म दिनरात काम गर्छु, साथीहरु भन्छन्- ‘तिमी कति भाग्यमानी’

३३ वर्षको उमेरमा नायब प्रमुख कार्यकारी अधिकृत भइन् उपासना पौडेल, युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडमा । उनका धेरै साथी सङ्गिनीले भन्छन्- ‘तिमी त भाग्यमानी रहेछौं । छिट्टै प्रगति गर्यौं । राम्रो अवसर पायौं ।’ ‘जसले मलाई भाग्यमानी ठान्छन्, उनीहरुलाई के थाहा मेरो मिहिनत’ उपासना भन्छिन्- ‘हुनसक्छ, लकले पनि साथ दिनुपर्छ । तर म बिहानैदेखि राती अबेरसम्म अफिसको काम गर्छु । कुनै दिन राती ४ बजेसम्म अफिसमा बसेर काम गरेको छु ।’ उनकी छोरी ७ महिनाको भइन् । अहिलेपनि घरबाट बिहान ८ः३० बजे निष्कनु र बेलुका ९/१० बजे घर पुग्नु उनको दैनिकी हो । ‘छोरी ममीले हेर्नुहुन्छ । एक जना सहयोगी राखेकी छु’ उनले लामो स्वास फेरिन् र भनिन्- ‘गाह्रो छ ।’ किन ? ‘यति सानो बच्चा घरमा छोडेर अफिसमा १२/१४ घण्टा काम गर्छु । तपाईं आफै भन्नुहोस् न ।’ उनले सोचलाई तत्काल बदलिन् । ‘तर म ह्यापी छु । घर छ । परिवार छ । आफ्नो देशमा काम गर्न पाएको छु ।’ पढाई र जबको सिलसिलामा एक दशकभन्दा बढी विदेशमा बसेकाले होला, देशमा बसेर काम गर्न पाउनुलाई पनि उनले खुशीको रुपमा प्रकट गरिन् । भारतीय एक्जा जनरनल इन्स्योरेन्समा काम गर्दा तलब, अतिरिक्त सुविधा, बोनस सहित वर्षमा ६० लाख रुपैयाँसम्म कमाइ हुने गरेको तर नेपालमा त्यो भन्दा धेरै कम भएको उनले बताइन् । तर उनी खुशी देखिन्छिन् । भन्छिन्- ‘मलाई नेपालमै ठिक छ । आफ्नै देशमा काम गर्न पाइएको छ । घर छ । परिवार छ । पहिचान छ ।’ देश र पहिचानको कुरा गर्नु, भारतमा भन्दा कम पैसा भए पनि नेपालमा काम गर्दा खुशी हुनुमा अर्को कारण पनि रहेछ । भन्छिन्- ‘भारतका कम्पनीहरुमा कार्यकारी प्रमुख पदमा रहेर काम गर्ने अवसर नेपालीलाई हमेसा मिल्दैन । नेपालभित्र टप लेबलमा बसेर काम गर्न पाइने अवसर प्रशस्त छ । मलाई पैसाले भन्दा रिकग्निशनले बढी सन्तुष्टि दिन्छ ।’ पाँच वर्षअघि कसैले तिम्रो चाहाना के हो भनेर प्रश्न गर्यो भने उनी भन्थिन्- ‘मेरो चाहाना भीपी (भाइस प्रेसिडेन्ट) बन्ने ।’ डेपुटी सीईओ भईसकेपछि उनको चाहना फेरिएको छ । ‘अहिले कम्पनी कसरी राम्रो बनाउने भन्ने चाहना छ । काम राम्रो गर्नेलाई अवसर आइहाल्छ ।’ नेपाली युवा पुस्तामा आफै उद्यमी बन्ने आकांक्षा धेरैमा पलाएको छ । तर उपासनाले विजनेशमा आफ्नो रुचि नभएको बताइन् । ‘आफै बिजनेश गर्दिन । चाहेको भए बाबाको विजनेश नै चलाउँथे ।’ शिक्षित परिवारमा जन्म विकासन्युज स्वतन्त्र लेखन प्रतियोगिता, ‘भविष्य कोरौं, एक लाख जितौं’ काठमाडौंको कुलेश्वरस्थित शिक्षित परिवारमा जन्मेकी उपासना । हजुरबुबा पण्डित पनि, स्कूलको प्रधानाध्यापक पनि । बुबा व्यवसायी । आमा बैंकर्स । एमबीएपछि उनलाई बैंकमा काम गर्न मन थियो । नसोचेको क्षेत्र जनरल इन्स्योरेन्समा उनी डुबिन् । उनले स्कूल शिक्षा डिएडीबाट लिइन् । प्लसटु डनबास्कोबाट । बिजनेश इन्फर्मेशसन सिस्टम विषयमा ब्याचलर काठमाडौं कलेज अफ म्यानेजमेन्टमा गरिन् । र, एमबीए दिल्ली यूनिभर्सिटीबाट गरिन् । पहिलो काम भारतको पुनेस्थिति कमेन्स इन्डिया नामक कम्पनीमा गरिन् । गाडीको इन्जिन लगायत मेरिनरी सामान उत्पादन गर्ने यो कम्पनीमा उनले ९ महिना काम गरिन् । उपासनाको विवाह हुने भयो । केटा नेपाली नै हुन् तर बम्बईमा बस्थे । त्यहाँ औषधि कम्पनीमा चीफ फाइनान्स अफिसर थिए । विवाहसँग उपासना पनि बम्बई बस्ने भईन् । तर काम गरिरहेको कम्पनीको शाखा बम्बईमा अफिस थिएन । उनले अफिस छोडिन् । विवाह लगत्तै उनले बम्बईमा आईसीआईसीआई जनरल इन्स्योरेन्स कम्पनीमा काम गरिन्, प्रडक्ट मेनेजर भएर । इन्डियाको टप फाइभ कलेजबाट पासआउट भएकोले राम्रो पाेजिशन दियो कम्पनीले । बैंकले गराउने बीमा पाेलिसी (बैंक्यास्याेरेन्स) बनाउने जिम्मेवारी पाइन् उनले । ‘तीन वर्षमा बढुवा हुने कम्पनीको नियम भए पनि मैले एक/दुई वर्षको बीचमा प्रमोशन पाए । म सिनियर प्रडक्ट म्यानेजर भए । नेतृत्व विकास गर्ने कम्पनीको योजनाभित्र मैले ग्रुप लिडर हुने मौका पाए । बीमा भित्र फाइनान्स बाहेक सबै जिम्मेवारी हेर्ने मौका पाए । प्रडक्ट डेभलपमेन्ट, रिइन्स्योरेन्स, आईटी म्यानेजमेन्ट लगायतका क्षेत्रमा काम गरेँ’ उनले अनुभव सुनाइन् । उक्त कम्पनीमा काम गरेको ३ वर्ष भएको थियो । उनलाई भोडाफोनबाट जागिरको अफर गयो । आईसीआईसीआई छोडेर उनी भोडाफोनमा जोइन भइन् । भाेडाफोनमा उनलाई पोष्टपेडको मार्केटिङको जिम्मा दिइयो । त्यतिबेला उपभोक्ताहरु पोष्टपेड छोडेर प्रिपेडमा जान थालेका थिए । ‘पोष्टपोड छोडर प्रिपेडमा जाने ग्राहकलाई कसरी रोक्ने, भोडाफोन छोडर अरु टेलिकमको सर्भिस लिन खोज्नेलाई कसरी रिटेइन गर्ने भन्ने जिम्मेवारी काँधमा आयो’ उनले भनिन्- ‘नयाँ ग्राहक कसरी वृद्धि गर्ने भन्ने पनि थियो ।’ भोडाफोनमा काम गरेको साढे दुई वर्ष भएको थियो । त्यहिबीचमा आईसीआईसीआई काम गर्दाको उपासनाको मेन्टरले भारतीय एक्जा जनरनल इन्स्योरेन्समा काम शुरु गरे । पूर्व मेन्टरको अफरमा फेरी उपाशना जनरल इन्स्योरेन्स कम्पनीमा फर्किन् । ‘इन्स्यारेन्स जानेको क्षेत्र पनि भयो । मलाई इन्स्योरेन्समा फेरी फर्कन मन लाग्यो । म भारतीय एक्जामा जोइन भएँ ।’ भारतीय एक्जामा दुई वर्ष काम गरेपछि उनी नेपाल फर्किन् र सानिमा जनरल इन्स्योरेन्समा नायव महाप्रबन्धक भइन् । डेढ वर्ष काम गरेर उनले सानिमा छोडिन् । गत मंसिरदेखि उनी यूनाईटेडमा डेपुटी सीईओको रुपमा प्रवेश गरिन् । उनले छोटो अवधिमा ६ कम्पनी परिवर्तन गरेको देखियो । जसलाई राम्रो मानिदैन । तर उपासनाले आफ्नो बचाउँ गरिन् । ‘कमेन्समा काम गर्नु मेरो चाहाना थिएन । कलेजको सिस्ष्टमबाट जानु परेको हो । आईसीआईसीआई मैले राम्रो अवसर पाएको हुँ । ३ वर्षसम्म काम पनि गरे । तर मलाई कन्जुमर इडिस्ट्रजमा काम गर्ने चाहानाले म भाेडाफोन गए । भारतीय एक्साबाट फर्कदा म अब जनरल इन्स्योरेन्समा नै काम गर्छु भनेर फर्किए । त्यसपछि म निरन्तर जनरल इन्स्योरेन्समा छ । उनी थप्छिन्- ‘मलाई धेरैले भन्छन्- तिमी त धेरै स्थीर भयौं । मलाई लाग्छ- युनाईटेडमा कम्तिमा ५ वर्ष काम गर्छु । दोस्रो, म जनरल इन्स्योरेन्स भन्दा बाहिर जान्न । उनले आँटिलो प्रस्तुति राखिन् । ‘मलाई पैसा भन्दा रिकग्निशनले  मनपर्छ । जुन क्षेत्रमा म छु, त्यो क्षेत्रमा मलाई राम्रो ज्ञान छ । जोसँग जे विषयमा ज्ञान छ उसले त्यहि क्षेत्रमा मात्र रिकग्निशन पाउँछ । बैकिङ क्षेत्रबाट धेरै अफर र अवसर आएको तर नगएको उनको भनाई छ । ‘मैले धेरै वर्ष बीमामा काम गरे । विदेशमा, नेपालमा । अब म यो क्षेत्रमा नै काम गर्छु । सोचमा परिवर्तन ल्याउन सक्छु ।’ कुराकानीको क्रममा अब उनी बीमा क्षेत्रको समस्याको जडमा पसिन् । ‘बीमा जबर्जस्ती गर्नुपरेको छ । बीमा कम्पनीले पैसा लग्यो । बीमा गरेर केही पाउने होइन भन्ने माइन्डसेट छ । बीमा गर्नु भनेको पैसाको बर्वादी मात्र हो भन्ने बीमितलाई परेको छ । यस्तो सोचमा परिवर्तन गर्न सकिन्छ’ उनले भनिन्- ‘नेपालमा खराब अनुभवहरु पनि छन् । बीमा दावी भुक्तानी पाउन धेरै गाह्रो भएको भएको उपभोक्ताको अनुभव छ । त्यसमा हामीले सुधार थालिसकेका छौं ।’ उनले अपनाएको नयाँ शैलीबारे पनि भनिन् । ‘पहिला बीमा गर्दा पोलिसीमा लेखिएका सबै कुरा बुझाउँछौं । बीमा दावी गर्दा कति पाइन्छ, त्यो सबै बुझाउँदैछौं । दोस्रो, हामी हेल्पलाईन राख्दैछौं । बीमा दावी आओस् वा नआओस्, ग्राहक सेवा दिनुपर्छ । २४ सै घण्टा सेवा दिन्छौं । टाउको दुख्यो, कहाँ उपचार गर्ने ? हामी ग्राहकलाई सुझाव दिन्छौं । गाडी ठोकियो । कहाँ जाने ? के गर्ने ? हामी सबै भनिदिन्छौं । बीमा दावी आयो भने स्वास्थ्य बीमाको ७ दिनभित्र, मोटर बीमा १५ दिनभित्र भुक्तानी दिने याेजना छ । हामी नयाँ प्रडक्ट पनि ल्याउँदै छौं, जहाँ डिडक्सन कम होस्, ग्राहकलाई वेष्ट अफ मनि भन्ने फिल गर्नु नपरोस् । उनी व्याख्या गर्दै गईन् । हामी कहाँ बीमा पोसिली बेच्ने तरिका ठिक छैन । किन्नेले पनि, बेच्नेले पनि सस्तो पोलिसीमा फोकस भयो । गोदामको बीमा दोकानको रेटमा गरिन्छ, गराइन्छ । सस्तो बीमाको बेफाइदा बीमितलाई बुझाउने प्रयास जरुरी छ । हामीले कर्पोरेट क्लाइन्टलाई एक्स्पर्टबाट बुझाउने काम शुरु गरेका छौं । एक जना स्टाफलाई पठाएर ल हेर है मात्र भनेका छैनौं । मेडिकल इन्स्योरेन्स र मोटर इन्स्योरेन्समा नयाँ अभ्यास गर्दैछौं । ५५ प्रतिशतको ग्रोथ युनाईटेड इन्स्योरेन्स स्थापनाको क्रममा ५औं कम्पनी हो । बिजनेशको हिसावले कुनै बेला टप थ्रीमा पर्थ्यौं । यो कम्पनीको प्रमोटर ठूला र सफल व्यवसायीक संस्था छन् । हामीसँग युवा कर्मचारी छन् । कर्मचारी पनि बीमाबाट मात्र नभई अरु क्षेत्रबाट पनि आएका छन् । हामीले राम्रो शुरुवात गरिसकेको छौं । चालु आर्थिक वर्षमा ५५ प्रतिशतले विजनेश ग्रोथ भएको छ । हामीले अर्गानिक ग्रोथ र नाफामुखी ग्रोथलाई प्राथमिकता दिएका छौं ।

नेपाल लाइफ इन्स्योरेन्सले कोरोना रोकथाम कोषमा दियो एक करोड रुपैयाँ

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना रोकथाम कोषमा एक करोड रुपैयाँ दिएको छ । कम्पनीले नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा योगदान स्वरुप उक्त रकम सहयोग गरेको छ । नेपाल लाइफले विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकुल परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको जानकारी गराएको छ । यस महामारीको सन्दर्भमा समेत नेपाल लाइफले नेपाल सरकारको उक्त कोषमा गरेको सहयोगले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार र विपन्न तथा न्यून आम्दानी भएका प्रभावित परिवारहरुको दैनिक आवश्यक एवं उपभोग्य सामग्रीहरुका निम्ति केही सहयोग हुने विश्वास व्यक्त गरेको छ ।

एशियन लाईफ इन्स्योरेन्सले प्रत्येक प्रदेशलाई दियो ५ लाख रुपैयाँ, १३औं वर्षमा प्रवेश

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सले कोरोना रोकथामको लागि प्रत्येक प्रदेशलाई ५/५ लाख रुपैयाँ दिने भएको छ । इन्स्योरेन्सले सातवटै प्रदेश सरकालाई ५ लाखको दरले जम्मा ३५ लाख रुपैयाँ कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारको लागी प्रदान गर्ने निर्णय गरेको हो । कम्पनीले १३ औं वर्ष प्रवेशको अवसरमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत ‘कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोष’ यस कम्पनी, संचालक समिति तथा सम्पूर्ण कर्मचारीहरुको तर्फबाट उक्त योगदान गर्न लागेको हो । कम्पनी आजबाट १२ वर्ष पुरा गरी १३औं वर्षमा पुगेको छ । कम्पनीले चालू आर्थिक वर्ष फागुन मसान्तसम्ममा कूल २ अर्ब ९९ करोड रूपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । त्यसैगरी कम्पनीले हालसम्म ५ लाख ४ हजार भन्दा बढी बीमालेखको विक्रीबाट आर्थिक वर्ष ७६/७७ को फागुनसम्ममा कूल बीमाशुल्क २१ अर्ब ६० करोड रूपैयाँ संकलन गरेको छ । कम्पनीको कूल लगानी २१ अर्ब रूपैयाँ र जीवन बीमा कोष २० अर्ब रूपैयाँ रहेको छ । कम्पनीको ५ अर्ब अधिकृत पूँजी र २ अर्ब १ करोड रूपैयाँ चुक्ता पूँजी रहेको छ । हाल कोरोना भाइरस (कोभिड १९) को कारण विश्वव्यापीरुपमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै यस रोगको संक्रमण फैलिन नदिनको लागि नेपाल सरकारले ‘लक डाउन’ को घोषणा गरेको कारण बीमित, जीवन बीमा अभिकर्ता तथा सम्बन्धित सबैको सुविधाको लागी जीवन बीमा सेवा, बीमा शुल्क भुक्तानी तथा दाबीका यस्ताे व्यवस्था गरेकाे छ । १) हाल भुक्तानी गर्न पर्ने किस्ता रकम भुक्तानी गर्न नसकेको कारणले बीमालेख व्यतित नहुने र वैशाख मसान्तसम्म बीमाशुल्क भुक्तानीमा व्याज नलाग्ने व्यवस्था गरिएको कम्पनीले जनाएकाे छ। (बीमा समितिको निर्देशन, मिति २०७६१।२०) २) तिनं बाकी नियमित बीमा शुल्क ई सेवाको वेभसाइट वा एप्समार्फत् अनलाइन भुक्तानी गर्न सकिनेछ । ३) नविकरण बीमाशुल्क बीमालेख नम्बर, बीमितको नाम, ठेगाना र मोबाइल नम्बर स्पष्ट रुपमा उल्लेख गरेर एनआइसी एशिया बैंक लि. मा रहेको यस कम्पनीको खाता नं.2941 000687524052 मा अनलाइन ट्रान्सफर वा बैंकको शाखाबाट पनि जम्मा गर्न सकिनेछ । ४) बीमालेख, बीमाशुल्क भुक्तानी, बीमा दाबी तथा अन्य आवश्यक जानकारीको लागी मोबाइल नम्बर 9801150012 वा 9801150015 मा सम्पर्क गर्न सकिनेछ ।