चिकित्सकले स्वास्थ्य क्षेत्रमा हड्ताल गर्नु अमानवीयः रावल

  २०७५ साउन ३ गते १८:५०     विकासन्युज

काठमाडौं । नागरिकको बाच्न पाउने अधिकार हनन् हुनेगरी स्वास्थ्य संस्थामा हड्ताल घोषणा गरेकोप्रति अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

विहीबार महासंघका अध्यक्ष डम्बर रावलले एक विज्ञप्ति जारी गरेर नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको अनसनलाई लिएर स्वास्थ्य संस्थामा हडताल घोषणा गरेर नागरिकको बाच्न पाउन मौलिक हकको हनन् गरेको बताएका छन् । उनले उक्त कार्यको घोर भत्सर्ना समेत गरेका छन् ।

“युद्धमा समेत स्वास्थ्य सेवा पाउने अधिकारबाट नागरिकलाई बञ्चित नगर्ने अन्तर्राष्ट्रिय मान्यता विपरित साउन ३ गतेबाट नेपाल चिकित्सक संघले घोषणा गरेको हड्ताल अमानवीय छ । भर्ना भएका बिरामी अस्पतालबाट लखेटिएको छ । अप्रेशनको लागि आएका बिरामीलाई भर्ना गरिएको छैन, भर्ना गरिएका बिरामीको अप्रेशन रद्द गरिएको छ, यो चिकित्सकीय मर्यादाविरुद्धको कार्य हो” रावलद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

एउटै मागलाई लिएर १५ औं पटक अनसन बस्नुपर्ने अवस्था सिर्जना हुनु भनेको राज्यकै गैर जिम्मेवारीपन भएको अध्यक्ष रावलले बताएका छन् । उनले डा. केसीको जायज माग पूरा गर्नुपर्ने बताए । “डा. केसी अनसनमा बस्ने, उहाँको जीवन रक्षाको लागि भन्दै चिकित्सा क्षेत्रमा घोषण गरिएको हड्तालले लाखौंको मानिसहरुको जीवन जोखिममा परेको छ” विज्ञप्तिमा उल्लेख छ । रावलले विज्ञप्तिमा जोखिममा परेका लाखौं मानिसहरुको जिम्मा चिकित्सक संघ र राज्य दुबैले लिनुपर्ने बताए ।

डा. गोविन्द केसीका केही जायज मागहरुलाई राजनीतिकरण गरिएको बताउँदै रावलले भने, “डा. गोविन्द केसीले उठाएका केही जायज मागहरुलाई राजनीतिकरण गरिएको छ । यो दुर्भाग्यपूर्ण छ, एउटा शक्तिले डा. केसीका मागबाट नाजायज फाइदा उठाउँने प्रयास गरिरहेको छ, जो भत्सर्ना योग्य छ ।”

राज्यले जनमुखी स्वास्थ्य नीति नबनाउँदा डा. केसी र आम नागरिकको स्वास्थ्य जोखिममा परेको भन्दै तत्काल समस्याको समाधान गरी स्वास्थ्य क्षेत्रमा घोषणा गरिएको हड्ताल तत्काल फिर्ता गर्न विज्ञप्तिमा आग्रह गरिएको छ । साथै, अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग पनि महासंघले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.