५ वर्षदेखि फलामे खोरमा थुनिएका दाहाललाई ३६ हजार रुपैयाँ सहयोग, को हुन् दाहाल ?

  २०७४ फागुन २४ गते १४:५२     विकासन्युज

तेह्रथुम । आठराई गाउँपालिका-६ चुहानडाँडास्थित बोखिममा पाँच वर्षदेखि फलामे खोरमा थुनिएका उदयनारायण दाहालको उपचारका लागि प्रवासी नेपालीबाट सहयोग रकम उपलब्ध भएको छ ।

तेह्रथुम घर भई हाल साउदी अरबमा रहेका रामचन्द्र मैनालीको अगुवाइमा संकलित ३६ हजार रुपैयाँ दाहालको परिवारलाई आज हस्तान्तरण गरिएको हो ।

सहयोग रकम आठराई गाउँपालिका-६ का वडाध्यक्ष तेजमान कन्दङवा र वडा सदस्य लक्ष्मीप्रसाद बास्कोटाले संयुक्त रुपमा उदयनारायणका बुबा चुँडामणि दाहाल र आमा मैना दाहाललाई हस्तान्तरण गरेका छन् । सहयोग रकम हस्तान्तरण गर्दै वडाध्यक्ष कन्दङवाले दाहालको उपचार र उद्धारका लागि वडा कार्यालयबाट पनि सहयोग उपलब्ध गराउने बताए। साउदी अरब र नाइजेरियामा रहेका नेपालीले दाहालको उपचार र उद्धारका निम्ति आर्थिक सहयोग संकलन गरेका हुन् ।

वैदेशिक रोजगारीका क्रममा २०६३ सालमा दुबई पुगेका दाहालले १० महिनापछि मानसिक सन्तुलन गुमाएर घर फर्किएपछि उपचारका लागि परिवारले रु पाँच लाख खर्च गरिसकेको छ । आर्थिक रकमको अभावमा थप उपचार गर्न परिवारले नसक्ने भएपछि ३४ वर्षीय दाहाललाई परिवारले पाँच वर्षदेखि फलामको खोरमा राखेको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.