कोरोना नियन्त्रण कोषमा राष्ट्रिय बीमा संस्थानले दियो १ करोड रुपैयाँ
काठमाडौं । राष्ट्रिय बीमा संस्थानले कोरोना नियन्त्रण कोषमा १ करोड रुपैयाँ प्रदान गरेको छ । संस्थानले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले स्थापना गरेको “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा उक्त रकम सहयोग गर्ने भएको हो । संस्थानको चैत १९ गते सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । उक्त रकमले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्न मद्दत पुग्नुका साथै प्रभावित नागरिकहरुलाई उपचार गर्न र यसबाट श्रृजना हुने जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास संस्थानले लिएको छ ।
बीमा कम्पनीका प्रमुखले नै पाएनन् पास, समिति भन्छः पहल गर्दैछौं
काठमाडौं । अत्यावश्यक सेवाभित्र परेको बीमा सेवा प्रदायक संस्थाका प्रमुखले नै लकडाउनको समयमा सवारी साधन चलाउने पास पाएका छैनन् । पास पाउँन नसक्दा आफ्ना महत्वपूर्ण काम अघि बढ्न समस्या भएको कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरु बताउँछन् । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरुका लागि पासको पहल गरेपनि अझै पाउन नसकिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु बताउँछन् । सिद्धार्थ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) विरेन्द्र बैद्यवारले अत्यावश्यक सेवामा पर्ने भएकाले आफूहरु सेवा रोक्न पनि नसक्ने र सरकारले प्रशासनले पास उपलब्ध नगराएको कारण सेवा सुचारु गर्न पनि नसकिने अवस्था पुगेको बताए । ‘कम्पनीका प्रमुख, आईटी सम्बन्धित कर्मचारी तथा महत्वपूर्ण विभागका कर्मचारीको लागि सवारी पासको व्यवस्था हुनुपर्छ, अनलाईनबाट सेवा प्रदान गर्न पनि केही प्राविधिक समस्या आए समाधानको लागि यस्ता कर्मचारीले पास नपाउँदा समस्या भएको छ,’ प्रमुख कार्यकारी अधिकृत बैद्यवारले भने । सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बीमा समितिले पहल गरेको भएपनि अझै पास पाउन नसकिएको जानकारी दिए । ‘बीमा समितिले सहजीकरणको प्रयास गरिरहेको छ, तर कहिले सिडीओ कार्यालय केहिले कहाँ जानु भनेर अनावश्यक दुःख दिने काम भएको छ, हामीले सहज रुपमा पास पाउन सकेका छैनौं,’ प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले भने । सरकारी लगानी पनि रहेको राष्ट्रिय बीमा संस्थानका प्रशासक कविप्रसाद पाठकले पनि आफूले पास नपाएको गुनासो गरे । ‘अहिले मसँग पास छैन, हिजोसम्मको लागि त अर्कै पासले काम गरिरहेको थियो, लकडाउनको अवधि थप भएपछि मात्रै पास अभाव भएको हो, कसले पास दिने भन्ने यकिन नभएकोले पनि समस्या परेको छ,ङ पाठकले भने । अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले पास पाउँन कठिन भएको तथा राष्ट्र बैकले आफूहरुलाई समन्वय नगरेको बताए । सिडीओ कार्यालयले राष्ट्र बैंकमा गएर पास लिनु भन्छ, राष्ट्र बैंक बीमा कम्पनीहरुलाई पास दिने हाम्रो काम होइन, बीमा समितिमा जानु भन्छ, यस्तो हुँदा हामीलाई समस्या भएको छ,’ प्रमुख कार्यकारी अधिकृत खत्रीले भने । बीमा समिति भन्छः पहल गर्दैछौं बीमा समितिले अहिलेको परिस्थिति अन्य बेलाको भन्दा फरक रहेकोले परिस्थिति बुझेर संयम हुन आग्रह गरेको छ । तर, बीमा व्यवसाय पनि अत्यावश्यक सेवाभित्र पर्ने भएकोले पासको लागि आवश्यक पहल भइरहेको समितिका अध्यक्ष चिरन्जीवी चापागाँईंले बताए । ‘बीमा सेवा पनि अत्यावश्यक सेवाभित्र परेकोले यो सेवा निर्वाध चलाउन आवश्यक समन्वय गरिरहेका छौं, अहिलेको परिस्थिति नै बेग्लै प्रकारको भएको कुरा सबैले बुझेकै छन्, तर पनि समितिको तर्फबाट गर्नुपर्ने आवश्यक पहल हामीले गरिरहेका छौं,’ अध्यक्ष चापागाँईंले भने । उनले पास नपाउँन्जेल घरबाटै काम गर्नुपर्ने तथा पाउँने वित्तीकै कम्पनीमा आएर सेवा सुचारु गर्नुपर्ने बताए ।
लकडाउनमा पनि युनाईटेड इन्स्योरेन्सको बीमा पोलिसी जारी, घरबाटै गर्न सकिने
काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितहरुको सूविधालाई लकडाउनको समयमा घरबाटै बीमा पोलिसी जारी तथा नविकरण गर्न सकिने व्यवस्था मिलाएको छ । कोरोना (कोभिड १९)ले विश्वव्यापीरुपमा निम्त्याएको स्वास्थ माहामारीबाट सुरक्षित रहनको लागि नेपाल सरकारले लकडाउनको आदेश जारी गर्दै आम जनमानसलाई घर भित्रै रहनको लागि अनुरोध गरिरहेको सम्वेदनसिलतालाई मध्यनजर गर्दै उक्त व्यवस्था मिलाएको हो । हालको परिस्थितीमा ईमेल ईन्टरनेट अनलाईनबाट सुविधा उपभोग गर्न सकिने भएपनि ईन्टरनेटमा अत्याधिक चाप बढ्न गएको अवस्थामा समेत आफ्नो सेवालाई चुस्त बनाई राख्न बिमालेख तर्फ टोपेन्द्र कटेल मोवाईल नं. ९८५६०६०३७४ तथा बीमा दावी तर्फ रविन्द्र राज श्रेष्ठ मोवाईल नं. ९८५१२१७९४९ मा सम्पर्क गरेर सेवा लिन सकिने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरुका लागि सबै शाखा कार्यालय ईन्चार्जहरु तथा केन्द्रिय कार्यालयका निम्न व्यक्तिहरुलाई सम्पर्क गरि घरबाटै कम्पनीका सुविधाहरु प्राप्त गर्न सकिने जानकारी गराएको छ । कम्पनीले हालको विषम परिस्थितीमा आफ्नो उत्कृष्ठ सेवा दिन तथा चुस्त दुरुस्त बनाउनको लागि आवश्यक प्रविधिको प्रयोग गर्दै अनलाईन सेवा मार्फत अझ परिस्कृत गर्दै आफ्ना बीमितहरुको काम कारवाही सरल र सहज रुपमा विना रोकटोक प्रभावकारी ढंगबाट अघि बढाउने र आगामी दिनहरुमा समय सापेक्ष सुदृढ रुपमा अघि बढाउदै लैजाने प्रतिबद्धता समेत व्यक्त गरेकोछ । यस समवेदनसिल परिस्थितीमा आईपरेका कठिनाईमा कम्पनी बीमितहरुको साथमा रहेको जनाउदै बीमितहरुले बीमालेख जारी गर्न तथा बीमालेख नविकरण गर्न कम्पनीको ईसेवा तथा बैंक खाता रहेको एनआईसी एसिया बैंक मार्फत अनलाईन भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको छ । यस विषम परिस्थिीतिमा बिमित, अभिकर्ता कर्मचारीहरु लगायत सबै एकजुट भई सकेसम्म घरमै बसी कोरोना भाईरस संक्रमणबाट आफु पनि बचौं अरुलाई पनि बचाऔं साथै आफु सजग बनौं तर त्रसित नबनौं भन्ने अपिल गरेको छ ।