नेपाल र भारतको वाणिज्य सम्बन्धि उच्च स्तरिय वैठक शुरु, समाधान होला कृषि वस्तु निर्यातदेखि ग्याँस बुलेटसम्मको समस्या ?

  २०७५ वैशाख ११ गते १४:२४     विकासन्युज

काठमाडौं । नेपाल र भारतको वाणिज्य सम्बन्धि उच्च स्तरिय वैठक मंगलबारदेखि राजधानीमा शुरु भएको छ । वैठकले नेपाल र भारतको व्यापारमा देखिएका समस्यालाई संवोधन गर्दै दुई देशबीचको व्यापारीक सम्बन्धलाई सहज र सुद्रिढ बनाउने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ ।

 

मन्त्रालयका प्रवक्ता रविशंकर सैंजुले जनाएअनुसार बैठकमा दुई देशबीच विभिन्न चरणमा प्रधानमन्त्री तथा वाणिज्य मन्त्रीबीच भएका सहमतिलाई कार्यान्वयनमा आएको छैन भने ल्याउने विषयमा छलफल हुनेछ । साथै वाणिज्य सम्बन्धि नीतिगत तथा प्राविधिक विषयमा विशेष छलफल हुनेछ ।

मन्त्रालयका अनुसार वैठक दुई चरणमा हुनेछ । जसमा पहिलो मंगलबार र बुधबार दुई देशबीचको वाणिज्य मन्त्रालयका सह–सचिव स्तरिय इन्टर गभरमेन्टल सब कमिटी (आईजीएससी) वैठक बस्नेछ । निर्णायक रुपमा दोस्रो सचिवस्तरिय इन्टर गभरमेन्टल कमिटी (आईजीसी) वैठक बस्नेछ ।

त्यस्तै पहिलो आईजीएससी वैठकको नेपालको नेतृत्व मन्त्रलयका सहसचिव सैंजूले भने दोस्रो आईजीसी वैठकको नेतृत्व वाणिज्य सचिव चन्द्रप्रसाद घिमिरेले गर्ने छ ।

विगतदेखि नै दुई देशबीचको उक्त अन्तर सरकारी वैठक भारत र नेपालमा पालैपालो हुदै आएको हो । मुलुकमा स्थायी सरकार बनेको, मुलुक संघिय संरचनामा अघि बढेको र सरकरको मुख्य एजेन्डा अर्थिक समृद्धि रहेकोले पनि नेपालको व्यापार क्षेत्रमा सञ्चालित वैठकको बढी महत्व रहने मन्त्रालयका उपसचिव रामकृष्ण अधिकारीले बताए ।

भारतसँगको व्यापारमा पछिल्लो समय देखिएको अदुवा जस्ता कृषिजन्य वस्तु को अबरोध, क्लिङ्कर आयातमा समस्या, एलपी ग्याँस बोक्ने नेपाली नम्बर प्लेटको बुलेटले हालसम्म पनि पाउन नसकेको एक्सप्लोसिभ सर्टिफीकेट, विभिन्न नाकामा स्थापना गरिने जाँच चौकी लगायतको विषयमा वैठकले टुङ्गो लाउने मन्त्रालयले जनाएको छ ।

त्यस्तै व्यवसायीहरुले पनि वैठकले नेपाल र भारतबीचमा देखिएको विभिन्न व्यपारीक समस्या हल हुने आश र भरोसा गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.