एमआईटीले नेपालमा शुरु गर्यो ग्लोबल स्टार्टअप ल्याब्स्, आर्थिक विकासमा मद्दत पुग्ने

  २०७५ असार ४ गते १६:३७     विकासन्युज

काठमाडौं । अमेरिकाको म्यासाच्युएटस् इन्स्टिचुट अफ टेक्नोलोजी (एमआईटी) ले काठमाडौं विश्वविद्यालय र एनसेलसँगको सहकार्यमा नेपालमा एमआईटी ग्लोबल स्टार्टअप ल्याब्स् (जिएसएल) कार्यक्रमको शुरुवात गरेको छ । एमआईटी जिएसएलले विकासशील अर्थतन्त्रहरुमा प्रविधिमा आधारित उद्यमीहरुलाई सबल बनाउन तथा स्टार्टअपहरुको विकासकालागि आवश्यक अनुकल पारिस्थितिक प्रणालीको सिर्जना गर्न योगदान पुर्याउँदै आएको छ ।

एमआईटीले विगत १८ वर्ष देखि यो कार्यक्रम दक्षिण एसियाको भारत र श्रीलंका लगायत विश्वका विभिन्न २५ राष्ट्रहरुमा संचालन गर्दै आएको छ । कार्यक्रमले प्रविधिमाआधारित युवा उद्यमीहरुको प्रवर्धन गर्दै आर्थिक विकासमा समेत मद्दत पुर्याउँदै आएको छ । युवा उद्यमीहरुलाई प्रोत्साहन तथा प्रविधि विकासमा योगदान पुर्याउदै आएको एनसेलको सहयोग मायो कार्यक्रम नेपालमा संचालन हुन लागेको हो ।

नेपालका लागि श्रीलंकाली राजदुतस्वर्ण परेरा, अमेरीकन दुतावासकी कल्चरल अफेयर्स अफिसर ग्रेस क्यारोल, नेपाल दूरसंचार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाल, काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. भोला थापा, एमआईटीका इलेक्ट्रिकल इन्जिनियरिङ् र कम्प्यूटर साइन्स विभागका एसोसिएट विभाग प्रमुख तथा जिएसएलका फ्याकल्टी को-डाइरेक्टर प्रोफेसर समन अमरासिंघे र एनसेलका प्रबन्ध सञ्चालक सुरेन जे. अमरासेकराले शुक्रवार एक विशेष समारोह माझ कार्यक्रमको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

एमआईटी जिएसएल कार्यक्रम एनसेलको व्यावसायिक सामाजिक उत्तरदायित्व पहल अन्तर्गत एमआईटी र काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा शुरु गरिएको हो । कार्यक्रममा काठमाडौं विश्वविद्यालयका विद्यार्थी तथा विश्वविद्यालयका आल्मुनाईबाट छानिएका ३५ जना विद्यार्थीहरुले मोबाइल प्रविधि र उद्यमशीलता सम्बन्धि एमआईटीको अद्वितिय पाठ्यक्रम अन्तर्गत प्रशिक्षण प्राप्त गर्नेछन् । कार्यक्रम गहनबुट क्याम्पको शैलीमा संचालन हुनेछ, जसमा एमआईटीका चार जना प्रशिक्षकहरुको नेतृत्वमा विशिष्ट ‘स्टुडेन्ट टु स्टुडेन्ट ल्याब’कार्यक्रम संचालन हुनेछ । कार्यक्रम असार १ गते देखि श्रावण १७, २०७५ सम्म संचालन हुनेछ । अन्तिम दिन अर्थात श्रावण १७ गते ‘डेमो डे’ आयोजना गरिने छ, जसमा सहभागी विद्यार्थीहरुले आफ्नो परियोजनाका प्रोटोटाइप प्रस्तुत गर्नेछन् ।विद्यार्थीहरुलाई उद्यमशीलताका ज्ञान प्रदान गर्नु र स्टार्टअपको विकासमा मद्दत गर्नु यो कार्यक्रमको लक्ष्य रहेको छ ।

एमआईटी जिएसएल कार्यक्रम सात हप्ताको गहन इनोभेटिभ बुट क्याम्प हुनेछ । यस अवधिमा सहभागी विद्यार्थीहरुले आफ्ना नविन सोचलाई शुरुवात गर्ने कार्यदेखि त्यसलाई परिस्कृत गर्दै व्यावसायिक स्टार्टअप परियोजना विकास गरी त्यसको संचालन गर्ने सम्मको कौशल विकास गर्नेछन् ।

एमआईटी जिएसएलले विश्वव्यापी रुपमा विकासशील राष्ट्रका विश्वविद्यालय तथा कम्पनीहरुसँग सहकार्य गर्दछ र एमआईटीका प्रशिक्षकहरुद्धारा प्रशिक्षण दिईने एडभान्स कोर्स सहितको कार्यक्रम आयोजना गर्दछ । योे कार्यक्रम मोबाइल र इन्टरनेट प्रविधिमा केन्द्रित छ र विद्यार्थीहरुले आफ्ना नविन सोचमा आधारित परियोजनाहरुको के कस्तो व्यवसायिक संभावना रहन्छ भनेर जान्न सक्षम हुन्छन् । विद्यार्थीहरुलाई आफ्नो नविन सोच तथा विचारलाई व्यावहारिक रुपमा स्टार्टअपमा बदल्नका लागि मद्दत पुर्याउन कोर्समा विस्तृत प्राविधिक पाठ्यक्रम, बजार अनुसन्धान, समुहको विकास र आईडियाको प्रस्तुती, बिजिनेश मोडल कार्यान्वयन, गेष्ट लेक्चर, नेटवर्किङ कार्यक्रमहरु लगायतका विषयवस्तु समावेश गरिएका छन् ।

पहिलो वर्षमा एमआईटी जिएसएल कार्यक्रमले डिजिटल प्रविधिमा आधारित आफ्ना नविन सोचलाई उद्यमशीलतामा परिणत गर्दै परिवर्तन ल्याउन चाहने काठमाडौं विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी तथा विश्वविद्यालयका आल्मुनाई सदस्यहरुलाई लक्षित गरेको छ । कार्यक्रम दुई चरणमा संचालन हुनेछ जस अन्तर्गत ३५ जना छानिएका विद्यार्थीले पहिलो चरणमा आफ्नो डिजिटल आईडियालाई अझ निखार्न गहन सिकाईमा सहभागी हुनेछन् । दोस्रो चरणमा आफ्ना आईडियालाई कसरी व्यावहारिक उत्पादन र व्यवसायमा बदल्ने भनेर समुहगत रुपमा काम गर्नेछन् । विद्यार्थीहरुकालागि आवश्यक संसाधन, प्रशिक्षण, उत्प्रेरणा तथा सहकार्य संभावनाका लागि एमआईटी र काठमाडौं विश्वविद्यालयले विद्यार्थीहरुलाई सहयोग गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.