अब फेसबुक, ट्वीटर र युट्युब पनि करको दायरामा

  २०७४ चैत ७ गते १०:१७     नारायण पौडेल

काठमाडौं । सरकारले फेसबुक, ट्वीटर र युट्युब लगायतका समाजिक सञ्जालहरुलाई करको दायरामा ल्याउन लागेको छ । अर्थमन्त्रालयले चालु आर्थिक बर्षभित्रै फेसबुक, ट्वीटर, युट्युब लगायतका सामाजिक सञ्जालहरुलाई करको दायरामा ल्याउने तयारी थालेको हो । ‘सामाजिक सञ्जालहरुको कारोबारको आकार वृद्धि हुँदै गएको छ, अब यसलाई चालु आव भित्रै करको दायरामा ल्याउने प्रक्रिया अघि बढाईसकेका छौं’, राजश्व सचिव शिषिर ढुंगानाले विकासन्युजसँग भने ।

उनले बाणिज्य विभागसँग समन्वय गरेर कुन प्रक्रियाद्धारा समाजिक सञ्जालहरुलाई करको दायरामा ल्याउन सकिन्छ भन्नेबारे अध्ययन अघि बढाएको पनि बताए । ‘सामाजिक सञ्जालहरुले गरिरहेको कारोबारलाई करको दायरामा ल्याउनेबारे बाणिज्य विभाग मार्फत अध्ययन अघि बढाएका छौं, यसै आव भित्र ठोस प्रगति हुन्छ’, राजश्व सचिव ढुंगानाले भने । उनले पछिल्ला बर्षमा फेसबुक, ट्वीटर, युट्युब लगायतका सञ्जालहरु मार्फत नेपाली उद्यमी व्यवसायीहरुले मोटो रकम खर्चेर आफ्नो व्यवसायको प्रवद्र्धन गरिरहेको पनि बताए । ‘समाजिक सञ्जालहरुबाट हुने व्यवसाय प्रवद्र्धनले करोडौँ डलर बाहिरिएको छ, त्यसलाई करको दायरामा ल्याउने हो’, सचिव ढुंगानाले भने ।

पछिल्लो समय नेपाली उद्योगी तथा व्यवसायीहरुले फेसबुक, ट्वीटर, युट्युब लगायतका सञ्जालहरु मार्फत आफ्नो व्यवसायको प्रवद्र्धन गरिरहेका छन् । त्यसका लागि उनीहरुले अनधिकृत रुपले डलर भुक्तानी समेत गरिरहेका छन् । ‘बैंकले दिने सेवा सुबिधाहरुका बारेमा फेसबुक मार्फत प्रचार प्रसार गरिरहेका छौं, यसले राम्रो नतिजा पनि दिईरहेको छ’, सिभिल बैंकका मार्केटिङ मेनेजर विजय कसजुले भने । उनले फेसबुक मार्फत व्यवसाय प्रवद्र्धन गर्दा उपभोक्ताको राम्रो प्रतिक्रिया समेत आईरहेको पनि बताए ।

यतिबेला अधिकांश बैंक तथा वित्तिय संस्था र व्यवसायीक घरानाहरुले फेसबुक, ट्वीटर तथा युट्युब मार्फत व्यवसायको प्रवद्र्धन गरिरहेका छन् । त्यसका लागि उनीहरुले लाखौं डलर खर्च गरिरहेका छन् । तर सो कारोबार भने अझै पनि करको दायरामा आएको थिएन् । अब भने अर्थमन्त्रालय आफैंले त्यस्ता कारोबारलाई करको दायरामा ल्याउने कसरत अघि बढाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.