कैलाश हेलिकप्टरले शनिबारदेखि व्यवसायिक उडान भर्ने

  २०७४ चैत ९ गते १८:१२     विकासन्युज

काठमाडौं । कैलाश हेलिकप्टर सर्भिसेज प्रा.लि.ले भोलि चैत १० गते शनिबारबाट व्यावसायिक रुपमा सेवा प्रदान गर्ने भएको छ । कम्पनीकाे पहिलाे व्यवासायिक उडान काठमाडाैं लुक्लाकाे तयारी भएकाे बताइएकाे छ।

नागरिक उड्डयन प्राधिकरणले चैत्र ९ गते वायुयान संचालन अनुमति (एओसी) प्रदान गरेकोले अब व्यवसायिक उडान सञ्चालन गर्न लागिएको कम्पनीको प्रबन्ध निर्देशक प्रतापजंग पाण्डेले बताए ।

कम्पनीले विरामीको तत्काल उपचारका लागि गन्तव्यसम्म पुर्याउने, कर्पोरेट फ्लाइट, ह्युमन/कार्गो स्लीङअपरेसन्स, हाइअल्टिच्युट अपरेसन, एरियल सर्भे, दृश्यावलोकन, माउन्टेन फ्लाइट, स्पेशल एडभेञ्चर मिसन, फिल्मिङ, स्काइ डाइभिङ, प्राकृतिक प्रकोप उद्धार जस्ता विस्तृत हेलिकप्टर सेवा सञ्चालन गरिने उनले बताए ।

कम्पनीले एयर बसद्धारा निर्मित नयाँ एएस३५०बी३इ जहाज (९एन–एएमएल) हेलिकप्टर खरिद गरी नेपाल ल्याइ सकिएको छ । यस हेलिकप्टरले २३ हजार फिटसम्म उडान गर्ने क्षमता राख्छ । कम्पनीले निकट भविष्यमा नेपाली आकाशमा अर्को एक जहाज थप गर्ने तयारी भएको कम्पनीले जनाएको छ ।

‘हामी स्वदेशी तथा विदेशी अनुभवी चालक तथा क्रु मेम्बरमार्फत सेवा दिनेछौं’ कम्पनीले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘हाम्रो सेवा सुरुवात सँगै नेपालको पर्यटन उद्योग र अत्यावश्यकीय सेवाका क्षेत्रमा योगदान पुर्याउन सकिने अपेक्षा गरेका छौं ।’

नेपालमा हाल व्यावसायिक गतिविधि मुलुक भर विस्तार भइरहेको छ । यससँगै मुलुकका दुर्गम तथा कतिपय सुगम क्षेत्रमा पनि अत्यावश्यकीय सेवा पुग्न सकेको छैन । नेपालको उड्डयन क्षेत्रमा हाम्रो उपस्थितिले यी आवश्यकता पूरा गर्न सहयोग पुग्ने विश्वास लिएको कम्पनीले जनाएको छ ।

कैलाश हेलिकप्टरका हवाई र पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायीसहित बैंकर, उद्योगी लगायतको लगानी रहेको छ । पहिलाे चरणमा करिब ३० कराेड रूपैयाँ लगानी रहेकाे र नयाँ जहाज थपसँगै लगानी विस्तार गर्दै जाने तयारी भएकाे पाण्डेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.