नेपाल टेलिकमको ग्राहक आधार २ करोड नजिक

  २०७५ वैशाख २३ गते १८:२८     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमको ग्राहक आधार १ करोड ९१ लाख १३ हजार ७ सय ८७ पुगेको छ । फागुन मसान्तसम्म कम्पनीको डाटा सेवाका प्रयोगकर्ता ९९ लाख ५४ हजार ७ सय २२ पुगेका छन् ।

डाटा सेवाका लागि कम्पनीले हाल ५ एमबीपीएससम्म गतिको अनलिमिटेड एडीएसएल इन्टरनेट सेवा मासिक न्यूनतम ५ सय ८३ रुपैयाँ सम्मको मूल्यमा उपलब्ध गराइरहेको छ । चालु आर्थिक वर्षको फागुन महिनासम्ममा कम्पनीको डाटा सेवाका ग्राहक आधार १८.१४ प्रतिशतले वृद्धि भएको देखिएको छ ।

कम्पनीले मुलुकमै पहिलोपटक गत वर्ष देखि शुरु गरेको फोरजी सेवालाई देशैभर विस्तार गर्नका लागि आह्वान गरेको टेण्डर हाल मूल्याङ्कनको अन्तिम चरणमा रहेको छ ।

कम्पनीको एक करोड जीएसएम आयोजना अन्तर्गत दुई प्याकेज मध्ये काठमाडौं उपत्यका तथा पश्चिमाञ्चल क्षेत्रको ४८ लाख क्षमताको नेटवर्क विस्तार कार्य सतप्रतिशत सम्पन्न भइसकेको र अर्को प्याकेज अन्तर्गत मध्यमाञ्चल क्षेत्र (काठमाडौं उपत्यका वाहेक), पूर्वाञ्चल क्षेत्र, मध्य पश्चिमाञ्चल क्षेत्र तथा सुदूर पश्चिमाञ्चल क्षेत्रको ५२ लाख क्षमताको नेटवर्क विस्तार कार्य ७२ प्रतिशत सम्पन्न भई बाँकी विस्तार कार्य तदारुकताका साथ जारी रहेको छ ।

आयोजना अन्तर्गत मुलुकका अति विकट तथा दुर्गम स्थानहरु मुगुको रारा क्षेत्र, सिन्धुपाल्चोकको चेपेडाँडा, बाग्लुङको तमान खोला, दोलखाको गौरीशंकर, च्छोरोल्पा क्षेत्रको बेदिङ, धादिङको लापा र तिप्लिङ लगायत गोर्खा, मनाङ र मुस्ताङ जिल्लाका अति विकट स्थानमा समेत मोबाइल सेवा विस्तार गरिएको छ । प्रतिफल कम आउने र तुलनात्मकरुपमा लगानी बढी हुने स्थानहरुमा समेत दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै ती स्थानमा हालै उपकरण जडान गरी नेपाल टेलिकमले सेवा सञ्चालनमा ल्याएको हो ।

मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने कार्यका लागि नेपाल दूरसञ्चार प्राधिकरणसँग भएको सम्झौता पश्चात् आवश्यक सम्पूर्ण सर्भे कार्य सम्पन्न गरी कम्पनीले माइक्रोवेभ ट्रान्समिसन तथा टावरको छुट्टाछुट्टै बोलपत्र आह्वान गरी टावर निर्माण कार्य सुरु भइसकेको र माइक्रोवेभ ट्रान्समिसनको बोलपत्र मूल्यांकनको अन्तिम चरणमा रहेको छ । साथै प्रदेश १, २ र ३ मा अप्टिकल फाइबर बिछ्याउने कार्यको तीन वटा छुट्टाछुट्टै बोलपत्रहरु, उच्च क्षमताका डिएमडीडब्ल्यु उपकरण र राउटर उपकरणको छुट्टाछुट्टै बोलपत्रहरु तयार गरी अन्तिम स्वीकृतिका लागि सञ्चालक समितिमा पेश भइसकेको छ ।

कम्पनीले सेवा विस्तारका लागि आवश्यक उपकरण जडान गर्ने कार्यलाई पनि तीव्रता दिएको छ । आर्थिक वर्ष २०७३÷७४ मा मात्रै १,४१५ नयाँ बीटीएस टावर सञ्चालन र ६८९ पुरानो बीटीएस टावर प्रतिस्थापन तथा ३८७ फोरजी बीटीएस समेत गरी कुल २,४९१ बीटीएस सञ्चालन भएका छन् । आर्थिक वर्ष २०७४/७५ को अन्त्य सम्ममा थप २३५ स्थानमा बीटीएस सञ्चालन गर्ने लक्ष्य छ । सो मध्ये ४० बीटीएस सिराहा र सप्तरीमा मात्रै सञ्चालन गर्ने लक्ष्य रहेकोमा १२ वटा सञ्चालनमा आइसकेका छन् भने ३ वटा सञ्चालनको क्रममा रहेका छन् । ७ वटा बीटीएस जडानको क्रममा रहेको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.