चन्द्रागिरि नगरपालिकाले काेराेना नियन्त्रणमा खटिनेहरूकाे ‘कोभिड–१९ बीमा’ गर्दै

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले कोभिड–१९ संक्रमण, रोकथाम र नियन्त्रणका लागि खटिने जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी तथा एम्बुलेन्स चालकको स्वास्थ्य बीमा गरेको छ । सोमबारदेखि लागु हुने गरी प्रतिव्यक्ति  १० लाख रूपैयाँको स्वास्थ्य बीमा गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले व्यवस्थित रुपमा कोरोना नियन्त्रणका लागि जनशक्ति परिचालन गरिरहेको अवस्थामा कार्यरत जनशक्तिलाई थप प्रोत्साहन गर्न तथा हुन सक्ने जोखिम कम गर्न कार्यपालिकाको निर्णयानुसार आन्तरिक खर्चबाट व्यहोर्ने गरी स्वास्थ्य बीमा गरिएको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए । उनका अनुसार राष्ट्रिय बीमा संस्थानमा नगरपालिकामा कार्यरत ३५० कर्मचारीको स्वास्थ्य बीमा गरिएको छ जसमा ७८ जनप्रतिनिधि, ८४ नगरअन्तर्गतका कर्मचारी, १७७ नगरअन्तर्गतका वडा कार्यालय तथा स्वास्थ्यकर्मी र ११ एम्बुलेन्सका चालक छन् । उक्त बीमाअन्तर्गत प्रतिव्यक्ति ६ लाख रुपैयाँ बराबरको सामूहिक दुर्घटना बीमा, एक लाख रुपैयाँ बराबरको औषधोपचार बीमा, दुई लाख रुपैयाँ बराबरको घातक रोग बीमा र एक लाख रुपैयाँ बराबरको कोभिड–१९ रोग बीमा समावेश गरी बीमा गरिएको उनले जानकारी दिए । गत चैत १९ गतेको नगरकार्यपालिकाको बैठकले जनप्रतिनिधि तथा कर्मचारीको स्वास्थ्य बीमा गर्नै निर्णय गरेको थियो । आन्तरिक व्यवस्थापनमा समय लाग्दा बीमा गर्न केही दिन ढिला भएको उनले जानकारी दिए । रासस

कोरोना भाइरस बीमामा शिखर इन्स्योरेन्स सबैभन्दा अगाडि

काठमाडौं । कोरोना भाइरस सम्बन्धि बीमा कार्यान्वयनमा बीमा कम्पनीहरुकाे संक्रियता राम्रो देखिएको छ । आइतबार सम्ममा १९ वटा निर्जीवन बीमा कम्पनीले ३० हजार ५ जनाको कोरोना भाइरस बीमा गरेका छन् । त्यसबाट कम्पनीहरुले १ करोड ६१ लाख ६० हजार ५६० रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । शिखर इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी बीमा पोलिसी जारी गरेको छ । यस कम्पनीले आइतबारसम्ममा ५४८ पोलिसी जारी गरी ७ हजार ४९१ जनाको बीमा गरेको छ । त्यसबाट कम्पनीले ३९ लाख ७३ हजार ४२० रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कुल बीमित संख्यामा शिखर इन्स्योरेन्सको हिस्सा २४.९५ प्रतिशत रहेको छ । त्यस्तै कुल बीमा शुल्कमा शिखरको हिस्सा २४.५८ प्रतिशत रहेको छ । अहिलेसम्म २१६५ वटा पोलिसी जारी भएकोमा शिखरले ५४८ वटा पोलिसी जारी गरी कुल बजारमा २५.३१ प्रतिशत हिस्सा लिएको छ । २० वटा निर्जीवन बीमा कम्पनीमध्ये व्यवसाय, नाफा लगायत धेरै कोणमा शिखर इन्स्योरेन्स सबैभन्दा अगाडि छ । पोलिसी संख्या, बीमितको संख्या र बीमा शुल्कका आधारमा दोस्रो हुने कम्पनीहरु फरक फरक छन् । बीमा शुल्कका आधारमा १६ लाख ९७ हजार रुपैयाँ संकलन गरी नेपाल इन्स्योरेन्स दोस्रो स्थानमा छ । १४ लाख ९४ हजार रुपैयाँ बीमा शुल्क संकलन गरी एनएलजी इन्स्योरेन्स तेस्रो स्थानमा छ । बीमित संख्याको आधारमा एनएलजी दोस्रो र नेपाल इन्स्योरेन्स तेस्रो स्थानमा छन् । बीमा पोलिसीको आधारमा दोस्रो स्थानमा हिमालयन र तेस्रो स्थानमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेका छन् । कोरोना भाइरस सम्बन्धि बीमा नाफा गर्ने उदेश्यले नभई सामाजिक उत्तरदायित्वको हिसावले बीमा कम्पनीहरुले गरिरहेको नेपाल बीमक संघका अध्यक्ष  तथा शिखर इन्स्याेरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले बताए । कोरोना भाइरस बीमा गराउँदा सर्वसाधारणमा बीमा बारे थोरै जानकारी पनि हुने र अप्ठ्यारो अवस्थामा बीमाले राह्रत दिन्छ भन्ने सन्देश पनि जाने भएकोले यसको कार्यान्वयनमा सबै कम्पनीहरु सक्रिय भएको उनले बताए ।

अहिलेकाे चुनौतीपूर्ण अवस्थामा सबै एकजुट भई अगाडि बढौं- सीईओ झा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पन का प्रमुख कार्यकारी अधिकृत विवेक झाले अहिलेको चुनौतीपूर्ण अवस्थाबाट पनि मानव जीवनले धैर्यताका साथ अगाडि बढ्नु पर्ने बताएका छन् । रातपछि सधैं नयाँ बिहानी आउँछ भन्दै उनले यस्तो अवस्थामा सबै एकसाथ एकजुट भै अगाडि बढेमा विजय प्राप्त गर्ने कुरामा सबै विश्वस्त हुनु पर्ने बताएका छन् । साथै, हाल कोरोना भाइरस (कोभिड-१९) का कारण सम्पूर्ण विश्व नै आक्रान्त भइरहेको अवस्थामा सबैलाई धैर्य धारण गर्दै आफू, आफ्नाे परिवार, समाज एवं सम्पूर्णको सुरक्षा तथा स्वास्थ्यलाई ध्यानमा राख्दै आवश्यक जीवनशैली अपनाउन उनले आग्रह गरेका छन् । कम्पनीको २०औं वार्षिकोत्सवको अवसरमा सीईओ झाले सो कुरा बताएका हुन् । वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भएको यस इन्स्योरेन्स १९ वर्ष पुरा गरी २० औं वर्षमा प्रवेश गरेको छ । यस अवधिमा इन्स्योरेन्सले बीमित, सेवाग्राहीहरुलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको छ । यस अवसरमा सीईओ झाले बीमा समिति, बीमित, शेयरधनी, सञ्चालक समिति, नियमनकारी निकाय लगायत कर्मचारी, अभिकर्ता तथा सरोकारवालाहरुलाई धन्यवाद व्यक्त गरेका छन् । सञ्चालक समितिका तर्फबाट नेपाल लाइफका अध्यक्ष गोविन्द संघईले आगामी दिनमा सबैको सहयोग, सद्भाव र मार्गदर्शनको निरन्तरताको अपेक्षा गरेका छन् । २० औं वर्ष प्रवेशको उपलक्ष्यमा नेपाल लाइफका सम्पूर्ण कर्मचारीहरुको आफ्नाे तर्फबाट ८ लाख ४७ हजार ५ सय रुपैयाँ बराबरको नगद, खाद्यान्न तथा अत्यावश्यक सामग्रीहरु सहयोग स्वरुप प्रदान गरेको छ । उक्त रकमले सातै प्रदेशका विभिन्न स्थानहरुमा रहेका अनाथ, महिला तथा बृद्ध-बृद्धालाई राहत प्रदान गरेको कम्पनीले जनाएको छ । जस अन्तर्गत प्रदेश नं. १ मा प्रदेश सरकारले स्थापना गरेको ‘प्रदेश नं. १ कारोना जनसुरक्षा कोष’ मा रु. १ लाख २१ हजार रकम प्रदान गरेको छ । त्यसैगरी प्रदेश नं. २ भित्र रहेका विभिन्न अनाथाश्रम, महिला आश्रम तथा बृद्धाश्रमहरुमा खाद्यान्न, अत्यावश्य वस्तुहरु, लत्ता कपडा, पानी ट्यांकी, पंखा, इन्भटर लगायत सहयोग गरेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं. ५, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशमा सम्बन्धित प्रदेश भित्र रहेको विभिन्न अनाथाश्रम तथा बृद्धाश्रमहरुमा खाद्यान्न तथा अत्यावश्यक वस्तुहरु प्रदान गरेको छ । नेपाल लाइफ इन्स्योरेन्सका सम्बन्धित प्रदेशका क्षेत्रीय प्रमुखको नेतृत्वमा कर्मचारीहरुले उक्त सहयोग गरेको कम्पनीले जारी गरेको विज्ञप्तीमा जनाएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यस अघि नै कोरोना भाइरस (कोभिड-१९) महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ का लागि रु. १ (एक) करोड रकम योगदान गरिसकेको छ । हाल नेपाल लाइफले जीवन बीमा कम्पनीहरूमध्ये करिब एक तिहाई बजारहिस्सा ओगटेको छ । २० वर्ष प्रवेश गर्दा नेपाल लाइफको चुक्तापुँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ५ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने लगानी ८६ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ८२ अर्ब रुपैयाँ र सेयरधनी कोष ८ अर्ब ६० करोडभन्दा बढी रहेको छ । १ लाख ५४ हजार ५ सय ६ जना प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका २ सय शाखा तथा उप शाखा कार्यालयहरु मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । हालसम्म स्वदेश र विदेशमा गरी २७ लाख ३६ हजार ३ सय ११ व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् । समयसापेक्ष नेपाल लाइफले प्रविधिमैत्री सेवा प्रदान गर्दै आइरहेको छ । नेपाल लाइफको बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिष्टम तथा डिजिटल वालेट बाट कुनै पनि ठाउँबाट जुनसुकै समयमा भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ । नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु इसेवा, खल्ती, कनेक्ट आईपीएस तथा प्रभु पे बाट अनलाइन भुक्तानी भइरहेको छ । त्यस्तै, फोन पे मार्फत आफ्नो बैंक खाता कनेक्ट गरी र नेपाल इन्भेष्टमेन्ट बैंकको इन्टरनेट बैंकिङ लगायतका मार्फत अनलाइन भुक्तानीको सेवा प्रदान गरिरहेको छ ।