महालक्ष्मी लाइफ इन्स्योरेन्सकाे बीमा शुल्कमा वृद्धि

काठमाडाैं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा महालक्ष्मी लाइफ इन्स्योरेन्सले ३९ करोड ३१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेकाे छ । जुन गत आवकाे तुलनामा करिब ११ प्रतिशत अर्थात ३५ करोड ९३ लाख रुपैयाँले बढी हाे । इन्स्याेरेन्सले प्रकाशित गरेकाे वित्तीय विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षको यहि अवधिमा ३ करोड ३७ लाख ८१ हजार रुपैयाँ मात्रै खुद बीमा शुल्क संकलन गरेको थियाे । समीक्षा अवधिमा कम्पनीले ६ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । इन्स्योरेन्सले यस अवधिमा लगानी, कर्जा तथा अन्य आयबाट ३ करोड १५ लाख ४७ हजार रुपैयाँ र बीमालेख धितोमा १२ करोड ५४ लाख रुपैयाँ कर्जा लगानी गरी ६० लाख ८७ हजार रुपैयाँ आम्दानी गरेको छ । एक अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ७ करोड २ लाख रुपैयाँ सञ्चित छ । त्यस्तै, जीवन बीमा कोषमा ४९ करोड १९ लाख रुपैयाँ र महाविपत्ती कोषमा ७८ लाख रुपैयाँ रहेको छ । यस अवधिमा इन्स्योरेन्सले कुल ८ हजार ८७२ बीमालेख जारी गरी ६४ करोड ९६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

जीवन बीमा कम्पनीको रोजाइमा विकास बैंक, कोरोना बीमामा १०० प्रतिशत दावी

काठमाडौं । जीवन बीमक संघले बीमा समिति समक्ष १३ बुँदे माग तथा सुझाव पेस गरेको छ । बीमा समिति र जीवन बीमक संघ नेपालबीच बैशाख १७ गते बसेको संयुक्त बैठकमा नेपालमा कोरोना भाईरसले नेपालको जीवन बीमा क्षेत्रमा पारेको समग्र प्रभाव सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्ने निर्णय भएको थियो । संघले सुझाव प्रतिवेदन आज बीमा समितिमा पेश गरेको कार्यकारी निर्देशन राजुरमण पौडेलले बताए । जीवन बीमक संघले विकास बैंकको मुद्दति खातामा लगानी गर्न पाउनु पर्ने माग गरेको छ । वाणिज्य बैंकहरुले मुद्दति व्याजमा सिण्डिकेट लागू गर्दै व्याज घटाएपछि अर्बौ रुपैयाँ मुद्दतिमा लगानी गर्दै आएको जीवन बीमा कम्पनीहरुले विकास बैंकमा लगानीको ढोको खोलिदिन बीमा समितिलाई अनुरोध गरेका हुन् । ‘हालको लगानी निर्देशिकालाई केही संसोधन गरि बढी प्रतिफल प्राप्त हुने क्षेत्र जस्तै विकास बैंकमा लगानी गर्न सहज हुने व्यवस्था गर्न अनुरोध गर्दछौं’ संघले बीमा समितिलाई बुझाएको प्रतिवेदमा उल्लेख गरिएको छ । जीवन बीमक संघले कोरोना बीमा लगायत मावन जीवन सम्बन्धि सबै बीमा गर्ने अधिकार जीवन बीमा कम्पनीमा मात्र हुनुपर्ने माग गरेको छ । ‘जीवन बीमा अन्तरगत सबै मानव जीवन र सोको सँग सम्बन्धित बीमा योजनाहरु समावेश हुनु पर्ने सामान्य मान्यता रहेको हुनाले जीवन बीमक संघ यस सम्बन्धमा बीमा समितिले पहल गरी कोरोना बीमा लगायत सबै मानव जीवन सम्बन्धी सबै बीमा जीवन बीमा कम्पनीहरुले मार्फत मात्र गर्ने व्यवस्था गरिदिनुहुन अनुरोध गर्दछौं’ संघले समितिमा बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको छ । संघले बीमा समितिलाई तिर्ने १ प्रतिशत सेवा शुल्कमा छुट गरिदिन माग गरेको छ । जीवन बीमा कम्पनीहरुको नयाँ बीमा शुल्क तथा नविकरण बीमा शुल्कमा ठूलो मात्रामा कमी आएको, तरलता, नगद प्रवाह र लगानी र सोको व्याज आयमा नकारात्मक असर परेकोले भन्दै संघले उक्त माग राखेको हो । संघले सरकरसँग आवश्यक समन्वय गरी ग्राहक, अभिकर्ता, कर्मचारी र कम्पनीको करको दरमा केही छुट गराउन बीमा समितिले पहल गर्नु पर्ने सुझाव दिएको छ । संघले लकडाउन अवधिको व्याज रकममा २०७७ अषाढ मसान्त भित्र बीमालेख धितो कर्जा तथा व्याज भुक्तानी गर्न आएमा सो लकडाउन अवधीको व्याज रकममा १५ प्रतिशत छुट दिन उपयुक्त हुने सुझाव दिएको छ । कम्पनीले प्रदान गरेको अभिकर्ता कर्जाको असुली र सो को लागि गरिने व्यवस्था सम्बन्धी नियममा छुट प्रदान गर्न अनुरोध गरेको छ । हालको अवस्थामा कम्पनीको आम्दानी र खर्चमा देखिएको ठूलो अन्तरले कम्पनीको वित्तिय अवस्थामा पार्ने प्रभावलाई ध्यानमा राखी सल्भेन्सि मार्जिनको हालको व्यवस्थामा कम गर्न अनुरोध गरेको छ । त्यस्तै, अभिकर्ताको नयाँ लाइसेन्स जारी गर्ने हालको प्रक्रियालाई सरल र सहज बनाउन माग गरेको छ । विश्वव्यापी रुपमा डिजिटल तथा अनलाइन माध्यमबाट बीमा लेख जारी गर्ने लगायतका सबै सेवाहरु दिने गरेकोले विभिन्न देशहरुमा लकडाउनको अवस्थामा समेत बीमा व्यवसायमा प्रभाव नपरेको अवस्था छ । हालको लकडाउन परिस्थिमा सोसियल डिस्टेन्समामा बस्नु पर्ने लगायतको अवस्थामा डिजिटल माध्यमबाट सेवा प्रवाह गर्न पर्ने यस समयको आवश्यकता हो । नेपालमा बैंकहरुले समेत अनलाईनबाट मार्फत घरमै रहेर बैंक खाता खोल्न र बैंकिङ सेवा लिन सकिने व्यवस्था सहित दैनिक विज्ञापन गरिरहेका छन । तसर्थ बीमा क्षेत्रमा पनि नयां पोलिसी, नविकरण लगायतका सबै सेवाहरु डिजिटल माध्यमबाट दिन सकिने गरी आवश्यक व्यवस्था मिलाई दिन अनुरोध गरेको छ । त्यस्तै, बीमा कम्पनीहरुले नोक्सानमा रहेका शाखा कार्यालय मर्ज वा बन्द गर्न पाउने व्यवस्था पनि माग गरेको छ । ‘कम्पनीको आम्दानीमा संकूचन भएको अवस्थामा खर्चहरु धेरै जसो नियमित प्रकृतिको हुनाले संस्थाको दीगोपनको लागि शाखा कार्यालयहरु मर्ज तथा बन्द गर्न कम्पनीलाई सजिलो प्रकृयाको व्यवस्था गरिदिन अनुरोध गर्दर्छौ । जीवन बीमा कम्पनीहरुको व्यवसायको प्रकृति अनुसार दीर्घकालिन लगानीका क्षेत्रहरुमा लगानी गर्नुपर्ने भएकोले दीर्घकालीन अवधीको बीमा वण्ड ÷ विकास वण्ड जारी गर्न सरकारसंग आवश्यक पहल गरिदिन बीमा समितिसँग माग गरेको छ । हालको विषम परिस्थितिमा कम्पनीहरुको खर्च रकम आम्दानी अनुपातमा बढीने हुनाले हाल तोकिएको खर्चको ३० प्रतिशतको सीमा भन्दा बढी भएको खर्च सम्वन्धि हालको व्यवस्थालाई पुनरावलोकन को लागि अनुरोध गरेको छ । हाल नाफाको १० प्रतिशतले व्यवस्था गरिएको महाविपत्ती कोषलाई महामारीको हालको अवस्थामा उपयोग गर्न मिल्ने व्यवस्था गर्न माग गरेको छ ।

युनाईटेड इन्स्योरेन्सको आय ३ करोडले घट्यो

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीको आय करिब ३ करोड रुपैयाँले घट्ेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्यमा कम्पनीको आय ६१ करोड १८ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको आय ६४ करोड १६ लाख रुपैयाँ थियो । बीमा शुुल्क (खुद) कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यमा खुद बीमा शुल्क २४ करोड ७१ लाख रुपैयाँ संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद बीमा शुल्क २३ करोड ८२ लाख रुपैयाँ थियो । कम्पनीले पुनर्बीमा कमिशन आयबाटमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६ करोड ६० लाख रुपैयाँ छ भने गत आर्थिक वर्षका सोही अवधिमा २ करोड ९३ लाख रुपैयाँ रहेको छ । कम्पनीको लगानी, कर्जा तथा अन्य आयमाचालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ करोड ६७ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको सोही अवधिमा ४ करोड १५ लाख रुपैयाँ रहेको कम्पनीको तथ्याङ्कका उल्लेख छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५१ करोड २१ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३५ करोड ५५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । बीमालेख संख्या कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६९ हजार २ सय ८५ बीमालेख जारी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४९ हजार ४ सय ३८ बीमालेख जारी गरेको थियो ।