सिटिजन लाइफको जीवन बीमा कोष २ सय १२ प्रतिशतले बढ्यो

काठमाडौ । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तमा जीवन बीमाकोष २ सय १२ प्रतिशतले वृद्धि गरेको छ । गत आर्थिक वर्षको चैत मसान्तमा कम्पनीको जीवन बीमा कोष ४० करोड ४७ लाख रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा जीवन बीमा कोष १ अर्ब २६ करोड ४५ लाख रुपैयाँ पुगेको छ । खुद बीमाशुल्क  चालु आर्थिक वर्षको चैत मसान्तमा कम्पनीले खुद बीमा शुल्कमा ७९ प्रतिशतले वृद्धि गरेको छ । गत आर्थिक वर्षको चैत मसान्तमा कम्पनीको खुद बीमाशुल्क ६५ करोड ५ लाख रुपैयाँ रहेको थियो भने चालु आर्थिक वर्षको सोही अवधिमा खुद बीमाशुल्क १ अर्ब १६ करोड ३५ लाख रुपैयाँ छ । सिटिजन लाईफले कुल लगानी रकम करिब ३ अर्ब ६० करोड मध्ये ९६ प्रतिशत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको लामो अवधिको ऋणपत्र तथा मुद्धती निक्षेपमा लगानी गरेको छ । साथै, सिटिजन लाईफले आफूले निर्धारण गरेको व्यवसायिक लक्ष्य हासिल गरेका सम्पूर्ण एजेन्सी म्यानेजरहरुलाई १ लाख रुपैयाँको कोरोना भाइरस (कोभिड–१९) बीमा सुविधा उपलब्ध गराएको छ । यस्तै, बीमितहरुको सुविधालाई मध्यनजर गरी कम्पनीले डिजिटल माध्यमबाट बीमाशुल्क भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।

सिद्धार्थ इन्स्योरेन्सकाे खुद बीमा शुल्क ६१ करोड बढी

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा सिद्धार्थ इन्स्योरेन्सले ६१ करोड १६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन गत आवको तुलनामा करिब ८० लाख रुपैयाँले घटी हो । इन्स्योरेन्सले प्रकाशित गरेको वित्तीय विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ६१ करोड ९६ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । समीक्षा अवधिमा कम्पनीले १६ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा २ करोड ६ लाख रुपैयाँ घटी हो । सो अवधिमा कम्पनीले १८ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । इन्स्योरेन्सले यस अवधिमा लगानी, कर्जा तथा अन्य आयबाट ६ करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको छ । एक अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २३ करोड ८४ लाख रुपैयाँ सञ्चित छ । त्यस्तै, बीमा कोषमा ७५ करोड ७६ लाख रुपैयाँ र महाविपत्ती कोषमा ८ करोड ७८ लाख रुपैयाँ रहेको छ । यस अवधिमा इन्स्योरेन्सले कुल एक लाख ३ हजार ९ सय ३३ वटा बीमालेख जारी गरी एक अर्ब ४९ करोड ८१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्सकाे बीमा शुल्कमा वृद्धि

काठमाडाैं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा महालक्ष्मी लाइफ इन्स्योरेन्सले ३९ करोड ३१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेकाे छ । जुन गत आवकाे तुलनामा करिब ११ प्रतिशत अर्थात ३५ करोड ९३ लाख रुपैयाँले बढी हाे । इन्स्याेरेन्सले प्रकाशित गरेकाे वित्तीय विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षको यहि अवधिमा ३ करोड ३७ लाख ८१ हजार रुपैयाँ मात्रै खुद बीमा शुल्क संकलन गरेको थियाे । समीक्षा अवधिमा कम्पनीले ६ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । इन्स्योरेन्सले यस अवधिमा लगानी, कर्जा तथा अन्य आयबाट ३ करोड १५ लाख ४७ हजार रुपैयाँ र बीमालेख धितोमा १२ करोड ५४ लाख रुपैयाँ कर्जा लगानी गरी ६० लाख ८७ हजार रुपैयाँ आम्दानी गरेको छ । एक अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ७ करोड २ लाख रुपैयाँ सञ्चित छ । त्यस्तै, जीवन बीमा कोषमा ४९ करोड १९ लाख रुपैयाँ र महाविपत्ती कोषमा ७८ लाख रुपैयाँ रहेको छ । यस अवधिमा इन्स्योरेन्सले कुल ८ हजार ८७२ बीमालेख जारी गरी ६४ करोड ९६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।