एशियन लाईफ इन्स्योरेन्सले सार्वजनिक गर्यो ई क्यालेण्डर

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को कारण विश्वव्यापी रुपमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै वि.सं. २०७७ सालकाे ई क्यालेण्डर सार्वजनिक गरेको छ । मुद्रित क्यालेण्डर वितरण सहज नभएको अवस्थालाई मध्यनजर गर्दै बीमित, अभिकर्ता, कर्मचारीको साथै सर्वसाधारणको सुविधाको लागी कम्पनीले उक्त क्यालेण्डर सार्वजनिक गरेको हो । ई क्यालेण्डर कम्पनीको बेभसाइटको लिंक https://www.asianlife.com.np/calendar बाट डाउन लोड गर्न सकिनेछ । क्यालेण्डरमा मन्त्री परिषदबाट स्वीकृत सार्वजनिक बिदाको साथै पञ्चाङ समितिबाट स्वीकृत गरिएको तिथी मिति लगायतको उपयोगी जानकारीहरु समावेश गरिएको छ । साथै, कम्पनीको शाखा उपशाखाको सम्पर्क नम्बर समेत क्यालेण्डरमा रहेकोले यसबाट सम्बन्धित सबैलाई सहज हुने विश्वास गरिएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सले राहत कोषमा दियो साढे ७ लाख रुपैयाँ

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा ७ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । अहिलेको यस विषम परिस्थितिमा सहयोगको पाइला अघि बढाउँदै कम्पनीले साे मात्राकाे सहयाेग गरेकाे हाे । साथै, कम्पनीसँगको समन्वयमा कम्पनीको शाखा कार्यलयहरुले स्थानिय नियकसंग सहकार्य गरि महामारी सचेतना तथा रोकथामको लागी अत्यावश्यक सहयोग गरेको व्यहोरा जानकारी गर्दछौं । विश्वभर फैलिएको यस महामारीले अहिलेसम्म १ लाख २६ हजार भन्दा बढी मानिसहरुको ज्यान लिएको छ । यस महामारीलाई नेपालमा फैलिन नदिनको लागि स्थानीय निकाय र नेपाल सरकारले निरन्तररुपमा प्रयास गरिरहेको यस समयमा सिटिजन लाइफ इन्स्योरेन्सद्वारा उपलब्ध गराइएको आर्थिक सहयोगले केहि हदसम्म भए पनि मद्दत पुर्याउँने आशा गरिएको छ ।

विपद् र जोखिम विरुद्ध राष्ट्रिय रणनीति बनाउन सरकारसँग हातेमालो गर्न तयार छौंः निर्मा

काठमाडौं । नेपाल बीमा तथा जोखिम व्यवास्थापन एसोसिएसन (निर्मा) ले विपद् र जोखिम विरुद्ध सरकारसँग हातेमालो गर्न तयार रहेको बताएको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट बच्न सरकारले लकडडाउन घोषणा गरेको सन्दर्भमा निर्माले विपद र जोखिम विरुद्ध राष्ट्रिय रणनीति बनाउनु पर्ने र त्यसका लागि सरकारसहित सरोकारवाला सबैसँग सहकार्य गर्ने जानकारी दिएको हो । कोरोनो भाइरस संक्रम रोक्न सरकारले लागू गरेको लकडाउनको कारण सर्वसाधारणको दैनिकीमै असर परेको भन्दै निर्माले यो परिस्थितिको सामना गर्नका लागि सरकारद्धारा स्थापना गरिएको राष्ट्रिय बिपद न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण तथा नीजि पहलमा स्थापना भएका विभिन्न जोखिम व्यवस्थापनका क्षेत्रमा कार्य गर्ने संघ संस्थाहरुसँग हातेमालो गरी अघि बढ्नका लागि नेपाल बीमा तथा जोखिम व्यवस्थापन एशोसियसन प्रतिबद्ध रहेको जानकारी गराइएको हो । ‘भविष्यमा आईपर्ने विभिन्न प्रकारका विपद् र जोखिम बिरुद्ध रणनीतिक तयारीका लागी नेपाल सरकारलाई सहयोग गर्न हामी तयार छौं,’ निर्माका अध्यक्ष डा. रविन्द्र घिमिरेद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । नयाँ बर्ष २०७७ आगमनको पूर्वसन्ध्यामा सारा संसार कोरोना भाइरस (कोभिड १९) को महामारीसँग जुध्न वाध्य भएको भन्दै निर्माले विश्वमा ४ अर्बभन्दा बढी मानिस बन्दाबन्दीकै अवस्थामा रहेकोले नेपालमा यो समय अझै लम्बिने आंकलन गरेको छ । शुरुआती दिनहरुमा यस खतरनाक रोगलाई निकै हल्का रुपमा लिएको कारणले जोखिम व्यवस्थापन सम्बन्धी पर्याप्त तयारी नगर्दा विश्वका शक्तिशाली मुलुकहरु समेत त्राहीमाम भएका र आज कोरोनासंग सिङ्गो मानव सभ्यता डरायमान बन्न पुगेको निर्माको ठहर छ । ‘मानव सभ्यताको सुरुवाती दिनहरुबाटै धेरै प्रकारका जोखिम र विपद्हरुको सामना गर्दै हामीहरु यहाँसम्म आइपुगेका छौ, यो अवधिमा मानव जातिले ठुला ठुला प्राकृर्तिक विपद र मानव सिर्जित विपद्हरुको सामना मात्र होइन, त्यस्ता विपदमाथि बिजय प्राप्त नै गरेको इतिहाँस छन्, मानवीय सभ्यता जति विकसित हुदै जान्छ, जोखिमका स्वरुप र परिणामहरु पनि परिवर्तन हुदै जाने तथ्य हामीबीच छ,’ निर्माले भनेको छ । कोरोना बिरुद्धको यो मानव जातिको लडाईमा नेपाल पनि सहभागी हुन पुगेको भन्दै निर्माले यसको संक्रमणबाट बच्न बन्दाबन्दीनै उपयुक्त देखिएकोले सरकारको यो आव्हानलाई सकारात्मक रुपमा लिई, जीवन रहेमात्र स्वतन्त्रताको उपयोग गर्न पाईन्छ भन्ने तथ्यलाई आत्मसाथ गर्दै सरकारलाई सहयोग गर्नु सबैको दायित्व हो भनेको छ । ‘यसको असर तत्कालको संक्रमणबाट बच्नु मात्र नभएर भोलिका दिनमा नेपाली अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ भन्ने पनि हो, तथापि हाम्रो जस्तो अर्थतन्त्रमा यसको कस्तो प्रभाव पर्छ भन्नेमा हतार गर्नु पति हुदैन, कोरोना कहरको यो चुनौती भित्र नेपाल जस्ता देशका लागि सम्भावना पनि हुन सक्छन्, ती सम्भावना आगामी दिनमा देखिने छन्,’ अध्यक्ष डा. घिमिरेले भने । नेपालमा आउने बेला बेलाका यस्ता जोखिम र विपद्हरुले पनि सरकारलाई पूर्ण रुपमा सजग गराउन सकेको छैन भन्दै अध्यक्ष घिमिरेले विपद् व्यवस्थापन र जोखिम न्यूनिकरणमा संसारले धेरै फड्को मार्दासमेत नेपाल भने निकै पछाडि रहेको बताए । देशका केही सक्षम जनशक्ति आज विदेशी भूमिमा आफ्नो आविष्कार र अनुसन्धानको परिणाम कौडीको भाउमा बिदेशीलाई सुम्पन बाध्य छन् । देशमा रहेकाहरुलाई आवश्यक अनुसन्धान र विकासमा लगाउन सरकारले सकेको छैन । अवका दिनमा सकारात्मक सोचका साथ भोलिका दिनमा आइपर्न सक्ने विपद्को पूर्व तयारीमा जुट्न तथा जोखिम न्युनिकरणका माटो सुहाउदो उपायको खोजी तथा विकासमा अघि बढ्नु पर्ने अध्यक्ष घिमिरेले बताए ।