चाडबाडको मुखमा गाडीको भाडा नबढाए टिकट बुकिङ नखोल्ने व्यवसायीको घोषणा

  २०७५ असोज २ गते १६:३०     विकासन्युज

काठमाडौँ । यातायात व्यवस्था विभागले यातायात व्यवासायीको बैंक खाता नखुल्ने स्पष्ट पारेको छ । रोक्का राखिएको यातायात समितिको बैंक खाता खोल्ने सम्बन्धमा कुनै प्रक्रिया अघि नबढाइएको यातायात व्यवस्था विभागले स्पष्ट पारेको हो ।

असोज ५ गते यातायात व्यवसायीले दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्नुअघि रोक्का रहेका खाता खोल्नुपर्ने व्यवसायीको अडान थियो ।
विभागका महानिर्देशक लावण्यकुमार ढकालले रोक्का गरिएका बैंक खाता खोल्नेबारे कुनै छलफल नभएको समेत स्पष्ट पारेका छन् ।
“नवीकरण नै नभएका समितिको नाममा रोक्का अवस्थामा रहेका खाता खुलाउन सकिँदैन, समिति कम्पनीमा गएको प्रमाण लिएर आए खाता खोल्ने प्रक्रिया अघि बढाइन्छ, प्रधानमन्त्रीले पनि कम्पनीमा गएकाको खाता खोल्न निर्देशन दिनुभएको छ”–उनले भने ।

सङ्घ संस्था दर्ता ऐनअनुसार सामाजिक काम गर्ने उद्देश्यले समिति खोलेर व्यापार गरेको भन्दै विभागले चैत १८ गते नयाँ निर्देशिका जारी गरी नवीकरण नगर्ने सार्वजनिक गरेको थियो । समितिलाई पुस मसान्तसम्म कम्पनी दर्ता भइसक्न विभागले अवधि तोकेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य भने समितिको खाता नखोले अग्रिम टिकट बुकिङ गर्न नसकिने बताए । “खाता सञ्चालन गर्न नदिए पैसा कहाँ राख्ने ? यसैले खाता नखुलेसम्म टिकट खोल्न सकिँदैन, पेट्रोलियम पदार्थको भाउ पटक–पटक बढे पनि भाडा समायोजन हुनसकेको छैन, भाडा समायोजन गर्न पनि सरकारलाई अनुरोध गरेका छौँ”–उनले भने ।

महासङ्घमा ३०७ समिति आबद्ध थिए । त्यसमध्ये २४५ समितिको बैंकमा खाता रहेकाले रोक्का भएको र ६२ को खाता सहकारी एवं वित्तीय संस्थामा रहेकाले सञ्चालनमै रहेको यातायात क्षेत्रको सुधारमा लागेका रामबहादुर थापाले बताए । पाँच महिनासम्म पनि समिति कम्पनीमा दर्ता नगरी राजश्व छल्न खोजेको र राज्यलाई कमजोर बनाउन लागेको उनको आरोप छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.