सेयर बजारमा ५० अंकको ऐतिहासिक उछाल, बजार बढ्नुका पाँच कारण

  २०७५ वैशाख ९ गते १५:२६     मञ्जरी पौडेल

काठमाडौं । सेयर बजारमा आइतबार ५० अंकको ऐतिहासिक वृद्धि देखा परेको छ । बिहिबार १३८८ अंकमा रहेको नेप्से परिसूचक आइतबार ५०.१८ प्रतिशतले बढेर १४३८.४९ पुगेको हो । आइतबार नेप्से परिसुचक मात्रै नभएर कारोबार रकम पनि बढेर एक अर्ब २३ करोड पुगेको छ ।

सेयर बजारका पण्डितहरुले नै सेयर बजारमा आइतबार देखिएको उत्साह ऐतिहासिक रहेको बताउँछन् । सेयर बजारका जानकार ज्योति दाहालले सेयर बजारमा देखा परेको उत्साह साह्रै सकारात्मक भएको बताए । उनले बजारमा एकै दिन ५० अंकको वृद्धि आफुले पहिलो पटक देखेको पनि बताए । ‘हामीलाई यसरी बजार बढेको बिरलै थाहा छ, ५२ अंकले बजार घटेको केहि समय भित्रै ५० अंकले बढ्यो, कारोबार रकम पनि बढेकै छ, लगानीकर्तामा उत्साह देखियो ।’ दाहालले भने ।

उता, नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले पनि बजारमा ऐतिहासक सुधार देखा परेको बताए । उनले सेयर बजारमा ऐतिहासिक उछाल आउनुका पछाडी पाँच वटा कारण रहेको पनि बताए ।

ब्याजदरमा देखिएको सुधार, वाणिज्य बैंकहरुले विदेशी बैंकबाट चुक्ता पुँजीको २५ प्रतिशत ऋण लिन सकिने व्यवस्था अघि बढ्नु, बजारमा म्युचुअल फण्डहरुको प्रवेश, तरलताको समस्या समाधान उन्मुख हुनु र अनलाइन कारोबार सुरु हुने प्रक्रिया अघि बढ्नु जस्ता कारणले सेयर बजारमा ऐतिहासिक सुधार देखिएको बताए ।

उच्च अंकले बढेको बजारमा कारोबारमा आएका सबैसूचकहरु दोहोरो अंकले उकालो लागेका छन् । त्यसमध्ये सबैभन्दा बढी बीमा समूह ३५२ अंकले बढेको छ । त्यस्तै, माइक्रोफाइनान्स १००, हाइड्रोपावर ८९, होटल ६५, विकास बैंक ६१, उत्पादनमूलक ४०, बैंकिङ् ३९, फाइनान्स २३ र अन्य समूहको १२ अंकले बढेका छन् ।

आइतबार विभिन्न २१ कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९ प्रतिशत बढीले बढेका छन् । अरुण काबेली पावर, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था, राष्ट्रिय बीमा कम्पनीका र राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयरका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

दिनभरको बजारमा १६७ कम्पनीका २८ लाख ८९ हजार कित्ता सेयर किनबेच भएका छन् । सबैभन्दा बढी कुमारी बैंकको ५ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, राष्ट्रिय बीमा कम्पनीको ४ करोड ४० लाख रुपैयाँ बराबरको प्रमोटर सेयर किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.