नुवाकोट राजधानी बनाउने ऐतिहासिक, भौगोलिक, रणनीतिक आधार

  २०७४ फागुन २९ गते १६:२०     विकासन्युज

काठमाडौं । नुवाकोटलाई प्रादेशिक राजधानी बनाउन नुवाकोटका प्रदेश सदस्य, जिल्ला समन्वय समिति, राजनीतिक दल र पर्यटन व्यवसायी र नागरिक समाजले ऐतिहासिक, भौगोलिक, रणनीतिक र पूर्वाधारका आधार प्रस्तुत गरेका छन् ।

जिसस नुवाकोट र नुवाकोट सरोकार समाजले ‘नुवाकोटको विगत, वर्तमान र भविष्य’शीर्षकमा आयोजना गरेको कार्यक्रममा प्रतिनिधिहरुले काठमाडौंदेखि नुवाकोट पुग्न हाल तीन वटा डबल लेनका मार्ग कायम रहेको र मध्यपहाडी मार्ग नुवाकोट भएर जाने तथा भविष्यमा सुरुङ मार्ग पनि बन्ने भएकाले छिटो नुवाकोट पुग्न सक्ने देखिएको बताएका छन्। औद्योगिकीकरणका लागि जमीन, विद्युत् र पानी पर्याप्त रहेको नुवाकोट चीन र भारतको पारवहन विन्दु भई रणनीतिक महत्वको स्थान पनि भएको बारे छलफल गरेका छन्।

३नं प्रदेश सभाका सभामुख माननीय सानुकुमार श्रेष्ठ प्रमुख अतिथि र उप सभामुख राधिका तामाङ बिशिस्ट अतिथि रहेको उक्त कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख शन्तमान तामाङको सभापतित्वमा संचालित कार्यक्रममा विदुर नगर पालिकाका मेयर सन्जु पंडित, प्रदेशसभा सदस्य, केशव पाण्डे, बद्री मैनाली र हीरानाथ खतिवडा (नुवाकोट)ले प्रदेशका बाँकी १२ जिल्लाबाट नुवाकोट सजिलैसँग पुग्न सकिने र यहाँ प्रशस्त भवन, भवन बनाउन मिल्ने खाली जग्गा तथा समथर फाँट भएको बताए ।

प्रदेशसभा सदस्य(काठमाडौं) नरोत्तम वैद्यले आफूहरु हेटौँडाको पक्षमा नरहेको र पार्टीले पनि आफूहरुलाई स्वविवेक प्रयोग गर्न दिनुपर्ने बताएका छन् । नेपाली काँग्रेसका नेता रमेश महतले राजधानीको फोहर राख्ने डम्पिङ साइट हाल नुवाकोटको ओखरपौवामा रहेको तथा खाद्यान्न र तरकारी पनि काठमाडौं निर्यात भइरहेको बताउँदै उद्योगका लागि त्रिशूली र देवीघाट जलविद्युत् गृहबाट प्रशस्त विद्युत उत्पादन भइरहेको जानकारी दिएका छन् ।

पर्यटन व्यवसायी सुमन पाण्डेले पर्यटकीय जिल्ला नुवाकोट भारत चीन व्यापारमार्ग पनि भएको बताउनुभयो । सरोकार समाजका अध्यक्ष रामलाल श्रेष्ठले पृथ्वीनारायण शाह र गीर्वाणयुद्धविक्रम शाहका पालामा दुई पटक राजधानी बनिसकेको नुवाकोट अन्य जिल्लाका तुलनामा नुवाकोट कम विकसित भएकाले भविष्यमा विकास गर्नका लागि पनि यसलाई राजधानी बनाउनुपर्ने तर्क दिएका छन् ।

सो अवसरमा नुवाकोटलाई राजधानी बनाउन सकिने आधारहरु झल्काइएको जिसस नुवाकोटबाट निर्मित वृत्तचित्र प्रस्तुत गरिएको थियो । नुवाकोटका समग्र विकास र समृद्ध नुवाकोटको निम्ति यस्तो कार्यक्रमहरु आगामी दिनमा नियमित गरिने र यस्को निम्ति सबै सरोकारवाला निकायको सहयोग आवश्यक रहेको साथै सबै नुवाकोटका बासिन्दाहरु एकजुट हुनु पर्ने बारे सरोकार समाजका सचिव अनुजकुमार श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.