बीमा सहितको बचत सुविधालाई थप प्रभावकारी बनाउने उद्देश्य अनुरुप बैंकले विभिन्न चमत्कारिक सुविधा सहित तीन किसिमका बीमा योजनाहरू समेटिएको न्यू सुपर चमत्कारिक बचत खाता सञ्चालनमा ल्याएको छ । यस योजनाअन्तर्गत खाता खोल्नुहुने ग्राहकले रू २१ लाख सम्मको बीमा सुविधा प्राप्त गर्न सक्ने छन् । उक्त बीमा सुविधाअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा रू १० लाख सम्मको बीमा सुविधा, १८ घातक रोगहरूको लागि १० लाख रूपैयाँसम्मको बीमा सुविधा र रू १ लाख सम्मको औषधी उपचार बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । औषधी उपचार बीमाअन्तर्गत बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरंग (इएम्) उपचारमा रू २० हजार सम्म र अस्पताल भर्ना वापत रू ८० हजार सम्मको बीमा सुविधा प्रदान गर्नेछ । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४५७ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६० वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
अर्थ समितिमा बीमा बहसः कोरोना विरुद्ध बीमा गरौंः सांसद, मिल्दैनः अर्थमन्त्री
काठमाडौं । केही दिनदेखि अर्थ समितिमा बीमा विधेयक माथि दफाबार छलफल चलिरहेको छ । सोही छलफलको क्रममा सांसदहरुले महामारीको बीमा गर्न आवश्यक रहेको सुझाव बीमा समितिलाई दिएका हुन् । सांसद पदम गिरीले कोरोना भाइरसको लागि छुट्टै बीमा पोलिसी ल्याउँने वातावरण निर्माण गर्नुपर्ने बेला भएको धारणा राखे । ‘विश्वमा फैलिएको कोरोना भाइरस नेपालमा आउँनु अगावै बीमा पोलिसी तयार गर्न आवश्यक छ, बीमा समितिकै पहलमा कोरोना भाइसरको बीमा हुने पोलिसी ल्याउँनु होस,’ सांसद गिरीले भने । सांसद गिरीले उठाएको प्रसंगमा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले समेत पूर्ण सहमति जनाए । सभापति दाहालले बीमाको काम भनेको जोखिम धारण गर्ने भएकोले आपत विपतमा बीमा क्षेत्र जनताको सहयोगी हुनपर्ने बताए । ‘बीमा कम्पनीहरुलाई बीमा समितिले निर्देशन दिनुपर्छ, बीमाको काम भनेकै जोखिम धारण गर्ने हो, बीमा क्षेत्रले कोरोना भाइसको बीमा गर्ने तयारी गर्दा राम्रो होला,’ सभापति दाहालले भने । स्वस्थ्य हुँदै बीमा गर्दा हुन्छ, रोग लागेपछि हुन्नः अर्थमन्त्री अर्थ मन्त्री डा. युवराज खतिवडाले रोग लागिसकेको अवस्थामा व्यक्तिले बीमा गराउँन नमिल्ने भएकाले रोग लाग्नुपूर्व बीमा गराउँन सबैलाई सचेत गराउँनु पर्ने बताए । ‘रोग विरुद्ध बीमा हुन्छ, स्वस्थ्य व्यक्ति जोसुकैले पनि यस्तो बीमा गर्न सकिन्छ, तर रोग लागेपछि बीमा गराउने भन्ने हुँदैन, महामारी आउँनु अगाडी नै बीमा गर्ने हो भने त्यसले आर्थिक सुरक्षण प्रदान गर्छ, यतातिर जनचेतना बढाउन हामी सबै लाग्नुपर्छ,’ मन्त्री खतिवडाले भने । बीमा समितिले महामारीलाई बीमाले नसमेटने जनाउँदै आएको छ । समितिले बीमा गराइसकेको बिमितको हकमा भने पोलिसीले समेटनेसम्मको सुरक्षण दिँदै आएको जानकारी दिएको छ । बीमा व्यवसाय नाफा तथा सेवाको व्यवसाय भएकाले आवश्यकता अनुसार यस व्यवसायले साथ दिनसक्ने विश्वास सांसदहरुले व्यक्त गरेका छन् । अहिले विश्व स्वस्थ संगठनले स्वास्थ संकटकाल घोषणा गरेकाले स्वास्थ्य क्षेत्रमा जनचासो बढ्दो छ । बीमा विधेयकमाथिको छलफलमा मन्त्री डा. खतिवडासहित पूर्व अर्थमन्त्री डा. बाबुराम भट्टराई, ज्ञानेन्द्र बहादुर कार्की, कांग्रेस महामन्त्री शशांक कोईरालालगायत उपस्थित थिए । यस्तै, बीमा समितिकातर्फबाट अध्यक्ष चिरञ्जिवी चापागाईं तथा कार्यकारी निर्देशक राजुरमण पौडेल उपस्थित थिए ।
बीमा समितिका अध्यक्ष चापागाईं भन्छन्ः सरकारी संरचना बीमाको पहुँचमा आएनन्, सिँहदरबारबाटै बीमा गर्न सुुरु गरौं
काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंले नेपाल सरकारले सिँहदरबारबाट नै बीमा सुरु गर्न आवश्यक रहेको बताएका छन् । बीमा कम्पनीहरुसँग जति पनि जोखिम बहन गर्ने क्षमता रहेको भन्दै उनले बीमाको पहुँच बढाउन सिँहदरवारबाटै बीमा गर्न आवश्यक रहेको बताएका हुन् । अध्यक्ष चापागाईंले नेपाली बीमा कम्पनीहरुमा राष्ट्रिय गौरवका आयोजनादेखि राजमार्ग सम्मको बीमा गर्ने क्षमता रहेको बताउँदै अब सिँहदरवारको पनि बीमा गर्न आवश्यक रहेको उनको भनाइ छ । ‘नेपाल सरकारले बीमाको सुरुवात सिँहदरबारका भवनहरुबाट गर्न जरुरी छ, सरकारले आवश्यक ठाउँमा बीमाको पहल गरेमा बीमा कम्पनीहरु जोखिम बहन गर्न सक्षम छन्,’ उनले भने । सिँहदरबारदेखि राजमार्गका बीमामा सबैभन्दा पहिले बीमाकोलागि माग आउन आवश्यक रहेको बीमा समितिको दाबी छ । हालसम्म कुनै किसीमका माग नआएका कारण सरकारी संरचना बीमाको पहुँचमा नसमेटीएको उनको भनाइ छ । यो समय बीमाको भएकोले यस्तो बेलामा गरिएका परिवर्तनले इतिहास रच्छन् र बीमाको दायरामा वृद्धी हुने उनको भनाइ छ । स्थानिय तहदेखि राष्ट्रिय स्तरमा बीमा बुझ्नेहरु बढ्दै गएको उनले बताए । यस्तै, चापागाईंले विगतमा कहिँकतैबाट बीमा क्षेत्रमा केही समस्या भएको भएपनि आगामी दिनमा त्यस्ता कुरालाई भुलेर अघि बढ्नु पर्ने बताए । जुनसुकै क्षेत्रको पनि बीमा गर्न बीमा कम्पनीहरु सक्षम रहेको उनको भनाइ छ । बीमा कम्पनीहरुले आफूले सक्ने किसिमका जोखिम धारण गर्छन् । तर, आफूले नसक्ने जोखिम पुनर्बीमा कम्पनीमा पठाउने हुँदा सबै बीमा कम्पनीहरु जोखिम धारण गर्न सक्षम हुन्छन् । ‘बीमा कम्पनीलाई पुनर्बीमा कम्पनीले बलियो बनाउन मद्धत गर्छ’, उनले भने । कुनैपनि बीमा योजना संचालनमा आउनु अघि बीमा कम्पनीलाई समितिले स्वीकृति दिनुपर्छ । समितिको स्वीकृती पश्चात बीमा कम्पनीहरुले बीमा योजना सार्वजनिक गर्छन् । उक्त बेलामा बीमा लेखमा उल्लेख गरिएको शर्त अनुसार बिमित र बीमक बिच सहकार्य हुन्छ । बीमा विश्वासको व्यवसाय भएकाले शर्त अनुसार बीमा लागू हुने गर्छ । बीमा शुल्क बुझाएपनि बीमालेखमा उल्लेख नभएको जोखिम बीमाले बहन नगर्ने कुरा बिमितले थाहा पाउनु आवश्यक हुन्छ ।