गहना बेचेर शुरु गरेकाे नाइटिङ्गेल स्कूलको भ्यालु अहिले एक अर्बभन्दा बढी छ– तेजुलाल चौधरी

२०७४ चैत २७ गते ११:१३ विकासन्युज

कुनै बेला सरकारी स्कूलमा मावि तहको स्थायी शिक्षक हुनुहुन्थ्यो तेजुलाल चौधरी । जब उहाँलाई इच्छा विपारित विकट स्थानमा जबरजस्ती सरुवा गरियो, तब उहाँले जागिरै छाडेर नयाँ बाटो लिनुभयो । नयाँ भाग्यरेखा त्यहिबाट कोरियो । र, अहिले उहाँ नेपाली काँग्रेसको नेता, सांसद्, राज्यमन्त्री र शिक्षा क्षेत्रको सम्मानित व्यक्तित्व बन्नुभएको छ ।

उहाँले २०४९ सालमा स्थापना गरेको नाइटिङ्गेल स्कूल अहिले करिव २५ सय विद्यार्थी पढिरहेका छन् । यस स्कूलमा उहाँकै शब्दमा एक अर्ब रुपैयाँ भन्दा बढी लगानी भएको छ । नाइटिङ्गेल इन्टरनेसनल सेकेन्डरी स्कूललाई नेपाल सरकारले २०७०, ७१ र ७२ सालमा लगातार राष्ट्र भरिकै उत्कृष्ठ स्कूल भनेर सम्मान गरेको छ । यस विद्यालयले बोर्ड फस्ट र नाइटिङगेल नर्सिङले टप विद्यार्थीहरु जन्माइरहेको छ ।
सप्तरी जिल्लाबाट २०७० र २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट लगातार दुई पटक निर्वाचित सांसद समेत रहनुभएका यस विद्यालयको अध्यक्ष तेजुलाल चौधरीसँग नाइटिङ्गेल स्कूल, निजी लगानीमा सञ्चालित विद्यालयलको भविष्य र सरकारको सम्भावित नीतिमा केन्द्रीत भएर कुराकानी गरेको छौं ।

तेजुलाल चौधरी, अध्यक्ष–नाइटिङगेल इन्टरनेशनल सेकेण्डरी स्कूल


नाइटिङ्गेल इन्टरनेसनल सेकेन्डरी स्कूललाई एउटा अभिभावकको रुपमा कसरी बुझ्ने ?

नाइटिङ्गेल इन्टरनेसनल सेकेन्डरी स्कूल आजभन्दा २५ वर्षअघि ललितपुर जिल्लाको कुपन्डोलमा स्थापना भएको हो । वैशाखदेखि स्कूल २६ वर्षमा प्रवेश गर्दैछ । परिश्रम गरौं, सम्मानित होउ भन्ने मुख्य धेय लिएर स्कूलको स्थापना गरेको हुँ । फ्लोरेन्स नाइटिङ्गेलको नामबाट खुलेको स्कूल हो ।

स्कूलको शुरुवाती अवस्थामा धेरै संघर्ष, दुःख गर्नु परेको थियो । मैले श्रीमतीको गहनासमेत बेचेर स्कूलमा लगानी गरेको थिएँ ।

स्कूल स्थापनाताका आफ्नै किसिमको इतिहास छ । नेपालको शिक्षा नियमावली २०४८ आउैगर्दा एकैचोटी हाइस्कूल स्वीकृत दिने चलन थियो । त्यसैलाई टेकेर सिधै हाइस्कूल खोलेको थिए । एकै पटक ६ क्लासदेखि ४०/५० जना विद्यार्थीहरुबाट स्कूल शुरुवात गरेको थिएँ ।
स्कूलले केही इतिहास कायम गरेको छ । नेपालको हरेक क्रियाकलापमा भाग लिने, विजय हासिल गर्दै आएको छ । यस स्कूलबाट १४ ब्याज विद्यार्थीले एसएलसी दिइसकेका छन् । हाम्रा विद्यार्थीहरुले राष्ट्र, अन्तर्राष्ट्रिय जगतमा विभिन्न क्षेत्रमा ख्याती कमाइसकेका छन् ।

मध्यम विद्यार्थीहरुलाई प्राथमिकतामा राखेर स्कूल स्थापना गरिएको हो । ठूलो घरघरनाका नभइ कर्मचारीहरुको छोराछोरीहरु यस विद्यालयमा पढ्छन् ।

स्कूलमा पढाइ अतिरिक्त क्रियाकलाप, व्यक्तित्व विकास लगायतका हरेक क्षेत्रमा विद्यार्थीहरु सवल र अब्बल दर्जाका उत्पादन भएका छन् ।

हाल स्कूलमा अहिले २२ सय भन्दा बढी विद्यार्थीहरु अध्ययरत छन् । ११ र १२ कक्षा मा करिब तीन सय विद्यार्थी छन् । नर्सिङमा कोटा अनुसार १२० जना अध्ययनरत छन् ।

नर्सिङ कलेजतर्फ हामीले दुई पटक नेपाल टप गरिसकेका छौं । स्कूलमा धेरै पटक हामीले बोर्ड फस्ट ल्याएका छौं ।
शिक्षा मन्त्रालयले राष्ट्रको, क्षेत्रको उत्कृष्ठ विद्यालयको रुपमा धेरै पटक सम्मान गरेको छ, पुरस्कृत गरेको छ । हामीले सस्तो शुल्क लिएर गुणस्तरीय र प्राविधिक शिक्षा प्रदान गरिरहेका छौं ।

तपाई आफैले चाहीँ कस्तो स्कूल पढ्नु भएको हो ?

म सरकारी स्कूल पढेको हुँ । पहिला म सरकारी स्कूल माविको स्थायी शिक्षक थिएँ । म ललितपुरकै सरकारी स्कूलमा जागिरे थिएँ । वदनियतपूर्ण मलाई ललितपुरकै पहाडमा सरुवा गरियो । त्यसपछि मैले स्कूल छोडेर आफै केही गर्छु भनेर अघि बढेको हुँ ।

अहिलेसम्म यस स्कूलमा कति लगानी गर्नुभएको छ ?

जुत्ता नखोलिकन, खाना नखाइकन बिहानदेखि बेलुका रातदिन नभनिकन, परिवार, छोराछोरीलाई छोडेर भएपनि नेपालको टप स्कूल कसरी बनाउने भनेर धेरै वर्ष मिहेनत गरेँ । एक नम्बरमा कसरी ल्याउने मेरो एउटै उद्देश्य त्यही थियो । अहिले यो स्कूलको आफ्नै भवनहरु छन् । ४÷५ वटा भवनहरु छन् । भौतिक सुविधा सम्पन्न स्कूल भएको छ ।

नाइटिङ्गेलको, स्कूल, कलेज, नर्सिङको ब्राण्ड चल÷अचल सम्पत्ति बिक्री गर्नु पर्दा मूल्य कति राख्नुहुन्छ ?

बिक्री गर्ने कुरा नगरौं । सबै जोड्ने हो भने, यसको भ्यालु एक अर्ब रुपैयाँ भन्दा बढी नै हुन्छ, घटी छैन ।

स्वास्थ्य र शिक्षा निजी क्षेत्रले होइन, राज्यले सञ्चालन गर्नुपर्छ भन्ने विचार बारम्बार आउँछ । यस्तो विचार सुन्दा आफ्नो लगानी कति सुरक्षित ठान्नुहुन्छ ?

संविधानमा यो विषयमा ३ वटा कुरा प्रष्टै लेखिएको छ । कुनै पनि क्षेत्रमा सरकार, निजी र सहकारीबाट लगानीको हुनसक्छ ।

म आफै पनि पूर्व राज्यमन्त्री भएको नाताले नेपाल सरकारलाई निजी स्वास्थ्य र शिक्षालाई कसरी व्यवस्थित बनाउनेतर्फ ध्यान दिन आग्रह गर्दछु । सही व्यवस्थापन गर्नका लागि आग्रह गर्दछु । नेपाल सरकार तथा स्थानीय निकायहरुलाई सामुदायिक स्कूल, स्थास्थ्य क्षेत्रलाई सबैभन्दा पहिले सुधार्न सक्नुप¥यो । अरबौ÷खरबौं रकम सरकारले लगानी गर्छ । सरकारसँग रेकर्ड छ ? सरकारी स्कूल राम्रो भए किन बोर्डिङ खोल्नु प¥यो ? कुनै पनि अभिभावकले आफ्नो छोराछोरी राम्रो पढोस्, ठूलो मान्छे बनोस् भन्ने सोच्छन् । त्यही भएर सरकारी स्कूलहरुले त्यसलाई सम्बोधन गर्न नसकेपछि निजी तथा आवासिय विद्यालयहरुको जन्म भएको हो ।

यदि निजी स्कूलहरु नखुलेको भए धनढ्याहरु छोराछोरीहरु पहिलेको झै डार्जिलिङ, भारत लागयत देश पढ्न जान्थे । अहिले पनि कहीँ कतै गइरहेका छन् ।

गिटी बालुवा बोक्नेको छोराछोरी पनि निजी स्कूलमा पढ्छन् भन्नुभयो । साँच्चैकै पढ्छन् त ? शुल्क त महङ्गो नि ?

हजार÷पन्ध्रसय रुपैयाँ शुल्क लिएर पनि निजी स्कूल सञ्चालन भएका छन् । अहिले पनि काँधका कपडा बेच्ने एक जैसुवालले आफ्नो दुई छोराहरुलाई यसै नाइटिङ्गेल स्कूल पढाएर इञ्जिनियर बनाए । यस्ता विद्यर्थीलाई नाइटिङ्गेलले क्षात्रवृत्ति दिएको छ ।

नाइटिङ्गेलमा विद्यार्थीको लागि शुल्क कति निर्धारण गर्नुभएको छ ?

शुल्क एकदम सस्तो छ । ३ हजार ३ सयदेखि ४ हजार ५ सय रुपैयाँसम्म छ । वार्षिक भर्ना शुल्क १० देखि २१ हजार रुपैयाँसम्म छ । बीचमा कुनै शुल्क लाग्दैन ।

सरकारले शिक्षामा गरेको लगानी बालुवामा पानी खन्याएको भन्छन् नि, तपाईको यसप्रतिको बुझाइ कस्तो छ ?

सरकारले जसरी शिक्षामा लागानी गरिरहेको ९० प्रतिशत रिटर्न आउदैन । १ क्लासमा भर्ना हुने बच्चा दशौं बाह्रौं लाख हुन्छन् । एसएलसी दिने समयमा ४ लाख मात्र हुन्छ । ५ लाख बच्चा कहाँ हराउछ थाहा छैन । हराएको बच्चालाई के गर्ने । के तालिम दिने, के शिप सिकाउने, कुन जातीका बच्चाहरु स्कूल छोड्छन् ? कस्ता बच्चाहरुले पढ्दैनन्, किन छोड्छन् ? अहिलेसम्म नेपाल सरकारले पार्टीकुलर रुपमा यस सम्बन्धि अध्ययन गरेको छैन ।

म विगतमा राज्यमन्त्री भएको थिए । शिक्षा क्षेत्रमा बसेर काम गरेको ४ वर्ष भयो । जति लगानी गरेता पनि पार्टीकुलर स्थानीय सरकारले २÷३ वटा कुरा गर्न सकेन भने सोचेअनुसारको शिक्षामा परिवर्तन आउन सक्दैन ।

एउटा सबैभन्दा पहिले ७५३ वटा स्थानीय तह छ । प्रत्येक स्थानीय तहको परीक्षाको प्रणाली छ । पाठ्यक्रम केन्द्रकै भएपनि स्थानीय सरकारको पनि आफ्नै पाठ्यक्रम हुन्छ । मेयर, स्थानीय प्रमुखहरु शिक्षामा राम्रो दख्खल राख्छन् । त्यहाँको शिक्षा राम्रो हुन सक्छ । हैन भने सबै ठाँउको शिक्षा राम्रो हुन सक्दैन ।

तत्कालै सरकारले नमूना कानून बनाएर केन्द्र, प्रदेश, स्थानीय सरकारले के–के गर्ने भनेर जिम्मा दिनुपर्छ । सरकारले प्राविधिक शिक्षामा जोड दिनु पर्छ ।

तराईवासीका, जनजाति, थारु लगायतका छोराछोरी शिक्षाबाट बञ्चित छन् । उनीहरुलाई समेट्न सरकारले आवासीय विद्यालयको अबधारणामा ल्याउनुपर्छ । नमूनाको रुपमा त्यस्ता विद्यालयहरु सञ्चाल गर्नुपर्छ । सरकारले १२ कक्षासम्म सम्पूर्ण व्यवस्था गरेर विद्यार्थीलाई निःशुल्क पढाउनु पर्छ ।

आगामी योजना के–के छन् ?

नाइटिङ्गेलस्कूल अबको २/४ वर्षमा विश्वस्तरिय शिक्षा दिने सोचका साथ अघि बढेको छ । सम्पूर्ण सेवासुविधा सम्पन्न हुन्छ । जस्तै प्रतेक क्लासमा मल्टिमिडिया प्रोजेक्ट जडान गरिन्छ । यसैपालि २० ओटा क्लासमा जडान गर्दैछौं ।

विश्वको शिक्षासँग प्रतिस्पर्धा गर्ने हिसाबले अघि बढ्दैछौं । प्रविधि, सिकाइ लगायत हरेक दृष्टिकोणले प्रतिस्पर्धात्मक रुपमा अघि बढ्दैछौं । केही वर्षमै अन्तर्राष्ट्रिय स्कूलहरुसँग जोडिने योजना छ ।

विद्यालयमा आइटी सम्बन्धि प्रविधिहरु अहिले के–के छन् ?

३÷४ प्रकारका विभिन्न प्रविधिहरु प्रयोग गरिरहेका छौं । क्लासमा प्रत्येक दिन १/२ ओटा प्रोजेक्टर अथवा मल्टिमिडियाको प्रयोग गर्र्नु पर्ने व्यवस्था गरेकाछौं । कोर्ष तथा बाहिरको विषयमा मल्टिमिडियाको प्रयोग गरिन्छ ।

बच्चाहरु स्कूल पुग्यो पुगेन । स्कूल पुग्ने वित्तिकै घरमा म्यासेज जान्छ । गाडीमा चढ्ने बित्तिकै मोबाइलमा म्यासेज जान्छ । गाडी कहाँ पुग्यो ? अथवा जाममा छ भने अभिभावकले मोबाइलमार्फत थाहा पाउछन् । भएका सुविधाहरुलाई व्यापक रुपमा प्रयोग गरेका छौं । शुल्क तिरेको छ, छैन? बाँकी कति छ ? घरमै बसीबसी हेर्न सकिन्छ ।

स्कूल कलेजमा दक्ष जनशक्ति आकर्षित छैन । जनशक्ति व्यवस्थापन कसरी गर्नु भएको छ ?

नेपालमा जनशक्ति अभाव ठूलो समस्याको रुपमा आएको छ । राम्रो जनशक्ति विदेश पलायन हुने अथवा आफै रोजगारी सृजना गर्ने, ठूला–ठूला बैंकहरुमा जागिर खान जाने लगायतका समस्या छन् । उनीहरु शिक्षा पेशातर्फ आकर्षण गर्न तथा भएकाहरुलाई पनि टिकाइ राख्न गाह्रो छ ।

उनीहरुलाई कति तलब दिदा बस्छन् । अनुमान गर्न गाह्रो छ । यद्यपि नाइटिङ्गेलमा २५ वर्षदेखि काम गर्ने शिक्षकहरु अझै करिब २० जना छन् । उनीहरुनै यो स्कूलको खम्बाको रुपमा रहेका छन् । १५ वर्ष जागिर गर्नेहरु ३०/४० जना छन् ।

हामी प्रत्येक वर्ष केही न केही तलब बढाउछौं । कम्तिमा पनि हामी शिक्षकलाई सरकारी स्केल बराबरको तलब दिन्छौं । अहिल राम्रो शिक्षक छन् भने उनीहरुको माग अनुसार तलब दिन्छौं । शिक्षकको माग अनुसार कति वर्षको लागि हो करार गरेर तलब दिने प्रचलन पनि आइसकेको छ । यहि स्कूल पढेका विद्यार्थीहरु करिब १०/१२ जनाले पढाउँछन् ।